३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
विचार

राजा त्रिभुवन र गणतन्त्र

सात सालअगाडि त्रिभुवन जति लोकतान्त्रिक थिए सात सालपछि त्यति नै अधिनायकवादी भए भन्ने धारणा जनमानसमा छ। सात सालमा नेपाललाई गणतन्त्र बनाउने इच्छा जाहेर गर्ने पहिलो राजा त्रिभुवन थिए।अन्ततोगत्वा २०६५ साल जेठ १५ गते बिहिबार नेपाल विधिवत् संघात्मक लोकतान्त्रिक गणतन्त्र भयो। नेपाल गणतन्त्र हुनुमा इतिहासमा त्रिभुवनको स्थानको लेखाजोखा गर्नु नेपालको ऐतिहासिक वाङ्मयको समृद्धि र नेपाली समाजको परिपक्व चेतनाका लागि पनि आवश्यक देखिन्छ। 
नेपाल प्रजापरिषद्सँग १९९३–९४साल तिर गोप्यरूपले सम्बन्ध स्थापित भएदेखि नै त्रिभुवनले नेपाललाई गणतन्त्र बनाउने इच्छा देखाएको थिए। प्रजापरिषद्का सदस्यहरूले, ‘ राणाहरू ढलेपछि के गर्ने? ब्रिटेनको जस्तो राजनीतिक व्यवस्थाको स्थापना गर्नेमा सरकारको के राय छ?' भनी सोधिएको प्रश्नको जवाफमा उनले ‘म असल हुँदैमा मेरा सन्तान पनि असल हुन्छन् भन्ने निश्चित छैन। त्यसैले गणतन्त्र हुनुपर्छ' भन्ने सन्देश पठाएका थिए। यसरी २०६५ सालमा नेपाल गणतन्त्र घोषित हुनुभन्दा करिब ७ दशकअघि त्रिभुवनले ‘गणतन्त्रको कामना गरेको देखिन्छ। यस अर्थले आजको गणतन्त्र नेपालको शाब्दिक बीजारोपण गर्नेमा पहिला व्यक्ति त्रिभुवन हुन् भन्न सकिन्छ। यही गणतन्त्रलाई २००७ साल फागुन ७ गते राणा शासन ढलेपछिको जनप्रतिनिधि सरकार भनिएको राणा र नेपाली कांग्रेसको संयुक्त मन्त्रिमण्डलको घोषणा गर्दा औपचारिकरूपमा यसरी उल्लेख गरेको छ – ‘ हाम्रा प्रजाको शासन अब अप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा भएको' 
उक्त घोषणामा त्रिभुवनले ‘गणतन्त्र' शब्दको अर्थ नजानेको, नबुझेको वा भुलले ‘डेमोक्रेसी' को अनुवाद गर्दा त्यस्तो हुन गएको भन्ने टीकाटिप्पणी खास गरेर मेरो विद्यावारिधि ग्रन्थ ‘नेपालमा प्रजातन्त्र र श्री ५ त्रिभुवन' २०५३ सालमा प्रकाशित भएपछि भनेको सुनियो। त्यही पुस्तकमा मन्तव्य लेख्दा प्रा.डा. त्रिरत्न मानन्धरज्यूले ‘गणतन्त्रात्मक' शब्द त्रिभुवनले जानीबुझीकन प्रयोग गरेको भन्ने लेखकको भनाइ विवादास्पद हुन सक्छ' भनी टिप्पणी पनि गर्नु भएको छ। त्यसमा विज्ञ पाठकले छलफल गर्नु हुने नै छ तर म भने त्रिभुवनले ‘गणतन्त्र' शब्दको प्रयोग जानेर बुझेरै गरेका थिए भन्नेमा विश्वस्त छु। सात सालमा हाम्रा छिमेकी देशमध्ये भारत ४ वर्षअगाडि र चीन २ वर्ष पहिले जनगणतन्त्र भइसकेको थियो। त्रिभुवनले यसलाई नसुने वा नबुझेको भन्न सकिँदैन। यसमाथि उनले फ्रान्सको राज्य क्रान्ति र रुसको साम्यवादी क्रान्तिपश्चात दुवै देश गणतन्त्र भएको अध्ययन पनि गरेका थिए। त्यसैले नेपाल प्रजापरिषद्लाई ‘गणतन्त्र हुनुपर्छ' भन्न जवाफ पठाएका थिए। यी तथ्यका आधारमा त्रिभुवनलाई ‘गणतन्त्र के हो?' भन्ने पूरा जानकारी थियो भन्ने प्रमाणित हुन्छ। यसमा शङ्का छैन। बरु उनले गणतन्त्र किन चाहे भन्नेतिर छलफल गर्नु महत्वपूर्ण छ। इतिहासबाट सिक्नु आवश्यक छ। यस प्रसङ्गमा ‘त्रिभुवनले, जनता नै राज्यको मालिक, सार्वभौम सत्ता र शक्ति हो' भन्ने स्वेच्छाले आत्मसात गरेर गणतन्त्र चाहेका थिए त? भन्ने प्रश्नको जवाफ खोज्नु उपयुक्त हुनेछ। 
परम्परागत, अधिनायकवादी राजतन्त्र र सामन्ती संस्कारमा हुर्केका व्यक्तिमा, त्यस्तो जनमुखी सोच र चाहना आउन सक्दैन भन्ने ठान्नु स्वाभाविक हो। तर हिलोमा कमल फुल्छ र कोइला खानीमा हीरा पाइन्छ भन्ने पनि त्यत्तिकै वास्तविक हो। उदाहरण राजकुमार सिद्धार्थ गौतम नै छन्। यही उदाहरण त्रिभुवनमा मिल्छ। अर्थात् आफ्नै जनमुखी चेतनाको स्वेच्छाले शतप्रतिशत प्रेरित भई गणतन्त्रको कुरा गरेको हुन सक्छ कि सक्तैन? जनमनोविज्ञानअनुसार यसको उत्तर प्रायः सबैबाट नकारात्मक नै आउला। बरु यस्तो जनमुखी चेतना अर्थात् स्वतःस्फूर्त इच्छाबाट लोकतान्त्रिक गणतन्त्रको चाहना त्रिभुवनका नाति राजा वीरेन्द्रमा देखिएको थियो। माथिका उदाहरणजस्तै यो पनि एउटा उदाहरण हो। उनी बेलायतको ईटन कलेजमा पढ्दा, उनलाई ‘के नेपालमा गणतन्त्र आउन सक्छ?' भनी पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले, ‘नेपालमा गणतन्त्र आयो भने म पहिलो राष्ट्रपति हुन्छु।' भनेका थिए। यस भावनालाई उनले आफू राजा भएपछि ९ वर्षका छोरा दीपेन्द्रलाई बूढानीलकण्ठ 
स्कुलमा कक्षा ४ मा आवासीय शिक्षार्थीका रूपमा भर्ना गराएपछि ‘जनताका छोराहरूलाई जस्तो व्यवहार गरिन्छ, बोली बोलिन्छ, खानपान गराइन्छ त्यस्तै व्यवहार दीपेन्द्रसँग स्कुल परिवारले गरोस्, अन्य कुनै छुट्टै व्यवहार र शाही सम्बोधनसमेत नगरोस्' भनी निर्देशन दिएबाट त्रिभुवनभन्दा वीरेन्द्र अझै अगाडि बढेको देखिन्छ। तर पार्टीका नेताहरूको स्वार्थी नियत, दरबारिया सामन्तहरूको धुर्त्याइँ तथा प्रतिक्रियावादीको क्रियाकलाप र सर्वसाधारण जनताको अशिक्षा र चेतनाहीन अवस्थाले गर्दा उनीहरूले चाहेअनुसार हुन सकेन। त्रिभुवनको ५२ वर्षमै निधन भयो भने वीरेन्द्रको वंश नाश भयो। स्मरणीय छ, दीपेन्द्रसँग वीरेन्द्रका भाइ ज्ञानेन्द्रका छोरा पारसलाई भर्ना गर्ने कुरो थियो। तर पारसलाई बूढानीलकण्ठमा भर्ना नगरी दार्जिलिङ्गमा लगेर भर्ना गरे। त्यो बेला बूढानीलकण्ठ स्कुलमा पढाउँथिएँ। 
अब भित्रुवनले नेपाललाई ‘गणतन्त्र' बनाउन चाहेका कारणको विवेचना गरौँ। सुरुमा त्रिभुवनमा जनमुखी भावना बलियो रहेको देखिन्छ। तर त्यो भावनाभन्दा पनि बढी उनलाई गणतन्त्रवादी हुन उत्तराधिकारी युवराज महेन्द्रको नियत र शङ्कास्पद व्यवहारले प्रेरित गरेको थियो। त्रिभुवनलाई लागेको थियो, उनको समयमा ल्याएको प्रजातन्त्र वा लोकतन्त्रलाई महेन्द्रले उल्टाउन सक्छन्। किनभने महेन्द्रले त्रिभुवनलाई अवज्ञा गरेको तथा छिट्टै राजा हुने महत्वाकाङ्क्षा लिएको र प्रयत्नमा लागेको अनुभूति उनलाई भइसकेको थियो। त्यसैले नेपाल प्रजापरिषद्का सदस्यहरूले, ‘राणाहरू ढलेपछि के गर्ने? ब्रिटेनको जस्तो राजनीतिक व्यवस्था गर्ने कुरामा सरकारको के राय छ?’ भनी सोधेकोमा त्रिभुवनले, “म असल हुँदैमा मेरा सन्तान पनि असल हुन्छन् भन्ने निश्चित छैन। त्यसैले गणतन्त्र हुनुपर्छ।” भनी जवाफ पठाएको हुनुपर्छ। अर्को कुरा, राणाको रगत आफ्नो वंशमा नमिसाउने अठोट गरेर जुद्ध शमशेरले आफ्नी नातिनी इन्द्रराज्यलक्ष्मीको विवाह महेन्द्रसँग गराउन त्रिभुवनलाई भनिरहँदा पनि जेठा (महेन्द्र)ले मान्दैन भनेर टारिरहेका थिए। त्रिभुवनको धारणा थाहा पाउँदापाउँदै पनि धनको लोभमा परेर त्रिभुवनकै उपस्थितिमा महेन्द्रले जुद्ध शमशेरलाई बिहे गर्ने बचन दिएका थिए। बिहे भइसकेपछि इन्द्रराज्य लक्ष्मीले महेन्द्रकै संलग्नतामा नेपाल प्रजा परिषद्को सुराकी राणाहरूलाई दिएको तथा १९९७ सालमा, परिषद्का सदस्यहरूलाई पक्रेर ल्याई त्रिभुवनलाई समेत त्यहीँ राखेर केरकार गरेको सभामा राणाहरूले महेन्द्रलाई त्रिभुवनको भन्दा अल्को आसनमा बसालेको र महेन्द्रले आसन स्वीकारेको आदि घटनाले महेन्द्रको नियतमाथि त्रिभुवनलाई शङ्का हुनु स्वाभाविकै थियो। अर्थात् महेन्द्रले आफूले गरेको काम (प्रजातन्त्र)लाई ससुराली (राणाहरू)सँग मिलेर उल्टाउला भन्ने शङ्का गरेको देखाउँछ। त्रिभुवनको यस्तो सोच (शङ्का)लाई प्रमाणित गर्ने केही भनाइ यस्ता छन् –
तत्कालीन गोर्खा दलका सक्रिय कार्यकर्ता रहेका जगदीश शमशेर जबराका अनुसार ‘महेन्द्र की स्वास्नी युवराज्ञी इन्द्रराज्य लक्ष्मी नारायणहिटीको खबर जुद्ध कहाँ पुर्याअउने गुप्तचर नै थिइन्।' पहिले गोर्खा दल र २०१७ सालपछि कांग्रेस भएका बेनी बहादुर कार्कीका अनुसार, ‘युवराज महेन्द्रलाई गद्दीमा बस्न आत्तुरी भएको थियो। त्यसको लागि परिस्थिति मिल्यो भने अर्थात् आफू ‘एक्सपोज' नहुने वातावरण भयो भने त्रिभुवनलाई हत्या गर्न पनि पछि हट्दैन थे। यसै सन्दर्भमा रक्षादलको (२००८ साल माघ ८ गतेको सिंहदरबार काण्ड) आन्दोलन पनि एक हो। उनले यस आन्दोलनमा अग्नीप्रसाद खरेल, रक्षादलका बाबुराम लिम्बु, गजेन्द्र लिम्बु र चार कमान्डिङ अफिसरहरूलाई पनि हात लिएका थिए।' नेपाल आफ्टर द रिभोलुसन भन्ने पुस्तकमा, केशर बहादुर केसीले ‘प्रतिक्रियावादी राणाहरूको उक्साइ पाएर गोखादलले रक्षादललाई बिद्रोह गर्न उत्तेजित पारेको थियो' भनी लेखेका छन्। 
महेन्द्रको यस्तो चलखेलले गर्दा महेन्द्र राजा हुनै नपाउन् भन्ने त्रिभुवनको कामना उनको लोकतान्त्रिक भावनाभन्दा बढी प्रभावकारी भएकोले गणतन्त्र चाहेका हुन् भन्न बरु सकिन्छ। महेन्द्रको नियत सफा र सकारात्मक भएको भए त्रिभुवनले गणतन्त्रको कुरा उठाउने थिएनन् होला भन्न पनि सकिएला। यहाँ कुलदीप नायर को प्रसंग उल्लेख गर्नु सान्दर्भिकै होला। उनले आफ्नो पुस्तक ‘इन्डिया द क्रिटिकल यर्स' मा ऐतिहासिक सबुतप्रमाण केही नदेखाई भारत स्वतन्त्र भएपछि राजा त्रिभुवनले नेहरूसँग नेपाललाई भारतमा मिलाउन भनेका थिए र त्यही कुरा उनले उनका विरोधी राणाहरूले धम्काए पछि सन् १९४८ (१९५०) मा काठमाडौँ स्थित भारतीय दूतावासमा शरण लिँदा पनि दोहोर्याछएका थिए' भन्ने लेखेका छन्। यसमा केही सत्य हुनसक्ने पनि त्रिभुवनको त्यति बेलाको मानसिक अवस्थाले देखाउँछ। यही प्रसङ्गमा नेपाल र भारतको सम्बन्धमा विज्ञ मानिने एसडी मुनिले २०६९ साउन महिनामा ललितपुरमा विद्वत्वर्ग सँगको अन्तर्त्रि्कयामा कुलदीपले जस्तै कुनै ऐतिहासिक सबुत् प्रमाण उल्लेख नगरी राजा त्रिभुवनले सत्ता जोगाई राख्ने सर्तमा नेपाललाई भारतमा बुझाउनेसम्मको प्रस्ताव राखेको दाबी गरेका थिए। धेरै समयदेखि छोरा महेन्द्रको चलखेल, रबैया र राणाहरूको शोषण र अपमानबाट पीडित भएको अवस्था भए पनि त्रिभुवनले ‘सत्ता जोगाइराख्न नेपाललाई भारतमा मिलाउन खोजेको' भन्ने दाबी भने निराधार देखिन्छ। किनभने भारतमा मिलाएपछि नेपालमा राजतन्त्र वा राजाको सत्ता रहने त कुरै आउँदैन। यसबाट मुनिको दाबी वा भनाइ आफँैमा विरोधाभासपूर्ण देखिन्छ। बरु त्रिभुवनले गणतन्त्र चाहेको चाहिँ वास्तविक हो। किनभने यो थुप्रै ऐतिहासिक सबुतप्रमाणबाट प्रमाणित भएको छ। 

प्रतिस्पर्धामा आफूभन्दा अगाडि गएको व्यक्ति वा शक्तिमाथि लगातार राजनीतिक अनुशासनभन्दा बाहिर गएर प्रहार गर्नु अराजनीतिक पूर्वाग्रह हो। पूर्वाग्रही प्रवृत्तिले देशको नेतृत्व गर्न सक्दैन।

प्रकाशित: १७ फाल्गुन २०७० २३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %