२३ असार २०७७ मंगलबार
विचार

यसरी हाँसे कालभैरव

काठमाडौँको हनुमानढोका नजिकै वसन्तपुरमा एउटा विशाल मूर्ति छ, कालभैरवको। सयौँ वर्ष अघिदेखि नै त्यहाँ विशिष्ट पदाधिकारीहरूलाई शपथग्रहण गराउने चलन रहेछ। त्यहाँ पुगेपछि घोर पापीसमेत डराउँथे भन्छन्, बूढापाकाहरू। जंगी, निजामती र प्रहरीका ठालुहरूले पनि कालभैरवलाई सर्वेसर्वा ठान्थे। त्यसबेलाको धार्मिक समाजमा कालभैरव देवता मात्र थिएनन्, अख्तियार दुरुपयोग रोक्ने मनोवैज्ञानिक शक्ति थिए। त्यहाँ गएर असत्य बोल्नेहरू रगत छाँदेर मर्छन् भन्ने जनविश्वास थियो।

एउटा हुल्याहा रहेछ, असनतिर घर भएको। बलात्कार, लुटपाट, चोरी जे पनि गर्ने भएकाले ऊ सहरमा कुख्यात थियो। अहिले जस्तो हो भने धेरै रकम चोरेर कुनै पार्टीलाई चन्दा दिएपछि ‘समानुपातिक’ कोटामा सांसद पनि बन्थ्यो होला। तर त्यो बेलाको सभ्य समाजमा असभ्य, अभद्र, अशिष्ट र अपराधीलाई समाजमा टिक्न गाह्रो थियो।

भीडतन्त्रमा विश्वास गर्ने बाउचाहरू ठान्दा हुन्, सत्यवादीका कुरा हावामा बिलाउँछ। बिलाउँदैन, हराउँदैन र मासिँदैन सत्य।

एकदिन एउटा घरमा पसेर महिलालाई बलात्कार गर्न खोज्दा त्यो हुल्याहा पक्राउ परेछ। धनी बाबुको एक्लो छोरो थियो ऊ। बाबु मरिसकेका थिए। घरमा आमा मात्र थिइन्। घर अगाडिबाट हत्कडी लगाएर केरकारका लागि कालभैरवको मूर्ति छेउमा लैजाने बेलामा उसले आमासँग भेट्ने इच्छा गर्‍यो। उसलाई आमा भेट्ने अनुमति दिइयो। ऊ एक्लै आमा भेट्न कोठामा गयो। सुरक्षाकर्मीहरू सडकमै बसे। छोरो पक्राउ परेको खबर सुनेर आमा रोइरहेकी थिइन्।
“आमा, आमा ! मलाई कालभैरवको मूर्तिमा लगेर बयान लिने भएका छन्। तिम्रो दूध चुसेर गएँ भने मुद्दा जितेर म साँझसम्म घर फर्किन्छु।” छोरो बोल्यो। आमाले छक्क पर्दै दुःखी स्वरमा भनिन्, “कुकर्म गर्न छोड्दैनस् मोरा। मुद्दा जित्छस् भने मेरो दूध चुसेर जा त बाउचा। के गर्नु तेरो माया लाग्छ।” बाउचाले सानो दूधे बालकले झैँ आमाको दूध चुस्यो र सरासर सडकमा गयो।

सरकारी कर्मचारीहरू निर्धारित समयमा कालभैरवको मूर्ति सामुन्ने भेला भइसकेका थिए। सरोकारवालाहरूले बाउचाको बयान लिन थाले। सबै अब के होला भनेर उत्सुक थिए। “तिमीले एउटी महिलालाई हिजो बलात्कार गर्न खोज्यौ भन्ने उजुरी परेको छ। देवताका छेउमा झुटो बोल्यौ भने रगत छादेर मर्छौ। लौ सत्य सत्य भन, कुरा के हो ?” बाउचाले बलात्कार गर्न खोजेको साबिती बयान दिन्छ र ऊमाथि कडा कारबाही हुन्छ भन्ने विश्वास थियो, सबैमा। जब बाउचा बयान दिन थाल्यो, तब सबैजना छक्क परे।

निर्भीकतापूर्वक ऊ बोल्यो, “श्रीमान्, म बाबु नभएको टुहुरो, घरमा आमा मात्र छिन् भनेर जे पायो त्यही आरोप लगाउन मिल्छ र ! मेरो सहारा भगवान् हुनुहुन्छ। साक्षात् कालभैरव देवताको कसम खाएर भन्छु, ‘आमाको दूध चुसेको बेलादेखि अहिलेसम्म मैले आमाबाहेक अरू कुनै नारीलाई छोएको पनि छैन। हे भगवान्, सत्य भन्दैछु।’

न्याय–निरूपण गर्न बसेका सबै जनाले आपसमा मुखामुख गरे। देवताको मन्दिर, त्यो पनि कालभैरवको स्थानमा उभिएर केटाले साहसपूर्वक बोल्यो, पक्कै पनि यो केटो निर्दोष हुनुपर्छ। सबैले त्यही सोचे। ऊमाथि लागेको अभियोग प्रमाणित हुन सकेन। “आमाको दूध चुसेको बेलादेखि अहिलेसम्म मैले आमाबाहेक अरू कुनै नारीलाई छोएको पनि छैन” भनेर आफू निर्दोष भएको दाबी गरेपछि बाउचा रिहा भयो। उसको जुक्तिले काम गर्‍यो।

यो सबै दृश्य घटनाक्रम देखेका अन्तर्यामी कालभैरवले अब हाँसो थाम्न सकेनन्। उनी मज्जाले हाँसे, दाँत देखाएर। खित्का छोडेर हाँसे, कालभैरव। पहिले गम्भीर मुद्रामा थिए उनी। बाउचाले हँसायो उनलाई। काठमाडौँको लोककथा हो यो। त्यहाँ आज पनि हजारौँ भक्तजन पूजा गर्न जान्छन् र भगवान् हाँसेको मूर्ति जस्ताको तस्तै छँदै छ।

आज नेपाली राजनीतिमा थुप्रै त्यस्ता ‘बाउचाहरू’ देखिएका छन्। मज्जाले ढाँट्छन्, मिलाएर ढाँट्छन्। असनमा आमाको स्तन चुसेर हनुमानढोका पुगेको बाउचाले आधा घन्टासम्म कुनै नारीलाई छोएन। त्यो पनि ‘सत्य’ थियो। मुद्दा जित्यो केटाले। हजारौँ अपराध गरेर आएका आधुनिक युगका बाउचाहरू हामीलाई त्यसरी नै ढाँटिरहेका छन्। हामी पत्याइरहेका छौँ।

गणतन्त्र नै प्रजातन्त्र हो भने ब्रिटेनको तन्त्र लोकतन्त्र वा प्रजातन्त्र हो कि होइन ? यस्तै, जापान, नर्वे, स्पेन, स्वीडेन, थाइल्याल्ड, बेल्जियम र नेदरल्यान्डस्लगायतका राजतन्त्रात्मक प्रणाली भएका राष्ट्रलाई लोकतन्त्रविरोधी भन्न मिल्छ ? विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्त गणतन्त्रात्मक राष्ट्रमा रोगी र धराशयी देखिएको छ।

प्रसिद्ध लेखक स्वेट मार्टिनले भनेका छन्, “असत्यलाई छलकपट र कुतर्कबाट सत्य साबित गर्न सकिँदैन। कसैले त्यसो गर्छ भने ऊ महामूर्ख ठहरिन्छ।” हुन नसक्ने ठूलठूला गफ र स्वैरकल्पनालाई ‘योजना’ भन्दै झुटो बोल्नेहरू निर्लज्ज छन्। सबै जनतालाई मूर्ख बनाउन सकिन्छ भन्ने भ्रममा छन्। पचासौँ वर्षदेखि राजनीति र कूटनीतिको सूक्ष्म अध्ययन गरिरहेका प्रकाण्ड विद्वान्हरूलाई समेत हेप्ने ‘हेपुवाटाइटिस’ रोगले ग्रस्त भएकाहरूले विश्व इतिहास र आजको अन्तर्राष्ट्रिय परिस्थिति बुझ्नै चाहेनन्। आजको पुस्तालाई ‘जोकर’ चाहिएको छैन, राष्ट्रको सच्चा नोकर चाहिएको छ। ‘म मालिक हुँ’ भन्ने अभिमान र तुजुकले कुनै पनि व्यक्ति महान् ठहरिँदैन। बाउचा प्रवृत्तिले त बदनाम मात्र गराउँछ।

२००७ सालपछि राजनीतिका नाममा कतिले ढाँटे, ढाँटे। धेरैजना निर्वस्त्र, निर्बल, निर्लज्ज, निरीह, निर्घिणी, निःशब्द र ‘निमकहराम’ ठहरिए। उनीहरू राजनीतिबाटै विलुप्त भए। २०४६ सालपछि झन्डै तीस वर्षसम्म कतिपय प्रवञ्चकहरू हामीलाई मानव अधिकार, प्रजातन्त्र र स्वतन्त्रताको प्रवचन दिइरहेका छन्। तर उनीहरूले नै विगतमा के गरे भन्ने कुरा बोल्न चाहँदैनन्।

२०२८ जेठ ३ गते झापा ज्यामिरगढीका कर्णबहादुर गौतमलाई ‘कम्युनिस्ट’ शैलीले मारियो। झापामा तेह्रजना निर्दोष किसान मारिए त्यसबेला। २०२९ वैशाख २६ गते सामान्य परिवारका सोझा कृषक बुटन चौधरी घरमै मारिए। सो घटनामा खड्गप्रसाद ओलीसहित केही व्यक्तिलाई २०३० चैत २३ गते अदालतले दण्ड–सजाय सुनायो। मार्न जानेहरूले सत्यनारायणको पूजामा पञ्चामृत खाएझैँ हत्केला–हत्केलामा बुटन चौधरीको रगत खाएको पुराना राजनीतिज्ञ तथा साहित्यकार गणेशबहादुर प्रसाईंले सुनाएका थिए। घटनामै सम्मिलित एकजना कम्युनिस्ट कार्यकर्ताले २०३५ सालतिर भनेका थिए, “अहिले सम्झिँदा पश्चात्ताप लाग्छ, सामन्तको रगत खाँदा कम्युनिस्टको शक्ति बढ्छ भनेर हामी सबैलाई बुटनको रगत खुवाइएको थियो।”

२०२९ असार २७ गते झापामै विष्णुप्रसाद बिमली र उनका नातेदार ईश्वरीप्रसाद चुँडाल काटिए। २०२९ मंसिर २३ गते उद्रकान्त राजवंशी काटिए। २०२९ पुस १० गते शनिश्चरे बजारबाट उत्तरमा पर्ने हात्तीकिल्ला गाउँमा पूर्वसांसद धर्मप्रसाद ढकाल र उनका माहिला छोरा ज्ञानी (ज्ञानेन्द्र) काटिए। ढकालको हत्यापछि प्रहरी–प्रशासनले सम्पूर्ण साधनस्रोत लगाएर नक्सलाइट आन्दोलन दबायो। सोही सिलसिलामा प्रहरीले झापाबाट इलाम जेल सार्ने भन्दै नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाललगायत पाँच जना ‘विद्रोही’ नेतालाई सुखानीमा लगेर मारेको थियो।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासका बारेमा धेरैले अतिरञ्जित कुरा लेखेका छन्। त्यो पनि बाउचाकै शैलीमा छ। २०१५ सालको प्रथम आमनिर्वाचनमा चार सिट मात्र जितेका कम्युनिस्टहरूको उपस्थिति २०१७ सालदेखि कोठे बैठक, पर्चा र पुस्तिकाहरूमा मात्र सीमित रह्यो। वामपन्थी र कांग्रेसी नेताहरूसँगको छलफलपछि राजा वीरेन्द्रबाट बहुदलीय व्यवस्थामाथिको प्रतिबन्ध फुकुवा भयो, २०४६ चैत २६ गते। त्यसपछि २०४७ सालको संविधान बन्यो, नेपाली कांग्रेसको नेतृत्वमा। संवैधानिक राजतन्त्र एवं संसदीय प्रजातन्त्र कांग्रेसको भविष्य हेर्ने दुई आँखा थिए। अभिमानको तातो झिरले आफ्ना दुवै नेत्र फुटायो कांग्रेसले। त्यसपछि कम्युनिस्टको मार्गचित्रमा ऊ लुरुलुरु हिँडिरहेको छ।

संवैधानिक राजतन्त्र र गणतन्त्र दुवैको पूजा गर्न खोज्दा एउटा दल “ययाति आत्मश्लाघाले स्वर्गबाट गिरे तल” भनेझैँ ‘घरको न घाटको’ बनेको छ। बाउचाले कालभैरवलाई हँसाएझैँ विभिन्न दलका बाउचाले जग हँसाइरहेका छन्। साम्यवाद र समाजवादमा अल्मलिएको छ, सत्तारूढ दल। गणतन्त्र भनेकै प्रजातन्त्र हो भनेर कम्युनिस्टले त ढाँटे, ढाँटे। कांग्रेस पनि आज त्यसरी नै ढाँट्दै छ।

गणतन्त्र नै प्रजातन्त्र हो भने ब्रिटेनको तन्त्र लोकतन्त्र वा प्रजातन्त्र हो कि होइन ? यस्तै, जापान, नर्वे, स्पेन, स्वीडेन, थाइल्याल्ड, बेल्जियम र नेदरल्यान्डस्लगायतका राजतन्त्रात्मक प्रणाली भएका राष्ट्रलाई लोकतन्त्रविरोधी भन्न मिल्छ ? विधिको शासन, मानव अधिकार, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्त गणतन्त्रात्मक राष्ट्रमा रोगी र धराशयी देखिएको छ। संवैधानिक राजतन्त्र एवं बहुदलीय प्रजातन्त्र भएका राष्ट्रहरू गणतन्त्रभन्दा सुखी, शान्त, सुरक्षित  समुन्नत र व्यवस्थित छन् भन्ने कुरा संयुक्त राष्ट्रसंघले नै स्वीकार गरेको छ। यस्तै संसारका दरिद्र, अशान्त, अव्यवस्थित र अविकसित राष्ट्रमा सबै गणतन्त्रवादी मात्र छन्, किन ? तर्क, प्रमाण, तथ्य, सत्य, विश्लेषण, विवेचना र मीमांसालाई कुल्चेर ५१ प्रतिशत (बहुमत) अंकगणितका बलमा ४९ प्रतिशत (अल्पमत)लाई असत्य, बबुरो, निराधार वा शक्तिहीन ठान्न मिल्दैन, तसर्थ, सत्यवादी एक्लो भए पनि सत्यमै हिँड्छ, हिँडिरहन्छ। झुटो बोलेर एउटा चुनाव जित्न सकिएला तर जनताको मन जित्न सकिँदैन।

नोबेल पुरस्कार विजेता साहित्यकार रविन्द्रनाथ टेगोर (ठाकुर) बंगाली गीताञ्जलीमा लेख्छन् “जोदी तोर डाक सुने केउ ना आसे, तोबे एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे।” (यदि तिम्रो आह्वान सुन्ने कोेही छैन भने एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड।) भीडतन्त्रमा विश्वास गर्ने बाउचाहरू ठान्दा हुन्, सत्यवादीका कुरा हावामा बिलाउँछ। बिलाउँदैन, हराउँदैन र मासिँदैन सत्य। ठगहरू परास्त हुन्छन् र सत्यवादीले नै एक दिन जित्छन्।

प्रकाशित: २० पुस २०७५ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App