१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

विक्रम संवतकाे उठान

२०७९ वैशाख १ गते बिहीबार विक्रम संवत्को नयाँ वर्ष प्रारम्भ भएको छ। मीन समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ अर्थात् मेषमा सूर्यले प्रवेश गरेको दिन नववर्ष प्रारम्भ हुन्छ। विक्रम संवत् वैदिककालदेखि प्रचलित तिथि र बारहरूको अवलम्बन गर्दै आएको राष्ट्रिय संवत् हो।

विक्रम संवत् पनि शक संवत्, नेपाल संवत्झैँ तिथिका आधारमा चल्दै आएको हुँदा तिथिहरू थपघट भइरहने हुँदा शासन व्यवस्थामा धेरै अप्ठेरो भएकाले ज्योतिषहरूको सम्मेलनको सुझावका आधारमा तिथिहरूमा अन्तर नपर्ने गरेर चन्द्रशमशेरले विक्रम संवत् १९६१ मा शासन व्यवस्थामा सजिलोका लागि वैशाख १ गते मेष संक्रान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन्। विक्रम संवत्मा गतेबाट लेख्ने चलन चलेपछि अरू संवत्भन्दा यो लोकप्रिय हुन गएको हो।

तिथिहरू कहिले एकै दिन दुइटा आइपर्ने हुँदा धेरै असजिलो भएकाले गतेमा लेख्ने चलनपछि शक संवत् र नेपाल संवत्हरूको दाँजोमा विक्रम संवत् व्यावहारिक हुन पुगेको हो। शनिबार सार्वजनिक बिदा दिने चलन पनि चन्द्रशमशेरकै पालादेखि चलेको हो। नेपाल संवत् र शक संवत्हरू अध्यावधि तिथिका आधारमा मात्र चलेका छन्।

विक्रम संवत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी वर्षभरिका १२ महिनाका दिनहरू निर्धारण गरिएका हुन्। विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरूमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्का रूपमा स्थापित भएको छ।

‘अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः’(पशुपति पुराण)। अर्थात् सूर्यवंशी लिच्छवि राजाकोे प्रभावले किरात राजालाई जिती लिच्छविवंश सुुरु भएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य उपाधिबाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् उठान भएको हो। 

हिमवतखण्डका स–साना राज्य सेनवंशी, बाइसी, चौबिसी तथा काठमाडौं उपत्यका लगायत ब्रह्मपुत्रदेखि गंगाको आसपाससम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाण छन्। विक्रम संवत्भन्दा १३५ वर्षपछि शक संवत्को उठान र ९३७ वर्षपछि नेपाल संवत्को उठान भएको हो।

विक्रम संवत्को वर्षमा ३६५ दिन र शक संवत्, नेपाल संवत् र शक संवत्मा ३५४ दिन मात्र हुने हुँदा अन्तर्राष्ट्रिय हिसाबले ईस्वी संवत्सँग तालमेल मिलाउन विक्रम संवत् धेरै व्यावहारिक भएको छ। ईस्वी संवत्, शक संवत्, नेपाल संवत्भन्दा विक्रम संवत् जेठो भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न पनि यो संवत् सफल बनेको छ।

इतिहासविद् श्री नयनाथ पौड्यालले नेपालको पुरातत्व विभाग राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजा बारेमा किंवदन्ती प्रस्तुत गर्दै बज्रयोगिनीबाट पारसमणिसहित आशीर्वाद प्राप्त गरेको राजप्रासादको दक्षिणतर्फ (हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडी धारा बनाई तीर्थस्थल समेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेका छन्।

साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जसको अध्यावधि बज्राचार्य वंंशका पूजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन्। साँखुमा अवस्थित विक्रमादित्यले नेपालमा राज्य गरेको यो ज्वलन्त प्रमाण हो। उनैबाट काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ।

योगी नरहरिनाथले ‘श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः’ भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राममन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्ने पाइन्छ, भनेका छन्। यसबारे काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा बासु पासाले काभ्रे सिन्धु वृत्तान्त पुस्तकमा लेखेका छन्। लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ।

जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ। त्यसपछि त्यसरी नै मल्लकालभरि विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरूमा प्राप्त छन्। मोरङका राजा हरिश्चन्द्र सेन र वृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौँ प्रमाण भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह (२०१८) मा प्रकाशित गराएका छन्।

फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ। गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ। अछामको वरदादेवी मन्दिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ। भक्तपुर दरबारनजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम संवत् १७३५, भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा विक्रम संवत् १७४१, भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलबाट अभिलेख संग्रहमा उल्लेख गरिएको छ।

राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गरेका छन्। जयप्रकाश मल्लले विक्रम संवत् १८१४ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’मा उल्लेख गरेका छन्। विक्रम संवत् यस क्षेत्रको प्रचलित संवत्का रूपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराण शाहको वंश गुह्यकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए।

जंगबहादुरले मुलुकी ऐनलाई संग्रह गरी त्यसमा विक्रम संवत् १९१० उल्लेख गरेका छन्। इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा विक्रम संवत् १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा थिए भनी उल्लेख गरेका छन्। विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णांकको ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ प्रयोग भइआएको देखाएका छन्।

इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्, ‘विक्रम संवत्को प्रचलन मध्यकालमा वाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए। केन्द्रका तीन सहरका मल्लराज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो। भक्तपुरमा नववर्ष प्रारम्भ हुनुभन्दा अगाडि धुमधामका साथ बिस्केट जात्रा मनाइन्छ। तराईमा थारुहरू वैशाख सुरु हुने दिनदेखि नै सिरुवाजात्रा मनाउँछन्।’

त्यस्तै अरूणकुमार पाण्डे लेख्छन्– ‘सृष्टिको आरम्भमा सूर्य लगायतका ग्रहनक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम संवत्को गणना पद्धति सुरु हुन्छ। विक्रम संवत् विश्व ब्रह्माण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ। नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समेटेको छ।’ विक्रम संवत् प्रकृतिसँग सम्बन्धित छ भन्ने एउटा आश्चर्यजनक कुरा नेपालभित्रै देख्न सकिन्छ।

हरेक वर्ष मेष संक्रान्ति, नव वर्षका दिन विक्रम संवत् वैशाख १ गते सलहेस नामक फूलले उजागर गर्ने गर्छ। सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा वर्षमा एक दिन मात्र फुल्ने सलहेस फूल जसमा एउटै मात्र मालाजस्तो लामो झ्याम्म परेको लटरम्म फूल हो। अचम्मको कुरा अघिल्लो दिन कोपिला लाग्ने बिस्तारै आकार दिँदै नयाँ वर्षको बिहानी वैशाख १ गते मालाको आकारमा फुल्दछ। बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिँदै भोलिपल्ट झर्ने गर्छ।

संवत्हरूको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान् खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लिखित संवत्हरूलाई विक्रम संवत् ठहर्‍याएका थिए। त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन्– ‘मानदेवको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो। यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन्।’

यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्वलिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरू शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लिखित संवत्लाई विक्रम संवत् नै मानेका छन्। लिच्छविकालमा उल्लिखित संवत्हरूलाई शक संवत् होइनन्।

कतिपय नेपालकै इतिहासकारले विक्रम संवत् नेपालको होइन, यसको उठान भारतको उज्जयनीबाट भएको हो, भन्छन्। तर यो सत्य होइन। इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमादित्य लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्न मिल्दैन। इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन्– ‘जुन समय ईशापूर्व ५७ वर्षमा यो संवत्को उठान भएको थियो, उस समयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन। उज्जयिनीका खण्डहरूको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिह्न भेटिएको छैन।’

विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाका विषयमा त्यस समयका भारतका कवि वा कलाकारले कहीँ न कहीँ चर्चा गर्थे होला, कहीँकतै गुनगान हुन्थ्यो, कहीँकतै मूर्ति पनि बन्थ्यो होला। विक्रम संवत्को उठान नेपालमै भएको हो।

एसियाका अधिकांश राष्ट्रहरू चीन, भारतमा अंग्रेजी साम्राज्यको प्रभावले त्यहाँका आदि संवत्हरू विस्थापित गरेर ईस्वी संवत् लागू गरिएको थियो। तर साम्राज्यवादी प्रभावबाट जोगिएको नेपालले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत् यथावत् कायम रहिरह्यो। नेपाल सधैँ सार्वभौम थियो भन्ने कुराको ठोस प्रमाण विक्रम संवत्को निरन्तरता हो। विक्रम संवत् नेपालको गौरव र मौलिक संवत् भएकाले नयाँ वर्ष २०७९ को शुभ मुहूर्तमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना अर्पण गर्छु।

प्रकाशित: १ वैशाख २०७९ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App