३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
विचार

नेपालमा इबोलाको जोखिम

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको इबोला भाइरसको संक्रमणबाट जोगिन नेपालले गरेको तयारी अत्यन्त अपर्याप्त छ। त्यसैले रोग भित्रिएको अवस्थामा सम्पूर्ण नेपालीको ज्यान जोखिममा पर्ने खतरा छ।पश्चिमी अफ्रिकाका मुलुकबाट सुरु भएको यो इबोला भाइरसको संक्रमित व्यक्तिमध्ये ९० प्रतिशतको ज्यानै जाने जोखिम हुन्छ। यो रोग बिरामीबाट स्वस्थ व्यक्तिमा सजिलै सर्ने भएकाले पनि नेपालमा प्रवेश गरेका खण्डमा यसले ठूलै महामारीको रूप लिनसक्ने डर देखिएको हो। इबोला संक्रमणको प्रभाव देखिएको पश्चिम अफ्रिकाको लाइबेरियाबाट सशस्त्र प्रहरीको एक डफ्फा स्वदेश फर्केको छ र अर्को डफ्फा पनि चाँडै फर्कदै छ। यसले पनि नेपालमा इबोलाको जोखिम बढाएको छ। यसबाहेक पश्चिम अफ्रिकाका देशहरू पुगेर फर्केका व्यक्तिले इबोला भाइरस शरीरमा धारण गरेर ल्याएका हुन सक्छन्। भाइरसले शरीरमा प्रवेश गरेको ३ देखि २१ दिनमा मात्र यस रोगको लक्षण देखिने हुनाले रोगीको सम्पर्कमा आएका स्वस्थ व्यक्तिमा रोग देखिन केही समय लाग्छ। त्यसैले संक्रमणको शंका भएका व्यक्तिलाई कम्तीमा चार साता सुरक्षित निगरानीमा राख्नसक्नु पर्छ। यसका लागि सरकार अत्यन्त चुस्त र चनाखो हुनुपर्छ। 
इबोला नेपालमा आयो भने कत्रो महामारी फैलनसक्छ भनेर व्यवस्थित अध्ययन भएको पनि देखिएको छैन। तर बिरामीको रगत, पसिना, दिसा, पिसाब, थुक, वीर्य र योनीरसलगायत शरीरका तरल पदार्थबाट यो भाइरस सर्नसक्ने हुनाले नेपालमा यसले प्रवेश गरेमा विकराल रूप लिनसक्छ। अझ संक्रमित व्यक्तिको मृत शरीरबाट समेत यस रोगका विषाणु अर्को व्यक्तिमा सर्ने हुनाले बिरामीको मृत्युपश्चात पनि अत्यन्त सावधानी अपनाउनु जरुरी देखिन्छ। काठमाडौंजस्तो धेरै व्यक्तिको बसोबास भएको र रोग व्यवस्थापनका दृष्टिले कमजोर सहरमा लाखौं व्यक्तिको ज्यान जान सक्नेसम्मको खतरा उत्पन्न हुँद पनि जिम्मेवार निकाय भने कानमा तेल हालेर बसेको छ। लाग्छ, अर्थ मन्त्रालयको बजेट निकासा गर्ने जिम्मेवार व्यक्ति र उसको परिवारलाई यो रोग लाग्दैन वा स्वास्थ्य क्षेत्रमा यस्तो संक्रमण रोक्ने जिम्मेवारी पाएका निकायका परिवारलाई यो रोग लाग्ने अवस्थै छैन। अझ यो रोगको नाममा बजेट संचालनका जिम्मेवारी पाएकाहरू पनि यो रोग तिनलाई नलाग्ने जस्तो गरेर रोकथामको काममा खर्चगर्नुभन्दा भ्रष्टाचारमा लिप्त हुन बेर नमान्ने कर्मचारीतन्त्र भएको देशमा यो रोगको प्रकोप अकल्पनीय हुने जोखिमलाई उपेक्षा गर्नु उचित हुँदैन। 
नेपालमा यस रोगको खतरा अफ्रिकी मुलुकमा जत्तिकै हुनसक्छ भन्ने विशेषज्ञको अनुमान हुँदाहुँदै पनि अहिलेसम्म कुनैपनि ल्याब वा प्रयोगशालामा इबोला भाइरस जाँच्ने क्षमता नहुनु अत्यन्त दुःखलाग्दो र डरलाग्दो विषय हो। त्यतिमात्र होइन हाम्रा प्रयोगशालामा सुरक्षितरूपमा नमुना संकलन गर्ने ज्ञान पनि छैन। यस्तै इबोला संक्रमित वा इबोलाको सन्देह गरिएका बिरामी ओसार्न छुट्टै एम्बुलेन्सको समेत व्यवस्था छैन। त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कका बिरामीलाई थोरै ज्ञान भए पनि अरू नाकाबाट रोगी आए नआएको जाँच गर्न भनेर बसेका व्यक्तिलाई कुनै तालिम दिइएको छैन। यस्तो अत्यन्त डरलाग्दो अवस्थामा हुँदाहुँदै पनि सरकार र निर्णायक तहमा बसेका व्यक्तिले इबोला भाइरसको संक्रमणलाई सहजरूपमा लिएको देखिएको छ। यो अत्यन्त दुःखद र निन्दनीय अवस्था हो। नेपालमा कुनै पनि दिन इबोलाको संक्रमण देखिन सक्छ। त्यस अवस्थामा के गर्ने भन्ने विषयमा सरकार अझै अन्योलग्रस्त देखिएको छ। तर यस्तो निर्णयहीनता पालेरसम्पूर्ण जनताको जीवनसँग खेल्न पाइँदैन। इबोला समस्या स्वास्थ्य मन्त्रालयको एउटा विभागको जिम्मामा मात्र छाडेर हुँदैन। स्वास्थ्य मन्त्री र अझ प्रधानमन्त्रीले नै विशेष ध्यान दिएर इबोला संक्रमण नियन्त्रण गर्ने विषयमा प्रभावकारी र भरपर्दो उपाय अपनाउन अत्यन्त आवश्यक भइसकेको छ।

प्रकाशित: ३ कार्तिक २०७१ २२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %