२७ श्रावण २०७७ मंगलबार
विचार

सशंकित संरक्षणकर्मी

प्रमोद न्यौपाने

नेपाल सरकारले तदारुकताका साथ निर्माण गर्दै गरेको १,७९२ किमि लम्बाइको हुलाकी राजमार्गका विभिन्न खण्डमा सडक विभागको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत विभिन्न आयोजना कार्यालयले सडक निर्माण गर्दैछन्। यहाँ चर्चा गर्न लागिएको विषय भने नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने कर्णाली गेरुवा खोलामा निर्मित हालसम्मको लामो कोठियाघाट पुलदेखि पूर्वको झन्डै २.५ किमि वन क्षेत्रको हो जुन खाता जैविक मार्ग हो र जसको प्रयोग बाघ, गैँडा, जंगली हात्तीबाहेक अन्य २३ प्रजातिका वन्यजन्तुले प्रयोग गर्ने गरेको वैज्ञानिक अध्ययनहरूबाट पुष्टि भइसकेको छ।

खाता जैविक मार्ग घाँसे मैदान र नदी तटसमेत गरी झन्डै ८ हजार ४ सय हेक्टर वनक्षेत्रको समायोजन हो जुन झन्डै १३ किमि लम्बाइ र १ देखि ६ किमिसम्म चौडाइमा छ। यस जैविक मार्गको झन्डै २.५ किमि लम्बाइ छिचोल्दै हुलाकी राजमार्ग अगाडि बढ्छ जसका कारण संरक्षणकर्मीहरू सशंकित छन्। र, हाल निर्माणाधीन सो सडकखण्डको दिगो व्यवस्थापनका निम्ति निरन्तर अन्तरक्रिया र गोष्ठीमा जुटिरहेका छन्। २०७५ फागुन १० गते बर्दिया सम्वाद समूहले बर्दियाका सबै सरोकारवालालाई खाता वन क्षेत्रमै निम्तो गरी सो जैविक मार्गमा हुलाकी राजमार्गले पार्ने सम्भावित खतरा न्यूनीकरण गर्नेबारे विमर्श गरायो।

सन् २०१४ देखि २०१६ सम्म डब्लुडब्लुएफले खाता वनक्षेत्रमा ४ गैँडामा रेडियो कोलार प्रविधि जडान गरी गरेको अध्ययनमा ती गैँडा तथा बाघ र हात्तीले २.५ किमि लम्बाइको यस वन क्षेत्रमध्ये जम्मा ५ सय ५६ मिटर मात्रै भूभागबाट कैयौँपटक सडक पार गरेको पाइयो। खाता वन क्षेत्रमा स्वचालित क्यामेराट्राप प्रविधिबाट गरिएको उक्त अध्ययनमा ३१ बाघले उक्त जैविक मार्ग प्रयोग गरेको देखियो। यसरी वन्यजन्तुले बारम्बार प्रयोग गर्ने गरेका मार्ग भएको हुँदा यस खण्डमा वन्यजन्तुमैत्री संरचना निर्माण गरी ओहोरदोहोर गर्न सहजीकरण गर्नुपर्ने निष्कर्षका साथ विभिन्न चरणमा सम्बन्धित निकायबीच पत्राचार पनि भए। तर हाल सडक निर्माण अन्तिम चरणमा रहेको त्यस भागमा त्यस्तो कुनै संरचनाको कल्पनासम्म गरिएको पाइँदैन। 

खाता वन क्षेत्रमा ५० भन्दा बढी सामुदायिक वन छन् भने वरपर ४ हजार ५ सयभन्दा बढी घरधुरी छन्। हुलाकी राजमार्ग सञ्चालनसँगै सो सडक क्षेत्रमा सवारीसाधनको चाप बढ्न गई दुर्घटनाबाट वन्यजन्तु मर्ने, बासस्थान संकुचन हुने, वन्यजन्तुले सहजै ओहोरदोहोर गर्न नपाउँदा नजिकैका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने आदिजस्ता नकारात्मक स्थिति सिर्जना हुनसक्ने भएकाले संरक्षणकर्मीहरूको चासो बढेको पाइन्छ।

ठूला स्तनधारी वन्यजन्तु र त्यसमा पनि स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक बाघको उपस्थिति हुनुले यस क्षेत्रको दिगो वैज्ञानिक व्यवस्थापन हुनु ज्यादै जरुरी देखिन्छ। यसका लागि सरकारले सार्वजनिक गर्ने चरणमा रहेको ’वन्यजन्तुमैत्री निर्माण निर्देशिका’ ले निर्दिष्ट गरेको सिद्धान्तका आधारमा वन्यजन्तुमैत्री दीर्घकालीन संरचना निर्माण गर्न सके नेपालले विश्वसामु वन्यजन्तु संरक्षणमा गरेका प्रतिबद्धताको द्योतकका रूपमा यस खाता जैविक मार्गको समेत प्रवद्र्धन हुने थियो।

नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने कर्णाली गेरुवा खोलामा निर्मित हालसम्मको लामो कोठियाघाट पुलदेखि पूर्व झन्डै २.५ किमि वन क्षेत्र खाता जैविक मार्ग हो जसको प्रयोग बाघ, गैँडा, जंगली हात्तीबाहेक अन्य २३ प्रजातिका वन्यजन्तुले गर्छन्। 

विगतमा नेपाल सरकारका संरक्षण तथा विकास निर्माण साझेदारहरू एकै समारोहमा उपस्थित भई दिगो व्यवस्थापनका लागि सहकार्य गर्ने प्रणाली खासै रहेको पाइँदैन। तथापि गत चैत ५ र ६ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डब्लुडब्लुएफ नेपालले संयुक्त रूपमा आयोजना गरेका ‘दिगो संरचना निर्माण प्रवद्र्धनात्मक गोष्ठी’ मा नेपालमा अब निर्माण हुने संरचनाहरू दीर्घकालीन हुनुपर्ने र यसले वातावरण तथा वन्यजन्तुहरूमा यथाशक्य न्यून प्रभाव पार्नेमा सबैको

जोड रह्यो जसले गर्दासंरक्षण र विकासप्रेमीहरूमा आशा सञ्चार गरेको छ।
वन्यजन्तुलाई देशको भूगोलले छेक्न नसक्ने तथा उनीहरूको निर्वाध विचरण गर्न पाउने अधिकारमा बाधा नपुगोस् भन्ने हेतुले भौतिक संरचनाहरू निर्माण हुनु अत्यावश्यक छ। यसका लागि वैज्ञानिक अध्ययनहरूको निरन्तरता गर्ने, खोज÷अनुसन्धानले निर्देश गरेका उपायप्रति सजग रही संरचना निर्माण एवम् सुधार गर्ने, छिमेकी तथा अन्य मुलुकले भोगिसकेका पाठ अनुशरण गर्दै भविष्यको दिशानिर्देश गर्ने आदि गर्नुपर्छ। विकास निर्माणसँगै संरक्षण हासिल गर्न एक्लाएक्लै गरिने प्रयासले खासै मान्यता नराख्ने भएकाले सबैभन्दा अचुक उपाय भनेको विकास निर्माण र संरक्षण साझेदारहरूको समन्वय र सहकार्यले नै हो।
यस खाता जैविक मार्गको हकमा सडक विभागले विशेष व्यवस्था गरी हुलाकी राजमार्गलाई चिरस्थायी एवम् वन्यजन्तुको सहज ओहोरदोहोर गर्ने संरचना बनाइ वन्यजन्तुमैत्री बनाउन पहल गर्नुपर्ने देखिन्छ। यसो गर्दा मानव–वन्यजन्तुको सहअस्तित्व कायम राख्दै दिगो विकासका निम्ति नेपाल सरकार कटिबद्ध रहेको सन्देश विश्वसामु प्रस्तुत गर्न सकिन्छ। र, सोही वनक्षेत्रमा निहित रही जीवनयापन गर्दै आएका मानिस तथा वन्यजन्तुप्रति न्याय गरेको ठहरिनाका साथै २४औँ वन्यजन्तु सप्ताह २०७६ (वैशाख १–७) को मूल नारा ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ को मर्म साकार हुनेछ। 
(वरिष्ठ कार्यक्रम अधिकृत (पूर्वाधार), डब्लुडब्लुएफ नेपाल)

प्रकाशित: ४ वैशाख २०७६ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App