११ पुस २०८२ शुक्रबार
image/svg+xml
विचार

महँगा र भड्किला चाडबाड

गाउँघरतिर एउटा भनाइ छ– साउने (कर्कट) संक्रान्तिले त्यो वर्षका चाडबाड आउन थालेको संकेत गर्छ भने माघे (मकर) संक्रान्तिले चाडबाड सकिएको संकेत गर्छ। यसर्थ हामी अहिले केही चाडबाड मनाउँदै छौँ भने केही ठूला चाडबाडको पर्खाइमा छौँ।संसारभरि नै चाडबाड भन्नेबित्तिकै धेरै हदसम्म पूजापाठ, परमेश्वरको सम्झना, मीठो खाना, राम्रो लुगा, यात्रा तथा मनोरन्जन पर्छन्। अझ हिन्दु तथा बौद्ध धर्मावलम्बी त यो मामलामा धेरै अगाडि छन्। भित्तामा झुन्ड्याइएको वार्षिक क्लालेन्डरमा बढी चाडबाड र जात्रा पर्छन्। हरेक समाजमा सबैजसो चाडबाडले देवता र मानिसको सम्बन्ध नवीकरणको काम गर्छ। हाम्रा सबैजसो चाडबाड देवता वा धर्मसँग सम्बन्धित छन्। चाहे त्यो दसैँ होस् वा तिहार, माघे संक्रान्ति होस् वा जनैपूर्णिमा। हिन्दु धर्ममा मात्र हैन, इसाई धर्मावलम्बीको क्रिसमस र मुसलमानको इद पनि ईश्वरकै भक्तिमा आधारित चाड हुन्। हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला। चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति आवश्यक दुई तŒव भनेको 'परिवार' र 'पैसा' नै हो। ती दुई तŒव घरभित्र आवश्यक छन् भने देश र समाजको वर्तमान अवस्था कुनै पनि पर्व मनाउन बाहिरीरूपमा उत्तिकै महŒवपूर्ण हुन्छन्। चाडबाड र परम्परा मनाउने सम्बन्धमा हिन्दु धर्मशास्त्रले देश, काल, परिस्थितिअनुसार मनाउनुपर्छ भनेर स्पष्ट भनेको छ।

हामीले यसपल्ट नागपन्चमी, जनैपूर्णिमा, गाइजात्रा मनाइसकेका छौँ भने कृष्णाष्टमी, तीज अनि सबैभन्दा ठूलो चाड दसँै, तिहार र छठ मनाउने तयारी गर्दैछौँ। अरु चाडबाड भने मनाउने दिन वा एकदिनअघिमात्र चासो बढ्छ। दसँै–तिहार भने विभिन्न वर्गका मानिसलाई विभिन्न समयमा लाग्छ। विद्यार्थीलाई दसँै घटस्थापनाको दिन विद्यालय वा कलेज बिदा भएदेखि लाग्छ भने कर्मचारीका परिवारलाई पेश्की तलब आएको दिनदेखि। खसीबोका व्यापारीले करिब ८ महिना अगाडिदेखि नै यसको तयारी गर्छन् भने कपडा व्यापारीले पाँच महिना अगाडिदेखि। विदेशमा रहेका आफन्तहरू आएको दिनदेखि कसैलाई दसैँ लाग्छ भने देवीका मन्दिरका पुजारीलाई नवरात्रिभरि नै लाग्छ।

यसपटकको दसैँ हामी नेपालीलाई माथि भनिएजस्तो सजिलो र सामान्य ढंगको हुने छैन। हामीमध्ये कतिपय त यसपटक दसैँ ढोकैमा आइपुगेकोमा खुसी पनि छैनाँै। यसका विविध कारण छन्। सबैभन्दा पहिलो त बैशाख १२ गतेको मूख्य र त्यसपछिका सहायक भूकम्पले यो पटकको दसैँको जगसमेत नराम्ररी हल्लाइदिएको छ। झन्डै १० हजार मानिसको मृत्युको पीडामा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा हामी सबै दुःखी छौँ। यस्तो अवस्थामा उल्लासको चाड मनाउन गाह्रो छ। त्यसपछिको करिब डेढ महिना भूकम्पप्रभावित झन्डै २५ जिल्लामा उद्धार, राहतको आशामा बाँचेका सर्वसाधारणको मनमा अन्योल, डर, त्रास र हल्लाबाहेक अरु केही भएन। व्यापारीहरूले दसैँका लागि मगाउन ठिक्क पारेका वा मगाएका सामान तातोपानी (बाह्रबिसे) क्षेत्रमा गएको पहिरोका कारण राजधानी आउन पाएन। अहिलेसम्म अरनिको राजमार्ग निर्बाध चल्न सकेको छैन। मागअनुरूपको आपूर्ति हुन नसक्दा सामानको भाउ पनि ज्यादा हुने स्पष्ट छ। चिनियाँमात्र हैन, अरु देशबाट सामान आउने बेलामा भूकम्प आयो भने बल्लतल्ल मगाइएको सामान पनि बन्दहड्तालका कारण राजधानी ल्याउन सकिएको छैन। दसैँका सामान बोकेका झन्डै ४ हजार ट्रक अहिले नेपाल–भारत सीमामा रोकिएका छन्। कतिपय जिल्लामा हुर्कंदै गरेका खसीबोका भूकम्पमा परेका कारण पनि दसँैमा मासु अझ महँगो हुने निश्चित छ।

कतिपय व्यापारीले दसैँको मुखमा आएर हवाईमार्गबाट सामान ल्याएर भए पनि आपूर्ति गर्ने सोच बनाएका थिए। तर, अहिले नेपाली रुपैयाँमा भारी अवमूल्यन भएको छ। यसले बजारलाई असर पार्ने निश्चित छ। लामो समयदेखि ९८ रुपैयाँको हाराहारीमा रहेको अमेरिकी डलर अहिले एक्कासी एक सय ६ रुपैयाँमाथि पुगेको छ र त्यसको बढ्ने क्रम जारी छ। यसले पनि भारतीयबाहेकका सामान ३ महिनाअगाडिको तुलनामा करिब १५ प्रतिशत महँगो बनाएको छ।

अर्को अप्ठेरो लामो समयदेखि चलेको बन्दहड्तालले पारेको छ। यहाँनेर एउटा तर्क गर्न सकिन्छ– दसँै त अझै डेढ महिना पर छ। त्यसबेलासम्म बन्दहडताल टुंगिहाल्छ नि! तर, अहिलेको बन्दहड्ताल र अनिश्चितताले गर्दा बजारभाउमा आएको बृद्धिको मार हामी नेपालीले सदाका लागि व्यहोर्नु पर्नेछ। किनकि, बजारभाउ र मानिसको उमेर उस्तै हुन्, उकालोमात्रै लाग्ने!

विदेशमा रहेका नेपालीले यसपालिको दसैँमा घर फर्कने कि नफर्कने भनेर यही अनिश्चितकालीन बन्दहड्तालका कारण निर्णय लिन सकिरहेका छैनन्। विदेशमा भनेको दिन बिदा पाइने हैन, बिदा लिन लामो समयको तयारी गर्नुपर्छ। यसकारण पनि यस पटक ठूला पर्वमा पोहोर–परारको तुलनामा थोरैमात्र नेपाल आउने छन्।

थप १५ दिनमात्रै बन्दहड्ताल कायम रहने हो भने देशभित्र विभिन्न स्थानमा रहेका नेपाली पनि दसैँमा घर जान सक्ने छैनन्। कतिको त भूकम्पका कारण घर नै बाँकी छैन। सरकारको अकर्मण्यताका कारण पुनर्निमाणको काम सुरु हुन नसक्दाको असर चाडबाडमा समेत पर्नेछ।

अब के गर्ने?

अधिकांश मध्यमस्तरका नेपालीले यसपटक दसैँ धुमधामसँग मनाउन नसक्ने पक्का छ। बजारमा हुने वस्तुको अभाव र पाइहाले पनि अत्यासलाग्दो भाउ एकातिर छ भने आफ्नो सीमित आम्दानी अर्कोतर्फ। घर जान सक्ने–नसक्ने अन्योल एकातिर छ भने दसैँमा आवश्यक सामानको लामो सूची अर्कोतिर! यो परिस्थितिमा हामीले चाडबाडलाई मितव्ययी बनाउनेबाहेक अर्को कुनै उपाय छैन। हामीले विगत २० वर्षमा चाडबाड मनाउने प्रक्रियामा धेरै उच्छृंखलता अपनाएका छौँ। अब त्यसलाई सच्याउने बेला भएको छ। हरेक चाडपर्वका बारेमा कुनै न कुनै शास्त्रमा त्यो चाड मनाउने समय, कारण, विधि आदिबारे उल्लेख गरिएको हुन्छ। तर, समयसँगै हामीले त्यसमा विविधता ल्यायौँ, त्यसलाई अपभं्रश गर्यौँई। दसैँ भनेको पारिवारिक मेलपमिलाप, पूजापाठ, मनोरन्जन गर्ने र अग्रजसँग आशिर्वाद लिने–दिनेे चाड हो। तर, केही वर्षदेखि हामीले त्यसलाई महँगा र नयाँ लुगा लगाउने, तास खेल्ने, रक्सी खाने चाडको रूपमा परिवर्तन गर्यौँ । यसको मुख्य कारण अध्ययनको कमी र सहरी क्षेत्रमा बढेको आम्दानी र देखासिकी गर्ने होडबाजी नै हो।

चाडबाडका अर्कोे विकृतिको पराकाष्ठा आसन्न तिज मनाउने तरिका हो। एक दशकअघिसम्म तिज परम्मरागत तरिकाले मनाइन्थ्यो। ब्रतको एक दिनअघि दर खाने, ब्रतको दिन निराहार बस्ने, शिवजीको पूजा गर्ने, शिव भजन गाउने र पन्चमीको दिनमा सप्तर्षिको पूजा गर्ने, शास्त्रमा उल्लेख छ। अहिले तिज कति विकृत छ भन्ने हामी सबैलाई थाहा छ। यो चाड नयाँ डिजाइनका लुगा, गहना किन्ने र देखाउने, महिनौँ अगाडिदेखि दर खाने निहुँमा पार्टी प्यालेस वा घरमा भेला हुने र परम्पराको मूल मर्म बिर्सने काम भइरहेको छ। सप्तर्षिको पूजा गर्ने र निराहार (पानी पनि नपिइकन) ब्रत बस्ने परम्परा त लोपोन्मुख छ। पानी पनि नपिइकन ब्रत बस्नु स्वास्थ्यका कारण हितकर छैन भने त्यसमा सुधार गर्दा समाजले सजिलै स्वीकार्ला, तर तिजको नाममा लाखौँ रुपैयाँ लुगा र खानामा खर्च गर्दै परम्परा विकृत पार्ने प्रवृत्ति कसैलाई पनि स्वीकार्य हुन सक्दैन। मेरी एक पारिवारिक साथीले भनेको कुरा यतिखेर खुब सम्झेको छु। 'अब त लगालग १३ वटा तिजको कार्यक्रम छ, यसका लागि मैले अलगअलग लुगा र गहना तयार पार्दैछु। तीमध्ये केही कार्यक्रम आफन्तका घरमा, पार्टी प्यालेस र तारे होटलमा पनि छन्। त्यसपछि एकदिन करिब सय जनाजति आफन्त र साथी बोलाएर मैले कार्यक्रम गर्नुपर्छ।' तिजका नाममा भित्रिएको विकृतिको नमूना योभन्दा अर्को के हुन सक्ला र! विभिन्न संघसंस्थाका नाममा तिज पार्टी गर्दै पैसा उठाएर नाचगान गर्नु–गराउनु पवित्र पर्वको उपहास गर्नु हो।

शिवजीको भजन गाउने परम्परा तोड्दै आधुनिक नामका छाडाखालका गीतलाई तिजसँग जोडिएको छ। कसले र किन भित्रायो यो विकृति? यो प्रश्नको उत्तर अनुत्तरित नै छ। यसमा सुधार आउनु जरुरी छ र त्यो काम अब सुरु गरिहाल्नुपर्छ। नत्र हामीले हाम्रा सन्ततिलाई चाडबाड र पर्वका अवशेष पनि छाड्न सक्ने छैनौँ। यस्तो हुनुका कारण हामीमा चाडबाडको अर्थ र महŒवको ज्ञानको अभाव र सिक्न नचाहने प्रवृत्ति जिम्मेवार छ। समाजले यो कुरालाई सधैँ यसैगरी ग्रहण गर्न सक्दैन भन्ने कुरा अब बु‰नु जरुरी छ। चाडबाड मनाउने तरिकाम सुधार हुनैपर्छ, यसमा कुरीति छन् भने पन्छाउँदै पुरानै र सरल बाटोमा लाग्नैपर्छ।

काठमाडौँमा बसोबास गर्दै आएका तराईमूलका कतिपय परिवार भूकम्पका कारण विचल्लीमा परेका छन्। यसकारण पनि काठमाडौँमा यसपटकको छठ तामझामका साथ नहुने पक्का छ। एकातिर प्राकृतिक प्रकोपले यस्ता चाडबाडको रौनकमा कमी आएको छ भने अर्कोतिर विकृतिले यसको स्वरूप बदलिएको छ। वास्वतमा अब हामी आफैले चाडबाडका नाममा फजुल खर्च गर्न नियन्त्रण गर्नुपर्छ। सामाजिक जीवनलाई सरलीकरण गर्ने दिशामा न त सरकार न त कानुनले नै केही गर्न सक्छ। यो आफैबाट हरेकले सुरु गर्नुपर्ने 'अभियान' हो। परिवर्तनको अभियानमा जो सामेल हुन चाहँदैन, उसले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।

प्रतिकूल समयको सदुपयोग गर्दै शास्त्रले बताएअनुसार चाडपर्वलाई परमात्मासँगको आत्मसाक्षात्कार गर्ने अवसरको रूपमा लिनसक्दा हामी सबैका निम्ति यो वर्ष 'स्वर्णवर्ष' हुनसक्छ। त्यसो गर्न सक्यौँ भने एकातिर हामीलाई भूकम्पको घाउ पुर्न मद्दत पुग्नेछ भने अर्कोतर्फ जीवन निरन्तर सरल बन्दै जानेछ। हामीले यस वर्षको दसैँ–तिहारलाई मात्रै सरलीकरण गर्न सक्यौँ भने अरु चाडबाड स्वतः सरल र कम खर्चिला हुन पुग्छन्। त्यसो गर्न नसके मध्यमवर्गीय नेपालीले पुरानो भनाइ याद गरे हुन्छ।

आयो दसैँ ढोल बजाई

गयो दसैं ऋण बोकाइ।

प्रकाशित: १३ भाद्र २०७२ २०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App