२७ श्रावण २०७९ शुक्रबार
विचार

महामानव गौतम बुद्ध र अहिंसाको मार्ग

 विसं २०७९ साल वैशाख पूर्णिमा गौतम बुद्धको २५६६ सौं जन्म जयन्तीको दिन हो। २०७९ साल जेष्ठ २ गते गौतम बुद्धको जन्मजयन्ती  हो। गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालको मध्य दक्षिणको तराईमा पर्छ। वैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो।

उनी जन्मेको सातौं दिनमा आमा मायादेवीको मृत्यु भएपछि कान्छी आमा प्रजापती गौतमले उनको लालनपालन गरेकी थिइनन्। सोह्र वर्षको उमेरमा गौतमको विवाह सुप्रबुद्धकी छोरी यशोधरासँग भयो र २८ वर्षको उमेरमा उनको छोरा राहुलको जन्म भयो।

वैशाख पूर्णिमा गौतम बुद्धको जन्म हुनु,  त्यही तिथि वैशाख पूर्णिमाका दिन गौतमले बोधिसत्व प्राप्त गर्नु र त्यही वैशाख पूर्णिमाको दिनमा ८० वर्षको उमेरमा भिक्षु आनन्द तथा अन्य भक्तजनसँग कुरा गर्दागर्दै कुशीनगरमा उनको स्वर्गारोहण हुनु यो एक असाधारण दैविक घटना हो।

सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा वैराग्य भएर श्रीमती, छोरा, परिवार, दरबार, राजपाठ छोडेर ज्ञानको खोजीमा लाग्नुभयो। धेरै दिनको ज्ञानको खोजीपछि गौतम बुद्धले बोधिवृक्षमा तपस्या गरेर उनले बुद्धत्व प्राप्त गरे।

सम्पूर्ण खराबीबाट मुक्त रहनु, मनलाई स्वस्थ राख्नु, जे राम्रो लाग्छ त्यो गर्नु भन्ने विचारमा आधारित भएर सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीव, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक समाधि आदि उपदेश गौतम बुद्धमा सिद्धि वाणीहरू हुन्।

उपदेशहरूलाई ठीकसँग प्रयोग गर्न अभिप्रेरित गराउन गौतम बुद्धले आफ्ना भक्त बौद्ध भिक्षुहरूलाई संसारमा धर्म प्रचार गर्न धर्मदूत रूपमा पठाउने चलन चलाए। बुद्धले बताएका उपदेशहरूलाई लिखित रूपमा उतारिएको थिएन। उनको शेषपछि उनका अनुयायीहरूले बौद्ध सम्मेलन गरेर त्यसपछि बौद्ध उपदेशको संग्रह गरे।

पहिला, दोस्रो र तेस्रो पटक गरिएको सम्मेलनबाट तयार भएको गन्थ्रलाई ‘त्रिपिटक’ भनिन्छ। यही त्रिपिटकको आधारमा बुद्ध धर्मको आधार ग्रन्थ तयार भयो। त्रिपिटकका तीन वटा नाम भए सुत्त पिटक, विनय पिटक, र अभिधम्म पिटक। बुद्धका उपदेशहरू ‘धम्मपद’ मा संगृहीत छन्। धम्मपद बुद्धका उपदेशका प्रसिद्ध संग्रह मानिन्छ।

सम्यक् व्यायाम अन्तर्गत विपश्यना ध्यान गौतम बुद्धद्वारा देशित चित्त विशोधन विधि हो। यसलाई बुद्ध योग भने पनि हुन्छ। गौतम बुद्ध  हुँदा बुद्ध धर्मबारे कुनै विवाद उठेको थिएन। बुद्धको अर्थ हो- ज्ञान प्राप्त गरेको व्यक्ति हो। संसारिक दुःखबाट स्वतन्त्र बनेर गौतम बुद्धले बोधिसत्व प्राप्त गरिसकेपछि गौतम बुद्धको ज्ञानद्वारा प्रभावित भएका बौद्ध संघका मानिसहरूले आआफ्नै पाराले बुद्धका उपदेशहरूलाई अर्थ लगाउन थाले।

यसले गर्दा बौद्ध धर्म अपरम्पार भवसागर जस्तो लाग्छ। समय र परिस्थितिले बुद्ध धर्म हीनयान, महायान आदिमा विभक्त भयो। त्रिपिटकमा उल्लिखित  उपदेशहरूका अनुयायीहरू हीनयानी भए। हीनयानीहरूलाई थेरवादी बौद्ध मानिन्छ। थेरवादीहरू बुद्ध धर्मले बोधीज्ञानलाई मुख्य आधार मान्ने गर्छन्।

थेरवादीहरू बौद्धबाहेक अरू धर्मसँग सम्बन्ध जोड्न चाहँदैनन्। हीनयान अर्थात् थेरवादीहरूको पहिरन केही पहेंलो र कपाल मुडुलो हुनछ भने महायानवादीहरू केही कलेजी रङको पहिरन प्रयोग गर्छन्। कपाल नकाट्ने, शाकाहारी, मांसाहारी र देवीदेवताको समेत पूजाआराधना गर्ने हुन्छन्।

गुभाजूहरू महायानवादी हुन्। पहेंलो वा रातो लुगा नलगाउने जातका नेपालीहरू पनि कतिपय बौद्ध धर्मका पालक छन्। बुद्धका उपदेशहरूसँग प्रभावित भिक्षुभिक्षुणीहरू लगायत बुद्ध धर्म र संघलाई आत्मसात् गरी ‘बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि’ भन्छन्। बौद्ध धर्ममा सम्यक्को ठूलो महत्त्व छ। सम्यक्को अर्थ हो–राम्रो होस्, गरेर गर्ने कर्म हो।

गौतम बुद्धले बताएअनुसार प्राणी हिंसा नगर्नु, नचोर्नु, ब्रम्हाचार्य पालन गर्नु, झूठो नबोल्नु, लागु पदार्थ सेवन नगर्नु, कुबेला भोजन नगर्नु, फूलमाला आदि सुगन्धित वस्तुहरू धारणा नगर्नु, उच्चासनमा बस्ने, सुत्ने नगर्नु, सुनचाँदी जस्ता मूल्यवान् धातुको लोभ नगर्नु भन्ने उपदेशका अनुयायीहरू थेरवादी मानिन्छन्।

श्रीलंका, थाइल्याण्ड, म्यानमार (बर्मा), कम्पुचिया, लाओस, भियतनाम आदि ठाउँका भिक्षुहरू थेरवादी हुन् भने चीन र रुसका बौद्धहरू महायानवादी हुन्। बौद्धहरूले तीर्थ तथा धामको रूपमा लुम्बिनी, बोधगया, सारनाथ, कुशिनगरलाई मान्छन्। बुद्धको जन्मथलोको रूपमा लुम्बिनी तपस्यास्थलको रूपमा बोधगया, ज्ञान प्राप्तिपछि सर्वप्रथम भिक्षुहरूलाई उपदेश दिएको स्थलको रूपमा सारनाथ र देहत्याग गरेको स्थल कुशिनगर हुन्।

यी पवित्रस्थल मानिन्छन्। बौद्ध धर्मबारे प्रसिद्ध वैज्ञानिक अलवर्ट एन्स्टाइनले भनेका थिए, ‘प्राकृतिक र अध्यात्मिक दुवैलाई समेटेर, प्राकृतिक र आध्यात्मिक सबै कुराको अनुभवबाट उत्पन्न हुने धार्मिक भावनामा आधारित सार्थक एकता हुनुपर्छ। आधुनिक वैज्ञानिक आवश्यकताहरू पूरा गर्न सक्ने कुनै धर्म छ भने त्यो बुद्ध धर्म हुनेछ।'

गौतम बुद्धका पिता शुद्धधन हिन्दू संस्कारमा हुर्केका र गौतम बुद्ध पनि हिन्दू संस्कारमा परिचित भएकाले हीनयानहरू हिन्दू तथा बौद्ध बीचमा अन्तरसम्बन्ध कायम राख्न जोड दिन्छन्। हिन्दू र बौद्धमा हिन्दू अत्यन्त सौहार्दका साथ धार्मिक सांस्कृतिक सम्बन्ध कायम छ। वैदिक हिन्दू तथा बौद्धहरूमा मन्त्र, तन्त्र र यन्त्रमा गहिरो सम्बन्ध छ।

लिच्छविकालमा नेपालका राजाहरूले बौद्ध धर्मलाई ठूलो मान्यता गर्थे। लिच्छवि राजा जयदेवले पशुपति अभिलेखको वंशावलीमा वृषदेव राजालाई ‘बौद्ध धर्मको पक्षपात गर्ने’ भन्दै प्रशंसा गरिएको छ। मानदेव प्रथमका पालाको चावहिलको अभिलेखमा किन्नरी भन्ने आइमाईले बौद्धसँगका भक्तहरू र भगवान् बुद्धको पूजाका लागि खेत दान गरेको कुरा बताइएको छ।

राजा शिवदेव प्रथमले आफ्नो नाउँमा शिवदेव विहार राखेका र अंशुवर्माको समयमा दक्षिणकालीको भेकतिर भिक्षुहरूको उपयोगका लागि धारो बनाएका बयान अभिलेखमा पाइन्छ। लिच्छविकालमा नै तिब्बतसँग बौद्ध धर्मकै कारण सांस्कृतिक सम्बन्ध बढाएको थियो। तिब्बत त महायानी बौद्धहरूको आराधना केन्द्र नै बनेको छ तर चीनको बेइजिङमा पनि नेपालका अरनिकोले निर्माण गरेको बौद्ध चैत्य क्षेत्र, लामा टेम्पल क्षेत्रमा भिक्षुहरू यत्रतत्र देखिन्छन्।

‘ओम पद्ये हुँं’ मन्त्र चौतर्फी रेकर्डिङबाट पनि गुञ्जयमान गराइन्छ।  चैत्र र २०७१ सालको वैशाख महिनामा आफूले चीनको भ्रमण गरेर चीनमा बौद्ध धर्मप्रतिको आस्था बढेको देख्न पाइयो। यसरी बौद्ध धर्मले अन्तर्राष्ट्रिय जगतमा प्रभाव बढ्न लागेको थियो। मल्ल राजाहरू हिन्दू तथा बौद्ध दुवै धर्मलाई आफ्नो मातृ धर्म जस्तो मान्यता गर्थे।

पृथ्वीनारायण शाहले राष्ट्रियकीकरणपछि काठमाडौं उपत्यका लगायत नेपालमा अवस्थित गुम्बा, विहारहरूको संरक्षण गर्ने नीति लिएका थिए। राजा महेन्द्रले २०१३ सालको लुम्बिनी भ्रमणपछि बुद्धको जन्मथलो लुम्बिनीमा काटमार नगर्ने निर्देशन दिएर यसलाई अनिवार्य बनाए।

बुद्धका उपदेश, व्याख्या र बौद्ध धर्मका सिद्धान्त अहिलेको संसारमा यति व्यापक भएको छ कि जुन प्रकारले पनि बुद्धको सम्मान गर्न सकिन्छ। नेपालका बज्रयानी बौद्धहरू देवीदेवताको पूजा गर्छन् र दशैमा पनि पूजाआजा गरी चाड मनाउँछन्। बौद्धहरू बुद्धको मूर्ति राख्ने, बुद्धलाई सम्मान गर्ने भए पनि बौद्धहरू मूर्ति पूजक होइनन्। बुद्ध मूर्ति खडा गर्नुको मतलव शान्ति र एकाग्रताका लागि हो।

बौद्ध दुई प्रकारका छन्, 'पौराणिक बुद्ध र शाक्यमुनीका उपदेश अनुशरण गर्ने बुद्ध। गौतम बुद्धभन्दा अगाडि नै पिपश्वी बुद्ध, शिखी, विश्वभू, क्रकुच्छन्द बुद्ध, कङ्कमुनी र काश्यप बुद्धको अवतारको विषयमा स्वयम्भू पुराणमा उल्लेख छ कि काठमाडौँ उपत्यकामा पानीले भरिएको अवस्थामा यी बुद्धहरूको आगमन भएको थियो। विपश्वी बुद्धले एक कमल बीज स्वयम्भूमा रोपे। स्वयम्भू ज्योतिमा प्रकट हुन लागेपछि मञ्जुश्रीको नेपालमा आगमन भयो। स्वयम्भूमा शाक्यमुनी बुद्धहरू पनि पूजा गर्छन्, भनिएको पनि छ।'

‘बोधिसत्य महासत्य, स्वयम्भू चैत्य नमाम्यहं।’ तर, समयकाल र परिस्थितिले बौद्ध संघमा रहेका भिक्षु तथा भिक्षुणीहरू बीचमा सम्पर्क बढेर बच्चा फाल्ने, मार्ने आदि  विहारमा बुद्ध धर्मभित्र दुराचार बढ्न थालेको अवस्थामा शंकराचार्यको नेपालमा भ्रमण भयो। त्यस भ्रमणको बेला शंकराचार्यले बौद्ध भिक्षु र भिक्षुणी बीचमा सामाञ्जस्य ल्याउन बौद्ध धर्मभित्र सन्यासी आश्रम र गृहस्थाश्रम हुन्छन् भन्ने परिभाषा गरेको बेलादेखि बौद्ध धर्ममा सन्यासाश्रम र गृहस्थाश्रमको विकास भएका बेलादेखि बौद्ध धर्म विश्वव्यापी हुन गयो।

त्यसबेला कतिपय अनभिज्ञ व्यक्तिले आक्रोशित हुँदै शंकराचार्यले सम्पूर्ण बौद्ध ग्रन्थ जलाए भनेर आक्षेप लगाए जब कि त्यसबेला बौद्ध गन्थहरू सुरक्षार्थ पशुपतिनाथमा राखेका थिए। त्यसबेलादेखि भिक्षु हुनुबाट टाढा रहेकाहरू गृहस्थ बनी वज्रयान सिद्धान्त अपनाए। यसरी हीनयानवादी र महायानवादी आआफ्नो संकल्प तथा पारा अनुसार बौद्ध धर्मपालन गर्न उत्सुक बन्न पुगे।

नेपालमा बौद्ध धर्ममा आवद्ध जातजातिहरूमा शाक्य, ज्यापु, मानन्धर, बज्राचार्य आदि र शेर्पा, तामाङ, थकाली, थारु र कतिपय मगर, गुरुङहरू बौद्ध धर्मलाई आफ्नो आदि धर्म मान्छन्। जनसंख्याका दृष्टिले नेपालमा हिन्दूहरूको संख्या ८५ प्रतिशतभन्दा धेरै भए पनि बौद्धप्रति हिन्दूहरू नकारात्मक हुँदैनन्, छैनन्।

संस्कृतिविद् डा. जगमान गुरुङ भन्छन्, ‘यही काठमाडौं वरिपरि आठ वटा शिवलिङ्ग छन्। यी शिवलिङ्गहरूलाई यहाँका बौद्धहरूले अष्ट वैतराग अर्थात् रागसहित अष्ट बोधिसत्वका रूपमा मान्छन्। शैवहरू शिवका रूपमा मान्छन्, बौद्धहरू अष्ट बोधिसत्वका रूपमा अर्चना गर्छन्। चौसठ्ठी शिवलिंगमध्ये दुम्जामा कुशेश्वर महादेव छन्, जुन काडमाडौंका बौद्धमार्गी शाक्य–बज्र्राचार्यहरूका कुलदेवता हुन्। हरेक वर्ष कार्तिक शुक्ल अष्टमीको दिनलाई नेवारी भाषामा मुखाअष्टमी भनिन्छ। त्यस दिन भगवान् पशुपतिलाई बौद्ध अवतारका रूपमा भगवान् बुद्धको पञ्च बुद्ध मुकुट पहिर्‍याएर पूजा गर्ने चलन छ।’

बौद्ध धर्ममा सम्यक् पूजा मनाउन उक्त पूजामा राजाको संलग्नता गराइन्छ। सम्यक पूजामा हजारौं भक्तजनको भेलामा भोज समेतको व्यवस्था गरिन्छ। भगवान बुद्धलाई विष्णुको अवतारको रूपमा मानिन्छ। यसरी बौद्धहरू पशुपतिनाथलाई घोलाङवाकछयूक भनेर मान्छन्, गुह्येश्वरीलाई फामाडोलछयूक भन्छन्।

नेपाल सर्वोदय बौद्ध धर्म संघबाट प्रकाशित तिलकबहादुर नेगीको २०३९ सालमा प्रकाशित पुस्तिका अनुसार शाक्यमुनी बुद्धले कुशीनगरको साल वनमा भिक्षु आनन्दसँगको अपसोचपूर्ण जिज्ञासाको जवाफमा भनेको कुरा पनि यहाँ चिन्तनीय छ।

बुद्धले त्यसबेला भनेका थिए, ‘म आठ वर्षपछि विमल सरोवरको पद्य विक्षमा अद्भूत र श्रेष्ठ बुद्ध बनेर जन्म लिनेछु’ भनेर सम्झाएको थियो। बुद्धले भनेझैं आठ वर्षको बालकको रूपमा गुरु पद्यसम्भवको जन्म भएको भनिन्छ। गुरु पद्य संभवले तिब्बत, चीन, मंगोलिया लगायत धेरै देशमा बौद्ध धर्म प्रचार गरे। ॐ मणि पद्ये हुँ यसैको रूप हो।

बौद्धका विहारहरूका मानेहरूमा र बौद्ध झण्डाहरूमा यही मन्त्रलाई विभिन्न भाषामा उल्लेख गरेर झण्डास्वरूप फहराएको हुन्छ। किरातकालमा गौतम बुद्ध जन्मिएको ठाउँ पत्ता लगाएर इसाभन्दा ३ सय वर्ष अगाडि भारत वर्षबाट राजा अशोक नेपाल आएर ‘यहाँ भगवान् जन्मिएका थिए’ भनेर ठूलो ढुंगाको स्तम्भ खडा गरेको कुरा लुम्बिनीको अशोक स्तम्भले बताउँछ।

मगधका राजा अशोकले उसबेला बंगालको खाडीको नजिकै रहेको कलिंग राज्यमा हमला गरका थिए। युद्धमा रगतको खोलो बग्यो। त्यो बीभत्सता देखेर राजा अशोक भरङ्गिएर सन्यास लिने अठोट गर्दै भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा आई बुद्ध धर्म ग्रहण गरी लुम्बिनीमा स्तम्भ खडा गरेका थिए।

किरात कालमा राजा स्थुङको राजाको भ्रमण हुँदा उनले आफ्नो राज्यको भूभागमाथि आक्रमण भएको ठानेर अशोक स्तम्भ ढालेका थिए। त्यसबेलादेखि धेरै वर्षसम्म सुषुप्त अवस्थामा रहेको लुम्बिनीको अशोक स्तम्भलाई सन् १९९५ मा जर्मनका पुरातत्वविद् डा. फयूरर, भारतका डा. पी.सी. मुकर्जी र पाल्पाका बडाहाकिम खड्ग शम्सेरको प्रयासबाट उत्खनन गरी ठड्याएको थियो।

अशोकका प्रभावले भारतमा हजारौं मानिस भिक्षुभिक्षणी बने। तर, भारतका केही व्यक्तिले केही वर्षदेखि बुद्ध भारतमा जन्मिएका थिए भनेर अनेकौं अफवाह फैलाउन थालेको अवस्थामा नेपालका नै केही व्यक्तिले बुद्ध भारतमा जन्मका थिए भनेर भ्रम खडा गर्न थाले। यो दुःखको कुरा हो।

यस्तै २०५९ साल भदौ १९ गतेको कान्तिपुरमा कम्युनिष्ट नेता मोहनविक्रम सिंहले बुद्ध भारतको उडिशामा जन्मेका हुन् भनेर लेखे। जब उडिशाकै प्रसिद्ध इतिहासकार प्रोफेसर करुना सागर बेहेराले लेखे,‘बुद्ध भारतको उडिशामा जन्मेका पनि होइनन् र उनको जीवनकालमा उनले उडिशाको भ्रमण पनि गरेनन्।’

नेपालमा जन्मिएका गौतम बुद्धको जन्मस्थललाई विवादमा ल्याउन जसरी सत्यलाई असत्य बनाउने खोजियो। त्यसले गौतम बुद्धको जन्मथलोको विवादले गौतम बुद्ध र उनका उपदेशहरू झन्–झन् विश्वभर र नेपालीहरूको घरआँगनमा लोकप्रिय बनेका छन्। संयुक्त राष्ट्र संघ लगायत संसारका अनेकौ बौद्धिक व्यक्तिबाट त्यसको भत्र्सना भइसकेको छ। बुद्धले पनि भनेका छन्,‘आफ्नो हित हुने कुरा आफैं निर्णय गर।’

त्यसैले हामीले यस अवसरमा बुद्धको उपदेश– ‘अनैतिक र असंयमी भएर सय वर्ष बाँच्नुभन्दा सदाचारी र ध्यानी बनेर एकदिन जिउनु जाती छ’ भन्ने ज्ञानलाई आत्मसात् गरेर नेपाललाई युगयुगान्तरसम्म सार्वभौम राष्ट्रको रूपमा बँचाइराख्न नेपाललाई हिन्दू तथा बौद्ध राष्ट्र घोषणा गरिनुपर्छ। गौतम बुद्धको २५६६ औं जन्म जयन्तीको अवसरमा सम्पूर्ण नेपाली तथा संसारका बौद्धमार्गीमा शुभकामना अर्पण गर्दछु।

प्रकाशित: ३ जेष्ठ २०७९ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App