१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १०:५२ पूर्वाह्न
विचार

फाल्गुनन्दको योगदान

किरात धर्म दर्शनका पुनर्संस्थापक महागुरू फाल्गुनन्द मुहिगुमआङ्सिमाङको जन्म वि. सं.१९४२ कात्तिक २५ गते आइतबारका दिन इलामको इभाङ चुक्चिनाम्वा डाँडागाउँ चारखोलामा भएको थियो । जुन हाल माङ्सेबुङ गाउँपालिकाभित्र पर्छ।

किरात याक्थुङ लिम्बू जातिमध्ये सेत्छेने सेनिहाङ लिङ्देन कुलवंशका पिता जगनबाज माता हंसमती बेघाको कोखमा धेरै नानी जन्मँदै मर्दै खेर गइरहेकाले पुत्र÷पुत्री शोकबाट विह्वल भएका बुबा/मुमा दुःख हैरानीले दिक्क थिए । यो बालक पनि नबाँच्ने होला भन्ने शंकामा रहेका उनीहरू नवशिशु लामो समयसम्म जीवित रहेकाले निकै खुसी भए । तर आमाको स्तनमा खटिरा निस्केकाले आमाको दूधको बदला कालो बाख्राको दूध पिलाएर बचाउने काम भयो । त्यही खटिरा मृत्युको कारक बनेर केही दिनमै आमाको देहावसान भयो । त्यसपछि नवशिशु दीनहीन दुःखमयी भई टुहुरा हुन पुगे । ती बालकको ज्योतिषनाम नरधोज रहन गयो । बुबाले दोस्रो विवाह गरे । यसरी टुहुरो बालक विमाताको साथमा हुर्कनुप-यो।

आत्माज्ञानपश्चात अहिंसा, सत्य, दया, शान्ति र करुणामयी शंखनादले शंखघोष गर्दै विश्व चराचर जगतका पशुप्राणी जीव रक्षा एवं विश्व शान्ति र मानव एकताको सन्देश माङ्इङघङ महावाणी देववाणी दिनुभयो।

एकान्तप्रेमी, ध्यानी, ज्ञानी, तपस्वी, शान्ति, दया, अहिंसा र सत्यप्रेमी नवशिशुको प्रभाव, आहार, बिहार, विचार र व्यवहारले ज्ञानका भोकले वैरागिएका आत्मा ज्योतिको पराकाष्ठामा एकदिन बिमारले थला परिबसेका बालक मध्यरातमा एक्कासि जुरुक्क उठेर दिव्यपुरूषसँगै अल्पिए । अदृष्यरूपी सिद्धिशक्तिका संवाहक उनै परामात्मा परमेश्वर तागेरा निङ्वाभुमाङको प्रत्यक्ष दर्शन इलाम महमाई, बाँझो, इभाङ, दानावारी, जीतपुर गरी पाँच गाविसबीच देवमाई र माई संगमस्थल फुल्लुङ्गी दोभानमा आत्माज्ञान बोध भयो।

आत्मासाक्षात्कार पाएका बालकको ज्ञानशक्ति, चेतनशक्ति, दिव्यशक्ति फरक मात्रामा परिवर्तित प्रस्तुतिले ध्यान, ज्ञान, जप, तप, शिक्षा, दीक्षामा एकाएक परिवर्तन हुँदै साधनाले महान् योगी, तपस्वी, ब्रह्मज्ञानी, माङधककुधकका रूपमा महासमाधि महाज्ञान प्राप्त गरी सत्यको महाराजाले उद्वोधन हुनुभई सत्यहाङ्मा साधु संज्ञाले सम्बोधित हुन पुग्नुभयो । आत्माज्ञानपश्चात अहिंसा, सत्य, दया, शान्ति र करूणामयी शंखनादले शंखघोष गर्दै विश्व चराचर जगतका पशुप्राणी जीव रक्षा एवं विश्व शान्ति र मानव एकताको सन्देश माङ्इङघङ महावाणी देववाणी दिनुभयो।

संयोगवंश पल्टनिया दाजु भेट्न गएका फलामसिंलाई ललाइफकाइ ब्रिटिस सेनामा भर्ना गराई सन् १९१४ दोस्रो विश्वयुद्धमा होमिएका ध्यानी हवल्दारसम्म भएका पल्टन परित्याग गरी देश, समाज र मूलतः किरात जनजातिहरूको हराइरहेको मुन्धुम, धर्म, भाषा, लिपि, संस्कार, इतिहास भेषभूषा, गरगहनाको खोज, संकलन, अनुसन्धानमा आजीवन चिन्तन मनन गरी लाग्नुभयो । दोस्रो विश्वयुद्धताका लडाइँमा बन्दूक दुश्मन पक्ष नहानी आकास कि पातालमा मात्र ब्लाइन्ड फायर गोली हान्न आदेश दिने फाल्गुनन्दको अहिंसाप्रतिको देन, विशिष्टता कतिको उचाइ र शिखरमा थियो भन्ने स्वतः स्पष्ट हुन्छ।

जन्मभूमि–चुक्चिनाम्बा, ज्ञानभूमि–फुल्लुङ्गी खत्रक्पा, कर्मभूमि–पाँचथरको लोब्रे–सिलौटी, तीर्थभूमि–कुम्भकर्ण, यी ४ क्षेत्रलाई उपयोगमा ल्याउन र समाज सुधार गर्न वि.सं. १९८८ वैशाख २४ गते १७ थुम १० लिम्बूवानको बृहत् किरात धर्म चुम्लुङगरी ७ बुँदे लिखित सत्यधर्म मुचुल्का खडागरी जन्ममा न्वारन, यौवनमा विवाह, मरणमा अन्त्येष्टिमा बली पूजा निषेध, आहारमा मदमंस प्रतिबन्ध, छोरी चेलीको सोतरीत नलिने, स्त्री जातिमा रजस्वला पानी बार्ने, माङ्हिम र निसामहिम विद्यालय बनाउने, संस्कारगत संस्कृति पालना गर्ने काजकिरिया बार्ने, सुतक–मृतक बार्ने, सुद्ध पिण्डमात्र चढाउने, खाँडी कपडा बुन्ने कपास उत्पादन गर्ने आदि मानव जीवनमा वरण गरिने सम्पूर्ण कर्म संस्कारको समयसापेक्ष एकीकृत गराई तत्कालीन शासनकालमा एउटा पृथक सामाजिक क्रान्तिस्वरूप महान् कार्य गर्नुभयो । कालान्तरमा यो ७ वुँदे सत्यधर्म मुचुल्कालाई १० बुँदाका रूपमा विकसित गराइयो।

सोही ठाउँमा श्रीशूल रोप्ने, यज्ञमण्डप निर्माण गरी सिलौटीको नाम्फुनयक माङ्हिम, साङ्सेनवरक माङहिम लब्रे र १७ थुम गोश्वारी माङ्हिम यही हातामा स्थापना गर्नुभयो । विश्व शान्ति र मानव एकताका प्रतीकरूपी त्रिशूल गाड्नुभएको अलौकिक शक्तिविम्ब सिलौटी कुटीमा अद्यावधि छँदैछ।

प्रकाशित: २५ कार्तिक २०७५ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App