६ वैशाख २०८१ बिहीबार
विचार

काँग्रेसमा कमजोर बन्दै नैतिकता

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ। पार्टी महाधिवेशनको तयारीका सन्दर्भमा हुन लागेको यो बैठकले महाधिवेशनको तयारीका लागि यसअघि निर्धारण गरिएका मिति सार्ने लगभग निश्चित छ। महाधिवेशनका प्रक्रिया अवरुद्ध हुनुको मुख्य कारण विश्व महामारी बनेको कोभिड–१९ नै हो। काँग्रेसले सक्रिय सदस्यता र समायोजनको जुन मिति तय गरेको थियो, कोभिडको मध्यमा परेका कारण यी काम अझै टुंगिएका छैनन्। कोभिडको कहर कहिले टुंगिने हो थाहा छैन तर काँग्रेससँग धेरै पछाडि धकेलेर महाधिवेशन गर्ने संवैधानिक छूट पनि छैन। यही बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गर्नु फेरि पार्टी सभापतिले आफ्नो पदावधि लम्ब्याउनका लागि महाधिवेशन सारेको आरोपको सामना गर्नु हो। त्यसकारण यो बैठकलेयसअघि अवरुद्ध भएका कार्यक्रमको समायोजन गरेर लक्षित समयमा महाधिवेशन गराउने निर्णय गर्नु नै बुद्धिमानी हो।  

काँग्रेस यतिबेला प्रतिपक्षमा छ र उसको भूमिका सरकारका भ्रष्टाचारलगायतका अनेक कुकर्मको भण्डाफोरमा केन्द्रित हुनुपथ्र्यो। पार्टी नेतृत्वका लागि भएको निर्वाचनमा असफल भएको र आफूलाई पार्टीभित्रको प्रतिपक्ष भनिदिँदा रोमाञ्चित हुने पक्षलाई समेत यसको अनुभूति छ।सरकारविरुद्ध काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएर मात्र यो पक्ष उन्मुक्ति पाउने अवस्थामा छैन। काँग्रेस कमजोर जस्तो देखिएको छ भने यसको एउटा कारण पार्टीभित्रको गुटगत बखेडा पनि हो। पार्टी नेतापिच्छे हुने गुटगत भेला र बैठकले पार्टीलाई संगठित भन्दा विग्रहतिर धकेलिरहेको छ। सरकारविरुद्ध साँच्चै प्रतिपक्षी भूमिकामा देखिन काँग्रेसभित्रको एकताको अनुभूतिभन्दा नेतृत्वलाई कमजोर देखाउने अभ्यासमा नै यी गुटका शक्ति खेर गएका छन्।  

लोकतान्त्रिक पार्टी भएकै कारण नेतृत्वको आलोचनाको छूट काँग्रेसमा हुनुपर्छ। नेतृत्वलाई देवत्वकरण गर्नु कम्युनिस्ट दर्शन हो, लोकतान्त्रिक चरित्र होइन। स्टालिन, माओ, किम इल सुङ जति पनि विश्व चर्चित कम्युनिस्ट शासक भए, उनीहरूको आलोचना गर्ने छूट थिएन। उनीहरूको विकल्पका बारेमा सोच्ने त परको कुरा रह्यो। आज पनि उनीहरूका अनुयायीलाई उनीहरूको आलोचना गर्नु अपराधझैँं लाग्छ। यही मान्यता स्थापित गर्दै कुनै बेला पुष्पकमल दाहालले प्रचण्डपथ घोषणा गराए र आफूलाई प्राधिकार सम्पन्न घोषणा गरे। काँग्रेस त्यो दर्शनबाट निर्देशित हुन्थ्यो भने लोकतान्त्रिक पार्टीका रूपमा परिचित र स्थापित हुने थिएन तर यसको अर्थ लोकतान्त्रिक पार्टीभित्र कुनै नैतिक आचरण हुँदैन वा अनुशासनको कुनै सीमा हुँदैन भन्ने पक्कै होइन। लोकतन्त्रले दिने स्वतन्त्रताका नाममा छाडातन्त्र मौलाउँदै जाँदा काँग्रेस आज कमजोर जस्तो देखिएको छ।  

काँग्रेसमा यो समस्या आजको होइन। हिजो बिपी कोइरालाले नेतृत्व गर्दै गर्दाको काँग्रेसमा पनि यी समस्या थिए। त्यसबेला पनि गुटको प्रभाव थियो। व्यक्तिगत स्वार्थमा लिप्त नेता/कार्यकर्ताको अभाव थिएन। तर बिपीमा चमत्कारिक नेतृत्व क्षमता थियो। बाहिर जतिसुकै विरोध र आलोचना गरिरहँदा बिपी कोइरालाका अगाडि सबै नेता उहाँलाई अस्वीकार गर्ने हिम्मत र हैसियत दुवै राख्दैनथे। २०१५ सालमा जतिबेला काँग्रेस संसदीय निर्वाचनको तयारी गर्दै थियो, बिपी कोइराला यी प्रवृत्तिबाट आजित हुनुहुन्थ्यो। त्यसबेला उहाँले काँग्रेसका सदस्यका नाममा लेख्नुभएको पत्रले त्यही संकेत गर्छ र आज पनि त्यो पत्र उत्तिकै सान्दर्भिक छ। काँग्रेसमा हिजोको चेत र आजको चेतमा कुनै अन्तर देखिँदैन। त्यो समयमा मताधिकार नै नभएका वा नजन्मिएकाहरू आज काँग्रेसको केन्द्रीय तहमा छन्तर उनीहरूले बोकेका संस्कार भने उही ६० वर्षअघिकै छ।

कोभिडको कहर कहिले टुंगिने हो थाहा छैन तर काँग्रेससँग धेरै पछाडि धकेलेर महाधिवेशन गर्ने संवैधानिक छूट पनि छैन।

बिपी कोइरालाले त्यो चिठीमा बुँदागतरूपमा लेख्नुभएको थियो– क्रान्तिको सफलताका कारण हामी आवश्यकताभन्दा बढी आत्मविश्वासी भयौंँ। आत्मविश्वास नै हाम्रो तगारो भएको छ।...हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टी समस्याको हल चाहन्छौँं। हामीमा आफ्ना जिम्मेवारीप्रतिको उत्तरदायित्व कम छ।...यही कारण हामी जनतामा बढी भिज्दैनौंँ र जनता र हाम्रा सीमा बढ्दै गएका छन्।...हामी आफूलाई अर्को तहको र पार्टीका साधारण र सोझा कार्यकर्तालाई अर्कै तहको भन्ठान्छौंँ।...साथीहरूमा अध्ययनको कमी छ। हामीले इतिहासका घटनाहरूमा वर्तमान राजनीतिको बाटो पहिल्याउनुपर्दछ।...उत्कर्ष र संकट दुवै कालमा साथीहरूमा नैतिकताको अभावले त्यसको ह्रास निश्चित छ।...राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ। नैतिकताविनाको राजनीति निरर्थक हुन्छ।...हाम्रो कर्तव्यपरायणता, मैत्री, एकता र उदारताको आज अभाव हुन गएको छ। यसलाई हामीले पुनः प्राप्त गर्नुपरेको छ। त्यो त्याग र बलिदानले मात्र प्राप्त हुन सक्छ।  

आज नेपाली काँग्रेस क्रान्तिको धङधङीमा छैन न त दुई/दुईवटा जनआन्दोलन सफलताको नेतृत्वको जस लिने अवस्थामा छ। तथापि काँग्रेसमा एउटा भ्रम छ, नेपालमा लोकतान्त्रिक शक्तिको विकल्पमा काँग्रेसबाहेक अर्को छैन र हुन सक्दैन। यही कारण निर्वाचनमा कम्युनिस्टहरूले जितेर मुलुकमा एकछत्र राज गरिरहँदा पनि भोलिको सत्ता लोकतन्त्रवादीमा आउने र त्यसको विकल्प काँग्रेस मात्रै हो भन्नेमा छ। यो आत्मविश्वासले काँग्रेसलाई कहाँ पु-याउने हो ? अनुमान गर्न सहज छैन। काँग्रेसका हरेक तहका नेताहरू आफूलाई केन्द्रमा राखेर राजनीतिमा आफ्नो हैसियत खोज्छन्। काँग्रेस बलियो हुनुपर्छ भन्ने ओठे कुरा मात्र हो, कसैले काँग्रेस बलियो हुँदा आफू बलियो हुन्छु भन्ने सोच्न छाडेको छ। आफू बलियो हुन अर्को काँग्रेसलाई कमजोर बनाउनुपर्छ भन्ने मात्र उसले बुझेको छ। त्यसैले जिम्मेवारी जति अरूको थाप्लोमा राखेर ऊ आफू कर्तव्यनिष्ठ र इमान्दार भएको रट लगाउँछ।  

काँग्रेसमा जेल नबसेको पुस्ता २०६२/६३ पछिको मात्रै हो। राणाकालको कालकोठरी वा पञ्चायतकालको जेल÷नेल भोगेकाहरू नै आजसम्मको काँग्रेस नेतृत्वको पुस्ता हो। खासमा शेरबहादुर देउवा नै काँग्रेसको दोस्रो पुस्ताको नेतृत्व हो। काँग्रेस स्थापनापछिको सात दशक पहिलो पुस्ताले नै नेतृत्व हत्याइरह्यो। २०४६ सालपछिका केही युवा काँग्रेसको केन्द्रीय हैसियतमा छन्। यो पुस्ताले भोगेको जेल/नेल महाराज ज्ञानेन्द्रको शासनकालमा मात्रै हो। जेलनेल बसेका काँग्रेसका लाखौँं कार्यकर्तामध्ये कति कार्यकर्ताले पार्टीमा हैसियत बनाउन पाए ? कतिले सत्ताको स्वाद चाख्न पाए ?२०४६ पछिको ३० वर्षसम्मको सत्ता आरोह/अवरोहमा यो संख्या आज पनि केही सयमा सीमित छ। यीमध्ये पनि केही सय कार्यकर्ता परिवारको फेर समातेर पार्टी र सरकारको सत्ताका भोगाधिकारी बनेका छन्। बिपीले भनेझैँं काँग्रेस जनतामा भिज्न छाडेको छ। र, नेतृत्वले आफूलाई कुलीन वर्ग र कार्यकर्तालाई सीमान्त वर्गमा धकेल्दै गएको छ। आज काँग्रेसको नेतृत्वमा रहेको पुस्ताले हिजो धेरै दुःख नभोगेको होइन। हिजो म कहाँ थिएँ र आज कहाँ छु – बिर्सन चाहेर पनि इतिहासको यो कालखण्डको सम्झना उनीहरुमा पक्कै हुने गर्दो हो। यसलाई विस्मृतिमा राखेका भए पनि उनीहरूबारे जानकार नागरिक आज पनि साक्षीका रूपमा जीवित छन्।  

सत्ताको उत्कर्षमा हिजो गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउनुभयो, आजको संकटमा शेरबहादुरलाई कमजोर बनाउन विभिन्न नामधारीको क्रियाशीलता बढेको छ। काँग्रेसले कतिबेला चेत्ने ? जनताले बहुमतको म्यान्डेट दिँदा दुई/दुई पटक थेग्न नसकेको पछिल्लो अनुभवलाई जनमतले संख्यात्मकरूपमा किनारा लगाएको अवस्थामा पनि चेत खुलेको छैन। आफूअनुकूल निर्णय गराउनका लागि पार्टी विधान र नियम नचाहिने तर आफ्नो अनुकूल नहुने भए वैधानिकता र नैतिकताको प्रश्न गरेर चर्चामा रहने प्रवृत्तिले काँग्रेसलाई अगाडि बढ्न दिएको छैन। विधान मिच्ने अधिकार कसैलाई छैन तर कथित सहमतिमा विधान विपरीत निर्णय गराउन उक्साउनेहरूमा नैतिकता रहन्छ कि रहँदैन ? नैतिकताविनाको यस्तै राजनीतिले काँग्रेस कमजोर देखा परेको छ र बिपीले त्यसबेला भन्नुभए जस्तै कर्तव्यपरायणता, मैत्री, एकता र उदारताको अभावबाट आज काँग्रेसजनहरू पीडित छन्।  

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक गरिरहँदा आफ्ना कमजोरीका पक्षमा समेत निर्मम समीक्षा गरेर त्यसमा आत्मालोचना गर्न जरुरी छ। चित्त नबुझेका कुराको भण्डाफोर पार्टीभित्र गर्ने हो, बैठक, भेला, ज्ञापन र विरोधपत्र दिएर जग हँसाउने होइन। त्यसो गर्न सकिए मात्र काँग्रेसले आमकार्यकर्ता र नागरिक तहमा एकताको सन्देश दिन सक्छ। नगर्नुपर्ने ठाउँमा भावनात्मकरूपमा हस्ताक्षर गरेर गल्ती गरेको स्वीकार गर्ने सुजाता कोइरालाको जत्तिको आँट राख्ने कोही अर्को नेता काँग्रेसमा देखिएला ?

प्रकाशित: १९ आश्विन २०७७ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App