१६ चैत्र २०८० शुक्रबार
विचार

जातभित्रको दुःखी जात

राणा शासनकालमा लिखित कानुन थिएन। राणाले जे बोल्थे, त्यो नै कानुन हुन्थ्यो। त्यस्तो समाजको परिवेशमा पनि त्यतिबेलाका युवायुवती अन्तरजातीय प्रेमविवाह  गर्थे। फलस्वरूप राणाकालीन कानुन र समाजले ती विवाहित जोडीलाइ सामाजिक, आर्थिक, राजनीतिक तथा कानुनी सबैरूपले बहिष्कृत गथ्र्याे। जसले गर्दा तिनीहरूलाई दासत्वको जिन्दगी जिउन बाध्य पारिन्थ्यो र समाजबाट अलग्याइन्थ्यो।

साथै सजायस्वरूप अछूतो व्यवहार गरिन्थ्यो। पछि आएर ती अन्तरजातीय विवाह गर्ने जोडी संगठित हुन पुगे। यसरी संगठित हुने क्रममा यिनीहरूको एउटा समुदाय नै बन्यो। जसको नाम सरबरिया रह्यो। सरबरिया आफैँमा एउटा समुदाय र जाति हो। तर समाजले अछूतको व्यवहार गर्नुको मुख्य कारण यो थियो कि उनीहरू आफूसँग घुलमिल नहोउन्।

नेपाली शब्दकोशअनुसार ‘सरोवर’ को अर्थ हुन्छ– ‘समुन्द्र’ जसरी एउटा समुन्द्रमा विभिन्न ठाउँको पानी आएर थुप्रन्छ, ठीक त्यस्तै सरवरिया जातिमा विभिन्न वर्ग, समुदाय, तथा जातजातिका मानिस पाइन्छन्। जस्तै– यादव,  कायस्थ, साह, राउत, पासवान, सदा, महतो, गुप्ता, थारू, दनुवार, कार्की, मगर, दास, मुस्लिम इत्यादि। यसरी हेर्दा सरबरिया विभिन्न जातजातिको साझा फूलबारी हो भन्दा पनि फरक पर्दैन।

सोझो अर्थमा भन्दा यो जातको उत्पत्ति नै वैवाहिक सम्बन्धका कारणबाट भएको हो। खासगरी महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापामा यो जातिको बसोबास पाइन्छ। पूर्व सप्तरी, सुनसरी, मोरङ र झापातिर बस्नेले सरबरिया मण्डल तथा मण्डल सरबरिया लेख्ने गर्छन्। खासमा यिनीहरूको वास्तविक थर भनेको सरबरिया (मण्डल) नै हो।
 
मानौँ, दनुवार केटाले पासवान केटीसँग विवाह ग¥यो। यस्तो अवस्थामा केटा पक्षले यसलाई आफ्नो मान्दैनथ्यो। त्यसैगरी केटी पक्षले पनि आफ्नो जातमा स्वीकार्दैनथ्यो। त्यसैगरी यादव केटाले अन्य जातिसँग विवाह गर्दा त्यों केटा यादव जातबाट निकालिन्थ्यो भने केटी पक्षकाले पनि अपनाउँदैनथ्यो। त्यसैले यी सबैको आश्रयस्थल भनौँ वा समुदाय हो सरबरिया। त्यसैले यो जातिलाई जातभित्रको जाति भनिएको हो।

यसरी विवाहका कारण अछूतको व्यवहार गरिएकाहरूको समुदाय सरबरिया निकै पछाडि पारिएको छ, हरकुरामा। न राज्यले यो समुदायलाई केन्द्रित गरी कुनै विशेष कार्यक्रम चलाएको छ न त अरु कुनै संघ÷संस्थाले नै दिनुपर्ने जति प्राथमिकता दिएका छन्। यतिसम्म कि सरकारी जनगणनाले समेत यो समुदायको गणना गर्न आवश्यक ठानेन।

नेपालमा खासगरी संविधानसभाको चुनावपछि आफ्नो इतिहास र पहिचानका लागि सबैतिरबाट आवाज उठिरहेको छ। समानता र समावेशिताका कुरा जोडतोडले उठिरहेको छ। तर खोइ यिनीहरूलाई राज्यले समेट्न सकेको ? सुनसरीमा सबैभन्दा बढी बसोबास भएको यो समुदाय राज्यकै कारण पछि पारिए पनि अहिलेसम्म कसैको नजरमा पर्न नसक्नु ठूला विडम्बनायुक्त वास्तविकता हो।

एक वर्षअघिमात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा मुलुकभरबाट ३५०४१ जनप्रतिनिधि चुनिए। विडम्बना नै भन्नुपर्छ, यसरी चुनिनेमध्ये नेपालभर सरबरिया एकजनामात्र थिए– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट राजकुमारी सरबरिया। त्यो पनि वडा सदस्यमा। पछि कार्यपालिका सदस्यसम्म भइन्। निर्वाचनको यही परिणाम काफी छ कि सरबरिया एउटा बहिष्कृत, सीमान्तकृतहरूको समुदाय हो। तर पनि यो वास्तविकतातर्फ ध्यान भने कसैको नपुग्नु दुःखद छ।

प्रकाशित: २० मंसिर २०७५ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App