६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

अन्तर्जातीय प्रेममा दलितको मूल्य

नजिककी बहिनी सानै उमेरमा गैरदलितसँग प्रेममा परिन्। करिब १ वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत गर्न दुवै गाँउ छाडेर भागे। गाँउभरि हल्ला भयो– ‘फलानाकी छोरी पोइला गई।’सानै उमेरमा आमा गुमाएकी ती बहिनीले घरमा भने सन्चो बिसन्चो खबर गर्थिन्। केटाका परिवारले भने उनीहरूबारे पत्तो पाएका थिएनन्। यसैकारण केटीका परिवारलाई -याख-याखतीपार्न थाले।

‘तेरो छोरीले हाम्रो छोरालाई कहाँ भगाई’ जस्ता लाञ्छना त सामान्य भयो। अन्तिममा घरफर्की आए स्वीकार्ने आश्वासन दिए। यति भएपछि केटीका परिवारले छोरी–ज्वाइँबोलाए। परिवारले स्वीकार्ने भनेपछि नवजोडी खुसी हुँदै घर फर्के। अब षडयन्त्र सुरु भयो। सानै उमेरमा बिहे गरेका दुवै अपरिपक्व थिए। पढाइछुटाएकाले पुनः पढ्न लगाइयो र पढाइ पूरा गरेपछिधूमधामले विवाह गरिदिने आश्वासन दिइयो।

केटालाई कमाउन भनी भारत लगियो र सम्पर्कविहीन बनाइयो। दुई जीउकीती बहिनीसँग समाजको अपहेलना भोग्नुबाहेक विकल्प रहेन। दिनदिनै हुने सामाजिक घृणा र दुव्र्यवहारका कारण आफ्नो स्याहार्न गर्नसमेत बिर्सेकी ऊ भित्रभित्रै पलपल मर्न लागी। तैपनि पति फर्की पो हाल्छन् कि भन्ने आशाले बच्चाको जन्म दिई। सात महिनामा जन्मिएको छोराको अनुहार हेर्दै बाँच्ने आँट गरेकी उसले अन्ततः मृत्यु अंगाली, श्रीमान्को वियोग र समाजको लाञ्छना सहन नसकेर। समाजले बनाएको काइदाको कानुनसँग ऊ हारी, लड्न सकिन। र,काखको दूधे छोरा छाडेर ऊ सधैँका लागि बिदा भई। यो कुनै काल्पनिक कथा होइन,सत्य घटना हो।

अन्तर्जातीय प्रेमविवाह दुवैको सहमतिमै गरेको किन नहोस्, आखिर मृत्युको मुखमा पुग्ने दलित नै हुन्छन्।

यो त हाम्रो जातिवादी समाजको एउटा उदहारण मात्र हो। खोजी गर्ने हो भने यस्ता दर्दनाक र कारुणिक कथा कति छन् कति ! कति घटना लुकाइन्छन्, दबाइन्छन्, मेलमिलापका नाममा दलित युवक–युवतीलाई सकेसम्म फकाइन्छ, थर्काइन्छ र यसो गर्दा पनि नभए अन्त्यमा मारिन्छ वा मर्न बाध्य पारिन्छ। कथित उपल्लो जातिकी केटीसँग प्रेम गरेकै कारण हत्या गरिएका काभ्रेका अजित मिजारको लास अस्पतालमै सडेर बसेको ३ वर्ष हुन थालिसक्यो। यसरी अन्तर्जातीय प्रेम वा विवाह गरेकै कारण अजित र सबी (नाम परिवर्तन) जस्ता दलित युवक–युवतीहरूलाई कहिलेसम्म मारिरहने हो ?

गैरदलित युवकसँग बिहे गरेकै कारण कुमाख गाउँपालिका ६ सल्यानकी एलिसा विक अहिले घर न घाटकी भएकी छन्। सानो जाति भएकै कारण उनी घरबाट निकालिइन्। डेढ वर्षीया छोरी काखमा बोकेरउनी कहिले माइती त कहिले आफन्तको शरण लिन बाध्य छिन्। सञ्चारमाध्याममा दैनिकजसो पढ्न र सुन्न पाइने यस्ता घटनाले हाम्रो समाजको वास्तविकता उदाङ्गो पार्छन्। जब यस्ता अमानवीय घटना देखिन्छन्, सुनिन्छन् तब मानवको मूल्य कति त भन्ने प्रश्नले दिमाग रन्थनिन्छ। अत्याचार सहनुपर्नेयो कस्तो सामाजिक संरचना ? न्याय पाउने आशामा उजुरी लेखाउन जाँदा अझै पनि दलितका पक्षमा लेखिदैनन्। करकाप, डरत्रास वा ललाइफकाइ मिलापत्र गराइन्छ। यो कस्तो न्याय हो ?

अन्तर्जातीय प्रेम वा विवाहकै कारण ज्यान गुमाउने तथा पीडित हुने दलितको एकिन तथ्यांक नपाइए पनि केही घटना सुन्न, पढ्न पाइन्छ। युनिसफेको तथ्यांकअनुसार सन् २०१७ माअन्तर्जातीय प्रेम वा विवाहका सम्बन्धमा ७उजुरी परेका छन्। जसमा नवलपरासीकी एकदलित महिला, जसको मुद्दा सामाजिक मेलमिलापका नाममा टुंग्याइएको छ भने जाजरकोटकी एक दलित महिलाकोसम्बन्ध विच्छेद नै गराइएको छ। यसैगरी बाँकेकी एकदलित महिला,उनको मुद्दा पनि मेलमिलापकै नाउँमा झिसमिस पारिएको छ भनेसुर्खेतका २ महिला र २ पुरुषले नै कुटाइ नै खाए तर तिनको मुद्दा पनि मेलमिलापकै नाममा सल्ट्याइएका छन्। सन्२०१८ मा भने तीन पीडितका उजुरी दर्ता भएका छन्। तीमध्ये २ जना मुगुका महिलानागरिकताबाट वञ्चित छन् भने सर्लाहीकी एक महिलालाई गराइएको छ। दलित युवक–युवतीको प्रेम र जीवनको मूल्य ‘मेलमिलाप’ मात्रै हो त ?

जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ लागू भएयता मात्र जातीय विभेदकै कारण अजित मिजार (काभ्रे), मनवीरे सुनार (कालिकोट), सेते दमार्इँ (दैलेख), मना सार्की (कालिकोट), शिवशंकर दास (सप्तरी), लक्ष्मी परियार (काभ्रे), राजेश नेपाली (पर्वत),श्रेया सुनार (कास्की), रूपमतीकुमारी दास (मोरङ), दितिया रेश्मा रसाइली (धनुषा), माया विक(कैलाली),अस्मिता तोलामी सार्की (झापा), संगीता परियार (तनहुँ), झुमा विक(ताप्लेजुङ) ले ज्यान गुमाए। अन्तर्जातीय विवाह गरेको, पानी÷चुलो छोएको तथा बोक्सी भएको आरोपमा यी दलित मारिएका हुन्।

नेपालको संविधान–कानुनले जातीय विभेदलाई अपराध घोषणा गरेको वर्षाैँ भइसक्दा पनि दलित समुदायले जातकै कारण मानसिक, शारीरिक पीडा एवं ज्यान नै गुमाउनुपर्ने यो कस्तो विडम्बना ! नेपालमा कागजी (कानुनी) रूपमा उहिल्यै छुवाछूत अन्त्य भए पनि व्यवहारमा भने अझै हुन सकेको छैन। २०६२÷६३ जनआन्दोलनपछि २०६३ जेठ २१ गते पूरै देशलाईजातीय विभेदमुक्त अर्थात् छुवाछूतमुक्त राष्ट्र घोषणा गरियो। तर व्यवहारमा खोइ ?

दूरदराजका गाउँमा धारा छोएकैनिहुँमा गाउँपालिकाकै सदस्य कुटेर मारिन्छन्,शिक्षकजस्ता व्यक्तिबाटै एउटी महिलालाई बोक्सी भन्दै दिसा खुवाइन्छ र हत्या गरिन्छ अनि अबोध बालिकालाई बलात्कार गरी जिउँदै जलाइन्छ। खै यस्ता जघन्य अपराधमा जनचासो ?दलितका समस्याहामीलाई के चासो भन्ने सोचले पनि यो समस्या अझ बढेको हो कि ? मानव अधिकार आयोगले अजित मिजारको हत्या घटना छानबिन गरी प्रतिवेदन प्रहरी प्रशासनलाई बुझायो तर खोइ कारबाही ? किन मौन बसेको छ राज्य ?

जसलाई हेप्न सकिन्छ, पेल्न सकिन्छ तिनैमाथि न शासन गरिन्छ। जहिले पनि कमजोर र गरिबले नै त हो सजाय पाउने ! अन्तर्जातीय प्रेमविवाह दुवैको सहमतिमै गरेको किन नहोस्, आखिर मृत्युको मुखमा पुग्ने दलित नै हुन्छन्, चाहे युवक हुन् वा युवती ! अजित र सबी त प्रतिनिधि पात्रमात्र हुन्।समाजभित्र लुकेर बसेका यस्ता घटना कति छन् कति ?अन्तर्जातीय विवाह गरेकै कारण यसरी ज्यान नै गुमाउनुपर्ला भन्ने न अजितलाई थाह थियो न त सबीलाई। यदि थाहा हुन्थ्यो भने कहिले अन्तर्जातीय प्रेम गर्ने दुस्साहस गर्ने थिएनन् होला यो मानवता हराएको समाजमा। फेरि पनि प्रश्न गर्न मन लाग्छ– अन्तर्जातीय प्रेम वा विवाहमा दलित नै किन मारिन्छन् ?

प्रकाशित: २९ वैशाख २०७६ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App