१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

लोकतन्त्रका महँगा गल्ती

नेपाली कांग्रेसले २०४६ सालमा वामपन्थीहरूसँग कार्यगत एकता नगर्ने ऐतिहासिक गल्ती सच्यायो। गणेशमान सिंहप्रति यो राष्ट्रले शिर ठाडो पारेर गौरव गर्नैपर्छ, त्यस ऐतिहासिक घटना निर्माणका लागि। परिणामतः निरंकुश राजतन्त्र संवैधानिक राजतन्त्रमा परिणत भयो र कथित राजनीतिको रूपमा लादिएको पञ्चायती व्यवस्था सधैँका लागि पतन भई बहुदलीय व्यवस्था पुनर्स्थापना भयो। २०४६ को त्यो राजनीतिक निकास जनमत संग्रहको पृष्ठभूमिबाट विकसित भई आएको थियो। अर्थात् नेपालीहरुको संघर्षले एउटा उपलब्धि २०४६ सालमा प्राप्त गर्यो ।

तत्कालीन मालेको गल्ती
२०३६ सालको विद्यार्थी आन्दोलनको सुरुवात् पाकिस्तानी प्रधानमन्त्री जुल्पि्ककर अली भुट्टोलाई दिइएको मृत्युदण्डको फैसलाविरुद्ध नेपाल ल क्याम्पसको सभा कक्षबाट सुरु भएको थियो। मृत्युदण्डका विषयमा आवाज निकाल्ने नेपाल ल क्याम्पसका विद्यार्थीहरूको शान्तिपूर्ण जुलुसमाथि बागबजारमा प्रहरी र पञ्चायती व्यवस्थाका कार्यकर्ताले आक्रमण गरे। तितरवितर पारिएका विद्यार्थी त्रिचन्द्र पुगे तर फेरि आक्रमण भयो। आन्दोलन यिनै घटनाबाट सुरु भयो। विद्यार्थीहरूको बगावट अमृत साइन्स क्याम्पसमा प्रहरीको अमानवीय दमनका रूपमा प्रकट भयो।
तर त्यसबेलाका तीन जना विद्यार्थी नेताले सरकारसँग नालायक सम्झौता गरे। परिणामस्वरूप तत्कालीन नेकपा (माले) सँग आबद्ध विद्यार्थी, मजदुर किसान पार्टी र नेकपा (मार्क्सवादी) सँग आबद्ध विद्यार्थीले आन्दोलन जारी राखे। नयाँ सडक र त्यस वरपरका क्षेत्रमा भएको आन्दोलन र घटनापछि जनमत संग्रहको घोषणा गरे राजाले। दुर्भाग्यवश जनमत संग्रहलाई तत्कालीन 'माले' ले धोका भन्यो। त्यो दृष्टिकोण ऐतिहासिक त्रुटि थियो- नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा। नेपाली वामपन्थी आन्दोलनको एउटा परिचय नै बनेको छ- 'उग्रवाद', जो 'समर्पणवाद' मा परिणत हुँदै आएको छ। नेपाली वामपन्थी आन्दोलनमा एउटा रोगका रूपमा स्थापित भएको छ।
कांग्रेसको त्रुटि
जनमत संग्रहमा हाम फालेर लागेको नेपाली कांग्रेसले वामपन्थी शक्तिलाई बाहिर फ्याँकेर राजतन्त्रसँगको सामीप्यता देखाउन वामपन्थीहरूसँग सहकार्य गरेन। नेपाली कांग्रेसमा लोकतन्त्रको ठेकेदारीको दम्भ र घटनाहरूको ऐतिहासिक विश्लेषणको अभाव ठूलो समस्यामात्र होइन, एउटा चरीत्रका रूपमा स्थापित छ। यसै गलत दृष्टिकोणका कारण जनमत संग्रहमा सुधारिएको पञ्चायत पक्षको जीत भयो।
पञ्चायतभित्र सत्ताका लागि जुनसुकै किसिमको दासत्व स्वीकार गर्ने 'भक्तिवाद' को संस्कृति जन्मिएको थियो। कांग्रेसले ठान्यो- राजाले उसलाई स्वीकार्ने छन् तर त्यो केवल भ्रममात्र थियो। उसले पञ्चायतभित्र हुर्किएको भ्रष्टाचार र त्यसबाट राजतन्त्र पूर्णरूपमा प्रभावित भएको कहिल्यै देखेन। जनमत संग्रहमा मालेको 'यो धोका हो भन्ने प्रारम्भिक निर्णय र कांग्रेसको इतरपक्षसँग सहकार्य नगर्ने दम्भपूर्ण राजनीति' नेपाली जनताको परिवर्तनप्रतिका ऐतिहासिक त्रुटि थिए। जसले आजको वर्तमान संकट निर्माणमा परोक्ष भूमिका खेलेका छन्।
बहुदलीय व्यवस्थाको पुनर्स्थापना
बहुदलीय व्यवस्था पुनर्स्थापित भई २०४७ को संविधान निर्माण हुनु पूर्वदेखि नै गिरिजाप्रसाद कोइराला पक्षले वामपन्थी शक्तिलाई किनारा लगाउने खेल सुरु गर्योु। उनले चरिकोटको एउटा कार्यक्रममा दम्भका साथ भने- 'माले, मसाले र मण्डले एउटै हुन।' कांग्रेस र वामपन्थीले कम्तीमा २ वटा संसदीय कार्यकालमा सहकार्य गर्दै पञ्चायतका भग्नावशेष समाप्त पार्नुपर्ने आवश्यकता थियो तर त्यसो भएन। कांग्रेसले राजासँग नरम भएर वामपन्थीलाई किनारामा धकेल्नेमात्रै होइन, कांग्रेसभित्रकै उदार लोकतान्त्रिक शक्तिका समर्थक गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई समेत समाप्त पार्ने खेलमा चरम गुटबन्दी निर्माण गर्यो । निर्वाचनमा भट्टराईलाई जालसाजीपूर्वक 'गुट' ले हरायो। बहुमत सरकारको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले 'माले र मार्क्सवादी' मिलेर बनेको 'एमाले' लाई किनारा लगाउने खेल सुरु गर्योृ। विपक्षी र सत्ता पक्षबीचको द्वन्द्वमा 'घरभित्र' बसेको आठ वर्षको बालकसमेत मर्नुपर्योन। लोकतन्त्रको संस्थापन त धेरै परको कुरा आन्दोलनका सहयात्रीबीचमा शत्रुतापूर्ण सम्बन्ध वीजारोपण भयो। चिरा परेको यस सम्बन्धमा दरबार, पूर्व पञ्चहरूका अनेकौं गुट, सेनाभित्रका सभ्रान्त अनि पश्चिमी देशका खेलले मलजल गरे।
नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र पतन भयो। आफ्नै दलभित्रको विभाजनले विग्रहको अवस्थामा पुगेको कांग्रेसमा कोइरालासँग रहेको ७८ जनाको बहुमतले ३६ जनाको समूहमा रहेका व्यक्तिलाई दण्डित गर्ने प्रयोजनका लागि प्रतिनिधि सभा विघटन गरियो। मध्यावधि निर्वाचनमा प्रशासन संयन्त्रको प्रयोगद्वारा कोइराला र उनको समूहको बलियो संगठन निर्माण हुने अपेक्षा थियो। सर्वोच्च अदालतमा विघटनविरुद्ध रिट पर्योा। पंक्तिकारसमेतको बहसकर्ताको समूहले उसबेला भनेको थियो- 'यो विघटनलाई वैधानिकता प्रदान गरियो भने लोकतन्त्रको मृत्यु हुनेछ।' सर्वोच्चका चार जना न्यायाधीशले विघटन गलत हो भने पनि तत्कालीन प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायसहितका सात जनाले वैधानिक ठहर्यानए।
नेपाली कांग्रेसभित्र हुर्किएको आन्तरिक लोकतन्त्रप्रतिको अनास्था, निरङ्कुश सत्ताप्रतिको भक्ति, अब कांग्रेस सधैँका लागि अपराजयी छ भन्ने भ्रम र त्यसबाट जन्मिएको भ्रष्टाचारप्रतिको संकोचहीनताले कांग्रेसमा चिरञ्जीवी वाग्ले, विजय गच्छदार, जयप्रकाश गुप्ताको उदयमात्रै भएन, लोकतन्त्रलाई अन्ततः ज्ञानेन्द्रको हातसम्म पुर्या इदियो। पाटीलाई सिद्धान्तविहीन ढंगले चलायो भने के परिणाम भोग्नुपर्दोरहेछ भन्ने कुरा एनेकपा (माओवादी) ले कांग्रेसको यस इतिहासबाट विश्लेषण गरे हुन्छ। भारत र सिंगो पश्चिमी मुलुकको समर्थनमा कोइरालाले गर्न नसकेको कुरा भारतको समर्थनमा एनेकपा
(माओवादी) ले गर्ने आँट केवल सपनामात्र हुनेछ। जसरी उहाँहरु अहिले सिद्धान्तविहीन समूहका रूपमा शक्ति निर्माणमा लाग्नुभएको छ, त्यो दिगो हुँदैन। हो, यसले फेरि एक पटक ज्ञानेन्द्रले लादेजस्तै संकटकालमा भने पुर्या उन सक्नेछ।

एमालेको त्रुटि
गिरिजाप्रसाद कोइरालाले दम्भका साथ निरंकुशता निर्माणका लागि घोषणा गरेको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसको पराजयमात्रै होइन, यो निर्वाचन उसका लागि एउटा सजाय पनि बन्यो। निर्वाचन जित्न उसले गरेका तयारीहरू आफ्ना प्रहरी, आफ्ना सिडिओ, आफ्ना निर्वाचन पदाधीकारी सबै असफल भए। एमाले ठूलो दलका रूपमा रूपान्तरित भयो। मनमोहन अधिकारी जस्ता सात्विक व्यक्ति प्रधानमन्त्री भए। 'आफ्नो गाउँ आफैं बनाउँ' देखि 'नौ स' जस्ता जनपक्षीय विकासका कार्यक्रम यसले ल्यायो। 'गाविस' लाई बजेट विनियोजन गरी विकासका कार्यक्रममा इतिहासमा पहिलो पटक जनताको सहभागिता सुनिश्चित गर्यो', जसलाई प्रयोग गरेर अहिले एनेकपा (माओवादी) समेत हिँडेको छ। गाउँका बाटा खनिए। वृद्धहरूले भत्ता पाए। तर यस सरकारलाई पूर्व पञ्च, दरवार र विकास विरोधीसँग मिलेर कांग्रेसले नौ महिनामा लडायो। एमालेमा पनि सत्ताको भोक लागेका नेताहरूको यसै समय जन्म भयो। कांग्रेसका कमजोरी भण्डाफोर गर्दै लोकतन्त्र र संसदको गरिमाका लागि उभिनुपर्नेमा उसले पनि प्रतिनिधि सभा विघटन गर्यो्, अदालतमा मुद्दा पर्योि। एमालेका थुप्रै नेता संसद विघटनलाई वैधानिक हुनेगरी फैसला हुनेछ भन्नेमा ढुक्क थिए। तर फैसला विपक्षमा आयो। प्रतिनिधि सभा पुनर्स्थापित भयो।
यस घटनापछाडि कांग्रेसले पूर्व पञ्चलाई च्याप्यो। अनि सत्ताबाट विस्थापित हुनुपर्दाको पीडाबाट एमालेका मूल्य र मान्यता डगमगाउन थाले। जनताको पक्षमा दह्रो शक्तिका रूपमा खडा हुनुलाई उसले रणनीति बनाएन। बरू ऊ पनि पञ्चकै अर्को समूहमा टाँस्सियो र भारतलाई नजिक पार्ने कसरतमा लाग्यो। गर्दागर्दै महाकाली सन्धिमा 'कांग्रेस' नजिक पुग्यो र यसैलाई भारतको समर्थन प्राप्त गर्ने आधार बनाउन पुग्यो। पार्टीभित्र विग्रह भयो। अन्ततः एमाले फुट्यो। जनताले आमूल परिवर्तनका लागि निर्माण गरेको पार्टी र मदन भण्डारीले निर्माण गरेको लोकतान्त्रिक वामपन्थी दार्शनिक विचारधारालाई विचलनको बाटोमा धकेल्दै, गुटबन्दी, अनुशासनहीनता, अकर्मण्यतातिर लाग्दै 'ज्ञानेन्द्रले लादेको निरंकुशताका विरुद्धको आन्दोलनबाट पलायन हुँदै प्रतिगमन आधा सुधि्रएको जस्ता नाजायज कुरा गर्ने गल्तीसम्म गर्न पुग्यो।' यसबाट एमाले झनै कमजोर भयो। जनता अहिले पनि नौ महिने सरकारका निष्कलंक मन्त्री खोजिरहेका छन्। तर एमालेलाई अहिले उसको अडान के हुन्छ भनेर जान्नै/चिन्नै सकेनन्। यो एउटा विचारहीन क्लब होला कि भन्ने ठान्छन्।
लोकतन्त्रको संस्थापना असफल
कांग्रेस र एमाले दुवैले लोकतन्त्रको संस्थापना गर्न सकेनन्। कांग्रेसले सत्तामोह, आन्तरिक लोकतन्त्रप्रतिको अविश्वास र परिवारवादका कारण लोकतन्त्रलाई पुरानो फुटबल बनायो। एमाले नौ महिने सरकारको षड्यन्त्रमूलक बहिर्गमनबाट निराश भयो र राजनीतिक मूल्य र मान्यताबाटै विचलन हुन थाल्यो। त्यसताकाको अन्यायपूर्ण राजनीतिक षडयन्त्रलाई यस देशका कथित बौद्धिकले चूपचाप पचाएर अन्यायविरुद्ध साथ दिए।
यस निराशाबाट उत्रँदा एमालेले राजनीतिक स्पष्टता र जुझारूपन छोड्यो र दोधारे मध्यमार्गी सजिलो राजनीतिको पक्षपोषण गर्न थाल्यो। यिनै त्रुटिमा माओवादीलाई जनताले विश्वास गरेर एउटा नयाँ शक्तिका रूपमा उदाउने मौका दिए। २०४७ सालको संविधान ध्वस्त पारियो। यदि २०४७ सालका आन्दोलनका उपलब्धि संस्थागत गर्न सकिएको भए देश आज नयाँ नेपाल हुने थियो।
एमाओवादीको दृष्टिहीन गन्तव्य
२०६३ सालको आन्दोलनसम्म आइपुग्दा नेपालमा लोकतन्त्रका सबै मान्यता र संस्था राजनीतिक दलका सत्तास्वार्थ र ज्ञानेन्द्रको निरंकुशताले भत्किसकेका थिए। तत्कालीन माओवादीको पनि यही चाहना थियो। उसले आफूलाई भारतीय विस्तारवादी नीतिको विरोधी 'राष्ट्रियताको मसिहा' का रूपमा प्रस्तुत गर्दै नेपाली राजनीतिमा स्थापित गर्योत। उसले उदारवादी लोकतन्त्रका सबै संस्थाहरूको पतनमा भूमिका खेल्यो, जनवाद स्थापनाको नाममा। तर अन्तमा उसले जनवादी क्रान्तिको विचारधारा नै छाड्यो। अहिले ऊ निर्वाचनमा जान चाहन्छ तर कुन लक्ष्यका लागि? लोकतान्त्रिक बहुदलीय व्यवस्थाका लागि? तर त्यसप्रतिका उसका प्रतिबद्धता प्रष्ट छैनन्। अहिले उसलाई भारतीय सत्ताधारी वर्गको सबैभन्दा नजिकको मित्र मानिएको छ। देशको स्वाधीनता जोगाएर लोकतन्त्रलाई संस्थागत गर्ने रणनीति के हुन्? प्रष्ट छैन। माओवादी नेतृत्व महŒवाकांक्षी छ तर नेतृत्व गर्न असफल भएको छ।
कांग्रेस र एमालेमा अहिले पनि 'दिगो लोकतान्त्रिक शक्तिका रूपमा पुनर्स्थापित हुने लक्षणहरू देखिएका छैनन्। उनीहरूले आफूलाई अहिलेकै कमजोरीमा उभ्याइरहे भने एकातिर विद्रोह र अर्काेतिर लोकतन्त्र समाप्त हुने खतरा बढिरहेका छन्। एनेकपा (माओवादी) अहिले पुँजीवादी जनवादको नाममा नयाँ पार्टीमा रुपान्तरित भएको छ। तर उसले परिवर्तनको प्रतिनिधित्व गर्दैन भन्ने प्रष्ट भएको छ। एनेकपा (माओवादी) समेतको यस प्रवृत्तिले राष्ट्रियता, विकास र परिवर्तनका लागि फेरि अर्को विद्रोहको आधार तयार बनाउन सक्छ, जुन अत्यन्त पीडादायी हुनेछ।

प्रकाशित: १९ फाल्गुन २०६९ २३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %