coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

अवसर पाए कम छैनन् मुसहर पनि

सिरहाको सखुवानन्कारकट्टी गापा–३ पोरताह टोलमा सदाय समुदायको बस्ती छ। यहाँ बस्ने सबै (सय घर जति) भूमिहीन हुन्। उनीहरू सबै गाउँव्लकको जमिनमा बस्छन्। यो जमिन नापी भइसकेको छ तर पनि उनीहरूको नाममा पुर्जा बनेको छैन।

कहिले बन्छ भन्ने पनि कसैलाई पत्तो छैन। जमिन कसरी पाइन्छ भन्ने पनि थाहा छैन। गाउँको बीचमा एउटा पोखरी छ। त्यो पोखरीको पानी प्रयोगहीन थियो। पनि उनीहरूले प्रयोग गर्न सकेका थिएनन्। उनीहरूलाई न समूहबारे थाहा छ न त संगठित हुनुपर्ने कारण नै। आफ्नो जीविकोपार्जनका लागि सरकारबाट के/कस्ता सेवा/सुविधा पाइन्छ र त्यो कसले कहाँबाट र दिन्छ भन्ने पनि पत्तो थिएन।

नजिकै रहेको भगवानपुर गाउँपालिकामा पनि राष्ट्रिय कृषक समूह महासंघ, नेपालले भूमिहीन दलित परिवारसँग काम गरिरहेको थियो। उक्त कार्यले भूमिहीन, सीमान्त, दलित परिवारको जीविकोपार्जनमा टेवा पुगेको सबैले देखेका थिए। यही थाहा पाएछन् ती मुसहर समुदायले पनि। त्यसपछि उनीहरू गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र महासंघलाई खोज्दै हिँडे।

उनीहरूका कुरा सुनेपछि अध्यक्षले भगवानपुरमा भए/गरेका जस्तै कार्यक्रम आफ्नो पालिकामा पनि गर्न र दलित परिवारलाई जोड्न अनुरोध गरे। महासंघले अध्यक्षको अनुरोध नकार्न सकेन। उक्त गाउँपालिकामा अवस्था अध्ययन गरी कार्य सञ्चालनमा तदरुकता देखाएपश्चात उक्त बस्तीमा महासंघको प्रवेश भयो।

महासंघ कृषक समूहहरूको छाता संगठन भएकाले समूह गठन गरी संगठित हुन अनुरोध गर्‍यो। यस क्रममा २० घर/परिवारका महिलालाई समेटेर लक्ष्मी महिला कृषक समूह गठन गर्‍यो। समूह गठनपश्चात नियमित भेटघाट र छलफल अगाडि बढायो। समस्याको पहिचान गर्‍यो। उनीहरूको जमिन छैन। साना साना झुप्रा घरमात्र छ। त्यो पनि गाउँब्लकको जमिनमा। त्यसैले उनीहरूलाई कार्यक्रममा जोड्नु महासंघका लागि चुनौतीको विषय थियो।

तर महासंघले भगवानपुरका समुदायमा पोषण घर बगैँचा र करार खेती कार्यक्रम सञ्चालन गरेको अनुभव भएकाले पोषण घर बगैँचा कार्यक्रमका साथ उनीहरूलाई जग्गा भाडामा लिएर खेती गर्ने पद्धतिमा जोड्ने योजना बनायो। पोषण घर बगैँचा कार्यक्रम सञ्चालन गर्दै जग्गा भाडामा लिइ खेती गर्ने पद्धतिमा उनीहरूलाई अग्रसर गरायो।

ज्याला मजदूरी, बटैया गरेर १५ दिन खटेर पाएको १.५ क्विन्टल धानबाट गुजारा गर्न बाध्य थिए उनीहरू। यतिबेला पनि यो अवस्थामा परिवर्तन आएको छ। महासंघले समूहको महत्व बुझाएकै कारण उनीहरू संगठित भएका छन्। करार खेती र पोषण घर बगैँचा कार्यक्रममा जोडिएका छन्। अर्थात जग्गा भाडामा लिइ तरकारी खेती, धान खेती गर्न थालेका छ्।

यसबाट उनीहरूको जीविकोपार्जन सहज बनेको छ। खानै नपुग्ने मुसहर समुदायका मानिस यतिबेला मासिक बचत गर्ने अवस्थामा पुगेका छन्। उनीहरूको समूहको बैठक अहिले प्रत्येक महिनामा बस्छ। जतिबेला मासिक रु. १०० का दरले बचत उठाउँछन्। सर्सर्ती हेर्दा मासिक सय रुपियाँ कम लागे पनि मुसहर समुदायका लागि यो निकै ठूलो उपलब्धि हो।

मुसहर समुदायले अवसर पाए गरेर देखाउँछन् भन्ने प्रमाणित भएपछि गाउँपालिकाले पनि उनीहरूलाई थप भरथेग गर्न थालेको छ। प्रयोजनमै नआएको गाउँको पोखरी अहिले मुसहरहरूको यही समूहलाई ५ वर्षका लागि भोगचलन गर्न दिएको छ पालिकाले। त्यसपछि सबै मिलेर पोखरी सफा गरे। स्थानीय साधनस्रोत (बाँस) ले घेराबार गरे।

त्यसपछि अहिले उक्त पोखरीमा माछा हालेका छन्। त्यतिमात्र हैन, महासंघले पोषणका लागि अण्डा खान र बालबालिकालाई खुवाउन् भनेर उक्त समुदायका मानिसलाई हाँस पालनमा सहयोग गरेको छ। खोर पनि मद्दत गर्‍यो। हाँस पालन निकै फस्टाएको छ। सबै मिलेर काम गर्छन्।

हाँसको अण्डा खान पाएपछि आफ्ना बालबच्चा हृष्टपुष्ट हुन थालेको अनुभवसमेत गर्न थालेका छन्। मुसहरको घर वरिपरि हरियो सागसब्जी देखिनु, फलफूलका बिरुवा हुर्किरहेका पाउनु तथा पक्षी पालनसमेत हुनु अनौठो दृश्य मानिन्छ। जुन अहिले यो समुदायमा देखिन थाल्नु पक्कै पनि खुसीको विषय हो।

अहिले करार खेतीमा तरकारी, धान उत्पादन गरी खान पुगेको मात्र हैन, बढी भएको बिक्रीसमेत गरेर आम्दानी पनि हुन थालेको छ। जसले बालबच्चा पढाउन मद्दत पुगेको छ। समूहकी एक सदस्य सरिना सदाय खुसी व्यक्त गर्छिन्– अहिले हामी समूहमा बसेपछि समूहका साथीहरूलाई परेका समस्या एकजुट भएर कसरी समाधान गर्ने भन्नेबारे छलफल गर्छौँ। जहाँ पनि संगठित भएर बोल्छौँ।

पहिले पहिले घर/परिवारमा झगडा हुन्थ्यो, महिला हिंसा हुन्थ्यो, अहिले सबै हटेको छ। हामीले गाउँपालिका अध्यक्षसँग कुरा गरेर बजेट मागेर टोलमा रहेको हिलो र धुलेबाटो ढलानसमेत गरेको छौँ। हामी हाम्रो समस्याबारे पालिका अध्यक्षसँग सिधै कुरा गर्न सक्ने भएका छौँ। यो हामीले पहिले कहिल्यै नसोचेको अवस्था हो।

मुसहर नेपालको सबैभन्दा पिछडिएको समुदायमा पर्छ। प्रायः सबै भूमिहीन छन्। यही कारण शिक्षा, स्वास्थ्य राम्रो हुने कुरै भएन। त्यसैले अरूको नोकरीमै पुस्तौँ बित्छ मुसहरको। तर यहाँको परिवर्तित अवस्थाले पुष्टि गर्छ कि अवसर पाए भने उनीहरू मेहनत गर्न र आफ्नो जीविकामा परिवर्तन ल्याउन सक्षम छन्। त्यसैले सरकार तथा गैरसरकारी निकायहरूले पनि मुसहरलाई केही गर्न नसक्ने, अरूको मजदूरी गर्नकै लागि जन्मेका रूपमा बुझ्ने जमाना गयो। बरु उनीहरूलाई अवसर र स्रोत÷साधन उपलब्ध गराउनतिर लाग्नुपर्छ। ताकि उनीहरू आफ्नै मेहनतले आफ्नो जीवन यापन सहज तुल्याउन सक्षम होउन्।

(अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल)

प्रकाशित: ११ फाल्गुन २०७८ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App