२४ श्रावण २०७७ शनिबार
विचार

बडादसैं ‘विज्ञान’

नेपालमा दुईपटक दसैं मनाइन्छ। चैतमा मनाइने दसैंलाई चैते दसैं तथा सानो दसैं भनिन्छ भने आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने दसैंलाई बडादसैं तथा विजयादशमी नामले सम्बोधन गरिन्छ। वास्तवमा नेपाली समाजमा बडादसैंको आफ्नै सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ।

बडादसैंका सकारात्मक पक्ष
‘बडादसैं’ विजय उत्सवको चाड हो। असुर शक्तिमाथि दैविक शक्तिको जितका रूपमा मनाइने पर्व हो। मीठो खाने, राम्रो लाउने तथा ठूलाबडाबाट सुख–समृद्धिको आशीर्वाद लिने चाड हो। दसैं पारिवारिक पुनर्मिलन र एकताको पर्व पनि हो।

दसैंले देश–विदेशमा बसोबास गर्ने लाखौं नेपालीलाई आफ्नो देश, परिवार र समाज सम्झाउने गर्छ। त्यसैले त दसैंमा विभिन्न देशमा रहेका नेपाली घर फर्किन्छन् र परिवार, साथीभाइसँग रमाइलो गर्दै धूमधामका साथ चाड मनाउँछन्। नेपाल फर्किन नसक्ने अवस्थामा उनीहरू उतै भए पनि दसैं मनाउँछन्।
हिन्दू नेपालीले मात्र होइन, नेपालका गैरहिन्दू, जसले पूजापाठ नगरे पनि तथा टीका नलगाए पनि प्रत्यक्ष–परोक्ष कुनै न कुनै रूपमा दसैं मनाउने गर्छन्। बडादसैं जस्तो चाड हँुदैनथ्यो भने नेपाली समाज अलि खल्लो हुने थियो। यसउसले दसैं उदास, निराश र थकित जीवनमा रङ भर्ने उत्सव पनि हो।

ठूलाबडा तथा मान्यजनबाट निधारमा टीका लगाउनु तथा उनीहरूबाट आशीर्वाद लिनुको मनोवैज्ञानिक अर्थ भनेको मानसिक शक्ति तथा आत्मविश्वास बढाउनु हो।

मानिसको जीवनमा रङको ठूलो महŒव छ। किनभने मानिसको जीवन नै रंगीन हुन्छ। रङबिनाको जीवन मानिसले सहजपूर्वक जीउन सक्दैन। जीवनमा रङ भएन भने मानिस उदास, निराश र बेचैन हुन्छ। उसले दिउँसै चारैतिर अँध्यारो देख्छ। उसको आशा मर्छ, विश्वास मर्छ, चाहना मर्छ। उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन। मानिस जिउँदो लासजस्तो हुन्छ। तर जीवनमा रङ भयो भने मानिस खुसी हुन्छ। प्रसन्न हुन्छ। दुःखमा पनि सुखको आशा गर्छ। अँध्यारोपछिको उज्यालोको पर्खाइमा हुन्छ। कालो बादलमा पनि चाँदीको घेरा देख्छ। त्यसैले मनोवैज्ञानिक रूपमा पनि मानिसको जीवनमा रङको ठूलो महत्व छ।  जीवनमा रङको यही महत्वलाई हृदयंगम गरेरै हाम्रा पूर्वजले तीज, दसैंजस्ता चाडपर्व, जात्रा तथा उत्सवहरू आविष्कार गरेका हुन्।

हुन पनि हो, बडादसैंका अवसरमा गरिने हरेक कार्यक्रमहरू जस्तै ः जमरा राख्नु, दुर्गा पूजा गर्नु, बलि दिनु, टीका तथा आशीर्वाद लिनुको ठूलो वैज्ञानिक तथा मनोवैज्ञानिक महत्व छ।

जमरा औषधि पनि हो। जमराको रसलाई त प्राकृतिक चिकित्सामा ‘ग्रिन ब्लड’(हरियो रगत) भनिन्छ। मनोवैज्ञानिक रूपमा पूजाप्रार्थनाको उद्देश्य आफूले आफैंलाई सम्मोहित गरी निराशमय मनमा आशा छर्नु हो, अँध्यारोबाट उज्यालो बाटोतिर अगाडि बढ्नु हो। क्रोधकी प्रतीक कालीलाई बलि दिनुको अर्थ आफूभित्र भएको क्रोधरूपी राक्षस हटाउनु हो। ठूलाबडा तथा मान्यजनबाट निधारमा टीका लगाउनु तथा उनीहरूबाट आशीर्वाद लिनुको मनोवैज्ञानिक अर्थ भनेको मानसिक शक्ति तथा आत्मविश्वास बढाउनु हो।

श्रद्धापूर्वक मान्यजनका अगाडि बसेर निधारमा थाप्दै टीका लगाउँदा र आशीर्वाद लिँदा मानिसको मस्तिष्क रसायनमा सकारात्मक परिर्वतन देखा पर्छ। यो वैज्ञानिक तथ्य हो।

बडादसैंका नकारात्मक पक्ष
हरेक कुराका जस्तै दसैंका पनि नकारात्मक पक्ष छन्। हिजोआज दसैंका नकारात्मक पक्ष बढ्दै गएका छन्। दसैंमा व्यापारीकरण भएका कारण सम्पन्न वर्गका लागि दसैंले जति खुसी÷रमाइलो लिएर आएको हुन्छ, त्यति नै विपन्न परिवारका लागि आर्थिक अभावका कारण दुःख÷पिरलो बोकेर आएको हुन्छ।

हरेक वर्ष दसैंको मुखमा बाढीपहिरोका कारण घरवारविहीन हुने हजारौं मानिसका लागि त दसैं दशाजस्तै हुन्छ। कसैले केही सहयोग गर्छ कि भन्ने आशामै उनीहरूको दसैं बित्छ।

दसैंमा देश–विदेशमा रहेका नेपालीलाई आफ्नो घर फर्किने निकै धपेडी हुन्छ। त्यसैले समयमा घर पुग्न मानिसले निकै जोखिमपूर्ण यात्रा गरेको देखिन्छ। यसैकारण दसैंका बेला निकै सवारी दुर्घटना हुने गर्छन्। साथै चाडपर्वमा मादक पदार्थ पिएर गाडी चलाउने कारण पनि दुर्घटना बढी हुन्छन्। खासगरी मोटरसाइकल दुर्घटना निकै हुने गर्छन्।

दसैंमा मानिसले पोलेका, भुटेका, तारेका मासुलगायत थरीथरीका परिकार प्रशस्त खाने गर्छन्। मासुलगायत यस्ता परिकार प्रायः बासी हुन्छन्। टीकाका दिन त मानिस टीका थाप्दै बीसौं ठाउँमा खादै हिँड्ने गर्छन्। यसरी जथाभावी कोचीकोची खाँदा अपच भई बिरामी पर्ने सम्भावना हुन्छ। दसैंमा झाडापखाला लागेर, पेट दुःखेर तथा घाँटीमा हड्डी अड्किएर अस्पताल आउने बिरामीको संख्या निकै धेरै हुन्छ।

दसैंमा अत्यधिक जाँडरक्सी खाने, जुवातास खेल्ने तथा अर्काको देखासिकीमा ऋण काढरे अनावश्यक खर्च गर्ने प्रवृत्ति ठीक होइन। यस्तो नकारात्मक प्रवृत्तिले परिवारकै उठीवास गराउँछ। दसैंमा दुर्गा मन्दिरहरूमा बलिका नाउँमा बीसौं हजार पशुपन्छी काटेर चढाउने गरिन्छ। यो पनि दसैंको नकारात्मक पक्ष हो। बलि दिनुको वास्तविक अर्थ निर्दोष जनावर काट्नु होइन, आफूभित्रको खराब प्रवृति जस्तै ः क्रोध त्याग गर्नु हो। मासुका लागि मन्दिर वा घरमा पशुचौपायाको वध गर्नुभन्दा वधशालामै काट्नु ठीक हुन्छ।

पुछारमा,
अतः बडादसैं मनाउँदै गर्दा हामी यसका सकारात्मक पक्षलाई अंगाल्ने तथा नकारात्मक पक्षलाई हटाउने वा कम गर्ने दिशामा अग्रसर हुनुपर्छ। दसैं–तिहार होस् वा कुनै पनि बेला ट्राफिक प्रहरीको आँखा छलेर बिनाहेल्मेट मोटरसाइकल हाँक्ने, दुई जनाभन्दा बढी चढ्ने, बसको छतमा बसेर वा बसको ढोका तथा पछाडि झुन्डिएर यात्रा गर्ने तथा मादक पदार्थ पिएर सवारीसाधन चलाउनेजस्ता जोखिमपूर्ण क्रियाकलाप गर्नु हुँदैन।

दसैंमा आफ्नो पाचन क्षमताअनुसार खानपिन गर्नुपर्छ।  मासु खाँदा हड्डीको ख्याल गरेर राम्रोसँग चपाएर निल्नुपर्छ। नत्र हड्डी घाँटीमा अड्किन सक्छ। मूलो कुरो अर्काको देखासिकीमा होइन कि आफ्नो आर्थिक हैसियतअनुरूप खर्च गरेर दसैं मनाउनुपर्छ। ऋणमाथि ऋणको भारी बोकेर दसैंलाई दशा बनाउनु कदापि ठीक होइन।

प्रकाशित: १४ आश्विन २०७६ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App