१७ जेष्ठ २०७७ शनिबार
विचार

अल्पमतमा स्वतन्त्र लेखनवृत्ति !

यस आलेखलाई न्याय तथा कानुनी परिसरमा देखापरेका स्वतन्त्र लेखनवृत्तिको समस्यामा सीमित राखेर प्रस्तुत गर्ने कोसिस गरिएको छ । एउटा लेखले समाजका सबै पाटामा समान प्रभाव पार्न सकेको हुनेछ भन्ने परिकल्पना यहाँ गरिएको छैन।

पत्रकारिता र वकालत पेसा पनि अपनाइरहेका अनन्त लुइँटेलले ‘न्यायाधीशविरुद्ध लेख्ने भन्दै एकजना श्रीमान्ले हालै मेरोविरुद्ध कड्किनु भएछ । मेरो फेसबुक जवाफ– ‘न्यायालयको स्वतन्त्रताका लागि मेरो कलम दुई दशक अघिदेखि नै निरन्तर छ, रहिरहनेछ ।’ भनेर एक सन्देश २०७५ भदौ २२ को फेसबुकमा राखेका छन् । लेखकको हैसियतमा निजले गलत नै लेखेका रहेछन् भने त्यसलाई सम्बद्ध पत्रिकामार्फत खण्डन लेखेर पठाउन सकिन्छ । कसैको गाली–बेइज्जती गरेको लागेमा तत्सम्बन्धमा मुद्दा चलाउन सकिन्छ । अदालतकै अपहेलना हुनेगरी लेखिएको रहेछ भने अदालतको अपहेलनामा मुद्दा हाल्न सकिन्छ, तर पर्दापछाडि लेखकविरुद्ध बोल्ने कामलाई कदाचित नैतिक र बौद्धिक मान्न सकिन्न।

लेखहरू त्यसमा पनि स्वतन्त्र न्यायपालिकाको हकहितमा खुलेर लेख्न त्यति सजिलो छैन । खेताला लेखक लगाएर यस्ता लेख लेख्न सम्भव छैन । हाकिमप्रथामा भजन गाउने प्रयोजनमा कुनै खेताला लेखकलाई पर्दापछाडि राखेर आफ्नो नाममा लेख लेख्न सकिएला, तर लेखको भाव र भाषाबाट यस्ता लेख आफैंले लेखेका हुन् वा अरु कसैलाई लेखाएका हुन् भनेर अनुमान गर्न कठिन हुँदैन । एकजना पूर्वप्रधान न्यायाधीशले प्रायः हिन्दी भाषामा भन्ने गरिएको भनाइलाई नेपालीमा रूपान्तरण गर्दा ‘को कति गहिराइमा छन् भनेर कसैले भनिरहनु पर्दैन’ भन्ने बुझिन्छ । लोकसेवा आयोगको प्रतिस्पर्धामा उत्तीर्ण भएर जागिरे हुँदै वा राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्त भएका व्यक्ति कुनै अर्को ग्रहबाट आएमा महामानव हुँदै होइनन् । न्याय तथा कानुनको साँघुरो परिसरमा धेरैले धेरैलाई चिनेका र बुझेका हुन्छन्, त्यसैले कसैको पनि आफ्नो हुर्मत खोलिने गरी दम्भचाहिँ गर्नु हुँदैन।

यसको अर्थ लेखक हुनुको परिचय बोकेका सबै व्यक्ति प्रशंसायोग्य नै हुन्छन् भनेर मानक तयार गर्नु हुँदैन । निःसन्देह लेखनवृत्तिमा विषयवस्तुप्रति अनभिज्ञता, चाकडी वा प्रशंसाको पुल बाँधेर आफ्नो दुनो सोझ्याउने र भयभित भएर लेखनमा कायरता देखिने सम्भावना रहँदैन भन्न सकिँदैन । यसका साथै लेखनमा मानवीय कमजोरी पनि देखिने सम्भावना रहन्छ, तर स्वतन्त्र र निष्पक्ष पाठकले यस्ता स्वार्थ र कमजोरीको सजिलै आँकलन गर्न सक्छन् । त्यस्ता लेखकप्रति लुकेर र ढुकेर नभई सार्वजनिक रूपमै खण्डन वा प्रतिक्रिया दिन सक्नुपर्छ । स्वतन्त्र लेखनवृत्तिको मानमर्दन गरेर लाभहानिको खेती गर्नुभन्दा लेखकसित साक्षात्कार गर्ने वा त्यसको औपचारिक खण्डन र प्रतिक्रिया दिन तयार हुने परम्परालाई राम्रो मानिन्छ।

स्वतन्त्र लेखनवृत्तिप्रति नकारात्मक सोच र प्रतिक्रिया राख्दै जानु भनेको बौद्धिक, वैचारिक तथा सैद्धान्तिक धरातल समाप्त पार्नु हो।

हामीले पाठकको मनोविज्ञानबारे पनि छलफल गर्नुपर्ने हुन्छ । लेख नपढीकनै अर्काको लैलैमा लागेर प्रतिक्रिया दिने व्यक्तिले लेखनवृत्तिमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । नवलेखकलाई यसले हतोत्साहित गर्न सक्छ । प्रत्येक व्यक्तिमा अनपेक्षित कमजोरी रहेकै हुन्छ । त्यसमा पनि आफूले लेख्न नसकेको पीडाले गर्दा पाठकको अन्तर्मनमा रहेको हीनभावनाको कारण अर्काको लेखनमा नकारात्मक प्रतिक्रिया दिँदा आत्मरतिको अनुभूति हुन्छ । यथार्थमा त्यस्तालाई लेखहरू मन नपरेकै चाहिँ हुँदैन, तर मन परेको भाव र कृतज्ञता व्यक्त गर्ने बौद्धिक संस्कार नभएको पृष्ठभूमिमा आफ्नो हीनभावना नदेखियोस् भनेर अर्काका लेखहरू उचित र स्तरीय नभएको भन्न पाउँदा मज्जा आउँछ । मनोविज्ञानअनुसार यसबाट त्यस्ता व्यक्तिमा पीडा र कुण्ठा झनै बढ्दै जान्छ । अन्ततः त्यस्ता व्यक्तिको सोच र व्यवहारमा नकारात्मक प्रवृत्ति बढिरहेको हुन्छ । भनिन्छ, त्यस्ताको आचरणले गर्दा निजहरूको पारिवारिक र सामाजिक सद्भावना भत्कँदै जाने सम्भावना रहन्छ । यस्ता व्यक्ति सिर्जनशील क्षमताबाट क्रमशः टाढिँदै जान्छन्।

न्याय तथा कानुनी परिसरमा स्थापित केही लेखकहरू अनपेक्षित रूपमा हराएका छन् । लेखकहरूमा वैचारिक र सैद्धान्तिक भिन्नता हुनसक्छ । तदनुरूप पाठकहरूको सोचमा पनि विविधता हुनसक्छ, तर तिनै भिन्नता र विविधताका कारण लेखकहरूले सुन्नु र भोग्नुपर्ने प्रतिक्रियाबाट डराएर लेखकहरू भाग्नु हुँदैन । कसैप्रति वैयक्तिक आरोप–प्रत्यारोप र प्रतिशोध साँध्ने सोचमा लेख लेखिनु हुँदैन । त्यसमा पनि वकालत पेसामा रहेर स्वतन्त्र न्यायपालिकाको पक्षधर भएर लेख्दा मुद्दाको सन्दर्भमा केही अनपेक्षित प्रतिफलको सम्भावना रहन्छ । सही र निष्पक्ष आलोचना सुन्न नचाहने पदाधिकारीको कार्यशैलीको पीडा लेखकहरूले भोग्नुपर्ने तीतो सत्यलाई इन्कार गर्न सकिँदैन । अरू देशमा पनि वकिलहरूले न्यायपालिकाका सम्बन्धमा लेख्न हिचकिचाइरहेका हुन्छन्, तर यस्ता लेखनमा स्थापित व्यक्तिहरू पनि पर्दापछाडि पटाक्षेप भइदिँदा स्वतन्त्र लेखनवृत्ति क्रमशः अल्पमतमा पुग्दैछ । अल्पमतविरुद्ध नकारात्मक मनोविज्ञान भएका पाठक र लेखकीय लक्ष्यभेदनमा परेका निकाय तथा पदाधिकारी बलियो बन्दै जानेछन् । यस्तोमा लेखकहरूप्रति वैचारिक र प्रतिशोधात्मक आक्रमण गर्न सहज हुन्छ । कुनै पनि मुलुकमा यसरी स्वतन्त्र लेखनवृत्तिप्रति नकारात्मक सोच र प्रतिक्रिया राख्दै जानु भनेको बौद्धिक, वैचारिक तथा सैद्धान्तिक धरातल समाप्त भएको मानिन्छ।

वर्तमान न्यायपालिकाको सन्दर्भमा लेख्दा राजनीतिक हस्तक्षेपबाट न्यायपालिकाको स्वतन्त्रता आक्रान्त भएको र राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्त भएकाजस्ता विषय अवश्य लेखिनुपर्ने हुन्छ । यो विषय धेरैलाई अपाच्य हुन्छ । त्यसमा पनि न्यायाधीश हुनुको विधिशास्त्र नबुझेका न्यायाधीशमा सहनशीलता, धैर्य र विवेकशील मनोविज्ञानको सधैँ अभाव नै रहेको हुन्छ । त्यसरी नै कति न्यायाधीशमा अध्ययनशील स्वभाव र प्रवृत्ति छैन भनेर भन्नुपर्दा निश्चय पनि दुःख लाग्छ । यी भनेका स्वतन्त्र, सक्षम, निष्पक्ष र निर्भीक हुनुपर्छ भनिएको न्यायपालिका मास्ने धमिरा हुन् । कसैले पनि नलेख्नु र नबोल्नु भनेको यस्ता गलत प्रवृत्तिलाई संवद्र्धन गर्नु हो । अदालत परिसरमा अनौपचारिक कुराकानीमा धेरै जना वकिल मित्रहरू न्यायपालिकामा रहेको विकृति र विसङ्गति सम्बन्धमा खुलेर बोल्ने गर्छन्, तर त्यसलाई अक्षरमा उतारेर लेख्न तयार हुँदैनन् । यसबाट त्यस्ता विकृति र विसङ्गतिलाई मलजल गरेको अर्थ लाग्नसक्छ, तसर्थ निष्पक्ष र स्वतन्त्र भएर लेख्न सबै बौद्धिक वर्ग तयार हुनुपर्छ । ‘एक थुकी सुकी, हजार थुकी नदी’ भन्ने उखान चरितार्थ गर्न विकृति र विसङ्गतिविरुद्ध लेख्न सबै तयार हुनुपर्छ, अन्यथा भावी पुस्तासित चार आँखा गर्न सक्षम हुनेछैनौँ।

निःसन्देह लेखनवृत्तिमा विषयवस्तुप्रति अनभिज्ञता, चाकडी वा प्रशंसाको पुल बाँधेर दुनो सोझ्याउने र भयभित भएर लेखनमा कायरता देखिने सम्भावना रहँदैन भन्न सकिँदैन । यसका साथै लेखनमा मानवीय कमजोरी पनि देखिने सम्भावना रहन्छ, तर स्वतन्त्र र निष्पक्ष पाठकले यस्ता स्वार्थ र कमजोरीको सजिलै आँकलन गर्न सक्छन्।

केही समयअघि नागरिक दैनिकमा प्रकाशित डा. सरोज धितालको एक लेखमा ‘जनताले नबोल्दा परिणति कस्तो हुनेछ’ भनेर विवेचना गरिएको छ । जनता, त्यसमा पनि बौद्धिक वर्गले बोल्दै नबोल्ने र लेख्दै नलेख्ने हो भने सामाजिक मनोविज्ञानमा नकारात्मक मनोवृत्ति स्थापित हुने र राज्यशक्ति जुनसुकै बहानामा निरङ्कुश बन्दै जाने सम्भावना रहन्छ । राज्यशक्ति निरङ्कुश हुनु भनेको प्रजातान्त्रिक मूल्य–मान्यता समाप्त हुनु हो । यसरी प्रजातान्त्रिक मूल्य–मान्यताकै अन्त भएमा स्वतन्त्र बौद्धिक वर्गको भविष्य निःसन्देह राम्रो हुनेछैन । बौद्धिक वर्गलाई दासवृत्तिमा रूपान्तरण गर्न राज्यशक्ति सफल भएमा त्यस देशमा स्वतन्त्र अध्ययन र अनुसन्धान सम्भव हुँदैन । आजको एक्काइसौँ शताब्दीमा पनि हामी कोरा बुद्धिजीवी भएर बाँच्नुको अर्थ ‘नबाँच्नु’ बराबर मानिन्छ।

गत असोज ९ गते रवीन्द्र भट्टराईले ‘लेख्ने किन र लेखेर हुन्छ के नै’ भनेर सामाजिक सञ्जाल फेसबुकमा सन्देश सार्वजनिक गरेका थिए । मसित पनि व्यक्तिगत रूपमा केही मित्रले नेपालमा लेख्नुको कुनै अर्थ छैन भनेर सुझाएका हुन् । लेखनलाई तीर हानेर लक्ष्यभेदन गर्न खोजिएको अर्थमा लिनु हुँदैन । लेखन भनेको सामाजिक सचेतना अभिवृद्धि गर्ने महाअभियान हो । प्रकाशित लेख सार्वजनिक सम्पत्ति मानिन्छ । यसले देशको लामो इतिहाससम्म वैचारिक र सैद्धान्तिक धरोहरको हैसियतमा काम गरिरहेको हुन्छ । कति लेखहरू कालजयी हुन्छन् । यसले इतिहासलाई कोल्टो फेरिने कालखण्डमा पुर्याएका हुन्छन् । तसर्थ सकिन्छ भने, कालजयी लेखहरू लेख्न लागिपर्नु राम्रो हुन्छ, तर यसो भनेर लेख्दै नलेखी विकृति र विसङ्गतिविरुद्ध हावादारी गफ गर्दै हिँड्नुचाहिँ कदाचित राम्रो मानिँदैन।

भट्टराईको सन्देश सम्बन्धमा तत्काल मैले आफ्नो प्रतिक्रिया यसरी दिएको थिएँ, “म यस सोचप्रति सहमत छैन । लेखन भनेको आत्मशाघा होइन । चेतना र विवेकलाई सार्वजनिक हितको लागि पस्कने काम भनेको नै लेखनवृत्ति हो । मलाई पनि थाहा छ, नेपालमा प्रायः स्वतन्त्र बौद्धिक लेखन धेरैले रुचाउँदैनन् । त्यसैले यसलाई शत्रु उत्पादन गर्ने कारखाना हो भन्ने गरेको छु । लेखनवृत्तिप्रति सकारात्मक सोच राख्ने व्यक्तिहरू पनि प्रशस्त पाइन्छन् । लेखन भनेको सिर्जना हो । मूलतः सिर्जना भनेको यसर्थ मातृत्वजन्य कार्य मानिन्छ, तसर्थ आमा हुनुको अर्थमा आफ्ना सन्तानलाई जन्म दिन इन्कार गर्नु कदाचित शोभनीय हुँदैन । लेखन क्षमता भनेको कसैबाट पाएको दान, बकस र पुरस्कार होइन । प्रकृतिले प्रदान गरेको आशीर्वादलाई बचाएर राख्न पनि लेख्न छाड्नु हुँदैन । लेखनवृत्ति भनेको फलको अपेक्षा नराखी गरिने निःस्वार्थ कर्म हो !”

मनोविज्ञानले मानव मन र मस्तिष्कलाई सफा कागजका रूपमा परिभाषा गर्ने गर्छ । यसलाई सधैँ सफा राख्न नसक्दा मन र मस्तिष्कमा नकारात्मक तरङ्ग आइरहन्छ । यस्तो मनोवृत्ति भएका व्यक्तिको व्यवहारबाट व्यक्ति, परिवार, समाज तथा राष्ट्रले पीडा भोग्नु परिरहेको हुन्छ । तसर्थ यस्ता व्यक्तिको बहुमतलाई पराजित गर्न स्वतन्त्र बौद्धिक वर्ग लेखन कार्यमा लाग्नु श्रेयष्कर हुनेछ । स्मरण रहोस्, सिर्जनाशीलताले व्यक्तिमा नकारात्मक सोच जन्मन दिँदैन । यस्तो बौद्धिक संस्कारले व्यक्तिलाई सधैँ सत्मार्गमा लाग्न उत्प्रेरित गरिरहेको हुन्छ । स्वतन्त्र लेखनवृत्तिको यस्तो सुखानुभूति सम्भवतः इतरलेखकले सायदै महसुस गर्न पाउँछन्!

प्रकाशित: १४ कार्तिक २०७५ ०९:२२ बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल