७ वैशाख २०८१ शुक्रबार
विचार

लकडाउन खोल्ने गृहकार्यमा लागौँ

कोभिड–१९ को महामारी संसारका धेरै मुलुकमा घट्दै गर्दा नेपालमा भने भारतमा जस्तै भर्खर उच्च संक्रमणको मुख्य चरण उन्मुख हुँदैछ। अन्य मुलुकको तुलनामा निकै चाँडै लकडाउन गर्न सफल नेपालमा लकडाउनका बेला शङ्का लागेका मानिसमा कोभिड–१९ लागे÷नलागेको चेक गर्ने सामग्रीको व्यवस्था, सुरक्षा र उपचारमा पहिलो घेरामा रहने स्वास्थ्यकर्मीका लागि पिपिइ व्यवस्था, उच्च मानव चाप भएका सहरका कामदार र डेरावाल घटाउन आफ्नो गाउँ सुरक्षित जाने व्यवस्था, सामाजिक दूरी कायम गर्दै अत्यावश्यक उद्योगधन्दाको वैज्ञानिक सञ्चालन गर्न गृहकार्य, विदेशबाट आउने नेपालीलाई सहज प्रवेश दिने तर सबैको स्वास्थ्य परीक्षण गरी कोरोना संक्रमण नरहेको निश्चित नहुँदासम्म समाजमा हेलमेल हुन नदिने जस्ता अनिवार्य काम प्रभावकारीरूपमा सम्पन्न हुन सकेन।

फलतः आज मुलुक कोभिड–१९ को घट्दो क्रमको चरणमा प्रवेश गर्नुपर्ने अवस्थामा त्यसको ठीकविपरीत मुख्य उच्च संक्रमणको चरणमा प्रवेश गर्दैछ। हामी यो अवस्थामा पुग्दै गर्दा एकातर्फ जनता लकडाउनबाट आजित हुने संघारमा आइपुगेका छन् भने अर्कोतर्फ मुलुकमा भोकमरी र कोरोनाका कारण पैदा भएको कृत्रिम परिस्थितिले कोरोनाबाहेकको रोग र अन्य कारणबाट मर्नेको संख्या कोरोनाबाट मर्नेको भन्दा उच्च देखिन्छ।

पटकपटक मिति थपिने, दिक्कलाग्दो लकडाउनको उपयोगले हामीले नेपालमा कोभिड–१९ को चरम संक्रमण हुने मिति मात्र धकेल्न सफल बन्यौँ। चरम संक्रमणको विन्दुलाई नै छल्न सक्ने मौका भने गुमायौँ। जसको मुख्य कारक बन्यो समयमै भारतबाट नेपाल आउने आफ्नै जनताको व्यवस्थापन गर्ने सम्बन्धमा हामीले समयसापेक्ष परिस्थिति आकलन गर्न नसक्नु। हामी ग्रहणशील तथा संवेदनशील हुन सक्नुपथ्र्यो तर प्रतिकारात्मक र निषेधकारी बनिदियौँ।  

एकातर्फ मुलुकभित्र जसरी पनि भित्रनुको विकल्प नरहेका विदेश पुगेका नेपाली जनशक्तिलाई सीमामै असुरक्षित छाडिदिएर संक्रमितको संख्या ज्यामितीयरूपमा बढाएर जायज÷नाजायज बाटो हुँदै आफ्नो मुलुक फर्कन बाध्य हुनुपर्ने कृत्रिम सङ्कट पैदा गरिदियौँ। अर्कोतर्फ त्यसरी भित्रिएको जनशक्तिले समाजभित्र आन्तरिक संक्रमण फैलाउने वातावरण तयार गरिदियो।  

ओखती/भ्याक्सिन बनाउने कार्य सोचेअनुरूप सम्पन्न हुँदा वा नहुँदाको दुवै अवस्थामा कम्तीमा डेढ दुई वर्ष लाग्ने निश्चित छ। त्यतिबेलासम्म लकडाउनमा रहन सक्ने न राष्ट्रिय, न त अन्तर्राष्ट्रिय परिस्थितिले नै हामीलाई सहयोग पु-याउनेछ।

फलतः नेपाल र भारतबीचको आगमनमा हाल अस्तित्वमा रहेका क्वारेन्टाइन र कोभिड–१९ जाँच गरिने कार्यको लगभग शून्य प्राविधिक अर्थ रहने अवस्था पैदा गरिदियो। यो पढ्दा धेरैलाई आश्चर्य लाग्न सक्छ, चित्त नबुझ्न सक्छ, रिस उठ्न सक्छ तर आजको यथार्थ के हो भने हाम्रो नेपाली समाजभित्र कोरोना एक सदस्यबाट अर्कोमा सर्ने र द्रुत संक्रमण हुने मुख्य उच्च संक्रमणको चरणमा पुगिसकेको छ। अब सीमाबाहिर भारत तथा अन्य मुलुकमा रहेका नेपाल फर्कन चाहने नेपालीलाई नेपाल भित्रनबाट रोक्ने, भर्खरै विदेशबाट मुलुक छिरेकामा कोरोना भए÷नभएको जाँच गर्ने पुरानो तरिकाको नियमितताले मात्र हाम्रो समाजमा कोभिड–१९ को महामारी नियन्त्रण गर्न सक्ने अवस्थामा हामी छैनौँ।

विदेशबाट भारत हुँदै नेपालमै पुगेर नेपालकै परिस्थितिअनुरूप उत्परिवर्तन भएका कोभिड–१९ भाइरसका स्ट्रेनहरूबाट ठूलो संख्यामा नेपाल निवासी नेपाली नागरिकहरू संक्रमित बनिसकेका छन्। यो अवस्थामा हामीलाई उपलब्ध अबको एक मात्र विकल्प हो– जनस्तरसम्म कसरी यो संक्रमणलाई फैलनबाट रोक्न सकिन्छ भन्ने सचेतना अभियान सञ्चालन गर्ने। जनस्तरसम्म सचेतना पैदा नगर्दा सरकारी प्रयासले मात्र यो महामारीको उच्च जोखिमबाट मुलुकबासीलाई मुक्ति दिलाउन सकिन्न।

नेपालले अब कोभिड–१९ विरुद्धको लडाइँ आफ्नै नेपाली कोभिड–१९ भाइरसको स्ट्रेनविरुद्ध केन्द्रित गर्नु जरुरी छ। विदेशी अनुभव, मोडल र सफलता तथा असफलताका अनुभव नेपाललाई मूल्यवान हुनेछ तर पनि विगतको आफ्नै अनुभव र स्थानीय स्तरमा विकसित सामाजिक मनोविज्ञानको पहिचानको सहारामा नेपालले आफ्नै पाराको वास्तविक धरातलसँग मेल खाने उपचार पद्धति विकास गर्नुको विकल्प देखिँदैन। जसमा संक्रमित व्यक्तिको भौतिक तथा मानसिक उपचार र आत्मबल अभिवृद्धिका लागि मनोवैज्ञानिक उत्प्रेरणा जगाउने भूमिकाको संयोजनयुक्त उपचार पद्धति अनिवार्य हुनेछ। यसका लागि नेपालसँग थुप्रै काविल चिकित्सक तथा एकसेएक दक्ष स्वास्थ्यकर्मी छन्। मात्र अन्यत्र मोडिएको राष्ट्रिय चासो र इच्छाशक्ति यसमा केन्द्रित हुन जरुरी छ।  

समग्रमा यसको मतलब हो– नेपालले विदेशमा रहेका सबै जनशक्तिलाई बिनाअवरोध यहाँ भित्रने वातावरण बनाओस्। उनीहरूलाई आफैँ आइसोलेसनमा बस्न र स्थानीयसँग सामूहिक दूरी कायम गर्न अनिबार्य गरोस्।  

बिस्तारै उद्योग÷व्यवसाय खोल्नेतर्फ गम्भीर गृहकार्य सुरु गरियोस्। विदेशबाट आएकाबाट उनीहरूको जोखिम समयभर जोगिएर बस्दा कोभिड–१९ को भाइरस संक्रमणबाट बच्न सकिन्छ भन्ने हालको मान्यता पूर्ण परिवर्तन गराउन जरुरी छ। कोरोना तपाईँलाई हुन सक्छ र मलाई पनि। त्यसैले तपाईँ मसँग र म तपाईँसँग सतर्क रहौँ। सामाजिक दूरी अनिवार्य कायम हुने गरी दैनिक व्यवहार पूरा गरौँ भन्ने भावना समाजको भित्री तहसम्म स्थापना गर्नुपर्छ। 

हामीलाई उपलब्ध अबको एक मात्र विकल्प हो– जनस्तरसम्म कसरी यो संक्रमणलाई फैलनबाट रोक्न सकिन्छ भन्ने सचेतना अभियान सञ्चालन गर्ने। 

जुन जुन कार्यमा व्यापार, उद्योग र दैनिक गतिविधिमा अनिवार्य सामाजिक दूरी लागु गर्न सकिन्न तिनीहरूलाई बन्द गरिनुपर्छ ताकि ती क्षेत्रसमेत आफ्नो कार्यक्षेत्रमा अनिवार्य सामाजिक दूरी जस्ता कुरा सम्भव हुने गरी आफूले आफैँलाई पुनः आविष्कार गरी परिवर्तितरूपमा आउन सकून्। विकल्पमा जरुरतअनुरूप पिपिइ व्यवस्था गरी कार्यक्षेत्रमा अनिवार्य सामाजिक दूरीले दिने बराबरीको संक्रमणको जोखिम न्यून गरिएको विकल्पसहित दैनिकी सञ्चालनका उपाय खुट्टाउन सक्नेछन्। समाज अलिकति बदलिएको रूपमा पुनः पहिले जस्तै सामान्य दैनिकीको अवस्थामा बिस्तारै फर्कँदै जानेछ।  

इतिहासमा प्रत्येक महामारीको दोस्रो लहर अनिवार्य हुने र कहिलेकाहीँ तेस्रो, चौथो लहरसमेत देखिने गरेको यथार्थ छ। विद्यमान कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहर पूरा गर्न हालसम्म गरिएका ओखती र भ्याक्सिन बनाउने कार्य सोचेअनुरूप सम्पन्न हुँदा वा नहुँदाको दुवै अवस्थामा कम्तीमा डेढ दुई वर्ष लाग्ने निश्चित छ। त्यति लामो समयसम्म लकडाउनमा रहन सक्ने न राष्ट्रिय, न त अन्तर्राष्ट्रिय परिस्थितिले नै हामीलाई सहयोग पु¥याउनेछ।  

हामीले आफ्नै आन्तरिक, सामाजिक तथा आर्थिक कारणहरूले समेत समयमै सर्वसाधारणको जनजीविका सामान्य बनाउन सक्नुपर्नेछ। हाम्रो मुलुक मात्र हैन, विश्वसँग नै कोभिड–१९ महामारीको प्रभाव पूर्ण नियन्त्रण नहुँदै आफ्नो मुलुकभित्रका सम्पूर्ण उद्यम तथा व्यवसाय खुला नगरिरहन सक्ने विकल्प उपलब्ध छैन। विकल्प उपलब्ध छ त मात्र सकेसम्म कम क्षति हुने गरी सामान्य जीवनशैलीमा स्थानीय जनजीविकालाई फर्काउने। जसका लागि सरकार आजबाटै गम्भीर भएर लागेन भने यसले अर्को ठूलो खती निम्ताउनेछ।
(खाद्य तथा औषधिविज्ञ, क्यानडा)

प्रकाशित: १३ जेष्ठ २०७७ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App