प्रा. लोकराज बरालको संयोजकत्वमा तयार पारिएको प्रतिवेदनमा दुई देशबीचको खुला सीमाका कारण दुवै देशका जनताले सुविधा उपभोग गरिरहेका छन् भन्ने उल्लेख गरिएको छ भने खुला सीमा व्यवस्थाले अनेकौं समस्या उब्जाएको सन्दर्भको पनि व्याख्या गरिएको छ। यस्ता समस्यामध्ये सीमा क्षेत्रमा हुने आपराधिक घटना, मानव बेचबिखन, लागुपदार्थ ओसारपसार, सीमा विवाद, सीमा क्षेत्रमा बनेका संरचना, ब्यारेज, तटबन्धले उब्जाएको समस्याबारे समेत अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गर्ने समयमा बताइएको थियो। तर नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता खुला सीमाले उब्जाएको समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा खास ठहर, सुझाव र सिफारिस सार्वजनिक भएको पाइएन। अर्कोतर्फ खुला सीमाले प्रदान गरेको सुविधालाई अझ विस्तृतीकरण गरी दुवै देशका जनतालाई समानस्तरमा कसरी उपभोग गराउने भन्ने विषयमा पनि प्रकाशमा पारिएको छैन।
एकाध महिना अघिदेखि नेपाल र भारतबीचको खुला सिमानाबारे निकै चर्चापरिचर्चा चलेर आइरहेको छ। यस्ता कुरा गर्नेमा भारतका प्रधानमन्त्रीदेखि विदेशमन्त्री, गृहमन्त्री, राजदूत तथा बिहार विधानसभाका सदस्यसम्म रहेका छन्। नेपालका उपराष्ट्रपति, परराष्ट्र मन्त्री, तमलेापा अध्यक्ष, प्रजिअ, अञ्चल प्रहरीलेे पनि बोलेका छन्। यस्ता पदाधिकारीमध्ये प्रायः सबैजसोले अवाञ्छित तत्वद्वारा खुला सीमाको दुरुपयोग गरिएको छ र खुला सीमाले अनेक विकृति पैदा गरेको छ भन्ने स्वीकार गरेका छन्।
प्रधानमन्त्री सुशील कोइराला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा गएका समय 'साइड लाइन'मा मोदीले भनेका थिए– 'खुला सिमाना रहेका दुई मित्रवत् मुलुकले आपसी सुरक्षा चासोमा बढी ध्यान दिनुपर्छ।' यसैगरी मोदीको नेपाल भ्रमणको अन्त्यमा जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा 'खुला सीमा आशंकायुक्त तत्वले दुरुपयोग गरी सुरक्षा निकायलाई चुनौती दिइरहेको कुरामा दुवै देश सजग रहनुपर्छ' भन्ने उल्लेख भएको छ।
भारतीय विदेशमन्त्री सुषमा स्वराजले काठमाडौं भ्रमणमा आउँदा भनेकिथिइन् – 'दुवै देशबीचको खुला सीमाले हाम्रो अनुपम सम्बन्धलाई ठोस बनाएको छ। यसले जनस्तरको सम्बन्ध एकदम नजिक तुल्याएको छ। यद्यपि, खुला सीमालाई दुरुपयोग गर्दै आपराधिक क्रियाकलापद्वारा मानव तस्करी, भारतीय जाली नोट तस्करी, लागुपदार्थ निकासी पैठारी गरिएको छ।' सार्क गृहमन्त्रीस्तरीय बैठकमा काठमाडौं आएका भारतीय गृहमन्त्री राजनाथ सिंहले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसँगको भेटमा भनेका छन् – 'नेपाल–भारत खुला सीमामा धार्मिक अतिवादीको चलखेल बढिरहेकोले अपराधी, विध्वंशकारी र अन्य भारत विरोधी तत्वको क्रियाकलापलाई नियन्त्रण गर्न बढी ध्यान दिनु आवश्यक छ। यसैले खुला सीमा क्षेत्रमा हुने अपराध, नक्कली नोटको अवैध ओसारपसार रोक्न दुवै देशका सुरक्षाकर्मीले जोड दिनुपर्छ।'
भारतीय राजदूत रन्जित रेले एउटा अन्तर्वार्ताका क्रममा भनेका छन्– 'नेपाल र भारत खुला सीमा भएका अति निकट मित्रवत् छिमेकी हुन्। दुवै देशबीच धेरै प्राचीन र ऐतिहासिक सम्बन्ध छ। खासगरी खुला सीमा भएका छिमेकीहरूबीच बेलाबखत झमेला आइरहन सक्छन्। तर संवाद, सहभागिता र समझदारीबाट सल्टिन्छन्। खुला सीमा भएकै कारण कोही एउटा देशमा अपराध गरी अर्कोमा गएर लुक्छ, यो दुवै देशका लागि समस्या हो। हामीले सहकार्य र समन्वयलाई सृदृढ पारेर खुला सीमाको फाइदालाई अत्यधिक तुल्याउने र समस्या न्यूनीकरण गर्नपर्छ'।
यसैगरी बीरपुर (भारत) मा एसएसबीले आयोजना गरेको 'मिडिया मेनेजमेन्ट' कार्यक्रममा भारतीय लोकसभा सदस्य रञ्जिता रञ्जनले नेपाल र भारतबीच सदियौंदेखिको मित्रता रहेको छ, तर खुला सीमाका कारण अवैध गतिविधि बढेकोले चिन्तित हुनुपर्ने अवस्था आएको बताएकिथिइन्। यस्तै बिहार विधानसभा सदस्य अच्युतानन्द सिंहले काठमाडौंमा आयोजित एक सम्मेलनमा 'खुला सीमाबाट भारत विरोधी गतिविधि भइरहेकोमा नेपालले सतर्कता अपनाउनु पर्छ' भनेका थिए। वीरपुरका एसएसबी प्रमुख डिएन बम्बेको विचार चाहिँ देशको सुरक्षासँगै खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देश मिलेर जानुपर्छ भन्ने रहेको छ।
'मधेसी जर्नलिस्ट एसोसियसन तथा मिडिया फर बोर्डर हार्मोनी' नामक संस्थाले काठमाडौंमा आयोजना गरेको 'नेपाल–भारत विधायकहरूको तीनदिने सम्मेलन' मा उपराष्ट्रपति परमानन्द झाले 'नेपाल र भारतबीच रहेको खुला सीमालाई दुवै देशका निम्ति वरदानको रूपमा मान्नुपर्छ। यद्यपि तस्कर, विध्वंशकारी तथा अपराधीलाई खुला सीमा दुरुपयोग गर्न नदिन दुवै देश दृढ रहन कोसिस गर्नुपर्छ' भनेका थिए। यसै कार्यक्रममा तमलोपा अध्यक्ष महन्थ ठाकुरले असामाजिक तत्वले खुला सीमा दुरुपयोग गरिरहेकोमा यसलाई रोक्नुपर्छ, नियमन गर्नुपर्छ। तर खुला सीमालाई नियन्त्रण गरिनु हुँदैन भनेका छन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले परराष्ट्र मामिला प्रतिष्ठानको एक सेमिनारमा 'हाम्रो साँध जोडिएको छिमेकीले उनीहरुको शत्रुतत्वलाई हाम्रो सीमा दुरुपयोग गर्न नदिन नेपालको सशक्त सहयोगको चाहना गर्छन्' भनेका छन्।
जिल्लामा ठूला अपराध हुन खुला सिमानाले सहज बनाएको बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको ठम्याइ रहेको छ। नारायणी अञ्चल प्रहरी एसएसपी सर्वेन्द्र खनाल सबैखाले अपराधको खुला सिमानासित 'लिंकेज' रहेको विश्वास गर्छन्। यसै सिलसिलामा पूर्व गृहसचिव गोविन्दप्रसाद कुसुम लेख्छन्– 'खुला सिमानाका कारणले नेपाल पक्षमात्र होइन, भारत पक्ष पनि उत्तिकै पीडित छ। भारतमा अपराध गर्नेहरू नेपालमा लुक्ने र नेपालका अपराधी भारतमा बस्ने स्थितिले समस्या सिर्जना गरेको छ।'
माथि उल्लिखित प्रतिनिधिमूलक पदाधिकारी र पात्रको यत्तिका नालीबेली यहाँ किन लगाउनु परेको हो भने प्रायःजसोले नेपाल र भारतबीचको खुला सीमा संदिग्ध तत्वले दुरुपयोग गरेको सकारेका छन्। तर यस्तो दुरुपयोग कसरी हटाउने र दुई देशबीचको अन्तर्राष्ट्रिय सीमामा हुने विकृतिलाई कसरी निर्मूल पार्ने भन्ने सम्बन्धमा भने खास अभिव्यक्ति आएकोे छैन। वास्तवमा समस्या समाधानको युक्ति पनि निकाल्नुपर्ने होइन र?
खुला सीमामा विकृति आएको त यदाकदा स्वविवेकीय पद्धति अवलम्बन गरिनाले पनि हो। डा. रामशरण महत एउटा क्षेत्रीय बैठकमा भाग लिन पाकिस्तान गएर दिल्ली 'ट्रान्जिट' हुँदै काठमाडौं फर्कने क्रममा एकपटक इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घन्टा रोकिनुपरेको थियो। दिल्लीस्थित नेपाली दूतावासको निकै दौडधुपले महत काठमाडौं फर्कन सकेका थिए। त्यसबखत कुनै नेपाली यात्रु चीन अथवा पाकिस्तान हुँदै भारत प्रवेश गर्न चाहेमा भारतीय भिसा अनिवार्य रहेको अडंगो भारतीय अध्यागमन कर्मचारीले तेर्स्याएका थिए। भारतका विभिन्न सहरमा कामगरी दसैं तिहारजस्ता चाडपर्वमा नेपाल फर्कदैँ गरेका कतिपय नेपाली नागरिकलाई सिमानामा भारतीय एसएसबीले सयपचास रुपियाँ नझारी खुला सीमापार गर्न नदिएका थुप्रै उदाहरण छन्। यसलाई पनि खुला सीमाको विकृतिकै रूपमा लिन सकिन्छ।
यस्तो व्यवस्थाले उब्जाएको चुनौती सामना गर्न अब खुला सीमालाई चरणबद्ध तरिकाले बिस्तारै नियमन गर्दै लैजानुपर्ने परिस्थिति उत्पन्न भएको छ। यसमध्ये पहिलो चरणमा अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने यात्रुलाई सीसीटीभीजडित लामो कोरिडरबाट हिड्न लगाई आफ्नो नाम, थर, ठेगाना, कहाँ, के कामका लागि, कति दिनका निम्ति जानलागेको हो खुलाउनु पर्ने संयन्त्र र अभ्यासको विकास गर्र्नुपर्छ। भित्रीकोठाबाट 'मनिटर' गर्दा शंकास्पद यात्रुलाई अर्को सानो कोठामा लगेर केरकार गर्नुपर्छ। दोषी ठहरिए पक्राउ गरेर कार्बाही गर्नुपर्छ। नठहरिए तुरुन्त सीमापार गर्न दिनुपर्छ। सीमावारपार विन्दुमा रहेको रुखको हाँगामा बाँधिएका सीसीटीभी क्यामरा प्रभावहीन भएका छन्। ती सीसीटीभी क्यामेरालाई भित्र सार्नुपर्छ।
दोस्रो कदमका रूपमा सीमा वारपार गर्ने यात्रुले परिचयपत्र देखाउनुपर्ने र त्यसलाई स्क्यान गरी सूचीकृत अपराधी तथा शंकास्पद व्यक्तिबाहेक अन्य यात्रुलाई अविलम्ब जानदिने संयन्त्र लागु गर्नुपर्छ। स्मरणीय छ, १ अक्टोवर २००० देखि हवाइयात्रुले परिचयपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था लागु गरिएको छ। अब सतहमार्गमा पनि सीमाको दुरुपयोग रोक्न यस्तै प्रबन्ध आवश्यकता पर्न आएको छ। आपसी सहमतिमा यस्ता वैकल्पिक व्यवस्था अवलम्बन गरे दुवैतर्फ शान्ति सुरक्षा कायम हुनसक्ने थियो भने अपराधी तथा अवाञ्छित तत्वले सीमा दुरुपयोग गर्न पाउने थिएनन्।
प्रकाशित: ११ कार्तिक २०७१ २३:१३ मंगलबार

