४ वैशाख २०८१ मंगलबार
विचार

छायाले देखाएको प्रकाशको दिशा

केही दिनअघि सम्पन्न ‘प्रज्ञा–सिस्नुपानी देउसी’ कार्यक्रमबारे अझै चर्चा जारी छ । यस विषयमा आआफ्नै किसिमले आलोचना÷समालोचना भइरहेका छन् । त्यस कार्यक्रमका सबै प्रस्तुति अब्बल थिए भनेर म भन्न सक्दिनँ । साँच्चै भन्ने हो भने कार्यक्रम चलुन्जेलसम्म नै ती हरेक प्रस्तुतिका कला पक्षमा भन्दा नितान्त भिन्न कुरामा मेरो ध्यान केन्द्रित रह्यो ।

एक किसिमको खुसी र सन्तोषको अनुभूति भइरह्यो । लोकतन्त्रको शक्ति र सौन्दर्य बोध भइरह्यो । किशोर अवस्थादेखि नै जानेर वा नजानेर कुनै न कुनै किसिमले आफू लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका पक्षमा उभिन सकेकामा, केही ‘दुस्साहस’जस्ता लाग्ने निर्णय लिन सकेकामा ‘ठिकै गरेछु’जस्तोसमेत लाग्यो ।

कार्यक्रममा राज्यका सर्वशक्तिमान् कार्यकारी प्रमुख, सेना प्रमुख, सत्तापक्षका पार्टी प्रमुख, प्रतिपक्षका ठूला नेता...सबैलाई नागरिकको एउटा समूह– ‘सिस्नुपानी’का सदस्यले एकै ठाउँमा बोलाएका थिए । र, जनताका अनेक तप्काका प्रतिनिधिसामु उनीहरूले सरकार, सत्ताधारी दल,  प्रतिपक्ष र नागरिककै विभिन्न समूहका कमीकमजोरी उदांग पारिदिएका थिए ।

अनि ‘चाह्यौ भने तिमीहरू धेरै राम्रा काम पनि गर्न सक्छौ’ भन्दै सम्झाएका थिए । सरकारले नै नियुक्ति गरेका सदस्यहरू रहेका प्रज्ञा प्रतिष्ठान नै कार्यक्रमको सह–आयोजक थियो अर्थात् धेरै आलोचकले नपचाएका ती व्यंग्यमश्रित अर्तिलाई उसले समेत पचाइदिएको थियो । अनि देशका प्रमुख कार्यकारी र प्रमुख प्रतिपक्षका नेताले पनि आआफ्नो बचाउ गर्दै भए पनि, शब्दमै मात्र भए पनि केही राम्रै प्रण दोहो¥याएका थिए ।

यतिबेला सबै शान्तजस्तो देखिए तापनि राम्रोसँग नियाल्दा अनिष्टको कुरूप छाया पनि स्पष्ट देखिन्छ, देशको यथार्थमा ।

यी सबै झट्ट हेर्दा अति सामान्य लागे तापनि एउटा राष्ट्रको जीवनमा लोकतन्त्रको यो प्राकट्य अति सुन्दर, अनमोल कुरा हो जसको महŒव त्यो नभएका बेला, गुमेका बेला मात्र अनुभूत हुन्छ । त्यो नगुमोस् । लोकतन्त्रको यात्रालाई टुट्न नदिन सरोकारवाला सबैले गम्भीर यत्न गरिरहन आवश्यक छ । यी ‘सरोकारवाला’मध्ये  सबभन्दा महत्वपूर्ण भूमिका त राजनीतिक पार्टीहरूकै हुन्छ । र, त्यसमा पनि सत्तासीन पार्टी र  प्रमुख प्रतिपक्षको । यी प्रमुख कर्तालाई व्यक्तिगत, गुटगत र पार्टीगत स्वार्थको संकुचनभित्र भाङ खाएर लडेझैं गरी बेहोस हुने छुट छैन । हाम्रो लोकतान्त्रिक यात्रामा कता–कताबाट व्यवधान आउँदै छ भनी सचेत र जागृत हुन अति आवश्यक छ ।    

यतिबेला राष्ट्रवादको खोलमा एकथरीले गणतन्त्र असफल भएको र लोकतन्त्रको यात्रा ठीक नभएसम्मको तर्क गर्न थालेका छन् । अचम्मको कुरा त के भने यस्तो तर्क गर्नेको लाममा राजावादी र विगतका ‘पञ्च’ मात्र हैनन्, परिवर्तन र प्रगतिकै पक्षधर ठानिएका व्यक्तिहरू पनि बेलाबेला देखा पर्छन् । कर्ममा भन्दा गुनासामा बढी समय बिताउने बानी लागेका मानिसलाई तिनका नाटकीय प्रस्तुति प्रिय लाग्छन्, आकर्षक लाग्छन् । र, त्यसको मूल्य अन्ततः जनताको ठूलो पंक्ति र राष्ट्रले चुकाउनुपर्ने हुन्छ ।

अर्को कुनाबाट भने लोकतन्त्र खतरामा भएको भय अभिव्यक्त हुने गरेको छ । लोकतन्त्रको केन्द्रमै रहेको जनताको अभिव्यक्ति स्वतन्त्रता खोसिँदै छ भन्ने चिन्ता व्यक्त हुन थालेको छ । यो चिन्ता, यो भय अकारण पनि छैन । तर यो चिन्ताको अभिव्यक्तिबाट सिञ्चित भएर अराजकतावादकै केही बीउ पनि टुसाउन थालेका छन्, जुन भोलिका दिनमा राजनीतिक र सांस्कृतिक दुवै हिसाबले खतरनाक बन्न सक्छन् ।

एकपछि अर्का घटना सार्वजनिक भइरहेका छन्– सिंगो समाजका निम्ति मार्गनिर्देशक हुनुपर्ने मानिसहरू अकल्पनीय आपराधिक कर्ममा संलग्न देखिएका छन् ।

यी दुई परस्परविरोधी लाग्ने गतिविधिले प्रश्रय पाउने मुख्य कारण वर्तमान सरकार र त्यो चलाउने पार्टीका कमीकमजोरी नै हुन् । र, तिनका निसाना पनि स्वाभाविक रूपमा वर्तमान सरकार र त्यसको नेतृत्व गर्ने पार्टी नै हुने गर्छन् । सुरक्षा र सहज जीवनजस्ता जनताका अति सामान्य अपेक्षा पूरा गर्न यो सरकार अझै सफल देखिएको  छैन । विगतदेखिका भ्रष्टाचार, बेथितिजस्ता भएभरका फोहोर सफा गर्न जनताले अनुभूत गर्ने गरी तत्परता देखाउन सकेको छैन । सबभन्दा महŒवपूर्ण कुरा त के भने आफ्नै पंक्तिभित्र सुसंस्कार, असल आचरण र शील पालन कायम गर्न सकेको छैन । एकपछि अर्का घटना सार्वजनिक भइरहेका छन्– सिंगो समाजका निम्ति मार्गनिर्देशक हुनुपर्ने मानिसहरू अकल्पनीय आपराधिक कर्ममा संलग्न देखिएका छन् । परिपक्वदेखि कलकलाउँदो उमेरका विद्यार्थी नेतासम्म आपराधिक कुकृत्यमा संलग्न देखिन थालेका छन् । अझै डरलाग्दो कुरा त के भने यी सबै कमजोरी कुनै एउटा राजनीतिक समूहमा मात्रै सीमित छैन । प्रमुख प्रतिपक्ष पनि कमजोर मात्र हैन, उत्तिकै शीलविहीन, दिशाविहीन, अन्योलग्रस्त देखिन्छ । प्रमुख प्रतिपक्षकै विगत हेर्दा कम दिक्कलाग्दो देखिँदैन ।

राष्ट्रका निम्ति यो अत्यन्त डरलाग्दो स्थिति हो । शीलविहीन सत्तासीन दल, उस्तै प्रमुख प्रतिपक्ष, अविश्वसनीयता र अवसरवादमा चुर्लुम्म डुबेका अन्य महŒवपूर्ण दल, हुर्किनै नभ्याई परम्परागत राजनीतिको भासमा जाकिन थालेका वैकल्पिक ठानिएका शक्ति, भ्रष्टाचारमा चुर्लुम्म डुबेको अक्षम अटेरी अपारदर्शी कर्मचारीतन्त्र, जनतामा बढ्दो असन्तोष र अन्योल, अनेक रूपमा भित्रभित्रै टुसाउन थालेको अराजकताको बीउ, मौका आउनेबित्तिकै विदेशीका पाउमा लम्पसार पर्न आतुर वा तयार विभीषण र जुडासहरूको उपस्थिति...,एउटा कलिलो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत हैनन् । यसमाथि, प्रमुख कार्यकारीको स्वास्थ्य स्थिति र सत्तासिन दलको चारदिवारभित्र चलिरहने आँधी बतासका अनुमानले राष्ट्रको भविष्यबारे अझ चिन्ता थपेको छ, चिन्ता गर्नेका निम्ति ।

एकजना मान्छेकै जीवनमा समेत पलपल हुने घटना र सिर्जना हुने स्थिति अनेक कारण र परिस्थितिका उपज हुन्छन् भने एउटा राष्ट्रको स्थिति त झनै युगयुगदेखि सिर्जना हुँदै आएका कारण र परिस्थितिको उपज हुन्छ । जे बितिसक्यो, त्यसमा केही गर्न सकिन्न । विगतका कसैलाई दोषारोपण गरेर, सरापेर मात्र कुनै संकटबाट पार भइँदैन । जे गर्ने हो, वर्तमानमै रहेर गर्ने हो । अहिले राष्ट्रले झेलिरहेका यावत् चुनौती सामना गर्ने पनि वर्तमानमै सचेत र जाग्रत् रहेर सामना गर्ने हो । र, यो ‘केही गर्ने’ मूल जिम्माचाहिँ मूलतः सरकारकै हो । सरकार चलाउने पार्टीकै हो । सत्तासीन पार्टीपंक्तिभित्र कतिसम्म आचारविहीनता हुर्किंदै छ भन्ने कुराको प्रमाण त अब खोजिरहनै नपर्ला ।

चाहेर, नचाहेर दसैंयता लगातार अनेक घटना प्रकाशमा आइरहेका छन् । अहिलेका पार्टी सदस्यहरूमा पार्टीकै मूल दिशाबारे कति अस्पष्टता होला, त्यो चासोकै विषय पनि होला÷नहोला, अनुमान गर्न मात्र सकिन्छ । ‘साँच्चै शक्ति र पैसादेखि बाहिर अरू कुनै अभीष्टका निम्ति पनि मानिस पार्टीमा लाग्छन् र’ भन्ने सोच स्वाभाविक भइसकेको होला । यस्तो अवस्थामा स्थिति सम्हाल्ने कुनै छोटो चोरबाटो छैन । पार्टीभित्र सुसंस्कार र सदाचार स्थापना र भ्रष्टाचारप्रति साँच्चै ‘शून्य सहनशीलता’ कार्यान्वयन नगर्ने हो भने सरकार मात्र हैन, सत्तासीन पार्टी मात्र हैन, राष्ट्र नै असफल हुन सक्छ । सधैं सम्झिरहनुपर्ने, बेलाबेला दोहो¥याइरहनुपर्ने सत्य के हो भने जनता कहिल्यै यथास्थितिप्रति सन्तुष्ट हुँदैनन् । यो जनअसन्तुष्टि नै समाज अगाडि बढाउने ऊर्जा हो । यो बुझेर सत्ताले जनताको जीवनस्तर सुधार्न जानेन भने अन्ततोगत्वा त्यसले अराजकताको रूप लिन सक्छ । प्रमुख तथा अन्य प्रतिपक्ष दलका निम्ति पनि अर्को सत्य छैन, कुरा यही हो । आफ्नो पंक्तिभित्र सुसंस्कार र सदाचार स्थापना गर्न नलाग्ने हो भने अरूका आङका जुम्रा देखाएर मात्रै आफ्नो बुई चढेको भैंसीबाट छुट्कारा पाइँदैन । र, एकदिन त्यही भैंसीमुनि थिचिएर मरिन्छ । जनताको आवाजको प्रतिनिधित्व गर्ने ‘अगुवा’, सञ्चारकर्मीलगायत सबैले शील पालन गर्नु, अराजकताका बीउलाई मलजल नहोस् भनेर सतर्क रहनु उत्तिकै आवश्यक छ ।

यतिबेला सबै शान्तजस्तो देखिए तापनि राम्रोसँग नियाल्दा अनिष्टको कुरूप छाया पनि स्पष्ट देखिन्छ, देशको यथार्थमा । तर छायाले प्रकाशको दिशा पनि देखाइरहेको हुन्छ । र त्यो दिशा हो– आपसी भिन्नताकै बीच पनि समानताको खोजी गर्ने, जनतामा रहेको यथास्थितिप्रतिको असन्तोषलाई अघि बढ्ने ऊर्जाका रूपमा सदुपयोग गर्ने, ठूलो त्याग र बलिदानले प्राप्त लोकतान्त्रिक यात्रालाई निरन्तरता दिने ।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App