१२ पुस २०८२ शनिबार
image/svg+xml
विचार

मदन भण्डारी र जबज

मदन आश्रित स्मृति दिवस मनाइरहँदा नेपाली कम्युनिस्ट आन्दोलनमा जननेता मदन भण्डारी र जीवराज आश्रितका योगदान के थिए र आज २१ वर्षपछि तिनको सान्दार्भिकता कति छ भन्ने बहस अझै बाँकी नै छ।छोटो राजनीतिक जीवनमा अत्यन्त दूरगामी असर दिने विचार र दृष्टिकोण दिएर कम्युनिस्ट आन्दोलनलाई समृद्ध गर्न मदन भण्डारीले ठूलै योगदान दिएकाछन्। त्यसकारण नेकपा (एमाले) वा नेपालको कम्युनिस्ट आन्दोलन वा लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविस्मरणीय छ। मदन विचारक, विश्लेषक, प्रखर वक्ता र आन्दोलनको मोर्चामा अगुवा थिए भने जीवराज आश्रित कुशल संगठकका रुपमा चिनिन्छन्। आश्रितजस्ता भरोसिला सहकर्मीको साथले पनि मदन भण्डारी आफ्नो अभियानमा सफल भएका हुन्। 
एमालेलाई वामपन्थी आन्दोलनको मूल प्रवाह र मुलुकको राजनीतिको मूख्य भूमिकामा स्थापित गर्न मदन आश्रितको ठूलो योगदान छ। उनीहरुले निर्माण गरेको वैचारिक धरोहर, संगठनात्मक आधारभूमि र अनुशासित सिपाहीरुपी कार्यकर्ताको बलियो घर नै आजको एमाले हो। आज नेपालको कम्युनिस्ट आन्दोलन र एमाले जहाँ छ त्यसमा मदन आश्रितजस्ता दूरदर्शी, इमानदार र निष्ठावान नेता, आफ्नो जीन्दगी, जवानी र बलिदानी दिने धेरै योद्धाहरुको रगत, पसिना र लगानी छ। त्यसकारण पनि उहाँहरु आदर र सम्मानका पात्र हुनुहुन्छ। 
मदन भण्डारीको भूमिका आन्दोलनको मैदानदेखि विचार निर्माणको रंगमञ्चसम्म उत्तिकै प्रभावकारी थियो। विसं २०४६ को जनआन्दोलनलाई राजनीतिक र वैचारिक नेतृत्व प्रदान गर्नेदेखि अत्यन्त चुनौतीको घडीमा सैद्धान्तिक वैचारिकरुपमा पार्टीलाई समृद्ध गर्ने कुरामा मदनको नेतृत्वकारी भूमिका थियो। त्यसकारण मदन नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी थिए, मार्गद्रष्टा थिए। 
जतिबेला विश्वमा साम्राज्यवादी शक्तिको दबदबा थियो, रुसलगायत पूर्वी युरोपमा बर्लिन पर्खालसँगै समाजवादी किल्ला ढलिरहेका थिए, संसारको विशाल समाजवाद रुसमाथि साम्राज्यजादीहरु धावा बोल्दै थिए र सोभियत संघ विघटन हुदै थियो। जतिबेला विश्व कम्युनिस्ट आन्दोलनमा शीतलहरी आयो र रक्षात्मक अवस्थामा पुग्यो त्यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी जोगाउने भन्ने सबाल प्रखर बन्नु स्वाभाविक थियो। त्यही संकटको भुङग्रोमा जन्मिएका थिए मदन भण्डारी। त्यतिबेला मार्क्सवादलाई संशोधन गर्न खोजेर कम्युनिष्ट पार्टीहरुले गल्ती गरेका कारण संकट आएको निष्कर्ष निकाल्ने एउटा धार थियो, जसले अब मार्क्सवादका अक्षरलाई जस्ताकोतस्तै लागु गरेर नै कम्युनिस्ट पार्टीलाई जोगाउन सकिन्छ भन्ने मान्यता राख्थ्यो। कम्युनिस्ट आन्दोलनको धक्काबाट तर्सिएको अर्को धार थियो जो अब कम्युनिस्ट पार्टीको नाममा आन्दोलनलाई अघि बढाउन सकिँदैन, त्यसैले पार्टीको नाम र झन्डा परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा थियो। यो बहस तत्कालीन नेकपा (माले)भित्र पनि स्वाभाविक रुपमा प्रवेश गर्‍यो। एउटा पक्ष कम्युनिस्ट आन्दोलनलाई पूराका पूरा परम्परागत ढाँचामा सञ्चालन गर्न चाहन्थ्यो भने अर्को पक्ष नयाँ ढङ्गले जाने नाममा आन्दोलनको सारलाई समेत त्याग्ने तहमा पुगेको थियो। एउटा उत्तरपंथी वा उग्रवामपंथी अतिवाद र अर्को दक्षिणपंथी अतिवाद। मदनले यी दुवै अतिवादको विरुद्ध जेहाद छेडेका थिए।
उक्त धक्कालाई धरातलीय यथार्थमा हेर्नु र समस्याको पहिचान गर्नु जरुरी थियो। मदनले एकातिर जडसूत्रवादी संकीर्णतावादी अतिवाद, अर्कोतिर विर्सजनवादी दक्षीणपंथी अतिवाद नै कम्युनिस्ट आन्दोलनमा समस्याका रूपमा देख्न सकेका थिए। उनले समस्याको समाधानस्वरुप निष्कर्ष निकाले कि कुनैपनि समस्याबाट पिठ्यु फर्काएर समाधान निस्कँदैन, कम्युनिस्ट आन्दोलनमा आएको संकटबाट उत्तर वा दक्षिण भागेर होइन, समस्याको सामना गरेर नै जान सकिन्छ। मार्क्सवादलाई जडसूत्रका रूपमा अपनाएर वा यसको अन्तरवस्तुलाई मारेर, तोडमरोड गरेर ठीक दिशामा जान सकिँदैन। वर्तमान परिस्थिति र हाम्रो आफ्नो विशिष्टताका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्दै कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गरेर नै सही बाटोमा हिड्न सकिन्छ भन्ने निष्कर्ष मदनको थियो। त्यसैलाई सैद्धान्तीकरण गर्दै नेकपा (माले)ले पाँचौ महाधिवेशनमा “जडसूत्रवाद र विर्सजनवादको विरोध गरौँ, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं'' भन्ने मूल नारा तय गरेको थियो। 
विश्व कम्युनिस्ट आन्दोलनबाट प्राप्त शिक्षा र नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका अनुभवका आधारमा नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने निष्कर्षका रुपमा पाँचौं महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रम ‘जनताको बहुदलीय जनवाद' पारित गरियो। वास्तवमा मार्क्सवाद प्रगतिशील दर्शन र राजनीति हो, त्यसैले यो परिवर्तनशील हुन्छ र सम्बन्धित देशको विशिष्टताअनुसार यसलाई लागु गरिनुपर्छ। जहाँ त्यसो गर्न सकियो त्यहाँ सफलता प्राप्त भएकोछ। नेपालमा कम्युनिस्ट पार्टीले २०४६ लगायतका लोकतान्त्रिक आन्दोलनमा नेतृत्वकारी भूमिका खेलेको छ, कम्युनिस्ट पार्टीले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा निर्वाचनहरुमा प्रतिस्पर्धा गरेको छ, निरंकुश राजतन्त्रविरुद्ध बहुदलीय प्रजातन्त्रका लागि लामो संघर्ष गरेकोछ। त्यसकारण लोकतन्त्र र बहुदलीय प्रतिस्पर्धा कम्युनिस्ट पार्टीका अभिन्न विशेषता बनेकाछन्। जसको परिणाम हामीले बहुदलीय प्रतिस्पर्धासहितका थप विशेषतासहित नेपाली क्रान्तिको कार्यक्रमलाई जबजको रुपमा नयाँ ढंगले परिभाषित गर्न सक्यौँ। यसअर्थमा जबज नेपाली विशिष्टताको मार्क्सवाद हो। यसैमा मदन भण्डारीको असाध्य ठूलो योगदान छ। 
जतिबेला विश्व कम्युनिस्ट आन्दोलनमा चुनौतीका पहाड उभिएका थिए, त्यतिबेला वाममोर्चासमेतको नेतृत्वमा तानाशाही पञ्चायत र निरंकुश राजतन्त्रविरुद्धको जनआन्दोलन सफल भई देशमा बहुदलीय व्यवस्था स्थापना भयो। त्यति न ैबेला कम्युनिस्ट पार्टीलाई कसरी सञ्चालन गर्ने भन्ने प्रश्न पनि उठ्यो। पार्टीको नाम बदल्ने कि नबदल्ने, पार्टीलाई खुला गर्ने कि भूमिगत राख्ने, कम्युनिस्ट पार्टीकै नाममा कि मोर्चा बनाएर चुनाव लड्ने, कम्युनिस्ट पार्टीको झन्डा बदल्ने कि नबल्नेजस्ता प्रश्नमा बहस चल्यो। पार्टी खुला गर्दा फिलिपिन्स वा चिलीको दुर्भाग्य व्यहोर्नु पर्ने चेतावनी दिइएको भए पनि मदनले हिम्मतसाथ उद्घोष गरे कि कम्युनिस्ट पार्टीको नाम र झन्डा परिवर्तन हुँदैन, कम्युनिस्ट पार्टीलाई खोपीको देउता बनाउन सकिँदैन, कुनै मोर्चा बनाएर होइन, पार्टीकै पहिचानमा निर्वाचनमा भाग लिनुपर्छ। यसरी कम्युनिस्ट पार्टीले अन्य पार्टीसँग खुला प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्ने, जनआन्दोलनमा पार्टीको पहलकदमी स्थापित गर्ने, विचारमा जस्तै पार्टी सञ्चालनमा पनि आन्तरिक प्रजातन्त्रलाई सुदृढ गर्ने मौलिक मान्यता ल्याउने कुरामा मदन आश्रितको भूमिका आज पनि त्यत्तिकै जीवन्त छन्। 
यसैबीच नेपालमा माओवादी अतिवादको विकास भयो। यसले नेपाली समाजलाई निकै प्रभावित गर्नुका साथै कम्युनिस्ट आन्दोलनमा नयाँ चुनौतीसमेत खडा गरिदियो। तरपनि जबजको सैद्धान्तिक हतियारद्वारा एमालेको अगुवाइमा गरिएको लामो वैचारिक संघर्षबाट यसलाई पराजित गरियो। आज उग्रवाद थला परेको अवस्थामा छ। विसं २०७० सालमा भएको संविधान सभा निर्वाचनले त झन प्रष्टरुपमा उग्रवादको भविष्य छैन भन्ने सन्देश दियो। संविधानसभा निर्वाचनबाट जबजको मार्गदर्शनमा अघि बढीरहेको एमाले एकातिर वामपन्थी आन्दोलनको मूल प्रवाह र अर्कोतिर राष्ट्रको प्रमुख लोकतान्त्रिक क्रान्तिकारी शक्तिको रुपमा स्थापित भएकोछ।
यतिबेला हामी पार्टीको नवौं महाधिवेशनको संघारमा छौं। पाँचौं महाधिवेशनले स्थापित गरेको जबजको कार्यक्रम छैठौं महाधिवेशनमा सर्वसम्मत बन्यो भने सातौं महाधिवेशनबाट जबजलाई विचारको रुपमा विकास गरियो। आठौं महाधिवेशनबाट जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा स्थापित गरियो। यतिबेलासम्म आइपुग्दा जबजको सच्चाइ पनि पुष्टि भएकोछ।
नवौं महाधिवेशनका मुद्दामध्ये फेरि पनि मुख्य प्रश्न विचार र सिद्धान्तकै हो। विचार निर्माणका सन्दर्भमा पाँचौं महाधिवेशन ‘कासे ढुङ्गा' थियो भने नवौं महाधिवेशन ‘टर्निङ प्वाइन्ट' वा निर्णायक फड्को साबित हुनेछ। बहसको केन्द्रविन्दु नेपाली समाजको चरित्र निर्धारण हो। आजको नेपाली समाजलाई सन् १९३९ ताका माओत्सेतुङले व्याख्या गरेको चीनको आँखाबाट वा २००६ सालको चस्माबाट कि आज २०७० को आँखीझ्यालबाट हेर्ने? नेपाली समाज आज पनि सामन्ती वा अर्धसामन्ती छ कि यो पुँजीवादीमा परिवर्तन भयो? समाजको उत्पादन पद्धति र उत्पादन सम्बन्ध फेरिएको तथा सामन्तवादको राजनीतिक शिर/नेतृत्व राजतन्त्र ढलिसकेको अवस्थामा समाज सामन्ती अवस्थामा होइन, यसको मूल चरित्र पुँजीवादी हो भन्ने निष्कर्षमा हामी पुगेका छौँ। 
समस्या किटान गरिसकेपछि क्रान्तिको कार्यभार तय गर्न सकिन्छ। हामीले २०६२/६३ को जनक्रान्तिबाट राजनीतिक उद्देश्य पूरा गरेका छौँ र क्रान्तिका आर्थिक सामाजिक कार्यभार पूरा गर्न बाँकी छ। त्यसैले क्रान्तिका राजनीतिक उपलब्धिलाई संविधानमार्फत संस्थागत गर्ने, दलाल नोकरशाही पूँजीवादका शोषण उत्पीडन अन्त्य गर्दै उत्पादन वृद्धि, उद्यमशीलता र राष्ट्रिय पुँजीको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अबको कार्यभार हो। आर्थिक सामाजिक रुपान्तरणमार्फत् राष्ट्रिय पुँजीवादको विकास गरेर समाजवादका आधार तयार गर्नु अब क्रान्तिका कार्यभार हुन्। 
यी कार्यभारलाई बोक्ने पार्टी र पार्टीलाई हाक्ने नेतृत्वको निरुपण पनि आजको आवश्यकता हो। यसरी कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्दै राष्ट्रको प्रमुख लोकतान्त्रिक क्रान्तिकारी शक्तिको रुपमा एमालेलाई स्थापित गर्ने ‘मार्गचित्र' ल्याउनु नवौं महाधिवेशनको दायित्व हो। 
जबजको कमा र ‘फूलस्टप' पनि बदल्नु हुदैन भन्ने र यसको मूल मर्ममा प्रहार गर्ने दुवै प्रवृत्ति गलत हुन्। जबज गायत्रीमन्त्र होईन, जसलाई जपमात्र गरिरहने, यो त जनताको जीवनसँग प्रत्यक्षरुपमा गाँसिनुपर्दछ। हामीले भनेका हौं जनतामा, समाजमा देखिने र सुनिने जबज आजको आवश्यकता हो। जबजका सन्दर्भमा लोकतान्त्रिकरणको कुरा गर्दा क्रान्तिकारी अन्तरबस्तु छोड्ने र दक्षीणपन्थतामा फस्ने, क्रान्तिकारीताको कुरा गर्दा लोकतान्त्रिकरणको पक्ष विर्सने र उग्रवादमा भासिने खतरा हुन्छ। त्यसैले लोकतान्त्रिक विधि र प्रक्रियाबाट समाजको प्रगतिशील रुपान्तरणको ध्येय नै जनताको बहुदलीय जनवाद हो भन्ने हाम्रो निश्कर्ष हो। 
राजालाई ‘जनताका अधिकारमा आँखा नचम्काउन' औला ठड्याउदै ‘राजनीति गर्ने भए श्रीपेच फुकालेर मैदानमा आउन' चुनौति दिने, काँग्रेसको सर्वासत्तावादविरुद्ध सिंहनाद गर्ने, विदेशीसामु शीर नझुकाई राष्ट्रिय स्वाधिनताका पक्षमा शंखघोष गर्ने र विश्व कम्युनिस्ट आन्दोलनमा भागदौड मच्चिरहेको बेला ‘नेपालमा मार्क्स जीवीत छन्' भनी कम्युनिस्ट पार्टीको झण्डा बुलन्दीका साथ फहराउने मदन भण्डारी जनजनको आत्मामा जीवित छन्। मदन आश्रितप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित: ३ जेष्ठ २०७१ २१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App