२६ श्रावण २०७७ सोमबार
विचार

सँगै हाँस्ने कि एक्लै रुने ?

केही वर्षअअघिको कुरा हो। अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेलस सहरमा नेपाली कार्यक्रमको रात्रिभोज थियो। धेरैजसो सहभागी नेपाली संगीत, खाना, भलाकुसारी तथा आफ्नो देशको समसामयिक घटना र राजनीतिमा केन्द्रित देखिन्थे। परदेशमा हुने परिवार वा साथीभाइबीच हुने ससाना भेटघाट हुन् वा सामूहिक रूपमा हुने ठूला कार्यक्रम, नेपालको वर्तमान राजनीतिबारेको बहसले प्राथमिकता पाउने गर्छ। कार्यक्रम भइरहेको हलको एउटा कुर्सीमा पाइन्ट र ढाकाटोपी लगाएका अन्दाजी ६५/७० वर्षका जस्ता देखिने एक सज्जन बसिरहेका थिए।

एउटी सानी ३/४ वर्षकी बालिका (पछि थाहा भयो उनी नातिनी रहिछिन्), कहिले हजुरबुवाको काखमा आएर नेपाली र अंग्रेजी मिसिएको भाषामा बोल्दै त कहिले काखबाट ओर्लिंदै साथीहरूसँग खेल्न पुग्थिन्। उनले आफ्नो नातिनीको बालापनबाट खुबै आनन्द लिइरहेको कुरा नजिकैबाट नियाल्दै गरेको यस पंक्तिकारलाई बुझ्न गाह्रो थिएन। धेरैबेर एक्लै बसिरहेको देखेपछि केही भलाकुसारी गर्ने उद्देश्यले आफ्नो परिचय दिँदै उनीसँग गफ सुरु गरेँ। पदमराज शर्मा (नाम थर परिवर्तन) नेपाल सरकारको उच्च प्रशासनिक पद (सचिव) बाट केही वर्षअघि निवृत्तिभरण भई अमेरिकामा रहेका आफ्ना छोरा–बुहारी, छोरी–ज्वाइँ र उनीहरूका परिवारलाई भेट्न आएका  रहेछन्।

विदेशमा रहेका छोराछोरी भौतिक रूपले सुखी त होलान्, तर आफ्ना आमाबुवा र देशको सम्झनाले खुसी हुन सक्ने छैनन् भने उनीहरूका आमाबुवा, विदेशमा रहेका छोराछोरी, नातिनातिना सम्झेर दुःखी हुनेछन्।

अरू व्यक्तिहरू पनि हामी बसेको टेबलमा आउँथे, सामान्य परिचय र छोटो कुराकानीपछि पार्टीको संगीतमय माहोलमा फर्किन्थे। कहिलेकाहीँ हुने पार्टीको आनन्द कसलाई ‘मिस’ गर्न मन लाग्थ्यो होला र ! तथापि उनका कुरा बडो चाख दिएर मैले सुनेकाले होला, उनी आफ्ना कुरा खोल्दै जान्थे। मलाई नेपाल सरकारको माथिल्लो तहमा रहेर काम गरेको व्यक्तिको मुखबाट त्यहाँ हुने सिस्टमबारे जान्न बडो उत्सुकता  लागिरहेको थियो। कुरा गर्दै जाँदा थाहा भयो– उनी एउटा औसत ‘ब्युरोक्र्याट’ रहेछन्, समयअनुसार चल्ने र धेरै ‘रिस्क’ लिन नचाहने। पूर्वी पहाडी जिल्लाको निम्न मध्यम वर्गीय परिवारमा जन्मेर÷हुर्केर गाउँमै स्कुल शिक्षा पूरा गरी काठमाडौँ छिरेको व्यक्ति सरकारको उच्च पदमा पुग्नु पक्कै चानचुने कुरा होइन। आफूले बाल्यकालमा भोगेका अभाव र कठिनाइ आफ्ना सन्तानले भोग्न नपरोस् भन्दै काठमाडौँको महँगो ठाउँमा घरघडेरी जोडे र छोराछोरीलाई नाम चलेका स्कुलमा पढाए। आफू जन्मे÷हुर्केको गाउँठाउँ छाडे पनि आफ्ना सन्तानले देशै चाहिँ नछाडुन् भन्ने उनको उद्देश्य रहेको बताउँदै गर्दा उनी निकट भविष्यमै आउने बूढेसकालप्रति चिन्तित देखिन्थे। त्यसमा पनि उनी उच्च रक्तचापको रोगी, श्रीमती मधुमेहले पीडित भएकाले उनीहरू एउटा सहयोगीका साथ काठमाडौँस्थित घरमा बस्ने रहेछन्।   

लामो भलाकुसारीपछि नेपाल कहिले फर्किनुहुन्छ भन्ने यस पंक्तिकारको प्रश्नपछि उनको गला अवरुद्ध भयो, आँखा रसाए। केही छिनको सन्नाटापछि फेरि कुरा सुरु गरे। उनी आफ्ना सन्तान बसिरहेका अमेरिका र आफ्नो देश नेपाल सम्झेर भावुक भएका रहेछन्। मनमनै सोचेँ– देश बनाउन सक्ने  हैसियतमा हुँदा केही नगर्ने, अनि अहिले रोदन गर्नुको के अर्थ  होला र ! नभन्दै उनले मेरो मनभित्र खेलिरहेको आशंका मेटाउँदै भने, ‘नैतिकताका हिसाबले नेपालको यो अवस्था आउनु मेरो पनि जस–अपजस होला नै, तर एउटा कुरा मैले आत्मलाई साँची राख्दै भन्नुपर्छ– विभिन्न मन्त्रालयको नेतृत्वमा बसेर हामीले जति गर्न र भूमिका निर्वाह गर्न सक्थ्यौँ, त्यति नगरेकै वा नसकेकै हो, यसको फल हाम्रो पिँढीले भोग्दै छ।’

किन सक्नुभएन भन्ने प्रश्न गर्दा उनको उत्तर थियो– ‘केही लोभलालच, केही राजनीतिक प्रभाव, केही डर।’ अगाडि भन्दै गए– ‘हामी पेसागत दौरान आफू र आफ्ना परिवार मात्रै बनाउन लाग्यौँ। धनसम्पत्तिमा केन्द्रित भयौँ, राजनीतिक नेतृत्व वर्ग, मन्त्रीहरूलाई मुलुकको भलाइ हुने गरी नीतिगत निर्णय गराउन सकिएन र देश बन्यो भने हाम्रो घर पनि बन्छ, हाम्रा छोराछोरी पनि बन्नेछन् भन्ने सोचेनौँ। हाम्रो घर बन्यो, छोराछोरी बने तर देश बनेन। देश नबन्दा यिनीहरू बनेको देशमा बसे, तर आफ्नो मुलुकमा अटाएनन्। छोराको परिवारलाई फर्क भन्दा राम्रो ‘सिस्टम’लगायत, स्कुल, खानेपानी, सडक छैन भन्छन्। कसरी टिक्न सकिएला भनेर उल्टै प्रश्न गर्छन्। हामीले जोडेको सम्पत्ति, घर सबै बेवारिसे हुँदै छन्।’ यसरी उनले कटु यथार्थ बताए। निकट भविष्यमा यो समस्या उनको मात्रै नभएर एउटा राष्ट्रिय समस्या बन्दै छ।
पदमराजले बताएझैँ रोजगारीका लागि विदेश जाने र सुविधाका लागि सहरतिर हुने बसाइँसराइले गाउँघर खाली हुँदै गएका छन्। खेतीयोग्य जमिन बाँझा भएका छन्, निर्यात घटेको छ, आयात बढेको छ।  कृषिजन्य वस्तुमा देश आत्मनिर्भरबाट परनिर्भर बनिरहेको छ। छिमेकी मुलुकका तरकारी, खाद्यान्न गाउँगाउँसम्म पुग्न थालेका छन्। जवानीसँग रेमिट्यान्स साट्ने नीतिको परिणाम यो भन्दा फरक कहाँ हुन्छ र !

४०–५० लाख नेपाली युवायुवती रोजगारी र अध्ययनका लागि नेपालबाहिर रहेको अनुमान गरिन्छ। उच्च तहमा रहेका नेता, कर्मचारी, उद्योगी, व्यापारी वा सबै हुनेखानेका सन्तान अध्ययनका लागि विकसित मुलुक अमेरिका, अस्ट्रेलिया, युरोप गएका छन् र जाने क्रम जारी छ। सर्वसाधारण बाबुआमाका सक्षम तथा जेहेन्दार सन्तान पनि मुलुकमा रोजगारीको सम्भावना नदेखेपछि उच्च शिक्षा हासिल गर्न विदेश जाने र पढाइ पूरा गरी आफ्नो देश फर्किने चाहना हुँदाहुँदै पनि फर्कन नसक्ने परिस्थिति बन्दै गएको देखिन्छ। देश बनाउनसक्ने ठाउँमा बसेका नेता, कर्मचारी, उद्योगी÷व्यवसायी धेरैजसो आआफ्नै स्वार्थमा लागिरहेका समाचार नौला होइनन्। भ्रष्टाचार नियन्त्रण गर भनेर नियुक्ति गरिएका अख्तियारका आयुक्त आफैँ भ्रष्टाचार काण्डमा परेका छन्, विश्वविद्यालयका डिन र उपकुलपतिहरू घुससहित समातिएका छन्, देशमा  शान्ति सुरक्षाको जिम्मा लिएका प्रहरी प्रमुखहरू नै भ्रष्टाचार मुद्दामा जेल परेका छन्। अनैतिक तरिकाले आज जसले जति नै सम्पत्ति जोडे पनि, जति ठूलो महल खडा गरे पनि, जतिसुकै स्तरीय स्कुल शिक्षा दिए पनि तिनका सन्तान घरको पर्खालभित्रको सुखसुविधाले सन्तुष्ट हुन सक्ने छैनन् र उच्च शिक्षाको खोजीमा बिदेसिने नै छन् र देशभित्र रहेकाहरू पनि बिस्तारै बाहिरिनेछन्।

समय बित्दै जानेछ, विदेशमा रहेका छोराछोरी भौतिक रूपले सुखी त होलान्, तर आफ्ना आमाबुवा र देशको सम्झनाले खुसी हुन सक्ने छैनन् भने उनीहरूका आमाबुवा विदेशमा रहेका छोराछोरी, नातिनातिना सम्झँदै दुःखी हुनेछन्, अनि ‘एरिक एरिक्सन’को मनोविज्ञान विकासको आठौँ सिद्धान्तअनुसार आफूले अतीतमा गरेका कामप्रति गौरवान्वित होइन, निराश हुने र पश्चाताप गर्नेबाहेक केही बाँकी हुने छैन, शिशिर योगीले गाएको ‘बोल्ने कोही छैन...’ बोलको गीतले भनेजस्तै– पाहुना आउँदा घरको ढोका खोल्ने कोही हुने छैन, साँझ परेपछि बत्ती बाल्ने कोही हुने छैन र मर्ने बेला पानी माग्दा पियाउने कोही हुने छैन। त्यसैले देश बनाउन सक्ने स्थानमा हुनेहरूले र हामी सबैले पनि आआफ्ना ठाउँबाट देशप्रति गर्नुपर्ने कर्तव्य नभुलौँ। भविष्यबारे आजै सोचौँ र निक्र्याेल गरौँ– सन्तान सँगै हाँस्ने कि एक्लै रुने ?

प्रकाशित: १४ श्रावण २०७६ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App