६ वैशाख २०८१ बिहीबार
विचार

सम्झना पुस १ काण्डको

नेपालको राजनीतिक इतिहासमा पुस १ गते परिवर्तन र राजा महेन्द्र र बिपी कोइरालाबीच भएका असमझदारी बिर्सन सकिँदैन । २००७ सालदेखि अहिलेसम्म नेपालमा जति काण्ड मच्चिएका छन् ती सबै राष्ट्रियतासम्बन्धी अवधारणाको प्रतिफल हो । ५० वर्ष नाघेपछि इतिहास बन्छ । २०१७ पुस १ गते पनि इतिहास बन्दैछ । इतिहास भनेको राष्ट्रको ऐना हो । ऐना हेरेर अनुहारमा लागेका दाग हटाए जस्तै इतिहासमा लागेका दाग हटाउन सक्नुपर्छ ।  

२००७ सालदेखि अहिलेसम्म नेपालमा जति काण्ड मच्चिएका छन् ती सबै राष्ट्रियतासम्बन्धी अवधारणाको प्रतिफल हो।

राजा महेन्द्र र बिपी कोइराला इतिहास बनिसकेका छन् । यी दुवै राजनीतिक हस्तीको वैचारिक द्वन्द्वका कारण नेपालमा राजनीतिक वादविवाद चर्किँदै आएका छन् । तर हामीले पूर्वाग्रह नराखी इतिहासको मूल्यांकन गर्न सक्नुपर्छ । राजा महेन्द्रको पञ्चायत र २०३३ सालभन्दा अगाडिको बिपीको अवधारणालाई छाडेर राजा महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई समन्वय र सन्तुलन गरेर हिँड्नु नै अबको राजनीतिक निकास हो । नेपालको इतिहासमा राजा महेन्द्र र बिपी कोइरालालाई बिर्सेर राजनीतिक निकास पाइन्न । यी दुवै व्यक्तित्वलाई प्रतिक्रियावादी पञ्च र भारतीय दलालहरूले आपसमा जुधाएर राष्ट्रलाई धोका दिए । राजा महेन्द्रको राष्ट्रप्रेम र बिपीको पेट खोलेर बोल्ने र नरम बानी यी दुवैले एकअर्कालाई सम्मान गर्थे ।

तर राजा महेन्द्र र बिपीबीचमा कसरी विवाद बढ्यो त ? यो खोजीको विषय छ । २०१७ साउन महिनामा कर्मवीर महामण्डल अध्यक्ष योगी नरहरिनाथ असोजतिर गोर्खा पुगेका थिए । २०१७ कात्तिक ९ गते दिउँसो तीन हजार जति मानिसको जुलुस कर्मवीर महामण्डलको झण्डा लिई ‘नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौँ’ भन्ने कडा नारा लगाउँदै अड्डाअगाडि जुलुस आउँदा प्रहरीसँग भिडन्त भइ ढुङ्गा लाठी चार्जपछि गोलीकाण्ड भयो । जसमा ७ जना ठहरै मरे र १० जना गोलीबाट घाइते भए । ७–८ जनाको हातखुट्टा भाँचिएकाले आतङ्क सिर्जना भयो । यी सबै कुरा योगी नरहरिनाथको उग्र भाषणका कारणले भएको भनियो । कात्तिक ९ गते गोर्खाकाण्ड भयो । नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो । तर गोर्खामा योगीजी कतै भेटिएनन् । गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा भएको हल्ला आयो । जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ ।  योगीजीलाई कत्तिले त उड्न सक्ने क्षमता थियो पनि भन्ने गर्थे ।  

घटनाक्रमको खोजी गर्दा धेरै होलान् तर योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ भन्ने झुटा रिपोर्ट बिपीका कानमा पार्न थालिएको थियो । बिपी पनि त्यही कुरालाई विश्वास गरेर दरबारविरुद्ध बोल्न थालेका थिए । बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि प्रधानमन्त्रीलाई बोलाएर दिँदै ‘तपाईँले हामीलाई किन मुछ्नुभो त्यो जोगीकाण्डमा ? विनाप्रमाण मेरोविरुद्ध किन वक्तव्य दिनुभयो ? किन हामीलाई दोष लगाउनुभयो ? योगीलाई कारबाही गर्ने हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनुभयो ?’ भनेको र बिपीले प्रतिकार गर्दै ‘मैले होइन, जोगीले नै सरकारलाई मुछिहिँडेको छ महाराजाधिराजले मलाई आदेश बक्सेको छ कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसको सरकारविरुद्ध विद्रोह गरे हुन्छ भनिकन ऊ हिँड्थ्यो’ भन्ने कुरा बिपीले आत्मवृतान्तमा उल्लेख गरेका छन् ।  

यो अध्ययन गर्दा राजा महेन्द्र र प्रधानमन्त्री कोइरालाबीचको सम्बध विच्छेदको अध्याय नै यहीँबाट सुरु भएको देखिन्छ । तर गोर्खा काण्ड र योगी नरहरिनाथबीचको वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोधअनुसार रु.५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको छ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नुभएको कागज योगीजीले बोक्नुभएको र त्यही कागजलाई अरूले पनि देखेका हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई विद्रोह गराउन योगीलाई पत्र दिइ पठाइएको थियो भन्ने भ्रम खडा गराइयो । अनि बिपीसमक्ष पोल पुर्‍याइएका कारणले राजा र प्रधानमन्त्रीबीच फाटोको जालो बन्न गयो ।  

नेपालको प्रजातान्त्रिक अधिकारको लडाइँमा बिपी कोइरालाको ठूलो देन छ । बिपी प्रजातन्त्रबाट मात्र देश बाँच्छ भन्थे तर राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै हाँकेर देशको स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण गर्दै जनताको सक्रिय सहभागिता जुटाउने अडान राजा महेन्द्रको थियो । बिपीको भारतका जयप्रकाश नारायणलगायत थुप्रै नेतासँगको सहवासले भारतीय नेताहरूले भनेका कुरा नमान्न उनी असमर्थ हुन्थे । परिस्थिति यस्तो आउन थालेको थियो कि राजा महेन्द्र र बिपीबीच वैमनष्यता बढ्नु र उता बिस्तारै बिस्तारै भारतले नेपालका नदी, जमिन र सार्वभौमसत्तामा पकड जमाउन थालेको थियो । त्यही निहुँमा राजा महेन्द्रले पुस १ गते संसद् विघटन गरेर शासनभार ग्रहण गरे । यस्तो किन भयो भन्नेबारे बिनापूर्वाग्रह यसको मूल्यांकन गर्नु आवश्यक छ ।  

राजा महेन्द्रले जुन उद्देश्यबाट २०१७ सालको घटना गराए तापनि त्यसको पछाडि राष्ट्रियतालाई सुदृढ गराएको उज्यालो पक्ष छ भलै निर्दलीयतालाई राजनीतिक परिचालनको माध्यम बनाइएको थियो । राजा महेन्द्रको विचार थियो– वर्ग संघर्ष हिंसात्मक हुन्छ, त्यसको सट्टामा पुँजीपति र मजदूरको आपसमा सहयोग र समन्वयका आधारमा नेपालमा भूमि सुधार, राज्यरजौटा, बिर्ता उल्मूलन, जातिपाति, लिंगभेद, छुवाछूत जस्ता रोगबाट मुक्त गर्ने प्रयत्न भयो ।  

राष्ट्रिय राजनीति भनेको तर्क र समझदारीको संगम हो । राष्ट्र निर्माणमा प्रजातान्त्रिक मार्ग अनुकरणमा नेपाली कांग्रेसका नेता बिपीलाई २०३३ पुसपछि पनि सम्झाउने प्रयत्न गर्न सकिन्थ्यो । भारतले सिक्किम खाएको पीडाबाट ग्रसित बिपी कोइराला २०३३ पुसमा राष्ट्रियताको नारा दिएर नेपाल फर्केका थिए । तर भ्रष्ट पञ्चहरूले बिपी भारतबाट नेपाल फर्कँदा २०३३ सालमा हवाईफिल्डमा उत्रन दिएनन् । कालो झण्डा देखाएर मूर्दावादको नारा लगाए । तिनै पञ्चले नेपालको राजसंस्थालाई प्रजातान्त्रिक समझदारीमा आउन नदिएकाले अहिलेसम्मको राजनीतिक अस्थिरता कायम छ ।  

निर्दलीयतालाई साझा  र प्रजातान्त्रिक हुन नदिएर एकदलीय स्वरूपमा परिणत गराउन खोजेकाले त्यसका विरुद्ध नेपालका राजनीतिक पार्टी विदेशीहरूको सहयोगमा आन्दोलन गर्न बाध्यात्मक परिस्थिति आयो र नेपालमा बहुदलीय प्रजातन्त्र पनि आयो तर त्यो नेपालको हितमा भएन । त्यसैको परिणाम २०६३ सालपछि विदेशीले यहीँका कांग्रेस, एमाले, माओवादीलाई आफ्नो प्रभावमा लिएर नेपालको अस्तित्वमाथि नैं खेलवाड गर्न खाजेका हुन् ।

प्रकाशित: २ पुस २०७७ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App