२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

आशा, निराशा र अर्थहीनता

सामाजिक मनोविज्ञान उदेकलाग्दो किसिमले विभाजित हुने गर्छ । यसरी विभाजित हुँदा सकारात्मक विचार र टिप्पणी भन्दा नकारात्मक संवेग बलियो भएर अगाडि बढ्छ जसले गर्दा धेरै मानिसका जीवनरूपी आशा निराशामा परिणत हुन्छ । क्रमशः निराशाले कुनै पनि कुराको सान्दर्भिकता समाप्त हुने खतरा बढ्दै जाँदा अर्थहीनताको भूमरीमा देश र जनता, समाज र प्रणाली रुमलिएको हुन्छ । यस्तै आशा, निराशा र अर्थहीनताको वर्तमान परिस्थितिमा जीवन यापन गर्ने अधिकांश मानिसको उतारचढाव कसरी अभिव्यक्त हुन्छ भन्ने संकेत पाउनु महत्त्वपूर्ण उपलब्धि ठानिन्छ । जब जब आशालाग्दो व्यक्ति, समाज, पार्टी, प्रणाली र देशप्रति घोर वितृष्णा उत्पन्न हुन्छ तब तब अर्थहीन स्वार्थ र दाउपेचले सम्पूर्ण प्रणाली र राज्यका सामु थप चुनौती थपिने गर्छन् ।

सर्वसाधारण मानिसमा रहेको सबैभन्दा प्रबल गुण हो आशा । बिहान बेलुका हात मुख जोर्न नसक्ने तमाम मानिसलाई अझ धेरै भविष्यको आशारूपी त्यान्द्रोले जीवन डोर्‍याइरहेको हुन्छ । निराशा र अर्थहीनता भन्ने मनोवैज्ञानिक चेतको विकास धेरै कम भएको पाइन्छ । उनीहरूलाई दैनिक जीवनको सहज सञ्चालन मात्र पनि खुसीका अनमोल क्षण बन्न पुग्छन् । सचेत निम्न वर्गीय अत्यधिक मानिस आश र त्रासमा बाँचेका हुन्छन् । त्यसेले आश र त्रासको असन्तुलनले निराशा र अर्थहीनता मौलाएर आउँछ । आजको राजनीतिक बदलाबले पारेको ठूलो प्रभाव पनि पार्टीका सचेत कार्यकर्ता, बुद्धिजीवी र भविष्यका नेता बन्न लायक मानिसलाई नै हो । व्यापारी, कर्मचारी, सेना, प्रहरी र अन्य सामान्य रोजगार गरी खाने तल्लो स्तरका जनमानसमा यस्तो अस्थिर राज्य व्यवस्थाले निराश र हतोत्साही हुनुपर्ने बलिया कारणहरू हुँदैनन् ।

वास्तवमा आशा गर्नु र कर्म गरेर पनि फल प्राप्त गर्न नसक्नु अहिलेको युगमा पूरा गर्न नसकिने इच्छा होइनन् ।

आशा भनेको साधारणतया कुनै व्यक्तिको सकारात्मक सोच, विचार वा कल्पना हो जसले भविष्यमा व्यक्ति वा समाजमा आशा गरिएअनुरूप परिवर्तन हुने कुरामा विश्वास राख्छ । आशा यस्तो इच्छा वा धारणा हो जुन भविष्यमा पूरा हुन सक्छ । हुन त प्रत्येक व्यक्ति र परिस्थितिमा आशा फरक फरक हुनु स्वाभाविक छ । आशाको सम्बन्ध वर्तमान अवस्था र भविष्यको सम्भावनासँग रहन्छ । आशासँग सम्बन्धित एउटा प्रसिद्ध मिथक ग्रिकको पुराणमा पाइन्छ । जसअनुसार आगो नभएको संसारमा प्रोमेथियसले स्वर्गबाट आगो चोरेको थियो । देवताका राजा जियसले बदला लिने उद्देश्यअनुरूप प्रोमेथिसको भाइ इपिमेथसलाई पान्डोरा भन्ने सुन्दर नारी उपहार दिएका थिए । तिनै पान्डोराको संरक्षणमा एउटा कलात्मक जार वा बाकस थियो । उक्त बाकस नखोल्ने चेतावनीलाई अस्वीकार गर्दै जब पान्डोराले त्यो बाकस खोलिन् त्यसबाट बाहिर अनेकौँ खराबी जस्तै रोग, भय, त्रास, मृत्यु आदि संसारभर फैलिए । तर पिँधमा भएको आशा भन्ने चिजलाई बाकसमा बन्द गरेर राखियो । त्यसले पाण्डोराको बाकस खोल्नुको अर्थ अनगिन्ती समस्या र संकटको निमन्त्रणा हो । तैपनि आशा भने जीवितै बाकसबाट बाहिर आउने प्रयासमा लागिपरेको हुन्छ ।  

आशाका विविध दार्शनिक पक्षबारे विभिन्न विद्वान्ले आआफ्नो धारणा व्यक्त गरेका छन् । प्लेटोले आशालाई ग्रिक देवताको खराब उपहारका रूपमा मानेर नकारात्मक अथवा झुटो आनन्द भनेका छन् भने सुकरात भविष्यको आनन्द मान्छन् । अर्का दार्शनिक अरस्तुले आशालाई साहससँग जोडेर हेरेको पनि पाइन्छ । सत्रौँ र अठारौँ शताब्दीमा आशाबारे धेरे व्याख्या गरेको पाइन्छ । मूलतः आशालाई उत्प्रेरणा, ज्ञान र संवेगसँग जोडेर विभिन्न सिद्धान्त प्रतिपादन भएका छन् । रेनो डेकार्डाेले आशालाई दृढताको कमजोरीका रूपमा मानेका छन् भने यसको सम्बन्ध इच्छा र चिन्तासँग हुने आशय व्यक्त गरेको पाइन्छ । विशेषगरी हबस, डेकार्डे र स्पेन्जाले आशालाई झुटो विचार वा विवेकहीन विषय मानेका छन् । त्यसैगरी इमानुअल कान्टले आशाका मुख्य तीन पक्ष भनेका छन् । जसअनुसार पहिलो व्यक्तिको आफ्नो खुसी हो । दोस्रो व्यक्तिको नैतिक उन्नति हो र तेस्रो पक्ष मानव समुदायकै नैतिक विकास हो । कान्टपछिका अस्तित्ववादी दार्शनिकहरू आर्थर सोपनहाउर, नित्से, क्यामु आदिले आशालाई जीवनको विसंगत पक्ष मानेर मानिसको साधारण जीवन अनुभूतिलाई हल गर्न नसक्ने भावना भनेर व्याख्या पनि गरेका छन् ।

वास्तवमा आशा गर्नु र कर्म गरेर पनि फल प्राप्त गर्न नसक्नु अहिलेको युगमा पूरा गर्न नसकिने इच्छा होइनन् । आशा गर्नु व्यर्थ कल्पना वा अमूर्त भावना पनि होइन । सबै मानिसले गर्ने आशा भनेको वर्तमान परिस्थिति भन्दा व्यक्ति, समाज, देश तथा सम्पूर्ण विश्वको सुखद र सुन्दर भविष्यका लागि हो । समाजमा रहेका सबै क्षेत्र, पेसा व्यवसाय, रोजगार तथा राजनीतिलगायत तमाम सेवा तथा प्रणाली सुदृढ र सबल भएको देख्न चाहनु स्वभाविक ठहर्छ । समयको गतिशीलतासँगै सकारात्मक परिवर्तन खोजिरहेका तमाम जनताको आशा निराशमा परिणत गर्ने काम कोही कसैबाट गरिनु सबैको अहितकर विषय पनि हो ।

आशा गर्नु व्यर्थ कल्पना वा अमूर्त भावना पनि होइन । सबै मानिसले गर्ने आशा भनेको वर्तमान परिस्थिति भन्दा व्यक्ति, समाज, देश तथा सम्पूर्ण विश्वको सुखद र सुन्दर भविष्यका लागि हो ।

निराशा आशाको विपरीत नकारात्मक विचार तथा भावनाको संवाहक हो । पटक–पटक दोहोरिँदा पनि आशातित फल हातमा नपर्नु, भावना वा विचारमा बारम्बार ठेस लाग्नु, ठगिनु, लुटिनु, कुटिनु र कुनै कारणविना व्यक्तिको जीवनसँग खेलवाड गर्नु चरम निराशाको डिलमा पुर्‍याउनु हो ।

कुनै पनि व्यक्ति वा समाजले राखेका सकारात्मक सोचलाई असामयिक अवसानको खाडलमा पुर्नु घोर निराशा र अन्धकारमा धकेल्नु हो । यस्तो निराशाको सामूहिक प्रकटीकरणले विष्फोटक रूप लिन पनि सक्छ । विभिन्न माध्यमबाट असन्तुष्टिहरू छरपष्ट हुन जान्छन् । गतिहीन र अस्थिर समाजको कहालीलाग्दो गन्तव्यतर्फ दिशाहीन यात्राको सुरुवात हुने गर्छ । त्यसैले कुनै पनि नियम, कानुन, राज्य प्रणाली तथा शासनका व्यवस्थाहरूबाट गरिएका आशाहरू निराशामा परिणत हुनुको खतरा व्यक्ति वा राज्यले थेग्न नसक्ने हुन्छ । कुनै पनि प्रणालीअन्तर्गत देशलाई डोर्‍याउने तथा देश र जनताको समृद्धिलाई अगुवाइ गर्ने मुख्य भूमिका त्यस देशका पार्टीहरूको नै हो तर तिनै पार्टीहरूको अकर्मण्यता र अदूरदर्शिताको दोष तमाम जनतालाई थोपर्नु पक्कै पनि सुखद विषय भने होइन । 

आशा र भरोशा गरिएका पार्टी र त्यसका राजनेताबाट असभ्यता प्रकट गरिँदा तल्लो तहका कार्यकर्ता जो इमानदार छन् निराश भने पक्कै हुन्छन् । अन्य नागरिकले समेत समग्र अर्थहीनताको अभिव्यक्ति विभिन्न प्रकारले गरेको पाइन्छ । अर्थहीनता आशा र निराशापछिको यथास्थिति वा निष्क्रियता हो । यस्तो अवस्थामा प्रायः व्यक्ति असंवेदनशील, असामञ्जस्य, भावना र आवेगविहीन बन्न पुग्छ । निराशावादीहरूले जीवन र जगत्को कुनै अर्थ लगाउन सक्दैनन् । यिनीहरूको मनोविज्ञान पनि विचित्रको हुने गर्छ । आफूबाहेक अरू व्यक्ति छ भन्ने अनुभवसमेत गर्दैनन् । संसारभरि सन्नाटा छाएको बारम्बार अनुभूति हुने मनोरोगले पीडित हुन्छन् । यस्ता मानिस सास मात्र फेर्ने निर्जीव वस्तु जस्तै घनघोर अन्धकारमा हराउने वितृष्णा र विसङ्गतिमा रुमलिने चरित्रका हुन्छन् । यस्तो समाजको कल्पना गर्न पनि सकिँदैन ।  

अर्थहीनतालाई विभिन्न प्रकारले विश्लेषण गर्न सकिन्छ । यसलाई अस्तित्ववादीहरूले व्यक्तिको जीवित अनुभव, विचार, भावना र त्यसअनुरूपको कार्य मान्छन् । उन्नाइसौँ र बिसौँ शताब्दीमा पनि विभिन्न दर्शन अर्थहीनता, मानव र यसको कला, साहित्य जस्ता विषयमा कतिसम्म प्रकट भएको हुन्छ भनेर विश्लेषण गरिएको छ । खासगरी डेनिस दार्शनिक सोरेन किर्केगार्ड प्रत्येक व्यक्ति, धर्म वा समाजबाहेक जीवनको अर्थ खोज्ने प्रयासमा इमानदारपूर्वक लागेको हुन्छ भन्छन् । फ्रान्सका ज्या पाल शात्र र जर्मनका फेडरिक नित्से साहित्य र कलामा अभिव्यक्त अर्थहीनतालाई मानिसको विकल्पहीन रोजाइ मात्र नभएर इच्छाशक्तिसहितको विकल्पको खोजी पनि महत्त्वपूर्ण हुने आकलन गर्छन् ।

यसै सन्दर्भमा फ्रेन्स दार्शनिक अल्वर्ट क्यामुको दार्शनिक निबन्ध सिसिफसको मिथ अर्थहीनताको ज्वलन्त उदाहरण हो । मिथकअनुसार देवताहरूलाई चुनौती दिने सिसिफसलाई सजायस्वरूप एउटा विशाल गोलो ढुङ्गालाई पहाडको चुचुरोमा पुर्‍याउने काममा लगाउँछन् । सिसिफसले पहाडको टाकुरामा पुर्‍याएको ढुङ्गा तुरुन्तै फेदी तर्फ झर्छ किनभने त्यहाँ अडिने ठाउँ नै हुँदैन । बारम्बार जीवनभर यो प्रक्रियामा ऊ सामेल हुन्छ । अर्थहीन प्रयत्न गरिरहन्छ । मृत्युलाई घृणा गर्छ तर असम्भव जस्तै कार्यमा उत्साहका साथ लागिरहन्छ । यसरी हेर्दा हामी सबैले भन्ने गरेको राजनीतिक स्थिरता आशा, निराशा र अर्थहीनतामा परिणत भएको अवस्था हामीले अनुभव गरेझैँ लाग्छ । स्थिरता, विकास र समृद्धिका लागि सत्ता सञ्चालन गर्न लाखौँ जनताले पार्टीलाई पहाडको टुप्पोमा पुर्‍याउने, नेताहरूलाई स्थापित गर्ने र सुव्यवस्थाको आशा गरिरहने तर पहाडको चुचुरोमा एक क्षण अडिन नसक्ने सिसिफसको ढुङ्गालाई अब के गर्ने भन्ने प्रश्न अनुत्तरित छ । शायद फेरि निरर्थक काममा अहोरात्र खटिएर ढुङ्गालाई टाकुरामा पु¥याउने वा ससाना टुक्रामा फुटाउने स्थिति कहिलेसम्म किन र केका लागि भनेर प्रश्न गर्ने यावत ठाउँ यथावत नै छ । अहिलेको परिस्थिति भनेको कैयाैं देशभक्तहरू आशा, निराशा र अर्थहीनताका चरणबाट गुज्रिन परेको छ ।  

जे भए पनि पान्डोराको बाकसबाट निस्केर संसारभरका मानिसको भविष्यलाई खरानी बनाउने डरलाग्दा खराबी भन्दा व्यक्तिभित्र रहेको लोभ, मोह, इष्र्या घमण्ड तथा रिसले ल्याउने खराबी अझ डरलाग्दो हुने कुरा सहज अनुमान गर्न सकिन्छ । हामी सबैको नियति भनेको फेरि पनि  सिसिफसले पहाडको टुप्पोमा पुर्‍याउन लगाएको निरर्थक बल जस्तो बन्न सक्ने शंका छ । विगतका ७० वर्षसम्म हामीले गरेको प्रयत्न त्यही चुचुरोमा ढुङ्गा पुर्‍याएर अड्याउने काम थियो नै । तैपनि अर्थपूर्ण यात्रामा सहभागी हुनु हामी सबैको श्राप मुक्त गर्ने भविष्यको सुन्दर परिकल्पना हो । अझै पनि आशाले जीवन चलायमान बन्नेछ । धेरै प्रयास र प्रयोगबाट स्थापित गणतान्त्रिक नेपालमा लागेको कालो बादल छिट्टै हट्ने आशा मात्र गर्न सकिन्छ । अन्यथा निराशा र अर्थहीनताले यथास्थितिलाई सम्बोधन नगरे अनिश्चितताको संकेत प्रष्ट दिएको आभास भएको छ ।  

हामीले आशा गर्ने बाँकी ठाउँ र संस्थाहरू हुँदै नभएका भने होइनन् तर ती नगण्य र ठूलो पर्दाभित्र अथवा बाकसभित्र बन्द गरिएका छन् । विकास निर्माण र सुव्यवस्था कायम हुने बाटो आशालाग्दो थियो तर कोरोना भन्ने डरलाग्दो भाइरस र राजनीतिक अस्थिरताले फेरि अर्काे दश वर्ष त्यसै खेर जाने सम्भवना उत्तिकै छ । घरी आशा घरी निराशारूपी घनचक्करबाट उन्मुक्त हुने आधारहरूमा हठात डँढेलो लागे भने अर्थहीनताको आगो ताप्नु सबैको बाध्यता बन्न पुग्नेछ ।  

हरेक मानिसको मनोविज्ञान अनुहार, बोलीचाली र हाउभाउ सामाजिक सञ्जालहरूमा छरपष्ट भएका छन् । आशाको हाँसो, निराशाको कुण्ठा र अर्थहीनताको निष्क्रियता बोकेर यताउता गरेका तमाम जनमानसलाई अध्ययन र मनन गर्ने जमर्काे सबैले गरेकै होलान् । टुप्पादेखि जरैसम्म विभाजित र असहिष्णु राजनीतिक धरातललाई समयमै जोड्न सक्नुपर्ने ज्ञान हाम्रा राजनेताहरूलाई नभएको भने पटक्कै होइन । नेपाली जनताले आशा गरेको पनि त्यही हो । तर पनि विश्वासको संकटले आशामाथि निराशा थपिनु र अर्थहीन आरोप/प्रत्यारोपले स्वर्गतुल्य देशलाई नरक प्रस्थानको केन्द्रविन्दु बनाउने प्रयास बुझिनसक्नु भएको छ । लाग्छ, अहिले धेरै नेपालीको मनोदशा अनेकन शङ्का, आकलन र हिसाब किताबको जोडघटाउ गर्ने, पक्ष र विपक्षमा सडक वा बन्द कोठाबाट आगाको ज्वाला ओकल्ने अनि दिउँसै रात परेको सपना देखेर बर्बराउने दैनिकी बनेको छ ।  

सबै मानिस चाहे कुनै पनि क्षेत्रमा सक्रिय किन नहुन अस्थिर राज्य प्रणालीबाट बेचैन हुने गर्छन् । उनीहरूले दिएको बलिदान वा योगदानपछिको आशा भनेकै भविष्यको सुदृढ, समृद्ध र विकसित मुलुक नै हो । पटक–पटकका आन्दोलन र सङ्घर्षहरूबाट आशा गरिएको स्थिरता स्वार्थ र खिचातानीले धुजा धुजा पारेर निराश र अर्थहीनताको परिस्थिति सिर्जना गरिँदा कसैको पनि चित्त बुझाउने ठाउँ देखिँदैन । अबका यात्रा सुखद नहुने संकेत देखा परेका छन् । फेरि पनि आशा गर्नु र सुखद भविष्यको सपना देख्नु मानवीय धर्म हो । धमिलिएको खोलालाई सङ्गलो बनाउन मुहानदेखि सफा गर्ने आँट, जाँगर र जोश बोकेका नयाँ पुस्ता निराश भए भने अब आउने अनेकन भावी पुस्ता अर्थहीन जीवन बाँच्न बाध्य हुनेछन् जसको पुरापुर दोष तपाईँ हाम्रो पुस्तालाई हुनेछ ।  

प्राध्यापक, पृथ्वीनारायण क्याम्पस, पोखरा

प्रकाशित: १८ माघ २०७७ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App