१ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

सस्तो होइन, सक्कली

सौरभ कोठारी

हामी अहिले डिजिटल युगमा बाँचिरहेका छौं। त्यसकारण डिजिटल सामान तथा उपकरणबिना हाम्रो दैनिक जीवन करिब–करिब नचल्ने अवस्थामा पुगिसकेकेको छ। अहिलेका मानिस उत्कृष्ट एवं गुणस्तरीय डिजिटल उत्पादन प्रयोग गर्न रुचाउँछन् र नवीन प्रविधिको लाभ लिन चाहन्छन्। तर नेपालमा यस्ता सामानको क्रेज अलि भिन्न छ, खासगरी नेपाली प्रयोगकर्ता डिजिटल सामान खरिद गर्दा त्यसको गुणस्तरमा भन्दा मूल्यमा बढी ध्यान दिन्छन्। यसर्थ यहाँ सकेसम्म सस्तो मूल्यमा राम्रो सामान खोज्ने प्रवृत्ति छ। जसले गर्दा उनीहरू अनधिकृत उपकरण खरिद गर्न पुग्छन्। यसको प्रमुख कारण हो– प्रयोगकर्ता यसका बेफाइदाप्रति सचेत नहुनु हो।

अर्काे कुरा, प्रायः नक्कली डिजिटल सामान सक्कलीसँग मिल्दाजुल्दा देखिन्छन्। जसका कारण प्रयोगकर्ता झुकिन्छन्। अरूभन्दा अगाडि नयाँ उपकरण हात पार्ने होडबाजीले मानिस सीमापारिबाट भित्रिने सस्ता सामानप्रति आकर्षित हुन्छन्। यसले ग्राहक र ब्रान्ड उत्पादक तथा बिक्रेता दुवै पक्षलाई हानि पुगिरहेको हुन्छ। तसर्थ दुवै पक्षको हितका लागि यो विकृति अन्त्य गर्न आवश्यक छ।

सस्ता नक्कली डिजिटल सामान प्रयोगबाट हुने सबैभन्दा ठूलो जोखिम हो– व्यक्तिगत गोपनीयता भंग हुने सम्भावना। उदाहरणका लागि स्मार्टफोन। जसको प्रयोग अहिले सञ्चारका लागि मात्र सीमित छैन, अहिले यो हाम्रो व्यक्तिगत र व्यावसायिक जानकारीको भण्डार पनि बनेको छ। अलिकता पनि असावधानी भयो भने सीधै हाम्रो सुरक्षा र गोपनीयतामा असर पुग्न सक्छ। उपकरण सक्कली भएनन् भने संवेदनशील डाटाहरू अरूले सजिलैसँग लिन सक्छन्।
कुनै पनि ग्याजेट, सक्कली छैन भने त्यो हाम्रो स्वास्थ्य र जीवनका लागि पनि घातक हुन सक्छ। जहिले ब्याट्रीको खराबी, बढी तात्ने र प्रदर्शनमा ढिलाइ हुने सम्भावना हुन्छ जसले गर्दा प्रयोगकर्ताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्न सक्छ। समग्रमा, आधिकारिक उपकरणका तुलनामा यस्ता उपकरण निकै झन्झटिला हुन्छन्। सक्कली उत्पादनमा वारेन्टी हुन्छ र कुनै पनि गुनासो वा समस्या भएमा आधिकारिक सर्भिस सेन्टरमा गएर समाधान गर्न सकिन्छ। सामान प्राविधिक रूपमा त्रुटिमुक्त, उत्यधिक टिकाउ बनाउन र ग्राहकको सन्तुष्टिका लागि ती (सक्कली) धेरैपटक परीक्षण गरिएका हुन्छन्।

सबैभन्दा महत्वपूर्ण कुरा, गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन। सक्कली  उपकरण उच्च गुणस्तरयुक्त र टिकाउ हुने खालका हुन्छन्। मजबुती र प्रदर्शन क्षमताको ग्यारेन्टी गरिएको हुन्छ। साथै डाटा सुरक्षामा कुनै जोखिम हुँदैन, ढुक्कसाथ दैनिक गतिविधि अपडेट गर्न सकिन्छ। जुन नक्कली उपकरणमा सम्भव हुँदैन।

स्मार्टफोनसँगै आधिकारिक चार्जर, केबल र अन्य एक्सेसरिज प्रयोग गर्न त्यति नै आवश्यक छ। किनकि स्थानीय ब्रान्डका चार्जर वा केबलको प्रयोगले स्मार्टफोनको गुणस्तरमा प्रभाव पर्न सक्छ र त्यसको प्रयोग आशा गरेजस्तो निर्वाध नहुन पनि सक्छ। साथै फोनमा कुनै प्रकारका समास्या आएमा आधिकारिक सर्भिस सेन्टरमा मात्र देखाउनुपर्छ। अन्यथा, फोनको गुणस्तर र टिकाउ क्षमतामा समस्या आउन सक्छ।

कुनै डिजिटल सामान खरिद गर्दा धेरै कुरामा विशेष ध्यान पु-याउन आवश्यक छ। प्रयोगकर्तालाई सदैव आधिकारिक उपकरण र स्पेयर पार्ट्स आधिकारिक स्टोरबाट मात्रै खरिद गर्न सुझाव दिइन्छ। आवश्यक परेका खण्डमा आफैंले मर्मत गर्ने प्रयास गर्नुभन्दा कुनै मर्मत वा सेवा केन्द्रको सहयोग लिनु उत्तम हुन्छ। अन्यथा, यस्तो प्रयासले पछि उपकरणमा क्षति पुग्न सक्छ। ब्रान्डले वर्षभरि स्मार्टफोन र अन्य उत्पादन बिक्रीमा भारी छुट प्रदान गरिरहेका हुन्छन्। सेल्स र अफर उपलब्ध हुँदा त्यसको लाभ उठाउँदै कम मूल्यमा उपकरण खरिद गर्न सकिन्छ। साथै सम्बन्धित उपकरणबारे कुनै जिज्ञासा, आधिकारिक सामान खरिद गर्दा हुने फाइदालगायत विषयमा आधिकारिक स्टोर र सर्भिस सेन्टरबाट ग्राहकले जानकारी लिन सक्छन्।

दशकयता टेक ग्याजेटको मागमा तीव्र रूपमा बढेको पाइएको छ। नेपालले पनि समय–समयमा नयाँ उत्पादनप्रति गहिरो चासो देखाइरहेको छ। व्यक्तिगत तथा संस्थागत रूपमा सुरक्षित र भरपर्दाे डिजिटल माहोल बनाउन यसका सक्कली उत्पादनको महत्व बुझ्नैपर्ने हुन्छ। आफ्ना साथीभाइहरूलाई पनि यसबारे जानकारी दिनुपर्छ र सक्कली एवं ब्रान्डेड वस्तु खरिदका लागि प्रोत्साहन गर्नुपर्छ।
कोठारी साओमी नेपालकाे कन्ट्री जनरल म्यानेजर हुन्।

प्रकाशित: २१ माघ २०७६ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App