होचाको मुखमा घोचा गाड्नु त हामी नेपालीको परम्परा नै हो। सरकार के कम हुन्थ्यो! उसले मानव विकासको सूचकांकमा ७४ औँ स्थानमा रहेको मुगुमा परेको संकटलाई वास्ता गरेन। भूगोल, विकास र प्राकृतिक प्रकोपले समेत हेपेको मुगुलाई उसले बोल्नै नसक्ने गरी मुखमा घोचो गाड्ने काम गर्यों। गएको कात्तिक ८ गते दिनभरिजसो परेको असिनापानीले मुगुका श्रीकोट, सेरी, गम्था, कोटडाँडा, श्रीनगर, कार्कीबाडा, धैनकोटलगायत गाउँमा धानबाली पूर्णरूपले नष्ट पार्योट। भोकले आलसतालस पारिरहेका बेला मुखमा पर्नै लागेको गाँस कुकुरले खोसेर लगेझैँ भयो।
खेती किसानीका गिर बुझ्नेलाई मात्र थाहा हुन्छ, यो जुवातासजस्तै जोखिमको बाजी हो। खनजोत, मलजल, गोडमेल गरिसक्नु किसानलाई महाभारत युद्ध आधा जितेसरह हो। त्यसपछि बाली पाक्ने बेला आकाश धुम्मिएको देख्दै तिनको मुटुमा घण्टाघरको तर्साउने घन्टी बज्न थालिहाल्छ। धान पसाउन थालेपछि आउने सानो पानी र हावाहुरीले नै धानबाली सडकझैँ लम्पसार परेर सुत्छ। मुठा बाँधेर उठाइए पनि आधा धान हावाहुरीले खाइसकेको हुन्छ। त्यसरी जोगिएको बाली भित्र्याएपछि पनि सस्तोमा अन्न बेचेर मलखाद किन्नु, ज्यालाको व्यवस्था गर्नु तिनको बाध्यता हो। जब वर्षायाम लाग्छ, सस्तोमा आफैँले बेचेको अन्न महँगोमा किन्न बाध्य हुन्छन्। त्यसमाथि काट्ने बेला भएको धानमा असिनापानी ओइरिदिए बोटमा एउटै दाना बाँकी रहँदैन। जमिनको कमाइ जमिनलाई नै ठीक्क। अनि बालबालिका पाल्नुपर्ने र आफ्नो मुखमा माड लगाउनुपर्ने किसानले के गर्नू? ऊ आकाशतिर हेरेर कहिल्यै कान नसुन्ने इन्द्रलाई सत्तोसराप गर्दै धारे हात लगाउँछ। धरतीका साहूजी इन्द्रहरुचाहिँ यही मौका छोपेर कालाबजार चलाउँछन्। अनि त ‘गरिबको चमेली, निसाफै हरायो' भनेझैँ भइहाल्छ। त्यो निसाफ फर्काउन धरतीमा कुनै कर्मण्य न्यायाधीश भेटिँदैनन्। हो, मुगाली जनतालाई यही दुःख आइलागेको छ। तिनीहरुसँग अर्को वर्ष लगाउने धानको बीउसमेत बाँकी छैन।
बंगालको आँधीले नेपालमा चिसो ह्वात्तै बढाइदिएको छ। राजधानीका महाजनहरु त सिरकमाथि सिरक खापेर सुत्छन्। न्यानोतातो खान तिनलाई कुनै दुःख हुँदैन। यस्तो बेला चिसो कर्णालीमा हिउँकै वर्षा भइरहेका तस्बिरहरू अखबारमा छापिएका छन्। त्यसमाथि अनिकाल? हे प्रभु, यो चानचुने संकट हो र! मान्छे केले बाँच्छ? भावुक भएर फूलबुट्टे कविको शैलीमा भनिएला, प्रेमले। मनको सुखले। भविष्यको कल्पनाले। तर, खानाबिना मान्छे प्रेम, मनको सुख र भविष्यको कल्पनाले मात्र बाँच्न सक्दैन। पहिला त उसको प्राण बचाउन खाना नै चाहिन्छ। त्यसपछि मात्र नाना र अरू तानाबाना चाहिएलान्। मान्छेलाई एकछिनको भोक खप्न कति मुस्किल हुन्छ, अनिकाल त अनिश्चितकालका लागि चल्छ। सरकारले बुझे हुन्छ, भोक सबभन्दा खतरनाक हतियार हो। अलि राजनीतिक भाषामा भन्ने हो भने यही एटम, हाइड्रोजन र सबै प्रकारको बम हो। यही जनयुद्ध हो। यही जाडोमा मुगुका सात गाविसका चालीस गाउँबस्तीमा ताप्न नमिल्ने अनिकालको आगो बल्दैछ। खाद्यान्नको अनिकाल त कर्णालीको सदाबहार दुःख हुँदै हो। त्यसमाथि मुगालीको आंशिक सुख पनि खोसियो। यस्तै बेला चाहिने हो खाद्यान्नको न्यायमूलक वितरण। यस्तो बेला लोककल्याणको जिम्मा लिएर बसेको सरकार भने कानमा बिर्को लगाएर सत्ता लम्ब्याउने कुटिलतामा गम खाइरहेको छ।
सरकारका जिम्मेवार प्रतिनिधिहरू, सभासद्हरू, वातावरणविद् र पत्रकारहरू पृष्ठभूमिमा रारा तालको रमणीय दृश्य झल्काएर केहीअघि जलवायु परिवर्तनबारे अन्तर्क्रिया गरेर फर्किए। हामीले पनि देख्यौँ, बीबीसीको साझा सवालमा वातावरणविद् अजय दीक्षित जयवायु परिवर्तनबारे मुगालीलाई बुझाइरहेका थिए। उनका अनुसार यो हामीले नगरेको पापको फल हो। विकसित र ठूला औद्योगिक मुलुकहरूले अन्तरिक्षमा फ्याँकेको अत्यधिक कार्बनडाइअक्साइडका कारण प्रचलित जलवायुमा असर पर्छ र लामो समयपछि त्यसको प्राकृतिकता खलबलिन्छ। त्यसैका परिणामहरु हुन् अतिवृष्टि, अनावृष्टि र असामयिक असिनापानी। त्यसको एकमात्र उपचार अन्तरिक्षमा कार्बनडाइअक्साइड कम उत्सर्जन गर्न विकसित मुलुकहरुलाई दबाब दिनु हो। यस्तो घुमाउरो कुरासँग अनिकालको भयले आतंकित मुगालीको के सरोकार होला? तिनलाई त तत्काल राहत चाहिएको छ। यो जाडो र भोकबाट आफ्ना बालबालिका र आफूलाई जोगाउनु छ। त्यसैले त तिनले सरकारी टोलीलाई घेराउ गरेका थिए।
सरकार संवेदनशील भएको भए यस्तो जोखिमपूर्ण अवस्थामा तत्काल राहत व्यवस्था गरिसक्थ्यो। तर, उसले खबर लिने चासोसमेत देखाएन। प्रष्ट छ, प्रधान मन्त्री सुशील कोइरालालाई भोक के हो थाहा छैन। न उपप्रधान मन्त्री वामदेव गौतम न त नेपालमा नवउदारवादका सूत्रदार अर्थ मन्त्री डा. रामशरण महतलाई नै थाहा छ। तिनकै चुनाव क्षेत्रमा यस्तो भइदिएको भए कुरा अर्कै हुन्थ्यो। सरकार राहत प्याकेज लिएर तत्काल संकटग्रस्त क्षेत्रमा पुगिसक्थ्यो। तर, दुर्गम क्षेत्रका नाममा उठ्नै नदिइएको कर्णालीप्रति मन्त्रीज्यूलाई चासो भएन। कर्णाली तिनका लागि अनावश्यक टाउको दुःखाइ हो। भोकमरी त कर्णालीको सदाबहार विशेषता हुँदै हो। सभासद् मोहन बानियाँले सोधेका छन्, ‘के मुगुवासी दोस्रो दर्जाका नागरिक हुन्? तिनको बाँच्न पाउने अधिकार सुरक्षित गर्नु सरकारको दायित्व होइन? सरकारलाई उसकै दायित्व सम्झाउन पनि धर्ना, जुलुस गर्नुपर्ने हो?'
गत वर्ष हामी जुम्ला, मुगु र कालीकोटको एकाकुनाको संक्षिप्त यात्रामा थियौँ। जुम्लाको डाँफेलेक उक्लेर खाली, नेउरीगाढ, चौथा, भुलभुले, घुच्चीको लेक, आरुगाढा, पिना, कार्कीबाडा, भामबाडा, गमगढी, लामाचौर, रारा ताल, खत्यौड, चुचामारे, बुर्सेना, गोठीज्यूला, सिँजा, नाग्मगाढ हुँदै पुनः जुम्ला फर्कँदा कर्णालीको कहालीलाग्दो जीवनसँग एकसरो साक्षात्कार भयो। भोकले सताएर बच्चाहरू कोदाको नल चपाइरहेका हुन्थे। महिलाहरु नाक ठोक्किने भिरको थाप्लामा घाँस काटिरहेका भेटिन्थे। तल ज्यानमारा कर्णाली बगिरहेको हेर्दै तिनीहरु थाप्लाको गोरेटोमा अजङको भारी बोकेर हिँड्थे। एक प्रश्नको जवाफमा मुगु, आरुगाढाकी जमनी रावलले भनेकी थिइन्, मुगाली आइमाईलाई ज्यानको माया हुँदैन रे! एकबारको जुनी त्यहाँ त्यति सस्तो थियो। तर, जे भने पनि जिन्दगीको माया सबैलाई उस्तै हुन्छ। त्यसैले त ती अनेक संघर्ष गर्छन्। पोखरामा फेवातालको नाम बेचेर पोखरेली होटल व्यवसायीहरु एकप्रकारले लुटपाट मच्चाइरहेका छन्। संसारकै अनुपम सौन्दर्य बोकेको रारा ताल भए पनि कर्णालीले कुनै फाइदा पाएको छैन। त्यहाँसम्म पुग्न सरकारले सहज यातायातको व्यवस्था गरेको छैन। गोठीज्युला पुग्नै लाग्दा सिँजाका रूपबहादुर रोकायाले भने, हाम्रो आधा जीवन उकालोओरालो गरेरै बित्छ। उनी झिसमिसेमै हिँड्दा गमगढी पुगेर फर्किन भ्याइसकेका थिए। उनलाई भोलिपल्ट फेरि मलखादका लागि पैसा जुटाउन गमगढी पुग्नु थियो। यस्ता अनेक दुःख झेलेर पनि लगाएको बाली असिनापानीले सखाप पार्दा त बित्यासै पर्छ। मुगाली जनताले यस हिउँदमा यही संकट सामना गर्नुपर्योी। तत्कालका लागि अल्पकालीन र एक वर्षका लागि कामका लागि खाद्यान्नजस्ता राहत कार्यक्रम घोषणा गरियोस् भन्ने सभासद् बानियाँको माग सरकारले सुनोस्। मुगु पनि हाम्रै देशको मानचित्रमा पर्छ भन्ने तिनले मनन गरून्।
प्रकाशित: २ पुस २०७१ २१:४१ बुधबार

