९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

बबुरा बुद्धिजीवी

भनिन्छ, राजा महेन्द्रले कुनै निर्णय गर्नुअघि बुद्धिजीवीको प्रत्यक्ष र परोक्ष राय बुझेर काम गर्थे । नेपालको राजधानी काठमाडौँ भए पनि डिल्लीबजार र त्यसवरपरका राष्ट्रसेवक, बुद्धिजीवी र विभिन्न पेसा–व्यवसायका मानिसको बाक्लो बस्ती थियो, डिल्लीबजार । लप्टनको होटललगायतका ठाउँमा साँझ–बिहान भेला हुन्थे, बुद्धिजीवी । उनीहरूका प्रतिक्रिया, धारणा र टिप्पणी दरवारको ‘रोयल इन्टेलिजेन्स ब्युरो’ समक्ष पु-याएर बुद्धिजीवीमध्येका केहीले पारिश्रमिक पाउने गरेको पुराना साहित्यकार श्यामदास वैष्णव बताउँछन् ।

उनी भन्छन्– ‘महेन्द्रले कडा कदम चाल्छन् भन्ने सुनिन्छ नि’ भनेर २०१७ साल मंसिरदेखि नै दरवारका जासुसहरू बुद्धिजीवीको राय बुझ्दै थिए । यत्तिकैमा एक जना बुद्धिजीवीले राजाको ‘दर्शनभेट’ पाएपछि ‘काठमाडौँका जनताले दुई छाक सस्तो खान पाए भने विद्रोह गर्दैनन्, तसर्थ, चामलको दाम घटाइबक्स्योस्’ भन्ने सुझाव दिएछन् ।’ सोहीअनुसार एक रुपियाँमा दुई माना राम्रो चामल पाइने ऊबेला असी पैसामा दुई माना चामल पाइने प्रबन्ध मिलाइएछ ।

शासकले दृढ इच्छाशक्ति र इमानदारी देखाएको खण्डमा धेरै काम हुन सक्छ भन्ने कुरा पछिल्ला वर्षहरूमा विभिन्न देशमा स्पष्ट देखिएको छ । ‘इन्डिया टुडे’ पत्रिकाले आदित्यनाथलाई भारतका सर्वोत्कृष्ट मुख्यमन्त्री घोषणा गर्दै उनले करोडौँ जनताको जीवनमा परिवर्तनमा ल्याउन सक्ने टिप्पणी गरेको छ । एकपल्ट होइन, तीनपल्ट सो पत्रिकाले उनको प्रशंसा गर्दा बुद्धिजीवीहरू प्रभावित भए । केहीले टिप्पणी गरे– ‘उनी मुसलमानका घोर विरोधी हुन् ।’ आदित्यनाथले प्रतिवाद गरे– ‘भारत माताका विरुद्ध षडयन्त्र गर्ने जो भए पनि म क्षमा गर्दिनँ । त्यसमा जात र धर्मको कुरा आउँदैन ।’ कतिपय विश्लेषक भन्छन्– ‘निजी स्वार्थ र लोभ नभएपछि नेतृत्व सफल हुन्छ ।’ भारतको सबैभन्दा ठूलो प्रान्तमा पन्ध्र करोड भन्दा धेरै जनताको नेता हुनु चानचुने कुरा होइन । आलोचना भइरहे पनि भारतको सबैभन्दा सुरक्षित, समुन्नत, सुन्दर र सुव्यवस्थित प्रान्त बनाउने चाहना पूरा गर्न योगी आदित्यनाथले आफूलाई ‘विकासवादी’ भएको प्रमाणित गरिरहेको बुद्धिजीवीहरूको तर्क छ । सिंगापुरका राजनेता लि–क्वान–यु वा मलेसियाका राजनेता महाथिर महम्मद जस्ता नेता प्रसिद्ध र लोकप्रिय बन्ने कारण विकासप्रतिको समर्पण नै हो ।

दलले तयार पारेका कार्यक्रम र दल वा गुटको स्वार्थमा रमाउने मानिस ‘कार्यकर्ता’ हो, बुद्धिजीवी होइन ।

अत्यन्त विकसित र उदात्त सोच भएको मानिसलाई बुद्धिजीवी मान्ने चलन छ । बौद्धिक व्यक्ति समाजको मात्र होइन, राष्ट्रकै सम्पत्ति मानिन्छ । ‘पढ्ने, पढाउने, लेख्ने, नयाँ किसिमको सोच र दृष्टिकोण भएको तथा अध्ययन–अनुसन्धानमा केन्द्रित व्यक्ति बुद्धिजीवी हो’ भनेका छन् विद्वान्हरूले । दलले तयार पारेका कार्यक्रम र दल वा गुटको स्वार्थमा रमाउने मानिस ‘कार्यकर्ता’ हो, बुद्धिजीवी होइन ।

पहिले पहिले प्लेटो, एरिस्टोटल, मेकियाभेली, अल्बर्ट आइन्स्टाइन, ग्यालिलिओ ग्यालिलाइ, विलियम सेक्सपियर आदिलाई पश्चिमा गोलाद्र्धमा ‘इन्टेलेक्च्युअल’ मानिन्थ्यो र आज पनि उनीहरूलाई प्रेरक व्यक्तित्व मानिन्छ ।

अंकगणितदेखि अन्तरिक्षसम्मको गहन अध्ययन÷अनुसन्धान गरेका आर्यभट्ट, धर्मशास्त्रका प्रकाण्ड विद्वान् आद्य शंकराचार्य, बौद्धगुरु पद्मसंभव, नागार्जुन, बराहमिहिर आदिलाई ठूलो सम्मान गर्छौँ हामी । डा.मयंक चतुर्वेदीले एउटा लेखमा धन कमाउने प्रतियोगितामा सामेल गर्ने पश्चिमी शिक्षाले प्राचीन धर्म, संस्कृति र सभ्यता रक्षा गर्ने बौद्धिक जनशक्ति उत्पादन गर्न नसक्ने तर्क गरेका छन् । आठौँ शताव्दीका कवि भवभूतिद्वारा लिखित ग्रन्थमा भुरिसु र देवराटसँग कामन्दकी नामकी छात्राले सहशिक्षालय (गुरुकूल) भित्र बसेर अध्ययन गरेको प्रसंग आउँछ ।  

संस्कार नसिकाउने शिक्षा, नैतिकता, आदर्श र स्वाभिमान एवं कर्तव्यविमुख गराउने शिक्षा पद्धतिका कारण नेपालमा हरेक वर्ष दीक्षित हुने लाखौँ ‘शिक्षित’ मध्ये बौद्धिक, प्राज्ञिक र ज्ञानीजन कति छन् भनेर सोच्नैपर्ने अवस्था छ । सञ्चारमाध्यममा बुद्धिजीवीको अन्तर्वार्ता, विचार र टिप्पणी सुन्दा, हेर्दा उनीहरूमध्येका अधिकांशले एउटा भित्ता र कित्तामा उभिएर अरूलाई अशिष्ट शैलीमा प्रहार गरिरहेका देखिन्छ । यस्तो स्थितिमा ‘कमजोर व्यक्ति प्रतिशोध लिन तम्सिन्छ । सशक्तले क्षमा गर्छ । बौद्धिक मानिसले सुनेको नसुने जस्तो गर्छ’ भन्ने कथन पुष्टि हुन्छ ।  

वास्तविक ज्ञानी अभिमानी हुँदैन । ज्ञान अनन्त हुन्छ भन्ने बुझेपछि मानिसमा म ‘सर्वज्ञ छु’ भन्ने भ्रमको जालो स्वतः हट्छ । सोक्रेटसले आजीवन अध्ययन गरे । बूढेसकालमा ‘मैले केही जानेकै रहेनछु’ भने । हामी धन, रूप र आवरण मात्र हेर्छौँ । बौद्धिक क्षमता र योग्यता हेर्ने थोरै छन् । तसर्थ, बौद्धिक व्यक्तिको कदर नहुने समाजमा अबौद्धिकको बहुमत हुन्छ । उनीहरूकै स्वर ठूलो हुन्छ । नेपालमा अचेल यो दृश्य जताततै देखिन्छ ।

सञ्चारमाध्यममा बुद्धिजीवीको अन्तर्वार्ता, विचार र टिप्पणी सुन्दा/हेर्दा उनीहरूमध्येका अधिकांशले एउटा भित्ता र कित्तामा उभिएर अरूलाई अशिष्ट शैलीमा प्रहार गरिरहेका देखिन्छ ।

केही अपवादबाहेक, शुक्राचार्यनीति, विदुरनीति, चाणक्यनीति, गीता, महाभारत, यज्ञवल्क्यनीति, अष्टवक्रका वचनदेखि लिएर जीवनमा सकारात्मक ऊर्जा दिने धेरै प्राचीन ग्रन्थबारे हामीले नयाँ पुस्तालाई केही पनि सिकाएका छैनौँ । जन्मोत्सवमा दीप–प्रज्वलन गर्ने कि बत्ती झ्याप्प निभाउने प्रचलनमा गर्व गर्ने भन्ने कुरामा हजुरबुबा–हजुरआमाहरू दोधारमा नहोलान् तर आफ्नो खुर्केर अरूको टाँस्ने वर्गले मौलिक धर्म–संस्कृति, सभ्यता, बौद्धिक पहिचान र हाम्रोे आधारभूत चरित्र कसरी जोगाउँछ ? प्रश्न अनुत्तरित छ ।

२०६२÷६३ को आन्दोलनमा सक्रिय भाग लिएकामध्ये ‘बौद्धिक’ वर्ग अचेल रुष्ट देखिएको पाइन्छ । राजनीतिक दलका धेरैजसो नेतालाई आज्ञाकारी कार्यकर्ता मात्र चाहिएको छ । तर्क र विश्लेषण गर्ने सत्यवादी, गहन अध्ययन गर्ने स्वाभिमानीले असत्यलाई ‘सत्य’ भन्दैन । संवेगात्मक पीडा सहेर बस्छ । अपमान, अभाव र अप्ठ्यारो सहेर समाजका आँखामा बबुरो (निरीह) देखिन्छ तर ऊ एक्लै भए पनि हिँडिरहन्छ ।

विश्वविख्यात कवि रवीन्द्रनाथको ‘एकला चलो रे’ भन्ने कविताले बौद्धिक वर्गको पीडा बोल्छ । बंगालीभाषी ती कवि लेख्छन्– ‘जोदी तोर डाक सुनेउ, केउ ना आसे । तोबे एक्ला चलो रे ।’ (यदि तिमीलाई बोलाएको सुन्ने कोही छैनन् भने पनि तिमी एक्लै हिँड ।) ‘ऐतरेय ब्राह्मण’ ग्रन्थमा ‘चरैवेति चरैवेति’ भनिएको छ । एक्लै अघि बढ, ज्ञान प्राप्त हुन्छ भन्ने त्यसको आशय हो ।

आज नेपालमा विश्वका मुर्धन्य विद्वान्–विदुषीसँग तर्क गर्न सक्ने ‘बौद्धिक’ कति छन् ? विश्वले पढ्न चाहेका नेपाली ग्रन्थ कति छन् ? ‘शीलं परम भूषणम्’ सिकाउने हाम्रा पुर्खाबाट हामीले भौतिक सम्पत्ति लियौ, लिन खोज्यौ तर संस्कार किन ग्रहण गरेनौँ ?

रचनात्मक, आलोचनात्मक र सकारात्मक सोच राखेर ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्छ, सच्चा बौद्धिक व्यक्तिले । ऊ दल, गुट, एनजिओ, आइएनजिओ आदिको स्वर्ण–पिजरामा बस्दैन । नेपालमा विदेशीका खेताला, दलका दास र ज्युँदा लासहरू मानव अधिकार, डेमोक्रेसी र स्वतन्त्रताको प्रवचन दिइरहेका छन् । हामी ध्यान दिएर सुनिरहेका छौँ ।

बौद्धिक मानिसको दर्शन स्पष्ट हुनैपर्छ । इतिहासको आद्योपान्त ज्ञान हुनुपर्छ । भविष्यमा के हुनसक्छ भन्ने आकलन र मीमांसा गर्न सक्नुपर्छ । समसामयिक विश्व परिवेश, कूटनीति, सामरिक चुनौती र राष्ट्रिय÷अन्तर्राष्ट्रिय समस्याको समाधान खोज्ने उत्साह, जाँगर र क्षमता हुनुपर्छ । अरूलाई जथाभावी गाली गर्नु र बौद्धिक हुनु फरक कुरा हो । बौद्धिकले फरक विचारलाई सहज मानेर तर्क गर्छ । मूर्खले झगडा गर्छ ।  

युवल नोह हरारीले ‘सेपियन्स ः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ ग्रन्थमा मानव विकास र आधारभूत चरित्रको चित्रण गरेका छन् । त्यसमा ७० हहार वर्षअघिदेखि मानवको संस्कृति देखिएको तर्क छ । मानिसले दश हजार वर्षअघि कृषिकर्म सिकेको तर विज्ञानको क्रान्तिको जन्म पाँचसय वर्ष पहिले मात्र भएको उनले उल्लेख गरेका छन् । उनले ‘होमो सेपियन्स’ नै विवेकशील मानिस भएको लेखेका छन् । हरारी भन्छन्– बौद्धिकहरूले नै साझा समस्याको समाधान गर्न सिकाए ।’ ऋग्वेदले कल्पना गरेको राष्ट्र, संसद् जस्ता राजनीतिक शब्द तथा ‘राजधर्म’ शिरोधार्य गरेर हाम्रा पुर्खाले हजारौँ साल पहिले नै ‘सबैको हित’ होस् भन्ने मार्गचित्र देखाए । त्यसैले, हाम्रा बौद्धिक पूर्वजले जात, धर्म, तेरो–मेरो भनेर मान्छे–मान्छेबीच दल र गुटको घेराबेरा लाएनन् । ‘वसुधैव कुटुम्बकम्’ अर्थात संसारका सबैजना नातागोता (आफन्तजन) हुन भन्ने सिकाए, पुर्खाले ।

जगत्प्रसिद्ध विद्वान् स्यामुअल पि हन्टिङ्टनले ‘क्ल्यास अफ सिभिलाइजेसन’ ग्रन्थमा संस्कृति बचाउन भविष्यमा महायुद्ध हुन सक्ने बताएका छन् । मुसलमान र क्रिस्चियन राष्ट्रबीचको बढ्दो तनावले भविष्यका बारेमा चिन्ता बढेको छ । तर दुर्भाग्यको कुरा यस्तो दुष्कर्ममा बुद्धिजीवीहरू नै सक्रिय भएको पाइन्छ । उनीहरू विभिन्न राष्ट्रमा जातीय र साम्प्रदायिक विभेद फैल्याएर साम्राज्यवाद र विस्तारवादलाई प्रजातन्त्र तथा मानव अधिकारको आवरणमा विश्वभर फैल्याउन चाहन्छन् भन्ने देखिन्छ ।

भारतमा राम–जन्मभूमि विवाद, उत्तर पूर्वी भारतमा बढिरहेको इसाइकरण, एमनेस्टी इन्टरनेसनल जस्ता संस्थालाई भारतबाट निकाला गरिएको प्रसंग, स्वतन्त्र तिब्बत अभियानका पक्षमा नेपालमा बसेर पश्चिमा राष्ट्रका प्रतिनिधिले  गुप्तरूपमा चलाइरहेका गतिविधि, उइगुर मुसलमानलाई उकासेर पश्चिमा राष्ट्रहरूले चीनविरुद्ध गरिरहेका क्रियाकलाप तथा चीन, अमेरिका, भारत र इयुको दबाबबाट नेपालमा परेको र पर्न सक्ने प्रभावको वस्तुपरक विश्लेषण गर्नुको सट्टा अधिकांश नेपाली बुद्धिजीवीहरू विदेशीकै मार्गचित्रमा हिँडेको देखिन्छ ।

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा समेत बुद्धिजीवीहरूले खेलवाड गरिरहेको देखिन्छ । चीनदेखि अमेरिकासम्मले अघिसारेका परियोजनाका विषयमा गम्भीर अध्ययन नगरी केही लेखक र विश्लेषकले गरेका टिप्पणी पढ्दा र सुन्दा राष्ट्रको हितमा मात्रै सोच्ने बुद्धिजीवी कति छन् भन्ने प्रश्न खडा हुन्छ । तसर्थ स्वदेशी विचारलाई उपेक्षा गर्दै विदेशी विचार र स्वार्थको मात्रै पक्षपोषण गर्ने हो भने बुद्धिजीवी हुनुको अर्थ के रह्यो ?

प्रकाशित: २३ आश्विन २०७७ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App