२३ फाल्गुन २०७७ आइतबार
विचार

अधिनायकवादको हतियार : सांस्कृतिक राष्ट्रवाद

महान् सुरुवात अन्ततोगत्वा लर्खराउन अभिशप्त हुन्छ । हरेक महान् यात्रा कहीँ न कहीँ गएर समाप्त हुन्छ नै– सन्त अगस्टिन ।

गुटको रस्साकस्सीमा रहेको सरकारी नेकपा फुट्यो । तीन वर्षसम्म निन्द्रामय शक्ति अहिले सडकमा छन् । नेकपा ओली समूहका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सांस्कृतिक राष्ट्रवादी विचार प्रवक्ता बन्दै धार्मिक जनमत र राजनीतिक शक्तिलाई गोलबन्द गर्दैछन् भने नेकपा (प्रचण्ड–माधव समूह) प्रतिगमन विरोध र संविधानको रक्षा अभियान संसद् पुनस्र्थापनाको संघर्ष बढाउँदैछन् । भद्र प्रतिपक्ष नेपाली काग्रेस भने ‘कम्युनिस्ट’ भिडन्तको रमिता हेर्दैछ ।  

आग्रहका द्वन्द्व बढ्दै जाँदा विश्वासको संकट पैदा हुँदैछन् र निराशा बढ्दो छ । यो समस्या सरकारी नेकपामा मात्र हैन, रोगका रूपमा हरेक पार्टीमा मौलाउँदैछ । जब पार्टीमा सिद्धान्तको राजनीतिले सुविधाको राजनीति सुरुवात गर्छ तब शक्ति पाउन, रक्षा गर्न गुट जन्मने गर्छन् । गुट टिकाउन र चलाउन शक्तिको बाँडफाँट केन्द्रित हुन्छ । अनि मात्र राजनीतीकरण र सैद्धान्तिकीकरण गरिन्छ ।

लोभ र आतंकले लतारिएका निजी स्वार्थ टकराएर गुटभित्र उपगुट जन्मँदै जान्छन् । राजनीतिक भविष्य सुरक्षाका लागि अगुवा नेताहरू गुट जन्माउँछन् भने राजनीतिक औकात धान्न बढाउन र छिटो, छरितो माथिल्लो तहमा पुुग्न शक्तिशाली पनि गुटको फुर्को समाउन विवश हुन्छन् ।

‘बौद्धिक’ कारिन्दा गुट मालिकको सौन्दर्यगाथा रचेर विपक्षको हुर्मत काढ्छन्, खोइरो खन्छन् । राजनीतिक सुरक्षा र महत्वकाक्षा पूरा गर्न पनि गुटको पछुवा बन्नु एउटा कारिन्दाको बाध्यता बन्छ । गुटियार र पछुवाहरू कुनै कार्यक्रम, आदर्श र सपनाका लागी भावनात्मक जोडिएको नभई शक्ति प्राप्त गर्नु, रक्षा गर्नु वा शक्तिको भर्‍याङ चढ्नु एउटै मात्र उदेश्य बन्न पुग्छ । त्यसको प्रभाव सरकार गठन हुँदा वा राजनीतिक नियुक्तिमा योग्यता, क्षमता, दक्षता र आवश्यकता भन्दा पनि गुटियार राजनीतिक बाध्यता बनेको सुविधाको राजनीति र गुट महात्म्य योग्यता बन्ने गर्छन् ।

अझ तीव्र महत्वकांक्षी शक्ति–प्यासा तल्लो स्तरको कार्यकर्ता छ भने त ऊ कमजोर गुटको उग्र–प्रवक्ता बनेर एक्कासि हैसियतको सिँढी चढ्न पुग्छ ।

विद्रोही सफल भयो भने क्रान्तिकारी हुन्छ, उसकै पक्षमा इतिहास लेखिन्छ । विद्रोही असफल भयो अथवा उल्टाइयो भने ऊ आतंककारी हुन्छ ।

अहिले नेपालका हरेक राजनीतिक दल गुटको सयुक्त मोर्चामा फेरिएका छन् ।  

तर्क, सिद्धान्त र राजनीतिक अभ्यास  

फयाेदोर दोस्तोवश्कीको उपन्यास ‘अपराध र सजाय’ मा रास्किनिकोभ पात्र आफ्नो अपराधको औचित्य सावित गर्न अनेकौँ तर्कको सहारा लिन्छ, अझ डेल कार्नेगी अनेकौँ उदाहरण दिँदै मानवीय सोचको व्याख्या गर्दा हरेक कर्तासँग जस्तोसुकै कामलाई औचित्य दिने तर्क हुन्छ भन्छन् । मानिसको त्यो आन्तरिक चालक शक्ति वा ऊर्जा भनेको के हो जसले आफूले गरे, भनेका कुरा सबै ठीक जस्तो लाग्छ ? जबसम्म कुनै कर्ताले आफूले गरेको कुरा सही हो भन्ने सोच्दैन् तबसम्म कुनै पनि सुकार्य त छोडौँ कुकृत्य गर्न पनि हौसिँदैन । मान्छे मार्ने, चोरी डकैती गर्ने, व्यभिचार, बलात्कार गर्नेका पनि आफ्नैखाले तर्क हुन्छन् । कर्ताले सोचको औचित्य सावित गर्ने कोसिस गर्छ । अझ स्वत्व र सोचलाई सैद्धान्तिकीकरण गरेपछि नै आवेग र आक्रोशको शक्ति दिएर भिडलाई सक्रिय गराउन सकिन्छ । यहाँ प्रश्न के हो भने मान्छेलाई हरेक काममा सक्रिय बनाउने, सपना देखाउने, भूमिकामा उतार्ने त्यो अदृश्य शक्ति के हो, जसबाट मान्छे क्रिया र प्रतिक्रिया दुवैमा सक्रिय हुन्छन् ! किन आज कम्युनिस्ट कम्युनिस्ट रहेनन् ? न कांग्रेस कांग्रेस रह्यो ! किन आफँैले संघर्ष गरेर ल्याएको संविधानमै टेकेर निर्वाचित तानाशाहको अवस्था देशले भोग्दैछ ?

नेपाली राजनीतिको सहमतिले निर्देशित गरेको महान् यात्रा अब लर्खरायो । गन्तव्य नपुग्दै समाप्त भयो ।  राजनीतिक शक्तिमा बढ्दै गएको असमझदारी र टकरावले शुभ संकेत दिइरहेको छैन । प्रत्यक्ष द्वन्द्वका संकेत देखिँदैछन् । वैशाखमा चुनावी लक्षण देखिँदै छैन् । संवैधानिक रिक्तताले पैदा गर्ने शून्यता अप्रियता हुन सक्छ । नयाँ द्वन्द्व देखिने छन् । हिजोको द्वन्द्व राजनीतिक प्रकारको थियो । त्यो सत्ता र विद्रोही शक्तिको आमने÷सामने थियो । अब हुने द्वन्द्व भने बहुकोणीय हुनेछन् । त्यो देशलाई दुर्भाग्य हुन सक्नेछ ।  

संसद्को जोड घटाउमा मात्र शक्ति टकराहट बुझिन थालियो भने समाजका अन्तरद्वन्द्व र शान्तिको अभ्यास बुभ्mन सकिँदैन्, संभावित द्वन्द्व नियाल्न पनि सकिँदैन् । त्यसैले समस्याको हल प्राविधिकरूपमा टालटुल गरेर समाधान हुँदैन । तर अहिले सचेत जनमतलाई आग्रहले हाँक्ने, सत्य र तथ्यसँग साक्षात्कार हुन नदिने दिमागी व्यवस्थापनको खेल त्यत्तिकै चलेकाले संभावित सुनामीका संकेतले सचेत बन्नुपर्ने र जिम्मेवारी बहन गर्नुपर्ने तप्कालाई कानमा तेल हालेर मस्त निन्द्रामा रहने सुविधा दिएको हो ।  

शक्ति बेहोसीमा हुन्छ, सामाजिक समस्याले पैदा गर्ने प्रतिक्रिया बुझ्न सक्दैन् । हुकुममा समय हाँकिन्छ भन्ने मिथ्या विश्वासमा हुन्छ । आस्था र आग्रह उरालिँदैछन् । अन्धआस्था भनेको दुईधारे तरवार हो मार हान्नेलाई नि चोट पुग्छ मार पर्नेलाई पनि । संसदीय संख्याको क्याल्कुलेटर दबाएर सामाजिक समस्याले खोजेको निकास कहाँ पो निस्कन्छ र ? त्यसले निम्त्याउने भनेको प्रत्यक्ष द्वन्द्वसिवाय अरू केही हुँदैन ।

आमूल परिवर्तनको राप र तापको ओज कम भएको यस्ता बेला प्रतिगामी शक्तिको हौसला बढ्छ, द्वन्द्व उद्यमीको जिब्राबाट र्‍याल बढ्दै द्वन्द्व कारखाना फस्टाउने सपना देख्न थाल्छन् । समाजको बढेको महत्वकांक्षाको सकारात्मक व्यवस्था हुन सकेन भने प्रत्यक्ष द्वन्द्व त बढ्ने भइहाल्यो । तर त्यसको भावना र सोचको नेतृत्व कसले गर्ला, अहिल्यै भन्न भने सकिँदैन् ।

आफ्नै उपलब्धि जोगाउने, स्वामित्व लिने भन्दा पनि समग्र संसदीय प्रवृत्ति, विचार राजनीतिको विरोधमा नभई राज्यसत्ताको समग्र परिवर्तन विरोध केन्द्रित अभियान सांस्कृतिक राष्ट्रवाद भनेको संसारकै अधिनायकवादको हतियार अहिले कामचलाउ प्रधानमन्त्री गर्दैछन् ।  

सत्ता र सरकार भनेका भिन्न हुन् । संघर्षको चरित्रअनुसार सङ्गठनको स्वरूप, भूमिका र सांस्कृतिक चरित्रको माग गर्छ । त्यसले नेता/कार्यकर्तामा नैतिक अपिल गर्न सक्ने इच्छाशक्ति भएर जनताको दिलदिमागमा रहेपछि सामाजिक तागतमा फेरिन्छ । यस्तो शक्तिलाई कुनै प्रपञ्च र षडयन्त्रले आफ्नो धरापमा पार्न सक्दैन । राजनीतिक संस्कृतिको विकास गर्न नसक्नु नेपाली राजनीतिभित्रको कथा/व्यथा हुन् । अझ त्यो शान्ति युद्धकालमा छ्याङ्छ्याङ्ती देखापर्‍यो । दुश्मनको मोर्चामा पड्किनेहरू बजारमा ढल्नुपछाडि क्रान्तिको क्षतिपूर्ति खोज्ने र भाडाका सेनाको चरित्र भन्दा माथि उठ्न नसक्नु र राजनीतिक संस्कृति विकास गर्नमा उदासीनताले गर्दा हो । उपभोक्तावादको बाइप्रोडक्ट हो ।

जसको घर सिसाको हुन्छ उसले बत्ती निभाएर कपडा फेर्छ । तर यहाँ आफू नांगिएर अर्काको बेइज्जत गर्ने देखिए । परिर्वतन पहिला सोचमा, एक्सनमा प्रक्रियामा आउँछ अधरितामा । तथ्यलाई तथ्यले, तर्कलाई तर्कले  प्रतिकार गर्नुपर्छ  । तर सुविधाअनुसारका सिद्धान्त र तर्कले तीतो सत्यको सामना गर्न सक्दैन् बरु अहंकारले निषेध जन्माउँछ, निषेधले फासीवाद जन्माउँछ ।  

जब विनाश मान्छेमा छाउँछ तब सबभन्दा पहिला विवेकले काम गर्न छाड्दिन्छ । विचार फेर्न त सकिन्छ, ध्वस्त गर्न भने सकिँदैन । संस्कार संस्कृति हिमालबाट निस्केको नदी जस्तै हो । यसलाई बाटा फेर्न सकिन्छ, थुन्न भने सकिन्न । निकासबिहीन विरोध झन् खतरा हुन्छ, पानीलाई निकास नदिइ थुन्यो भने केही समयपछि बाँध भत्कन्छ, झन् ठूलो बाढी बनेर आफैंलाई बगाउँछ । अहिले शोषण, दमन, अन्यायविरुद्ध विद्रोहको चेतना फैलाउनेहरूले पनि उपयुक्त निकास वा विकल्प दिएको देखिँदैन । जब विकल्प नपाएपछि विद्रोहविरुद्ध उल्टो आक्रोश भरिने गरेको छ । भिरमा पुगेर मह त काढ्यो तर मह राख्ने भाँडो नै लगेन अनि कि मह भुइँमा खसायो कि त फर्केर आयो जस्तो भएका छन् । हेराइअनुसार सोचाइ बन्छ, सोचाइअनुसार विचार बन्छ, विचारअनुसार गराइ बन्छ, गराइअनुसार भोगाइ हुन्छ । अतः हेराइ र दृष्टि सही भए, उचित दृष्टिकोण बन्छ र भूमिकामा उत्रिन सक्छ ।  

विद्रोही सफल भयो भने क्रान्तिकारी हुन्छ, उसकै पक्षमा इतिहास लेखिन्छ । विद्रोही असफल भयो अथवा उल्टाइयो भने ऊ आतंककारी हुन्छ ।

पहिला झुट  बिस्तारै हिँड्थ्यो । अहिले सूचना प्रविधिको पखेँटा लगाएपछि एकछिनमै संसार चाहार्छ । समाज सूचनाले आत्मबल पाउँथ्यो । अब त फर्जी सूचनाले ज्ञानलाई मार्छ, आलोचनात्मक चेत कमजोर पार्छ, मान्छेलाई भिडमा फेरिदिन्छ । केही समयदेखि जिज्ञासाको हत्या भइरहेको छ । गलत सूचनाले फर्जी जनमत पनि बन्दैछ । लोकतन्त्रलाई प्रश्न र जिज्ञासा आधारभूत तत्व हो । सत्ता यसबाट जोगिन्छ । तर जति व्यवस्थामाथिको भरोशा खत्तम हुँदै जान्छ अर्को पाटो क्रान्तिकारी परिस्थिति पैदा भइरहेको हुन्छ ।  

अन्तमा,

अहिले पनि विचार, आदर्श र मूल्य भन्दा घृणा र प्रतिक्रियाको सक्रियता अत्यन्तै शक्तिशाली भएको छ । सकारात्मक सोचको कुरा गर्दा त्यसलाई वर्ग सचेतता र वर्ग संघर्षमा विकास गर्न सकिन्छ भने नकारात्मक सोचले बदला लिने र औकात देखाइदिने भूमिकामा मात्र सीमित बनाइदिन्छ । आफ्नै उपलब्धि जोगाउने, स्वामित्व लिने भन्दा पनि समग्र संसदीय प्रवृत्ति, विचार राजनीतिको विरोधमा नभई राज्यसत्ताको समग्र परिवर्तन विरोध केन्द्रित अभियान सांस्कृतिक राष्ट्रवाद भनेको संसारकै अधिनायकवादको हतियार अहिले कामचलाउ प्रधानमन्त्री गर्दैछन् । त्यसले थेग्न नसकेको संवैधानिक संकटले राजनीतिक दुर्घटना र बहुकोणीय द्वन्द्वको अवस्थामा मुलुकलाई धकेल्दैछ । समय चेतना हुनु आवश्यक छ ।

प्रकाशित: २ फाल्गुन २०७७ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App