१० कार्तिक २०७७ सोमबार
विचार

कोभिड–१९ पछिको परिस्थिति

रसियातिर बसी फर्केका साथीहरूलाई अझै सन् २००३ को एउटा सम्झना ताजै होला। त्यतिबेला बोरिस येल्त्सिनले भनेका थिए– जबसम्म हामीले आज पाइरहेको सुविधा हामीबाट खोसिँदैन तबसम्म हामीले त्यसको महŒव महसुस गर्न सक्दैनौँ। स्वतन्त्रता भनेको पनि त्यस्तै हो। हावा जस्तै। जब तपाईँ जरुरतअनुरूपको हावा पाइरहनुभएको हुन्छ तपाईँलाई त्यो हावाको यादसम्म आउँदैन। जब तपाईँले त्यो हावा पाउन सक्नुहुन्न तपाईँ छट्पटिन थाल्नुहुन्छ। विकल्पबिना बाँच्न सक्नुहुन्न।  

कोभिड–१९ को संक्रमणले आफ्नो स्वच्छन्द चलायमान जीवन पद्धति र दैनिक कारोबारमा परेको असरबाट आज मानिस त्यही हैसियतमा पुगेको छ। महामारी त भइरहेछ। झेलिएकै छ। महामारीपछिको मेरो दिनचर्या कस्तो होला ? गुमेको आर्थिक हैसियत र विकसित हुँदै गरेको मनोवैज्ञानिक दुर्बलताको उपचार कसरी होला। मेरो जीवन पहिले जस्तै सामान्य जीवनको गोरेटोमा कसरी फर्केला ? मेरो आफ्नो भविष्य उज्ज्वल राख्न सक्ने सुनिश्चितता मैले कसरी कायम गर्ने भन्ने हदैसम्मको छटपटी समाजका हरेक व्यक्तिमा यतिबेला देखिएको छ।  

त्यसको जगमा उभिएर आज हाम्रो समाजमा धेरै अड्कल र अनुमान आउन थालेका छन्। अनिश्चितताका कालरात्रिबीच डर र भावनात्मक ब्ल्याकमेलमार्फत आफ्नो स्वार्थ सिद्ध गर्न चाहने निकै ठूलो तप्का सङ्गठित र नियोजितरूपमा सक्रिय रहेको पनि आभास हुन्छ। यो अवस्थाबीच हाम्रो आफ्नै भविष्यबारे चिन्ता थपिदिने कतिपय समाजमा सुनिने र सामाजिक सञ्जाल तथा लेखहरूमा पढ्न पाइने विषयवस्तुहरू कत्तिको यथार्थपरक छन् भन्ने प्रश्नहरूको उत्तरका लागि पहिले मानिस लकडाउनपछि के गर्न चाहन्छन् भन्ने जान्न जरुरी हुन्छ।

भर्खरै मानव बुद्धि तथा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी सामाजिक सञ्जालको उपयोगबाट कोभिड–१९ को लकडाउन समाप्तिपछि मानिस के गर्न चाहन्छन् भनी गरिएको अध्ययनले केही महŒवपूर्ण कुरा उजागर गरेको छ।

तपाईँ हामीले सोच्दा लकडाउन सकिएर परिस्थिति सुरक्षित बनेपछि पहिलो स्थानमा आफ्ना साथीभाइ, परिवार, आफन्त र प्रियजन भेट्न र उनीहरूसँगै बसी गुणस्तरीय समय बिताउने, खानपान गर्दै र मनोवैज्ञानिक आनन्द लिने चाहना हुनुपर्ने हो। बताइएका शीर्ष बाह्र चाहनामा यो चाहना पछिल्लोबाट तेस्रो स्थानमा मतलब दसौँ स्थानमा परेको भेटिन्छ। पहिलो स्थानमा मानिस आफूलाई सुन्दरता प्राप्त हुने गतिविधिमा संलग्न गर्न चाहेको देखिन्छ। जसमा नाइँ वा सैलुनमा जाने, कपाल कटाउने, रङ्गाउने, नङहरू काट्ने, पालिस गर्ने, आँखाको रौँ आदि सुन्दर बनाउने जस्ता चाहना रहेको भेटिएको छ। यो चाहनाले पोस्ट कोभिड–१९ मा स्वस्थ र सुन्दरता सम्बन्धका व्यवसाय मौलाउने निश्चित गर्छ। जसले आयुर्वेदिक र हर्बल विषयको व्यापार बढाउने अनुमान गर्न सकिन्छ।

कोभिड–१९ बाट संसारले नयाँ पाठ सिकेको छ। भौतिक संरचनामा आधारित व्यवसायहरू इन्टरनेट र अनलाइन व्यवसायमा जाँदैछ।  

दोस्रो चाहनामा आफूलाई मन पर्ने रेस्टुरामा गएर खाना खाने अनि फिल्म, थिएटर आदिमा गएर मन परेको फिल्म हेर्ने इच्छा पर्छ। तेस्रो सूचीमा मन पर्ने ब्रान्डका मादक पेयहरू उपलब्ध हुने क्लबहरू तथा पबहरूमा आयोजना हुने पोस्ट कोभिड–१९ पार्टीहरूमा सहभागी हुँदै एक रात साथीहरूसँग घरबाहिर समय बिताउने इच्छा परेको छ। चौथोमा साथीभाइसँगै हल आदि बाहिर आयोजना हुने प्रत्यक्ष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आदिमा सहभागी हुने इच्छा देखिन्छ। कसैकसैले भने यात्राका लागि टिकटसमेत बुक गरेका देखिन्छ।  

दोस्रो, तेस्रो र चौथो इच्छाले पोस्ट कोभिड–१९ मा औषधीय मूल्यका, आनन्द र मनोरञ्जनदायक आयुर्वेदिक खाद्य तथा पेय पदार्थमा मानिसको खर्च गर्ने मनस्थिति विकास भएको भएको अवस्थातर्फ सङ्केत गर्छ। खुला स्थानमा योजना हुने प्रत्यक्ष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमहरूले पनि राम्रो बजार पाउने भेटिन्छ।  

पाँचौँ सूचीमा हालको लकडाउनको समय उनीहरूको घरमै बसी खानपिन गर्ने, भिडियो गेम खेली, टिभी हेरी रमाउने जीवन पद्धति मन परेको र त्यसैलाई सुचारु गर्न चाहेको देखिन्छ। छैटौँ सूचीमा घरबाहिर नदी वा समुन्द्री किनार, राष्ट्रिय निकुञ्ज, पार्क, हिमाल आदि स्थानमा पुगेर प्रकृतिसँग नजिकिएर केही समय बिताउन चाहेको भेटिन्छ। सातौँमा बजार पुगेर सपिङ गर्ने इच्छा सूचीकृत छ जुन पहिले प्रायः पहिलोमा पर्ने गथ्र्यो।

सातौँ सूचीमा परम्परागतरूपको हाट बजार आदिमा गएर किनमेल गर्ने इच्छा परेको छ भने आठौँ सूचीमा बिदा आदि मनाउन भ्रमणमा निक्लने इच्छा परेको छ। नवौँ खेलकुदमा भाग लिने वा दर्शकका रूपमा भाग लिने, एघारौँमा काममा फर्कने र अन्तिममा जिम जाने इच्छा सूचीकृत भएको भेटिन्छ।

माथि प्रस्तुत मानिसका विविध इच्छाको प्राथमिकताको सूचीले कोभिड–१९ का कारण मानिसको परिवर्तित चाहनाले उनीहरू बदलिँदो जीवनशैलीमा जाँदैछन् भन्ने जनाउँछ। बदलिँदो जीवनशैलीले विश्व बजारलाई परिवर्तन गरिदिने सङ्केत दिन्छ। पोस्ट कोभिड–१९ युगमा मार्केटिङ, सञ्चार, उद्योग र वितरण प्रणाली सबैमा विविधता आउने जसले बजारको मागसँगै बजारमा फरक प्रकृतिको रोजगारी माग गर्ने एवम् स्वरोजगारीका अवसरहरू उपलब्ध गराउने निश्चित गरेको प्रस्ट पार्छ।    

जब तपाईँ जरुरतअनुरूपको हावा पाइरहनुभएको हुन्छ तपाईँलाई त्यो हावाको यादसम्म आउँदैन। जब तपाईँले त्यो हावा पाउन सक्नुहुन्न तपाईँ छट्पटिन थाल्नुहुन्छ। विकल्पबिना बाँच्न सक्नुहुन्न।

नेपालको सन्दर्भको कुरा गर्दा भने हाम्रा समाजका अग्रज ठानिएका र सरकारमा रहेका कारण मुलुकको भाग्य विधाता मानिएकाहरू जानी÷नजानी अबको विश्व कता जाँदैछ, संसारमा कस्ता कस्ता नयाँ उपाय अवलम्बन गरिँदैछ भन्ने सामान्य ज्ञान वा अध्ययनसमेत नगरी यत्रतत्र बेतुकका भ्रम छरिरहेका र डरका खेती गरिरहेका भेटिन्छ।  

भनिएको छ– नेपालमा कोभिड–१९ पछि नेपालीले आफ्नो रोजगार गुमाउने छन्। मुलुकभित्रै भएकाहरू बेरोजगार भइरहँदा बाहिर गएका प्रवासी नेपालीसमेत थपिँदा बेरोजगारी बढ्नेछ। सरकारले विकल्प दिन नसक्दा त्यो वर्ग काठमाडौँ र सदरमुकाममा ढुङ्गा हान्ने वर्ग बन्नेछ। तिनीहरूको तारो स्थानीय र हालको सरकार बन्नेछ। अनि सत्ता परिवर्तन हुनेछ। त्यो ज्वारभाटाले हालका काँग्रेस÷कम्युनिस्टहरू विस्थापित हुने र हाल गर्भ धारणसमेत नभइसकेको राजनीतिक शक्ति नयाँ महाराजहरूका रूपमा उदाएर शासन व्यवस्था सञ्चालन गर्ने मौका पाउनेछन्।

बदलिँदो अर्थव्यवस्था र मानिसको निजी चाहनाको गहिरो मूल्याङ्कनले त्यो विचारधारा कुनै दरिलो आधारमा उभिएको भेटिँदैन। भोलिको बजार कता जाँदैछ भन्ने मूल्याङ्कनले राजनीतिक सन्तुलन र परिवर्तनबारे साइनो राख्ने हुँदा भेटिएको यथार्थताले भिन्न चित्रको सम्भावनातर्फ इंगित गरिरहेको छ।  

कोभिड–१९ बाट संसारले नयाँ पाठ सिकेको छ। भौतिक संरचनामा आधारित व्यवसायहरू इन्टरनेट र अनलाइन व्यवसायमा जाँदैछ। व्यवसाय अनलाइनमा गए तापनि वस्तु तथा सेवाको कारोबार गर्न स्टोर र ढुवानीमा अत्यावश्यक पर्ने भौतिक संरचना इन्टरनेट र अनलाइन व्यवसायमैत्री संरचनाका रूपमा परिवर्तित हुँदैछन्।  

बदलिँदै गएको व्यवसायको परिवर्तित इन्टरनेट र अनलाइन व्यवसायमैत्री संरचनामा अभ्यस्त जनशक्ति बजारमा पर्याप्त देखिँदैन। निकै ठूलो जनशक्तिलाई पुनः तालिम गरी तयार गर्नुपर्ने र झण्डै ६० प्रतिशत क्षेत्रमा एउटा भौतिक संरचनाले अर्को भौतिक संरचना पहिचान गरी इ कारोबारअनुरूप वस्तु र सेवा साटासाट गर्न सक्षम इन्टर फेस डिजाइन गर्नुपर्ने बाध्यता आइलागेको छ।  

एकातर्फ भइरहेको कारोबार नियमित गरिरहनुपर्ने अर्कोतर्फ नयाँ प्रणाली तयारी गरी बदलिँदो बजार आवश्यकता पूरा गर्न आवश्यक पूर्वाधारसमेत सँगसँगै तयारी गर्नुपर्ने  हुँदा पहिले भन्दा धेरै जनशक्ति जरुरत हुनेछ। अनुमान गरिएभन्दा निकै ठूलो स्तरमा ठूलो रोजगारीको अवसर सिर्जना हुनेछ। मानिस रोजगार प्राप्ति भन्दा स्वरोजगारमा जान प्रायः प्रयासरत बनेका भेटिनेछ।  

पहिले भन्दा कम समय काममा लगाएर धेरै तलब सुविधा दिन नसक्दा कम्पनीले आफ्ना कामदार आफूसँग राखिराख्न नसक्ने र स्टाफले छाड्ने, मानव संसाधनकै कमीका कारणबाट व्यवसाय घाटा लाग्ने स्थिति पैदा हँुदैछ। मतलब संसारसँग उसलाई जरुरी हुने मानव संसाधनको तुलनामा उपलब्ध मानव संसाधन नै ५.७ प्रतिशतले कमी हुन पुग्नेछ।  

पुरानो सिपको बजार माग बिस्तारै घट्दै जाने भएकाले नयाँ सिप सिकेर मानिस नयाँ प्रकृतिको काममा आफूलाई अभ्यस्त गराउन सक्नेछन्। संसारमा नआइनहुने बनिसकेको  नयाँ प्रकृतिको रोजगारको अवसर पैदा हुनेछ।  फलतः पुराना र अनुभवी रहेको नाममा कायम रहेको हालका अक्षमहरूले सक्षममाथि गरिरहेको व्यवस्थापनका कारण संसारको द्रुत विकासमा लागि रहेको अङ्कुश हट्नेछ।

मुख्य कारोबार नै इन्टरनेटमा आधारित हुने हुँदा मुलुक–मुलुकबीचको भौतिक सीमाले जुनसुकै देशका कामदारलाई रोजगार दिन रोक्ने छैन। गरिब मुलुकको हकमा मुलुकको राजस्व लिएरै पढ्ने, तालिम लिने जागिर वा पेसा गर्ने र आजीवन मुलुककै परजीवी बनेर रमाउने अल्छी कुलीन समूहहरूको चङ्गुलबाट हटेर मेहनती र उच्च नैतिक मनोवृत्ति बोकेका उत्कृष्ट मानव संसाधनले अवसर पाउने पूर्वाधारहरू तयार हुँदै जानेछन्। कोभिड–१९ मा तिरेको ठूलो मूल्यको मीठो प्रतिफलका रूपमा भरोसालाग्दो उपलब्धिका रूपमा यस्ता सकारात्मक परिवर्तन संसारले प्राप्त गर्दैछ। नेपालले यो अवसरको कसरी प्रयोग गर्ला ? त्यो भने समयले बताउनेछ।  

(खाद्य तथा औषधिविज्ञ)  

प्रकाशित: २७ आश्विन २०७७ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App