नुवाकोटको सिन्दुरे जात्राका नामले प्रख्यात यस जात्रामा नुवाकोटको प्रसिद्ध शक्तिशाली देवी भैरवीको धूमधामसँग जात्रा गरिन्छ भने पुजारी धामी र धामिनीको पनि जात्रा गरिन्छ। हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन अर्थात बालाजु पूर्णिमाकै दिन नुवाकोटमा भव्य सिन्दुरे जात्रासहित शक्तिशाली देवी भैरवी र जीवित देवताका रूपमा धामी र धमिनीको जात्रा गरिन्छ।
यो जात्राबारे एउटा किंवदन्ती छ। एकपटक काठमाडौँबाट एक बोरा खुर्सानी बेच्न त्रिशूली पुगेका डंगोल थरका ज्यापूले खुर्सानीको बोरा तादी–त्रिशूली दोभानमा बिसाएर सुस्ताइरहेको बेलामा उसको शरीरमा नुवाकोट भैरवी प्रकट भई पुजारी धामी राख्ने आदेश दिइछन्। अनि त्यसबेलाको नियमअनुसार नुवाकोट दरबारका द्वारेले त्यस डंगोललाई भैरवीका पुजारी धामीमा नियुक्त गरेछन्। अनि त्यस धामीलाई पूर्व–दक्षिण तादी, पश्चिम त्रिशूली, उत्तरमा भैरवी क्षेत्र नाघेर गाउँबाट बाहिर जान नपाइने प्रतिबन्ध लगाइदिएछ। द्वारेले छानिदिएको धमिनीसँग त्यस धामीले विवाह गर्नुपर्ने नियम पनि रहेछ। प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म मनाइने भैरवी जात्रामा धामी र धमिनीले भाग लिनुपर्छ।
यो सिन्दुरे जात्रा चतुर्दशीका दिन नुवाकोटको गुह्येपाटी र भैरवी मन्दिरअगाडि विधिपूर्वक सल्लाको लिङ्गो ठड्याएपछि सुरु गरिन्छ। नुवाकोटको सबै भन्दा ठूलो धार्मिक र ऐतिहासिक पर्व विधिवत्रूपमा १५ दिनसम्म मनाइने यो जात्रा विशेष गरेर ५ दिन भव्यरूपमा मनाइने गरिन्छ। जात्रामा धामी, धमिनी, गणेश, कुमारलाई मुकुट र गहना लगाइदिएर तलेजु भवानीमा लगी वज्रयानी गुरुजुले पूजा गरेपछि पूर्णिमाकै दिन भैरवीको खट जात्राका साथै गणनाच पनि नचाउने गरिन्छ। जात्रामा तच्याङ थरका तामाङले खट तान्ने चलन छ। तर केही वर्षअघि तामाङहरूले विद्रोह गरेर रथ तान्न छाडेपछि सेनाले तान्दै आइरहेका छन्।
सिन्दुर जात्रा सुरु गर्नुअघि मध्य रातमा देवीघाटमा जीवित देवताका रूपमा मानिँदै आएका धामीलाई राँगा, बोका र माछाको बलि दिइने गरिन्छ। यसरी दिइएको राँगा, बोका र माछाको घाँटीमा दाँतले टोकेर रगत चुसेर धामीले बलि ग्रहण गर्दछ।
सिन्दुर जात्रा सुरु गर्नुअघि मध्य रातमा देवीघाटमा जीवित देवताका रूपमा मानिँंदै आएका धामीलाई राँगा, बोका र माछाको बलि दिइने गरिन्छ। यसरी दिइएको राँगा, बोका र माछाको घाँटीमा दाँतले टोकेर रगत चुसेर धामीले बलि ग्रहण गर्दछ। यस्तो रोचक दृश्य हेर्न भक्तजनहरूको भीड लाग्ने गर्दछ। धामीको जात्रा हेर्न हजारौँ मानिस भेला हुन्छन्। धामी र धामिनीको पूजा गर्दै सबैले दर्शन गर्छन्। आ–आफ्ना भाकल पूरा हुने विश्वासका साथ भैरवीको रथमा रहेका देवीदेवतालाई कुखुरा बलि चढाउने गरिन्छ। देवीघाटबाट फर्किएका धामी र भैरवीको रथ नुवाकोटको भैरवी मन्दिरमा आएपछि सिन्दुर हालेर सिन्दुर जात्रा गरिन्छ। नुवाकोट जिल्लाका सम्पूर्ण सरकारी कर्मचारी र प्रमुखसहित जात्रास्थलमा पुग्छन्। सयौँको संख्यामा उपस्थित भई नेपाली सेनाले १२ तोपको सलामी अर्पण गर्छन्।
त्यसपछि जीवित देवता धामी र धमिनीलाई नेपाली सेना र प्रहरीको बाक्लो सुरक्षा घेरामा राखेर रथ यात्रा गर्दछन्। धर्मपानीबाट धामी र धमिनीसहितको रथ यात्रा भैरवी मन्दिरमा पुगेपछि एकअर्कामा सिन्दुर खेलेर यो रथ यात्रा तलेजु भवानीको मन्दिरमा पुगेपछि पूजाआजा गरी पुनः भैरवीको मन्दिरमा ल्याइन्छ। मन्दिरबाट सिन्दुर जात्रासहित नजिकैको गाइद घरमा रथसहित पुर्याएपछि नेपाली सेनाले तोप पड्काएर सलामी दिइन्छ। सोही दिनको मध्य रातमा धामीलाई दर्जन भन्दा बढी पशुपन्छीको बलि दिइन्छ भने धामीले पनि सबै पशुपन्छीको तातो रगत पिउँदै बलि ग्रहण गर्दछ। त्यसपछि दाँतले किटकिट टोक्दै आगामी वर्षमा आइलाग्ने विपत्ति, राम्रा नराम्रा घटना, राजनीतिक एवं दैनिक विभिन्न घटनाको भविष्यवाणी धामीले गर्छन्। त्यसैले धामी र धमिनीलाई जिउँदो देवताका रूपमा मान्दै आएको हो भनिन्छ।
नुवाकोटको भैरवीमाई र जालपादेवीलाई दिदी/बहिनीका रूपमा लिइने गरिन्छ। जात्राको सुरुमा जालपादेवीको मन्दिरमा गई धामीले पशु रगत खाई भोग लिने चलन छ। भैरवी मन्दिर रहेको स्थान नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले ऐतिहासिक साततले दरबार निर्माण गरेका थिए भने नेपालको पहिलो राजधानी बनाएको ठाउँ हो भनिन्छ। त्यस्तै जालपादेवीको मन्दिर रहेको देवीघाट पृथ्वीनारायण शाहले देह त्याग गरेको स्थानका रूपमा परिचित छ।
भैरवी मन्दिरका पुजारी धामी हरिमान सिंह डंगोल र धमिनी मन्दिरको रथ र बाजागाजासहित देवीघाटमा आउँदा हजारौँ मानिसको भीडले गर्दा मेलाको विशेषरूपमा रौनकता छाउँछ। धामी र धमिनी देवीघाटसम्म जाने बेलामा बाटोमा हजारौँ भक्तजनले पूजा गर्ने गर्दछन्। धामीको जात्रा हेर्न पचासौँ हजारको संख्यामा आएका भक्तजनले धामी र धमिनीलाई जीवित देवताका रूपमा पूजा र दर्शन गर्ने गर्छन्।
प्रकाशित: १२ वैशाख २०७९ ०३:४६ सोमबार