११ पुस २०८२ शुक्रबार
image/svg+xml
विचार

निजामती सेवाको भविष्य

देशको शासन व्यवस्था जस्तो भए पनि आफ्ना इच्छा र चाहना चरितार्थ गर्न कुनै न कुनै संयन्त्र चाहिन्छ । सामाजिक मूल्यहरूको वितरण गर्ने भने पनि व्यवस्था(रिजिम)लाई बचाइराख्न र शासकहरूको हितको रक्षाका लागि नै यस्ता संयन्त्रहरू बनाइन्छ ।
यस्ता संस्था मध्य राज्यले आविष्कार गरेको सबभन्दा महत्वपूर्ण संस्था हो निजामती सेवा । राज्यका अन्य सार्वजनिक सेवाहरू सेना, प्रहरी सेवाको प्रकृतिले नै जनताको पहुँचभन्दा केही परै हुन्छन्। त्यसैले जनतासँग प्रत्यक्ष अन्तवि्र्र्कया गर्ने, सरकारको नाममा जनताको दैनिक संपर्कमा आउने र केही हदसम्म नागरिकहरूलाई राज्यको स्वामित्व अनुभूत गराउने संस्था यही हो। त्यसैले त यसलाई नागरिक सेवा भन्ने गरिन्छ। प्रतिनिधिमूलक लोकतन्त्रमा जनता आफैँले शासन गर्दैनन्। बृहत् राजनीतिक समाजमा उनीहरूबाट निर्वाचित र नियुक्त प्रतिनिधिले शासन प्रशासन चलाउँछन्। प्रतिनिधिमूलक लोकतन्त्रमा यिनै प्रतिनिधिको कार्यशैलीमा जनताको भविष्य निर्भर हुन्छ। त्यसमाथि पनि निर्वाचित प्रतिनिधिहरू दैनिक शासन प्रक्रियामा संलग्न नहुने हुँदा 'राज'मात्र गर्छन् र वास्तविकरूपमा कर्मचारीले 'शासन' गर्दछन् भन्ने मान्यता छ। त्यसैले सरकार आफ्ना कर्मचारीभन्दा राम्रो हुन सक्दैन र सरकारको वास्तबिक तस्बिर यिनै बेतनभोगीमा देख्न सकिन्छ भन्ने गरिन्छ।
समाजको रूपान्तरणमा ज्यादै महत्वपूर्ण भूमिका खेल्ने निजामती सेवा अहिले लोकप्रिय भने छैन। राजनीति यसभन्दा बढी बदनाम भएकाले मात्रै यो संस्था आक्रमणबाट बचेको हो। यो न त जनताको 'डार्लिङ' हुनसक्यो न त राजनीतिको सहयोगी। व्यापारी उद्योगपतिहरू बढी हस्तक्षेपकारी भएर उद्यमशीलतालाई अवरोध पुर्‍याएकोमा, वैज्ञानिकहरू अनभिज्ञ भएकोमा, राजनीतिज्ञहरू आफ्नो क्षेत्राधिकार अतिक्रमण गरेकोमा, सुविधाभोगीहरू सुविधा वञ्चित भएकोमा यस संस्थाप्रति आक्रोश व्यक्त गर्छन्। जनता आफूप्रति उत्तरदायी नभएको तथा तथ्य र विशेषज्ञताका नाममा मानवीय संवेदनशीलताबाट विमुख हुने गरेको आरोप लगाउने गर्छन्। सामाजिक संस्थाहरूमा सबै वर्ग र कोणबाट यसै संस्थामाथि बढी प्रहार भइरहेको छ। यस्तो अवस्था किन सिर्जना भइरहेको छ? के यसले बाटो बिराएकै हो त? हो भने यस संस्थाले आफूलाई सच्याउन र समयानुकूल रूपान्तरण किन गर्न सकेको छैन? सबै निजामती कर्मचारीले मनन गर्नुपर्ने विषय यही हो।
संस्था अलोकप्रिय हुनुमा आन्तरिक र बाह्य कारण छन्। तर, सबै दोष राजनीति र बाह्य वातावरणलाई दिएर निजामती सेवा चोखिन भने मिल्दैन। संस्थाले आन्तरीकरण गरेका मूल्य, मान्यता, कार्यशैली र संस्कारलाई आफैभित्रबाट सुधार गर्न सक्नुपर्छ। 'खान्की होइन बान्की' को लागि सरकारी जागिर खाने नेपाली संभ्रान्त परिवारको मान्यतालाई निजामती सेवाले अझ पनि त्याग्न सकेको छैन। शिक्षित युवाको प्रवेश भए पनि आफूलाई जनताभन्दा विशिष्ठ ठान्ने 'हाकिमी प्रवृत्ति' हटेको देखिँदैन। नकारात्मक सोचाइमा नियम र प्रवि्र्कयालाई खेलाउने रकमी प्रशासकको अझै पनि बाहुल्य छ। जटिल र दिक्कलाग्दो कार्यविधिको फलामे खोर सिर्जना गरिएको छ र त्यसको चक्रव्युहमा हाम्रा सामाजिक मूल्य जकडिन पुगेका छन्। जिम्मेवारी पन्छ्याउने प्रवृत्तिले यो सेवा पंगु साबित भइरहेको छ। यो संस्था त्यस्तो 'बहुटाउके जीव' जस्तो देखिन्छ जसको एउटा टाउकोलाई सोध्यो भने उत्तरका लागि अर्को टाउको देखाउने गर्छ। विशेषज्ञता, ज्ञान, अनुभव र गोपनीयतामा पहुँचले निजामती कर्मचारीहरू आफ्नै स्वार्थ, मूल्य र शक्तिका आधार भएका छुट्टै शक्ति समूहका रूपमा स्थापित भएका छन्। अझ पनि हाम्रो निजामती सेवा मूल्य तटस्थ, राजनीति र प्रशासनको क्षेत्र विभाजनजस्ता आधुनिक कर्मचारीतन्त्रले त्यागी सकेका थोत्रा मान्यतामा चलिरहेको देखिन्छ। मूल्य तटस्थ हुनु भनेको नै मानवीय संबेदनाबाट विमुख यान्त्रिक संगठन हुनु हो। यसबाहेक उत्तरदायित्वमा भन्दा कार्यकुशलतामा जोड दिने, तथ्य, साधनमा ध्यान दिने 'वेबरियन' शैलीको निजामती सेवाले अहिलेको सामाजिक मागलाई संबोधन गर्नसक्दैन। जनताप्रति उत्तरदायी नहुने, तिनका इच्छा, सपना र संवेदनाबाट विमुख संस्थाले जनताको विश्वास गुमाउनु स्वाभाविक हुन्छ। अहिले जनता र निजामती सेवाबीच विश्वासको खाडल फराकिलो हुँदैछ।
निजामती सेवाभित्र विकसित संस्कार, आचरण र व्यवहार नागरिक मैत्री छैनन्। जनता मालिक हुन् र उनीहरुकै थैलीबाट पालिएका हौँ भन्ने सोच मर्दैगएको देखिन्छ। सेवाग्राहीप्रति गरिने रुखो व्यवहार र उनीहरूलाई झुलाउने प्रवृत्तिले संस्था अलोकप्रिय भइरहेछ। शिक्षित युवाको बाहुल्य भएपछि फरक सोच विकसित हुन्छ भन्ने अपेक्षा पनि गलत साबित भएको छ। केही अघिसम्म केस पाकेका पाका कर्मचारी बढी देखिन्थे। उनीहरूमा सिर्जनशीलता कम थियो र अनुभव बढी। तर, इमान्दारी, सादगी र अनुशासनमा भने खरो हुन्थे। कठालो फाटेको कोटमा कार्यालयमा मेसिनजस्तै खट्ने यी जागिरेमा महत्वाकांक्षा खासै देखिँदैनथ्यो। अहिलेका युवा कर्मचारीमा कति महत्वाकांक्षा देखिन्छ कि जागिरमा प्रवेश गरेको एक, दुई वर्षभित्र घर, सुविधा र सबै अवसर प्राप्त भइसक्नु पर्छ।अनाकर्षक मानिएका काम गर्न कोही तयार देखिँदैनन्। कार्यालयमा बेतुकको राजनीतिक गफ गर्ने, अमुक दलको अनुचर हुने र आफ्ना स्वार्थका कुरामात्र गरेर समय खेर फाल्ने प्रवृत्ति यस वर्गमा बढ्दै गएको देखिन्छ। आफ्नो महत्वाकांक्षा पुरा नहुनासाथ यी 'हाइ फ्लायर' हरू अन्यत्र फड्किहाल्छन्। एउटा मान्यता के छ भने 'बेबी बुमर' अर्थात् सन् १९४५ देखि १९६५ सम्म जन्मिएका पुस्ताभन्दा त्यसपछिका 'जेनरेसन एक्स' र 'जेनरेसन वाई' बढी उत्पादक हुन्छ। यो मान्यता निजामती सेवामा सत्य साबित भएन। पहिलेका पाका कर्मचारीमा जोखिम पन्छ्याउने प्रवृत्ति देखिन्थ्यो भने नयाँ पुस्तामा जुवाडे प्रवृत्ति व्याप्त छ। अवसरका लागि जुनसुकै संझौता गर्ने र यसका लागि व्यावसायिक मूल्यलाई समेत तिलाञ्जली दिन उनीहरू तत्पर हुन्छन्।
निजामती सेवाभित्र यस संस्थालाई 'दलगत औपनिवेशीकरण (पार्टी कोलोनाइजेशन)' गर्ने अर्को रोगको डरलाग्दो संक्रमण भइरहेको छ। हाम्रो निजामती सेवा नत घोषितरूपमा नै 'लुटतन्त्र ' मा गएको छ न तटस्थ र निष्पक्ष संस्था नै हुन सकेको छ। बरु 'लुटतन्त्र' (स्पोयल सिस्टम) भएको भए अमेरिकी पूर्व राष्ट्रपति ज्याक्सनले भने जस्तै 'लुट विजेताको' हुने थियो। प्रणाली नै जसको सरकार हुन्थ्यो उसैका कार्यकर्ताले भरिने बन्न पुग्थ्यो। यहाँ योग्यता प्रणाली भनिन्छ तर व्यवहारमा अति राजनीतिकरण भइरहेको छ। निजामती सेवा दलहरूको संगठनजस्तो भएको छ र कर्मचारीका संगठनहरू दलका भातृ संगठनजस्ता। दलका प्रशासन हेर्ने विभाग र तिनका निकटका कर्मचारीका संघसंगठनको काम नै 'इतर' र 'भितर' मा कर्मचारीको कित्ताकाट गर्ने भएको छ। आफ्ना निकटकालाई आकर्षक स्थानमा सरुवा गर्ने र अर्को पक्षकालाई सास्ती दिने काम खुलेयाम भइरहेको देखिन्छ। टेक्ने, समाउने कोही नभएकाहरू न्याय नपाई बिचरा भएका हुन्छन्। स्थिति कति बिग्रिसकेको छ भने सेवा वितरणमा समेत 'सेवाग्राहीको राजनीति' ले प्रवेश पाएको छ। निष्पक्षरूपमा सबै नागरिकले प्राप्त गर्नुपर्ने सेवा सुविधामा समेत आफ्नो मतदाता हो होइन भनेर भेदभाव गर्ने क्रम बढ्दै छ। यस्तो स्थितिमा नागरिकहरूले निजामती सेवालाई कसरी विश्वास गर्न सक्छन्? तटस्थता, निष्पक्षता, दलगत निरपेक्षताजस्ता संस्थाका मान्यता नै गुमेपछि नागरिक सेवा हुनसत्तै्कन।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ। नयाँ नेपालका यी विशेषताले निजामती सेवाको लागि अझ बढी जिम्मेवारीको भारी बोकाउँदै छ। लोकतान्त्रिक व्यवस्थामा यसका मूल्यहरूको वितरण गर्ने नागरिक प्रशासनले नै हो। प्रसिद्ध अमेरिकी लेखिका डेनहार्टले कर्मचारीहरूको बदलिदो भूमिकाको चर्चा गर्दै लेखेकी छन् 'उनीहरू सेवामात्र हैन लोकतन्त्र वितरण गर्छन्'। लोकतान्त्रिक अभ्यासमा जनतालाई संलग्न गराउने, नागरिक अधिकारमा पहुँच दिने र जनताका मागलाई सामूहीकरण गर्न सहजीकरण गर्ने गहन जिम्मेवारी अब निजामती कर्मचारीको काँधमा आएको छ। सार्वजनिक सेवा वितरण गर्नेमा मात्र सीमित नरहेर अब उनीहरूले लोकतन्त्रका मूल्यहरू वितरण गर्ने, सार्वजनिक स्वार्थको प्रबर्धन गर्ने, आफ्नै संस्थाको व्यवस्थापन लोकतान्त्रिक मूल्यअनुरूप गर्ने काम पनि गर्नसक्नु पर्छ। लोकतन्त्रमा नागरिक प्रशासनले वहन गर्नुपर्ने अर्को भूमिकाले पनि मान्यता पाइरहेको छ­ त्यो हो 'बफर रोल'। जनताका प्रतिनिधिले गरेका कामको जानकारी जनतासम्म पुर्‍याउने र जनप्रतिनिधिसमक्ष नपुगेका जनताका माग उनीहरूकहाँ पुर्‍याउने। यस्ता गहन जिम्मेवारी वहन गर्न न त हाम्रो निजामती सेवाको ल्यागत छ न त यस संस्थालाई तदनुरूप प्रशिक्षित गरिएकै छ। अझ पनि निजामती कर्मचारी जनताप्रति उत्तरदायी छैनन् 'लुप मोडेल'को घुमाउरो उत्तरदायित्व रेखामा चलेका छन्। यस्तो अवस्थामा राजनीतिबाट थिलथिलो भएको र पुराना मूल्य, मान्यता र संस्कारबाट पक्षाघात भएको निजामती सेवाबाट कति आशा गर्न सकिन्छ? यस संस्थाको अक्षमताले लोकतान्त्रिक मूल्यहरू वितरण हुन नसके लोकतन्त्र नै खतरामा पर्न सक्छ।
राज्य संघीय संरचनामा गएपछि निजामती सेवाको व्यवस्थापन र कार्यशैलीमा आमूल परिवर्तन गर्नुपर्ने हुन्छ। सबभन्दा ठूलो चुनौती भनेको विविधता व्यवस्थापन हो। अबको नागरिक सेवा सांस्कृतिकरूपमा सक्षम (कल्चरल्ली कम्पिटेन्ट) हुन आवश्यक छ। जुन स्थानमा सेवा दिने हो त्यहाँको संस्कृति, भाषा, इतिहास बुझेको कर्मचारी हुनुपर्छ। आफ्नै संगठन पनि एकल सांस्कृतिकबाट बहुल सांस्कृतिकमा रूपान्तरण गर्न सक्नुपर्छ। स्थानीय स्वायत्तता र संघप्रतिको बफादारी दुवैमा सन्तुलन कायम गर्ने क्षमता अबको निजामती कर्मचारीको हुनुपर्छ। नेपालको अन्तरिम संविधानले नै स्वीकारेको छ कि अब स्थानीय तहमा मातृ भाषामा सरकारी काम हुनेछ र कर्मचारीहरूले त्यसलाई देवनागरी लिपिमा अनुवाद गरेर अभिलेख राख्नुपर्नेछ। के यी जिम्मेवारी बहन गर्न निजामती सेवाले तयारी गरेको छ त? तयारी केही देखिँदैन र भविष्यमा यही कारणले निजामती सेवा आलोचित हुनेछ।
परिस्थितिले निजामती सेवालाई थुप्रै चुनौती र अवसर दिँदैछ। यी चुनौतीहरूलाई चिरेर नागरिकको मन जित्न सकेमा यो संस्था सबै सामाजिक संस्थामा लोकप्रिय बन्नसक्ने अवसर सामु छ। तर, खुट्टी हेर्दै पत्याएँ भनेजस्तै अहिलेसम्म निजामती सेवा यी भावी कार्यभार पुरा गर्न सक्षम होला भन्ने कमै आशा छ। राजनीतिले त सदैव यसलाई प्रतिस्पर्धीका रूपमा लिएकै छ जनताले पनि विश्वास नगरेमा संस्थाको भविष्य छैन। अहिलेसम्म नागरिक र निजामती कर्मचारीको संबन्ध 'अनादरणीय प्रेमी' को जस्तो रहेको छ। जब राजनीति बिग्रिन्छ र जब संकटको अवस्था आउँछ नागरिकहरू नागरिकतिर आशाको नजरले हेर्छन्। नागरिक प्रशासन भताभुंग हुन लाग्यो भने लोकतन्त्र खतरामा परेको महसुस गर्छन् र यसको रक्षा गर्न दबाब दिने गर्छन् । सामान्य अवस्थामा भने यस संस्थालाई स्वतन्त्रतामाथि अंकुश लगाउने भनी आलोचना गर्ने गर्छन्। हुन पनि अमेरिकी संविधानका मसौदाकार मैडिसनले भनेजस्तै 'कर्मचारीतन्त्रले व्यक्तिगत स्वतन्त्रता खतरामा पार्छ' भन्ने यस संस्थाको विगतका व्यवहारले सत्य साबित गरेको छ। भविष्यमा जनताको मन जित्न निजामती सेवाले आफूलाई कसरी रूपान्तरण गर्छ हेर्न बाँकी छ।

प्रकाशित: १९ भाद्र २०६८ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App