१६ चैत्र २०८० शुक्रबार
विचार

डेल्टा भेरियन्टबारे आश्वस्त पार्ने तथ्यांक

हामीले पछिल्ला हरेक महिना चिन्ताजनक समाचार शीर्षक पढ्ने गरेका छौँ। भाइरसको नयाँ नामकरणसँगै ग्रिक अक्षरमा हाल यस्ता समाचार आउने गरेका छन्। कोभिड–१९ का लागि जिम्मेवार मानिएको भाइरस विकसित र परिवर्तित भइरहँदा नयाँ भेरियन्टले खोपलाई प्रभावित पार्ने, पुरोना भाइरस प्रजातिले भन्दा बढी मात्रामा बिरामी पार्ने तथा अत्यधिक संक्रमण क्षमता राख्ने जस्ता चिन्ता देखिँदै आएको थियो। तर यो चिन्ता हुँदाहुँदै डेल्टा भेरियन्टबारे हामीलाई प्राप्त जानकारी आश्वस्त पार्नेखालका छन्।

के उपलब्ध खोपले काम गरिरहेका छन् ? भन्ने अहिलेको सबै भन्दा महत्वपूर्ण प्रश्न हो। यो प्रश्नको उत्तर पाउन खोप लगाएका मानिसमध्ये कतिमा रोगका सघन लक्षण देखिएका छन् र कुन अनुपातमा उनीहरू अस्पताल भर्ना भएका छन् भन्ने हेर्नुपर्छ। बेलायतमा गरिएको एक नयाँ अध्ययनले विश्वमा अहिले प्रसार भइरहेको डेल्टा भेरियन्टविरुद्ध खोप अत्यन्त प्रभावकारी देखाएको छ। दुवै डोज फाइजर खोप लगाएका मानिसमा गरिएको अध्ययनले यो खोप डेल्टा भेरियन्टविरुद्ध ९६ प्रतिशत प्रभावकारी देखाएको छ। यसको अर्थ खोप नलगाएकाहरूको अस्पताल भर्ना हुने सम्भावना खोप लगाएका भन्दा २५ गुणा बढी छ। 

यसैगरी जोन्सन एन्ड जोन्सन खोपले डेल्टा भेरियन्टविरुद्ध शरीर कोषिकाले देखाउने प्रतिक्रियालाई बढाएको पाइएको छ भने भेरियन्टविरुद्ध लड्न मजबुत एन्टिबडी निर्माण गरेको छ। क्यानडा र बेलायतमा भएका अध्ययनले डेल्टा भाइरसका कारण हुने रोगको लक्षण रोक्न यी खोप ७९ देखि ८७ प्रतिशत सफल छन्। खोपप्रति आफ्नो विश्वास देखाउँदै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) तथा खाद्य तथा औषधि व्यवस्था विभाग (एफडिए) ले संयुक्तरूपमा एक विज्ञप्ती जारी गर्दै तत्काल बुस्टर डोज आवश्यकता नरहेको गत जुलाइ ८ मा बताएका छन्।

अस्पताल भर्ना भएका ९९ प्रतिशत बिरामीले खोप नलगाएको देखिनु खोप लगाएकालाई सुखद समाचार हो। यसरी हाल विकास गरिएका खोप भाइरसका नयाँ भेरियन्टविरुद्ध प्रभावकारी देखिएका छन्। तर खोप नलगाए मानिस अझै पनि अस्पताल भर्ना हुनुपर्ने अवस्था रहेकाले यथाशक्य छिटो सबैले खोप लगाउन आवश्यक छ। यसो गर्दा खोप लगाउन हाल योग्य नरहेका बालबालिका पनि सुरक्षित हुनेछन् किनभने प्रौढ तथा वयस्कले अत्यधिक अनुपातमा खोप लगाएका स्थानमा बालबालिका बिरामी हुने दर पनि अत्यन्त कम छ।  

सामान्यतया अधिकांश मानिसले सोचे भन्दा बढी हाम्रो प्रतिरक्षा प्रणाली चलाख र लचिलो छ। खोपले ‘मेमोरी–बि कोषिका’ निर्माण गर्ने र यी कोषिकाले नयाँ नयाँ भेरियन्टलाई रोक्न अनुकूलित एन्टिबडीहरू बनाउँछन्। ला जोला इम्युनोलोजी इन्स्टिच्युट र युनिभर्सिटी अफ क्यालिफोर्नियाले संकलन गरेको तथ्यांकले खोपका कारण  टि–सेलले भेरियन्टविरुद्ध सख्त प्रतिक्रिया देखाउने देखिएको छ।  

यो सन्दर्भमा अर्काे महत्वपूर्ण प्रश्न निश्चित भेरियन्टले संक्रमितलाई झन् बढी बिरामी पार्छन् कि पार्दैनन् भन्ने हो। सिडिसीसँग उपलब्ध तथ्यांक समीक्षाले नयाँ भेरियन्ट अत्यधिक देखिएको स्थानमा पनि यसअघिको प्रजातिको तुलनामा डेल्टा भेरियन्टका कारण अस्पतालमा भर्ना हुने संख्यामा त्यति विधि बढेको देखिँदैन। अस्पताल भर्ना तथ्यांकले भाइरसको समग्र जोखिमलाई दुई हिसाबले प्रष्ट पार्छ। के स्वास्थ्य प्रणालीले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप थेग्नुपरेको छ भन्ने पहिलो पक्ष हो भने सम्भावित मृत्युको सही आकलन गर्न सजिलो हुने दोस्रो पक्ष हो। संक्रमण दर (पोजिटिभिटी रेट) त्यतिबेला विश्वासयोग्य हुँदैन जतिबेला अमेरिका र बेलायत जस्ता राष्ट्रले आफ्नो अत्यधिक जनसंख्यालाई खोप लगाएका हुन्छन्। यस्तो अवस्थामा संक्रमण र अस्पताल भर्ना हुने दरको अन्तर्सम्बन्ध अत्यन्त कमजोर हुन्छ।  

हामीले बेलायतमा गत अप्रिलमा समान किसिमको एक समीक्षात्मक अध्ययन गरेका थियौँ, जतिबेला बेलायतमा हाल अल्फा नामाकरण गरिएको भेरियन्टले बालबालिकामा अत्यधिक संक्रमण गरेको समाचार सार्वजनिक भएको थियो। अध्ययनले अल्फा भेरियन्ट अत्यधिक देखिएको स्थानमा बालबालिकाको अस्पताल भर्ना अनुपातमा उल्लेख्य वृद्धि भएको देखाएन। अमेरिकामा जनवरीको सुरुमा दिनहुँ १ लाख ३३ हजारको अनुपातमा संक्रमण भएकामा जुनको अन्तताका तथा जुलाइको सुरुमा यो संख्या घटेर  १२ हजार प्रतिदिन पुगेको थियो। यो अवधिमा अस्पताल भर्ना हुने संख्या लगातार घटेको थियो। तर पछिल्ला सातामा खोपको कमजोर दर रहेका स्थानमा अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीको संख्या बढेको छ। सन् २०२० फेब्रुअरीमा अमेरिकामा कोरोनाको पहिलो संक्रमित देखिएयता बालबालिकाको अस्पताल भर्ना अनुपात नगण्य छ र डेल्टा भेरियन्ट देखिँदा पनि यो अनुपातमा खास परिवर्तन देखिएको छैन।  

अस्पताल भर्नासम्बन्धी अमेरिकी तथ्यांकले डेल्टा भेरियन्टको उपस्थितिले अस्पताल भर्ना हुुनुपर्ने बिरामी संख्या बढेको देखाउँदैन। त्यसैले हामीसँग भएका डेल्टा भेरियन्टसम्बन्धी जानकारीले के प्रष्टाएको छ भने यसले अस्पताल भर्ना हुनुपर्ने बिरामी संख्या बढाएको छैन। अमेरिकाका विभिन्न राज्यमा अस्पतालमा भर्ना हुने दरको अध्ययनले अत्यधिक खोप लगाएको स्थानमा अस्पतालमा भर्ना हुने संख्यामा ठूलो कटौती भएको देखिएको छ।  

यो प्रसंगमा भाइरसको संक्रामकता जटिल प्रश्न बनेको छ किनभने नियन्त्रित परीक्षण अध्ययनमा निश्चित भेरियन्टका कारण कति मानिस संक्रमित भए भन्न सम्भव हुँदैन। निश्चित भेरियन्टको उपस्थितिलाई संक्रामकताको प्रोक्सी सूचक मान्नु पनि त्यति व्यावहारिक हुँदैन किनभने कोभिड–१९ को सबै भन्दा बढी योग्यतम पिँढीले अन्यलाई विस्थापित गर्ने गर्छ र यो उद्विकासको नियम हो। नयाँ प्रजाति अन्य भन्दा संक्रामक पनि हुन सक्छन् अथवा बिरामीको शरीरमा अधिक प्रजनन क्षमता राख्ने हुन सक्छन्।  हामीसँग यसै हो भन्ने विश्वसनीय आधार छैन। तर यो प्रसंगमा निश्चित भएर भन्न सकिने कुरा के हो भने अमेरिकामा डेल्टा भेरियन्ट सबै भन्दा बढी प्रभावशाली बनेको छ।  

भेरियन्टलाई नामाकरण गरिएको नयाँ अल्फाबेटसँगै भाइरसको संक्रामकता र यी भेरियन्टले खोपलाई निस्प्रभावी पार्ने विषय अझै पनि चर्चाको केन्द्रमा छ। नयाँ भेरियन्टले अस्पताल भर्ना हुनुपर्ने अवस्थालाई आगामी दिनमा बढाएमा मात्र स्थिति फरक हुनेछ तर कोभिड–१९ बारे हामीलाई केही जानकारी छैन भन्ने हामीले ठान्नुहँुदैन। अत्यधिक जनसंख्यालाई खोप लगाउनु अहिलेको प्राथमिकता हुनुपर्छ। कोभिड–१९ का हरेक मृत्यु रोक्न सकिन्छ। खोपको विश्वव्यापी पहुँच सबै भन्दा महत्वपूर्ण विषय हो। यसो गर्न सकेमा भाइरसका नयाँ भेरियन्टको विकास हुने अवसर हुँदैन। विश्वका जुनसुकै कुनामा रहे पनि मानव जीवनको रक्षा सबै भन्दा महत्वपूर्ण पक्ष हो।  

(डा. बाइनेन ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटी आबद्ध जनस्वास्थ्य अनुसन्धानकर्ता हुन् भने मोनिका युनिभर्सिटी अफ क्यालिफोर्नियाको संक्रामक रोग विषयकी प्राध्यापक हुन्। यो आलेख वाल स्ट्रिट जर्नलमा प्रकाशित सामग्रीको भावानुवाद हो।)  

प्रकाशित: ५ श्रावण २०७८ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App