७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

के हो हाम्रो राष्ट्रिय स्वार्थ ?

आज भन्दा करिब १० वर्षअगाडि मंगोलिया भ्रमणमा जाँदा मैले यो देशका बारेमा जे सोचेको थिएँ लगभग त्यस्तै पाएँ, हामी जस्तै दुई विशाल छिमेकी रसिया (तत्कालीन सोभियत संघ) र चीनबीच अवस्थित भूगोलको हिसाबले ठूलो तर जनसंख्याको हिसाबले हामी भन्दा पनि सानो देशको विकासका दृष्टिकोणले आर्थिक र सामाजिक अवस्था उस्तै देखिन्थ्यो । राजधानी उलानबटोर हेर्दा ठूलै सहर लागे तापनि सडकहरू खासै चौडा र युरोप अमेरिकाको जस्तो व्यवस्थित थिएन, मार्च महिनाको मौसम भए तापनि उजाड थियो अर्थात रुखबिरुवाविहीन नांगो सहर । छिटफुटरूपमा भएका लहरे पीपलहरू पनि पातविहीन थिए , राजधानी सहर त त्यस्तो छ भने बाँकी ठाउँ, सहर गाउँ कस्तो होला भन्ने अनुमान लगाउन गाह्रो पथ्र्यो । संसारकै ठूलो मध्यको गोभी मरुभूमि भएको देशमा अरू के होला भनेर अनुमान लगाउन गाह्रो पर्दैन तर मानिसको जात जस्तोसुकै कठीन तथा प्रतिकूल मौसम भए तापनि केही न केही विशेषता हुने रहेछ । 

नेपालीको वर्षौँदेखिको चाहना आफ्नो समृद्धि हो । हामीलाई प्रकृतिले यति धेरै कुरा दिएको छ तर त्यो सबै बाँदरको हातमा नरिवल सिद्ध भएको छ । 

ठूला रुख तथा घाँस नउम्रने भए तापनि त्यहाँको जमिनमा दुवो जस्तो मसिनो घाँस प्रायः धेरै ठाउँमा हुने र खासगरी भेडा र गाई गोरु त्था घोडा चरनहुने भएको हुँदा त्यहाँका बासिन्दाहरूले परापूर्वकालदेखि पशुपालनलाई नै मुख्य पेसा बनाइ घुमन्ते जीवन बाँचेका रहेछन् । पशुलाई बाह्रै महिना घाँस चाहिने भएको हुँदा घाँस जहाँ पाइन्छ त्यहीँ बसाइँसराइ गर्दै बस्नुपर्ने तथा माइनस २५–३० सेन्टिग्रेडसम्म चिसो हुने भएको हुँदा त्यसबाट बच्न ठूलाठूला पाल जसलाई स्थानीय भाषामा गेर भनिन्छ लिएर हिँड्ने गर्थे । पशुलाई जता छाडे पनि हुने र खासै रेखदेख गर्नु नपर्ने किनभने कसैको बालीनाली खाइदिएर नोक्सान गर्ला भन्ने नभएपछि यस्तो फुर्सदलाई समूह समूहमा हुने गोठालाहरूको समूहले घोडचढी र तीर खेल्ने कुरामा महारथ हासिल गरेछन् । यो घोडसवारी र तीरन्जादीको कलालाई उनीहरूले युद्धकौशलमा बदल्दा तत्कालीन समयमा खासगरीचिङ्गिस खानको समयमा संसारकै विजेता बन्नेसम्मको अवस्थामा पुगेका रहेछन् त्यसकारण अहिलेको आधुनिक मंगोलियामा चिङ्गिस खानलाई राष्ट्रिय गौरवका व्यक्तिको रूपमा सम्मान गर्ने रहेछन् । तत्कालीन समयमा चीन विशाल राज्य भए तापनि मंगोलियनहरूको युद्ध कौशलसँग टिक्न नसकेर न चीनको ग्रेटवालको निर्माण हुनुको एउटा कारण पनि मानिँदोरहेछ । यसरी मंगोलिया एक समय एउटा शक्तिशाली राष्ट्रकारूपमा आफूलाई उभ्याउन सफल भएको रहेछ ।  

तर कालान्तरमा यो गौरव कायम हुन सकेन र विभिन्न रोजगारी तथा अवसरको खोजीमा त्यहाँको ठूलो जनसंख्या संसारका धेरै ठाउँमा पलायन हुँदा सोभियत संघको बोल्सेभिक क्रान्ति हुँदा त्यहाँको जनसंख्या करिब ६ लाख रहेछ । पहिलेदेखि नै चीनसँग पटक पटक युद्ध भएको हुँदा ऊसँग असर सम्बन्ध हुने कुरा भएन, जसरी हामी नेपालीले हाम्रो सार्वभोमसत्तामा सबैभन्दा खतरा भारतबाट देख्छौँ त्यहाँ पनि त्यहीँ हुँदोरहेछ । मंगोलियाको सम्बन्ध चीनसँग भन्दा सिमानाको हिसाबले धेरै टाढा भए तापनि तिब्बतसँग अत्यन्त राम्रो रहेछ, त्यसको प्रमाणस्वरूप अहिले पनि राजधानी उलनवटोरमा तिब्बती शैलीको थुप्रै बौद्ध मन्दिर रहेका छन् ।

समृद्धि हासिल गर्नका लागि हामीले मंगोलियाको जस्तो कूटनीति तथा आर्थिक नीति अपनाउनुपर्छ । यसमा सबै राजनीतिक पार्टी एकमत हुनुपर्छ । 

‘ल्हासामा सुन, मेरो कान बुच्चै’ भन्ने नेपाली उखान वास्तवमा तिब्बतमा सुन भएर नभइकन त्यहाँ चाहिने सुन मंगोलियाबाट आउने रहेछ। अतः उनीहरूको सबैभन्दा ठूलो राष्ट्रिय स्वार्थ भनेको आफ्नो सार्वभौमिकता जोगाउनु रहेछ । एकातर्फ चीनसँगको परम्परागत शत्रुता अर्कोतर्फ त्यस्तै शक्तिशाली रुस भएको हुँदा उसले आफ्नो सार्वभौमिकता जोगाउन के गर्ने, चीनबाट सधैँ हमला हुने खतरा आफ्नो कुनै पनि शक्तिले त्यसलाई थेग्न सक्ने सामथ्र्य नभएपछि त्यहाँका शासक तथा देखभक्त जनताले जब सोभियत संघमा १९१७ मा बोल्सेभिक क्रान्ति भयो त्यसको करिबपाँच वर्ष अर्थात १९२१ मा सोभियत कम्युनिस्ट मोडलकै शासन शैली उनीहरूले अपनाए र सो देशको छत्रछायाँमा आफूलाई सुरक्षित राखे किनभने त्यतिबेला चीन आफैँ विभिन्नथरीको समस्या तथा युद्धमा गाँजिएको थियो ।  

मंगोलियालीहरूले शासनशैली र विकासमोडल सबै सोभियत कम्युनिस्टको अंगालेका हुनाले हामी मंगोलियामा हुँदा त्यहाँका सबै भवन सोभियत इन्जिनियहरूले बनाइदिएका रहेछन् । सुन्नमा आएअनुसार सबैक्षेत्रमा उनीहरूकै सल्लाहकारहरू तैनाथ हुन्थे, अर्थात उनीहरूले आफ्नो सार्वभौम अधिकार देश नखाइदिने सर्तमा केही मात्रामा सोभियतहरूलाई सुम्पेका रहेछन् । यसको बदलामा सोभियत संघसँग अनेकौँ फाइदा मंगोलियाले पनि लिएको देखिन्छ । अर्थात ट्रान्स साइबेरियामा चल्ने रेलको माध्यमबाट हप्तौँ लाग्ने भए तापनि मंगोलियाली युवाको ठूलो हिस्साले मस्को तथा सोभियत संघका अन्य सहरका स्कुल तथा कलेजमा गएर छात्रवृत्तिमै पढेका रहेछन् । अहिले पनि मंगोलियाको शासनसत्ता तथा राज्य सञ्चालनमा त्यही पुस्ता नै हावी देखिन्छ । जब १९९०को दशकमा विशाल सोभियत संघ ढल्यो त्यतिबेला यहाँका शासकहरूले फेरि विनाजनताको ठूलो क्रान्ति पश्चिमी शैलीको प्रजातान्त्रिक शासन अंगाले र ती देशसँग सम्बन्ध मात्रै विस्तार गरेनन्, मंगोलियाभित्र रहेका सुन, तामा तथा अन्य धातुहरूको विशाल खानीलाई उत्खनन तथा परिचालन गर्नका लागि वैदेशिक लगानी पनि भित्र्याए, यसले उनीहरूलाई आर्थिक विकासको अवसर पनि दियो र सोभियत संघसँग निर्भर रहेको सुरक्षा छाता हटाइ अन्य शक्तिशाली राष्ट्रहरूको सहयोग लिन सक्ने भए । पश्चिमा विकसित देशहरूको ठूलो लगानी त्यहाँ भएपछि उनीहरूले खतरा महसुस गर्ने चीनको आक्रमण तथा हस्तक्षेप पनि नहुने भयो ।  

हामी पनि दुईटा विशाल छिमेकी देशको बीचमा छौँ । अहिलेसम्म हाम्रो सार्वभौमसत्ता जोगिएको छ तर अहिले देशमा जुन किसिमको राजनीतिक माहोल छ त्यसले देशलाई सिक्किमीकरणतर्फ अग्रसर गराइरहेको छ भन्ने आंकलन पनि गर्न थालिएको छ । हामी आधुनिक नेपालकारूपमा अढाइ सय वर्षदेखि अस्तित्वमा छौँ तर विकास र समृद्धिका हिसाबले हामी कहाँ छौँ भनिरहनु नपर्ला । यी सबै कुरा हेर्दा हामी देशकारूपमा हाम्रो देशको राष्ट्रिय स्वार्थहरू के के हुन सक्छ भन्ने विषयमा चर्चा गरौँ ।  

राष्ट्रकवि माधव घिमिरेले रचना गर्नुभएको तथा नातिकाजीले संगीतबद्ध गरी उनकै स्वरमा रेकर्ड भएको गीत छ नेपाली हामी रहौँला कहाँ नपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे । यो गीतको बोल हाम्रो राष्ट्रिय भावनाले ओतप्रोत तथा सर्वकालिक छ । अर्थात हाम्रो पहिलो राष्ट्रिय स्वार्थ भनेको हाम्रो देशको सार्वभौमसत्तालाई जोगाउनु हो तर यसलाई कसरी जागाउँदै अक्षुण राख्न सकिन्छ भन्ने हाम्रो शासकीय शैली तथा परराष्ट्र नीतिमा अर्को अर्थमा भन्नुपर्दा हाम्रो राजनीतिक पार्टीहरूमा कहीँ कतै देखिँदैन किनभने कांग्रेस सत्तामा हुँदा भारतपरस्त देखिने नेकपा सत्तामा हुँदा चीनपरस्त देखिने हाम्रो राष्ट्रिय रोग जस्तै भएको छ । नेपालमा बहुसंख्यक जनता भारतप्रति शंकित र चीनप्रति आश्वस्त देखिन्छन् तर हामीले के बिर्सन हुँदैन भने चीनले नेपाललाई सहयोग गर्नु वा मित्रभाव राख्नुमा उसले नेपाल र नेपालीलाई माया गरेर होइन, उसको राष्ट्रिय स्वार्थमा धक्का नपुगोस् भनेर हो ।  

किनभने हामी जस्ता चीनसँग सिमाना जोडिएका १४ देश छन्, सीमा जोडिएका हिसाबले नेपाललगायत सबै देश उसका लागि बराबर हुन भने नेपाललाई उसले विशेष चासो दिनुपर्ने के छ? तिब्बत उसको अत्यन्तै संवेदनशील क्षेत्र हो जबसम्म दलाइ लामा तथा उनका अनुयायीहरू रहन्छन् नेपाललाई उसले विशेष निगरानीमा राखिरहन्छ । जुन दिन उसले त्यस्तो खतरा महसुस गर्न छाड्छ नेपालप्रतिको उसको सोचाइ र प्राथमिकता पनि बदलिन्छ । नेपालमा हुने कुनै पनि अस्थिरता तथा राजनीतिक चहलपहलले दलाइ लामा, उनका अनुयायी तथा पश्चिमा देशहरूले यहाँ उसको विरुद्धमा हर्कत नगरुन् भनेर उसको कूटनीतिक पहलदेखि लिएर हामीलाई दिने विकास सहायतासमेत प्रभावित रहन्छ ।  

नेपालीहरूको वर्षौँदेखिको चाहना आफ्नो समृद्धि हो । हामीलाई प्रकृतिले धेरै स्रोत दिएको छ तर त्यो सबै बाँदरको हातमा नरिवल सिद्ध भएको छ । यो समृद्धि हासिल गर्नका लागि हामीले मंगोलियाको जस्तो कूटनीति तथा आर्थिक नीति अपनाउनुपर्छ । यसमा सबै राजनीतिक पार्टीहरू एकमत हुनुपर्छ तब मात्र हामीले हाम्रो सार्वभौमसत्ताको रक्षा गर्दै देशलाई समृद्धितर्फ लैजाँदै हाम्रो राष्ट्रिय स्वार्थलाई सिद्ध गर्न सक्छौँ ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App