२२ फाल्गुन २०७७ शनिबार
विचार

शक्तिको आशक्ति

आइसल्यान्ड सबैभन्दा सुरक्षित राष्ट्र मानिन्छ । न्युजिल्यान्ड, अस्ट्रिया, पोर्चुगल, डेनमार्क, क्यानडा, चेक रिपब्लिक, सिंगापुर, जापान आदिलाई विभिन्न सर्वेक्षण र अध्ययनका आधारमा सुरक्षित मानिएको छ । जनहितलाई कर्तव्य ठान्ने नेता छन् त्यहाँ । शक्तिको आशक्ति छैन ।

स्विट्जरल्यान्डमा अपराधका घटना प्रायः सुनिँदैन । भेनेजुयला, पपुवा–न्युगिनी, दक्षिण अफ्रिका, अफगानिस्तान, होन्डुरस, पेरु, नाइजेरिया, बंगलादेश, भारत, मेक्सिको, इरान, इराक, अमेरिका, लेबनान, पाकिस्तान, ग्रिसलगायतका एक सय भन्दा धेरै राष्ट्र असुरक्षित मानिन्छन् । सन् २०२० को सुरुमा सर्वेक्षण गर्दा अमेरिकाले ४६.७३ अंक पायो, अपराधमा । नर्वे, जापान, डेनमार्क र न्युजिल्यान्डमा अपराध र असुरक्षा न्यून छ । परम्परागत संस्थाको छत्रछायाँमा रहेका ती राष्ट्र सुखी र समृद्ध छन् । शान्त र अनुशासित छन् ।

मानवीय सुरक्षा, आर्थिक अवस्था, सामाजिक–आर्थिक स्थायित्व, वातावरण, उद्योग–व्यापार, रोजगारीलगायतका शीर्षकमा गहिरो अध्ययन गरेर संयुक्त राष्ट्र संघले हरेक साल प्रतिवेदन सार्वजनिक गर्छ । युएनडिपीमार्फत ल्याइने मानव विकास सूचकांकमा नेपाल धेरै पछौटे देखिन्छ ।

नर्वे, स्विट्जरल्यान्ड, जर्मनी, अस्ट्रेलिया, स्विडेन, सिंगापुर, हल्यान्ड, युके, फिनल्यान्ड, डेनमार्क, अमेरिका, बेल्जियम, जापान, लक्जेमबर्ग, स्पेन, इजरायल आदि विकासमा अग्रणी छन् । नेपाल विकासमा १४७ औँ स्थानमा पर्दोरहेछ । शान्ति र विकासका दृष्टिले नर्वे सर्वोत्तम राष्ट्र मानिन्छ । भारत १२७ औँ स्थानमा छ, सन् २०१९ को रिपोर्टमा । भुटान ९९ औँ स्थानमा पर्छ । चीन ३९ र श्रीलंका ८६ औँ स्थानमा छन् । १६२ राष्ट्रमा गरिएको सर्र्वेक्षणमा महिला–पुरुषको भेदभावमा भारत १२२ नम्बरमा पर्छ । प्रजातन्त्र आएको सत्तरी वर्षपछि पनि भारतका करोडौं महिलालाई घर बाहिर गएर रोजगारी गर्न दिइएको पाइँदैन । मान्छेले के भन्लान् ! (लोग क्या कहेंगे) भन्दै घरमै बस्न बाध्य पारिएको छ । अर्थात उनीहरूको जीवन लकडाउनमै बित्छ । अधिकांश महिलाका लागि गाउँ होस् वा टाउन, सधँै लकडाउन ।

नचाहिने कुरामा सडकमा उफ्रिने र राष्ट्र संकटमा परेका बेला घरभित्रै कुप्रिने रोगले राजनीतिमा जरो गाडेको छ । दलको सदस्य भएपछि विवेकसमेत दललाई बुझाउने प्रवृत्ति देखिन्छ ।

वासिङ्टन पोस्ट पत्रिकाको नारा जगत् प्रसिद्ध छ– ‘प्रजातन्त्र अँध्यारोमै मर्छ (डेमोक्रेसी डाइज इन डार्कनेस) ।’ सहरका अधिकांश घर साँझमा बिजुलीको चमक दमकले उज्ज्वल देखिन्छन् नेपालमा पनि । घरभित्र बस्नेका मुहार प्रायः अँध्यारो हुन्छ । छिमेकीले पाँच करोड रुपियाँमा ठूलो घर बनायो भने चार करोडको घरमा बस्ने व्याकुल बन्छ । यो तृष्णाले जन्माएको रोग हो । गाउँमा प्रायः मानिस खुसी देखिन्छन् । सुखी हुनु र खुसी हुनु फरक कुरा हो । सहरमा ‘सुखी’ (भौतिक सुखी) धेरै भेटिन्छन् तर खुसी हुने थोरै छन् । सफल धेरै छन्, असल थोरै छन् । प्रजातन्त्रले मानसिक सुरक्षा दिनुपर्छ । धनी र गरिबको अन्तराल त अमेरिकामा पनि छ । असुरक्षा व्याप्त छ । सात–आठ कक्षा पढ्नेले स्कुलमै गएर आफ्ना सहपाठी र शिक्षकहरू मारेका खबर आइरहन्छन्, अमेरिकाबाट ।

‘ग्लोबल पिस इन्डेक्स’ अध्ययन गर्दा असुरक्षाका २३ वटा मापदण्ड छन् । राजनीतिक अस्थिरता, आन्तरिक विद्रोह, आतंक, अभाव, बेरोजगारी, आर्थिक वैषम्य, सीमित व्यक्तिबाट भइरहने शक्तिको दुरूपयोग, सामाजिक विभेद, सरकारको गैरजिम्मेवार चरित्र आदि कारणले असन्तुष्टि बढ्दै जाँदा त्यो एकमुष्ठ (क्युमिलेटिभ) बनेर ज्वालामुखीमा अनुवाद हुन्छ ।

अमेरिकी राष्ट्रपति अब्राहम लिंकन (सन् १८०९–६५) ले प्रजातन्त्रको परिभाषा दिए– ‘जनताद्वारा, जनतामाथि जनताका लागि गरिने शासन डेमोक्रेसी हो ।’ ग्रिक भाषाबाट आएको ‘साधारण मानिसको शासन’ लाई लिंकनले अलिकति हेरफेर गरे । दुर्भाग्यको कुरा, धेरै राष्ट्रमा ‘डेमोक्रेसी’ धनाढ्यको राजगद्दी बन्न पुग्यो । भारतका राजासरह मानिने जवाहरलाल नेहरू हुन् वा फिलिपिन्सका फर्डिनान्ड मार्कोस, प्रजातन्त्रले बनाएका नेता हुन् । सन् १९६५ देखि २१ वर्ष राष्ट्रपति भए मार्कोस । सन् १९४७ देखि आजीवन (सन् १९६४ सम्म) प्रधानमन्त्री भए नेहरू ।

ग्याबोनका ओमार बाङ्गोले ४१ वर्ष शासन गरे । जिम्बाब्वेका रबर्ट मुगाबेले ३७ वर्ष चलाए । ओमार अल बसिरले २९ वर्ष शासन गरे, सुडानमा । अंगोलामा सान्तोसले ३८ वर्ष शासन सम्हाले । यस्ता उदारहण अरू पनि छन् । 

२०६२/६३ सालको परिवर्तनपछि लाखौँ भारतीयलाई ‘नेपाली नागरिक’ बनाइयो । यसमा ठूला–साना दलले मतभिन्नता देखाएनन् । 

अठार सय असी किलोमिटर सिमाना भारतसँग गाँसिए पनि सत्तामा जाने र टिक्ने साँचो दिल्लीमै भएकाले सीमा व्यवस्थापन भगवान–भरोसामा चलेको देखिन्छ । २०६२/६३ सालको परिवर्तनपछि लाखौँ भारतीयलाई ‘नेपाली नागरिक’ बनाइयो । यसमा ठूला–साना दलले मतभिन्नता देखाएनन् । ठाउँठाउँमा माओवादीले भत्काएका पृथ्वीनारायण शाहका सालिक पुनःस्थापना गर्न÷गराउन पनि आनाकानी गर्ने कैयन् नेता÷कार्यकर्ता लाखाैँ विदेशीलाई ‘नेपाली नागरिक’ ठहर गर्दा बोलेनन् । मुख खोलेनन् । नचाहिने कुरामा सडकमा उफ्रिने र राष्ट्र संकटमा परेका बेला घरभित्रै कुप्रिने रोगले राजनीतिमा जरो गाडेको छ । दलको सदस्य भएपछि विवेकसमेत दललाई बुझाउने प्रवृत्ति देखिन्छ । ‘राष्ट्रिय हित’ दलका चुनावी घोषणापत्र, भाषण वा दस्तावेजहरूमा कैदी बनाइएपछि हरेक वर्ष राष्ट्रको सिमाना मिचिनु र परचक्रीबाट नेपाली थिचिनु अनौठो होइन ।

रिचर्ड ह्विटलकले सत्रौँ शताब्दीतिर ‘सत्तालोलुप’ शब्द प्रयोग गरेका थिए । ब्रिटिस इतिहासकार लर्ड एक्सनको ‘सत्ताले भ्रष्ट बनाउँछ र निरंकुश सत्ताले पूर्ण भ्रष्ट बनाउँछ’ भन्ने कथन जगत् प्रसिद्ध छ । अमेरिकी प्रोफेसर नोम चम्स्कीले त ‘सत्ताकेन्द्रित हुन खोज्नु नै धनमा लिप्त हुन खोज्नु हो’ भनेका छन् । राजनीतिको ‘पावर’ हातमा लिनेहरूले नैतिक शक्ति (मोरल पावर) बिर्सिदिए भने त्यो निरंकुशतन्त्रमा अनुवाद हुन्छ । धेरै राष्ट्रमा यही भइरहेको देखिन्छ । समाजवाद वा साम्यवादको आवरणमा देखिएका शासकहरू आचरणमै चुकेका छन् । सत्ताको आशक्तिले गर्दा धेरै माथि पुग्नेहरू पनि भुइँमा झरेका छन् ।

जापानमा प्रधानमन्त्री काकुइ तानाका लकहिड काण्डमा बदनाम भए । सन् १९७२ देखि १९७४ सम्म प्रधानमन्त्री थिए उनी । ‘लकहिड’ घूस काण्डमा उनी प्रमुख दोषी ठहरिए । उनी मात्र होइन, पश्चिम जर्मनी, हल्यान्ड, अमेरिकाका कैयन् व्यक्ति मुछिए । सैनिक विमान किन्दा करोडौँ डलर राष्ट्रलाई घाटा पु¥याएर व्यक्तिगत नाफा (कमिसन) खाएपछि उनी जेल परे । तानाकासहित सत्र जना जेल परेका थिए । सत्तामा टिकिरहने आशक्तिले उनलाई अर्बपति हुने लोभ लाग्यो । ‘लोभले लाभ, लाभले बिलाप’ भनेझैँ रोएरै बित्यो, भ्रष्टाचारी ठहर भएपछिको उनको जीवन ।

भ्रष्टाचारी शासकहरू कसैले आफूलाई प्रश्न गरेको रुचाउँदैनन् । सबै सत्ता आफूमा केन्द्रित गर्दै जान्छन् । खुला समाजमा भन्दा साम्यवादी शासन, सैनिक शासन र एकतन्त्री पाराको शासनमा भ्रष्टाचार फस्टाउने सम्भावना रहन्छ । नेपालमा ‘दुईतिहाइ बहुमत’ चरम भ्रष्टाचारको लाइसेन्स भयो । प्रतिपक्षीहरू पनि सत्ताको आशक्तिले ‘ननसेन्स’ ठहरिए । सांसदको सुविधा बढाउन एकजुट हुने तर दुःख पाएका जनतालाई वास्ता नगर्ने प्रवृत्ति देखियो । विराटनगरका लव प्रधानले पचास वर्षअघि लेखेका गीत गाउँदै हिँड्थे, आजका बूढा कम्युनिस्ट नेता । गीत अहिले पनि कर्णप्रिय लाग्छ– ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ । लाखौँका लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ ।’ ऊबेला शासकलाई लक्षित गरेर लेखे लव दाइले । अहिलेका भ्रष्ट र लोभीका मुटुमा तातो फलामले छेडेझैँ हुँदो हो त्यो गीत ।

जनरल सानी आबाचा नाइजेरियाको राष्ट्रनायक भए, सन् १९९३ देखि १९९८ सम्म । सेनाको समर्थन भएकाले मज्जाले लुटे । राम्रा काम पनि गरे तर राष्ट्र लुटेर करोडौँ डलर कमाए । फिलिपिन्सका फर्डिनान्ड मार्कोसले राष्ट्रपति छँदा अथाह सम्पत्ति लुटे । विश्वले भ्रष्ट भनेर खेदो गरे पनि अमेरिकाले शरण दियो । मार्कोसको धन अमेरिकामै थुपारिएको थियो ।

नेपालमा पनि २०४६ सालपछि प्रधानमन्त्री, मन्त्री, विभिन्न सम्वैधानिक अंगका पदाधिकारी, जंगी, निजामती, प्रहरी, एनजिओका मालिक आदिको अवैध सम्पत्ति सूक्ष्मरूपले खोज्ने हो भने विदेशीसँग भीख माग्नै पर्दैन । भुइँचालो, कोरोना, बाढी–पहिरो र झाडा÷पखालालगायतका साना–ठूला समस्या आउँदा स्वदेशी तथा विदेशीले दिएको नगद–जिन्सीमा लोभ गर्नेहरूले राष्ट्र र जनताका नाममा अनेक कुकृत्य गरेका छन् । जनप्रतिनिधिकै पोशाकले सिंगारेर आफैँले पठाएका ‘योग्य इमानदार’ मानिस दुर्गन्धित हुँदा पनि जनता मौन छन् । किनभने जनताका हुलमा कार्यकर्ताको बहुमत छ ।

अमेरिका र युरोपको तुलनामा एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बढी भ्रष्टाचार भएको पाइन्छ । जनताले खबरदारी गरेर गलत र सही छुट्याउन नसक्दा यो समस्या आएको हो । खानै नपाउने दरिद्रहरूले हरेक दिन करोडाैँ रुपियाँ देखेपछि लोभ लाग्ने नै भयो । त्यस्तो अवस्थामा लुँड्याउने नै भए । पुर्खाको इज्जत, कुलघरानाको इतिहास, घर/परिवारको मर्यादा, सुसंस्कार तथा राष्ट्र सर्वोच्च हुन्छ भन्ने दायित्ववोध आत्मसात गर्नु नपर्ने भएपछि सत्ताको सहभोजमा रमाउनुबाहेक उनीहरूको कुनै ध्याउन्न हुँदैन । ‘घर ज्वाइँलाई खानकै धन्दा’ भनेझैँ सिंहदरवारको मूलढोकामा प्रवेश गर्नासाथ मुख मिठ्याउनेहरूले हरेक क्षेत्रमा भ्रष्टाचारको भाइरस फैलाएका छन् । तसर्थ मौका नपाएसम्म बिरालो शाकाहारी हुन्छ भन्ने कुरा धेरैले प्रमाणित गरे । कसले के भन्छ भन्ने कुराले अर्थ राख्दैन । कस्तो कर्म गर्छ भन्ने महत्वपूर्ण हो । ठस्ठसी गन्हाउने मान्छेको नाम पनि सुगन्धकुमार हुन सक्छ । यो त भन्ने कुरा मात्र हो ।

बत्तीस वर्ष शासन गरे, जोसफ स्टालिनले । इतिहासकारहरूले उनले लाखौँ मानिस मारे भनेका छन् । कम्युनिस्ट नेता थिए उनी । राष्ट्र र जनताको स्तर उठाउँछु भन्थे । तिमोथी स्नाइडरले स्टालिन र हिटलरको तुलना गदै किताव लेखेका छन् । त्यसमा हिटलरले ‘राष्ट्रद्रोही’ मारेको तर स्टालिनले आफू र आफ्नो दलका विरोधी भन्दै मारेका थिए भनिएको छ ।

अन्याय गर्ने र अन्याय सहने दुवै दोषी हुन्छन् भन्ने कानुनको मान्यता छ । तसर्थ जनता र राष्ट्रविरुद्ध भइरहेका कुकृत्यहरूमा मुकदर्शक भएर मौन चित्कार देखाउनुको कुनै अर्थ छैन । राष्ट्र जर्जर भइरहेका बेला जनता नै मौन धारण गरेर बसे भने त्यो राष्ट्रको भविष्य अझ भयाबह हुन सक्छ ।

प्रकाशित: १२ भाद्र २०७७ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App