८ आश्विन २०७७ बिहीबार
विचार

न्यायाधीशको मनोविज्ञान!

केही दिनअघि उच्चअदालतका एकजना न्यायाधीशले ज्यान मुद्दामा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्अधिवक्तासित यस्तो भनाइ इजलासबाटै राखेछन्– ‘शंकरकुमारको पृष्ठभूमि भनेको मास्टरी हो, तसर्थ उसले न्यायको मर्म बुझेकै हुँदैन । पीडितशास्त्र सम्बन्धमा उसको खासै योगदान छैन, तापनि उसलाई धेरैले ‘हिरो’ बनाएका छन् !’निज न्यायाधीशले जापानको एक विश्वविद्यालयबाट पीडितशास्त्र सम्बन्धमा डिप्लोमा गरेका रहेछन् । सम्भवतः उनले त्यसलाई त्यसक्षेत्रमा ठूलै योगदान पु-याएको ठानेको हुनुपर्छ, तसर्थ निजको बारेमा थप चर्चा गर्नुको कुनै औचित्य छैन । निजको मूल्याङ्कन सही हुनसक्छ, तर पनि यतिचाहिँ भन्नैपर्ने हुन्छ, इजलासमा आसीन न्यायाधीशले आफूलाई धेरै जान्ने र बुझ्ने बनेर सबैले देखिने र बुझिनेगरी दम्भ गर्छन् भने उनी सामान्य नागरिकभन्दा धेरै तल्लो हैसियतका मानिन्छ । न्यायाधीश पद आफैँमा नित्तान्त दम्भरहित प्रकृतिको हुन्छ । पदमा, त्यो पनि इजलासमा बसेर दम्भ गरिन्छ भने निजमा न्यायाधीशमा हुने गुण छैन भनेर मान्नुपर्छ । यस्तोमा छिः भनिहाल्नचाहिँ हुँदैन।

विवाह भोजमा भेटिएका पछि प्रधानन्यायाधीशबाट सेवानिवृत्त एक न्यायाधीशले नमस्कार फर्काउन अनिच्छा देखाउँदै ‘तपाईँको नमस्कार किन फर्काउने? तपाईँजस्ता न्यायाधीश विरोधीको त सङ्गत नै गर्नुहुँदैन’ भने । मेरो सामान्य प्रतिक्रिया यस्तो थियो– ‘नमस्कार नफर्काएर मेरो केही बित्दैन तर मेरा लेखमा न्यायाधीश विरोधी भावना देख्ने व्यक्तिमा बौद्धिक हैसियत र निस्पक्षता ठ्याम्मै छैन भन्ने मेरो मान्यता हो । मेरो लेखको मर्म भनेको तपाईँजस्ता झिनामसिना व्यक्ति नभएर समग्रमा स्वतन्त्र न्यायपालिकाका लागि हो ।’ पछि ठट्टा गरेको भन्दै नमस्कार फर्काए । उनकै सवारी चालकको अगाडि यस्तो संवाद गर्नुपर्दा मलाई नमज्जा लागेको थियो । यसरी नै सडकमा भेटिएका तत्काल पुनरावेदन अदालतका एकजना न्यायाधीशले पनि उनको नजरमा ‘म न्यायाधीश विरोधी’ भएको हुँदा नमस्कार फर्काउन नचाहेको भनाइ राखेका थिए । स्वतन्त्र न्यायपालिकाका लागि बहस गरिँदा ‘न्यायाधीश विरोधी’ देख्ने धृतराष्ट्रबारे चर्चा गर्नुको कुनै अर्थ छैन । पूरा रामायण सुनिसकेपछि ‘राम सीताको जोई कि पोइ’ भन्ने जिज्ञासा राख्ने व्यक्तिले सम्भवतः मेरा लेख पढेकै हुँदैन् र यदि पढेको भए पनि बुझेकै हुँदैन। मेरो एक लेख पढिपछि फोनमा ‘आजबाट तपाईँप्रति मेरो श्रद्धा रहेन’ भन्ने न्यायाधीशले आपूmमा गलतफहमी रहेको कुरा पछि भेटमा सुनाएका थिए।

न्यायाधीशको मनोविज्ञानबारे अध्ययन–अनुसन्धान र खुलेर छलफल गरिनु हतार भइसकेको छ।

स्मरण रहोस्, मेरा कुनै पनि लेखमा न्यायालयमा भ्रष्टाचार छ र अमूक न्यायाधीश भ्रष्ट छन् भनेर कहिले उल्लेख गरिएको हुँदैन, तथापि व्यवहारमा यस्ता तीतोअनभुव धेरै भोगिएको छ । माथिका केही दृष्टान्त किन प्रस्तुत गरिएको हो भने विदेशमा न्यायाधीशको मनोविज्ञान र आचरणआदिबारे धेरै अध्ययन र अनुसन्धान भएका छन् । त्यस्तो अध्ययनमा यस्ता नकारात्मक सोचका न्यायाधीश परेछन् भने कस्तो निष्कर्ष निकालिने होला भन्ने जिज्ञासाचाहिँ बाँकी नै छ। एउटा सन्दर्भ यहाँ उल्लेख गर्नैपर्ने हुन्छ–विदेशमा यस्तो अध्ययन–अनुसन्धान प्रायः वकालत पेसामा नरहेका विद्वान्बाट भएका छन् तर पेसामा रहेर स्वतन्त्र, सक्षम, निष्पक्ष र निर्भिक न्यायपालिकाको कुरा गर्दा ‘चोरको खुट्टा काट्’ भन्दा आफ्ना खुट्टा उचाल्ने व्यक्तिसित लेखनवृत्तिभन्दा आफूले प्रतिनिधित्व गरेका मुद्दामा प्रतिकूल प्रभाव पर्ने हो कि भन्ने तीतो अनुभवले कताकता सताइरहँदो रहेछ । यस्तोमा आपूm र पक्षभन्दा बढी ‘न्याय’ हारेको हुन्छ । यसरी न्याय हार्दा भने नमज्जा महसुस हुन्छ । चोरबाटोबाट भित्र पस्ने व्यक्तिका दम्भसित डराउने हो भने पेसा र लेखनवृत्ति कुनै गर्न भएन । उमेरको हिसाबले आठ–दश वर्ष अझैँ पेसा लम्बिन सक्ला तर यस्ता नकारात्मक सोच राख्नेव्यक्तिहरूका कारण न्याय मर्नसक्ने सम्भावना रहिरहन्छ । सम्भवतः विदेशमा पनि यस्तै मनोविज्ञान महसुस गरिएको हुँदा प्रायः पेसामा रहेका व्यक्तिले न्यायालय र न्यायाधीशबारे विरलै लेख्ने गर्छन्।

होवार्डलाई उनका साथीहरूले ‘न्यायाधीश’ (जज) उपनामबाट जिस्काउने गर्छन्। वास्तवमा उनी न्यायाधीश नै हुन् तर एउटा मुद्दाको सुनुवाइमा इजलासमा प्रयोग गर्ने काठको सानो मुङ्ग्रो (ग्याभल) जोडसित टेबलमा ठटाएर ‘दोषी’ भनेर चिच्याएपछि उनको यस्तो स्वभाव न्यायाधीशको आचरणअनुकूल नभएको अर्थमा उनलाई यस्तो उपनाम दिनुको साथै उनका साथीहरूले उनलाई प्रत्येक सामाजिक क्रियाकलापमा बहिष्कार गरेका थिए। त्यसरी नै पारिवारिक अदालतका न्यायाधीश लिजा गोस्र्यालाई सम्बन्ध विच्छेदको मुद्दा नदिइयोस् भनेर धेरैले माग गरेका यिए ।आफ्ना सम्बन्ध विच्छेद गरिएको पितासित राम्रा सम्बन्ध राख्न इन्कार गरेको भनाइमा उनले ९ देखि १४ वर्षका तीन नाबालकलाई कैदमा राख्न आदेश दिएका थिए जसको कारण एकजना बच्चा कारागारमा एक्लै आफ्नो जन्मदिन मनाउन बाध्य भएको थियो । यसरी न्यायाधीशको अन्तर्मनमा रहेको यस्ता अतिवादी नकारात्मक सोचको परिणामप्रति उनकै मित्र र समाजमा अन्य व्यक्तिले विरोध गर्दा रहेछन् भन्ने स्पष्ट भएको छ ।तसर्थ न्यायाधीशले नै इजलास बहिष्कार गरेको हाम्रो भोगाइको सार्थक अध्ययन हुनु जरुरी छ।

एकातिर न्यायाधीशको मनोविज्ञानबारे अध्ययन–अनुसन्धान गर्ने बौद्धिक हैसियत नहुनु र अर्कोतिर ‘न्याय मरेको’ सन्दर्भमा कुनै चर्चा–परिचर्चा नहुँदा न्यायाधीशको नियत र पक्षको नियतिको चेपुवा न्याय कताकता ‘फ्युजन’ बनेको पाइन्छ।

विदेशमा गरिएको एक अध्ययनमा न्यायाधीशमा नैतिकता, सामाजिकता र क्षमता हुनुपर्छ भनिएको छ । एक अर्को अध्ययनमा राम्रो न्यायाधीशमा व्यक्तित्व, नैतिक चरित्र, सात्विक बानीबेहोरा र सही पर्यवेक्षकीय क्षमता हुनुपर्छ भनिएको छ। त्यसरी नै १९२७, १९३७, १९३३ तथा १९५५ मा गरिएको तत्कालको विभिन्न अध्ययनमा न्यायाधीशमा स्वतन्त्रता, विश्वसनीयता, दयाभाव, आँट, मानवीय स्वभावसम्बन्धी अनुभव, परिपक्वता, लक्ष्यउन्मुख, विद्वता तथा सामाजिक कुशलताजस्ता गुण हुनुपर्छ भनिएको छ। १९९५को अध्ययनमा न्यायाधीशमा ‘सकारात्मकता’ र १०९९को अध्ययनमा ‘इच्छाशक्ति’ हुनुपर्छ भनिएको छ। २००१को अध्ययनमा निजमा ‘आग्रह–पूर्वाग्रह हुनुहुँदैन’ भनिएको छ । यस अतिरिक्त अध्ययनशीलता, लेखनकला, तार्किक विश्लेषण र सोभन्दा माथि मानवीय अनुभूतिजस्ता गुण न्यायाधीशमा हुनुपर्छ भनिएको छ । यसरी न्यायाधीशको मनोविज्ञान सम्बन्धमा यति धेरै अध्ययन र अनुसन्धान भएका छन् जसलाई यस संक्षिप्त आलेखभित्र समावेश गर्न असम्भव छ।

तर यसप्रकारको अध्ययन–अनुसन्धान नेपालमा भएको वा हुने गरेको पाइँदैन। मानौँ कुनै अर्को ग्रहबाट आएका प्राणीको हैसियतमा न्यायाधीशले आफूलाई सर्वज्ञ र पेसा वा सामाजिक सरोकारमा संलग्न मानव समुदायभन्दा भिन्न र महान् ठानेका पाइन्छन् । नेपाल आफैँमा सानो देश छ, झन् त्यसमा पनि न्याय तथा कानुनको परिसर धेरै नै साँघुरो छ, तसर्थ कुनै पनि न्यायाधीशले आफू महान् हुनुको दम्भ गर्नुको कुनै अर्थ छैन । इजलासमा बसेर न्यायसम्पादन गर्नुमा आफूलाई सीमित राख्ने न्यायाधीशले अदालत परिसरमा निजहरूबारे के–कस्ता संवाद हुने गर्छन् भनेर बुझ्न सकेका हुँदैनन्। केही दिनअघि विश्वनाथ उपाध्यायले भनेको हवाला दिँदै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले ‘९९ प्रतिशत न्यायाधीश र ९८ प्रतिशत वकिल भ्रष्ट छन्’ भनेको भनाइ एक राष्ट्रिय दैनिकमा छापिएको थियो। यसको कसैबाट कतै खण्डन भएको जानकारी छैन । एकभेटमा भण्डारीजीले ‘वकिलको हकमा ३ प्रतिशत घटाएर ९५ प्रतिशत गरिनुपर्छ’ भनेर विश्वनाथसित प्रस्ताव गरेको कुरा सुनाएका थिए । जिल्लादेखिकै तीतो अनुभव सुनाउँदै एकजना वरिष्ठ अधिवक्ताले अमूक न्यायाधीशको इजलासमा बहस गर्न जानु भनेको वकिलकै मानमर्दन होजस्तो लाग्छ भनेर सुनाए । यसबाट आफूहरूबारे यसरी संवाद हुँदोरहेछ भन्ने चेत न्यायाधीशमा भइदिए निजहरूको विवेक र विचारमा केही सकारात्मक बढोत्तरी हुन्छ कि भनेर अपेक्षा राख्न सकिन्छ।

अमूक न्यायाधीशको इजलासबाट सबै मुद्दा हारिएका छन् । मुद्दा हार्नुभन्दा न्याय मर्नुको चिन्ता गम्भीर हो। झापामा बाँचुन्जेल आमाको वास्ता नगर्ने एक्लो छोरालाई आमाको अन्त्येष्टिमा जाँदा गाउँलेले लखेटेको घटना सामाजिक सञ्जालमा छाएको थियो तर त्यसरी नै आमालाई मुद्दा गरेर दुःख दिने र घरमा मानसिक यातना दिइरहने एक्लो छोरालाई आमाले माइतीबाट पाएको सम्पत्ति अंश पाउने ठहराएर छोरालाई पुरस्कृत गरिँदा ‘न्याय’ मरेको ठहर पक्षले गरेको पाइन्छ । पछि जन्मेर आफ्नातर्फका पुर्खाको हकखाने व्यक्तिमा दरिएर बढेको संख्यालाई अन्य पुर्खाको सम्पत्तिमा बराबर हक लगाइँदा बाँचेका पुर्खाको हकमा ‘न्याय’ मरेको ठहर पक्षले गरेको छ । त्यसरी नै कान्छी पत्नी ल्याएर आफैँ अंशको दाबी गरेको अवस्थामा पहिलो पत्नी र निजबाट जन्मेको सन्तानको सम्पत्ति पनि कान्छी पत्नी र निजबाट जन्मेको सन्तानमा बन्डा गरिँदा ‘न्याय’ कहाँनिर परेको छ भनेर पक्षले सोध्ने गर्छन्। यसरी पनि ‘हुस्सु दण्ड’ निर्दोष पक्षले पाउँछन् भनेर कसलाई सुनाउनुपर्ने हो, थाहा छैन। ‘न्यायिक मन’ भनिने सन्दर्भ क्रमशः ठट्टाको विषय नबनोस्। फैसला भएको तर न्याय मरेका यस्ता धेरै दृष्टान्त हुन सक्छन् तर कानून व्यवसायी न्यायाधीशप्रति अन्यथाभावको व्यवहार गर्न चाहँदैनन् । न्याय मरेको विषयमा खुला छलफल गर्ने संस्कारको थालनी नभएसम्म पक्षले सहनुको अर्को कुनै विकल्प छैन। एकातिर न्यायाधीशको मनोविज्ञानबारे अध्ययन–अनुसन्धान गर्ने बौद्धिक हैसियत नहुनु र अर्कोतिर ‘न्याय मरेको’ सन्दर्भमा कुनै चर्चा–परिचर्चा नहुँदा न्यायाधीशको नियत र पक्षको नियतिको चेपुवा न्याय कताकता ‘फ्युजन’ बनेको पाइन्छ।

न्यायाधीशको आचरण, जीवनस्तर, कार्यशैली, सामाजिक उठ्बस्जस्ता विषय खुलाकिताब हुनुपर्छ। त्यसरी नै न्यायाधीशको आचरण सन्तको जस्तै हुनुपर्छ तर भाषण तथा अन्तर्वार्तामा अतिबजारीकरण हुन चाहने, विधिशास्त्र विपरीत ऐनको मस्यौदामा नेतृत्व गर्न चाहने, सम्पत्ति सार्वजनिक नगर्ने, गैरसरकारी संस्थाहरूको कार्यक्रममा रमाउनेजस्ता कतिपय विषयले नेपालमा पनि अब न्यायाधीशको मनोविज्ञानबारे अध्ययन–अनुसन्धान र खुलेर छलफल गरिनु हतार भइसकेको छ। न्यायाधीशलाई मर्यादाको हैसियतमा राखिन निजहरू आफैँमा सकारात्मक दृष्टान्त बनेर प्रस्तुत हुनुपर्छ, अन्यथा सर्वोच्च अदालतका एकजना न्यायाधीशले प्रस्तुत गरेको एक कार्यपत्रमा ‘न्यायाधीशलाई कुहिएको गोलभेँडा’ भनिएको दृष्टान्त पुष्ट्याइँ भएको मानिनेछ।

प्रकाशित: १८ भाद्र २०७५ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App