३१ श्रावण २०७७ शनिबार
विचार

पढाइ कि बुझाइ?

एसइईको रिजल्टले देशलाई नै खैलाबैला बनाएको छ। अझ परीक्षा नियन्त्रण कार्यालयको गल्तीका कारण विद्यार्थीले सुरुको दिनमा पाएको नतिजा धेरैको हेरफेर भएको छ । विद्यार्थी र अभिभावक दुवैलाई अन्यौलको अवस्था सिर्जना गरिदियो, यसपालिको नतिजाले।

कसले कति नम्बर ल्यायो, कुन ग्रेडमा आयो आदि आदि कुराका प्रश्न अहिले एसइई पास गरेका बच्चाहरूले भोग्नु परिरहेको समस्या हो । हुन पनि अन्य स्तरभन्दा यो एसइई सबैको चासोको विषय बन्दै आएको छ, अहिलेसम्म जसका कारण प्रश्न स्वाभाविक पनि हुन् । आजभन्दा दश वर्ष अगाडिसम्म कुन स्कुलले कतिजना बच्चा प्रथम श्रेणीमा पास गराउन सफल भए भनेर स्कुलको क्षमतालाई दाँजिन्थ्यो भने अहिले कति जनाले ए प्लस र बी प्लस ल्याए भनेर स्कुलको क्षमतालाई दाँजिदै छ । त्यही कुरा विद्यार्थीमा पनि लागु भएको छ । लामो समयदेखि हामीले आफ्नो सन्तानको क्षमता केवल पहिले एसएलसी र नाम फेरिएको अहिले एसइईमा ल्याउने ग्रेड या अंकमा जोखेका छौँ । यसले बालबालिकालाई सम्पूर्ण कुरा छोडेर कसरी धेरै अंक प्राप्त गर्न सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित गराएको छ  । प्रतिस्पर्धा क्षमतासँग होइन, अंकसँग हुँदै गएको छ । आमा बुबाले आफ्ना सन्तानलाई अरू बच्चाको उदहारण दिएर फलानोले ए प्लस ल्यायो, ढिस्कानाले ए प्लस ल्यायो, ए ल्यायो बी प्लस ल्यायो भन्दै पेलिरहेको अवस्था छ । हामीले बालबालिकाको क्षमतालाई केवल आउने अंकसँग मात्रै तुलना गर्न उचित हो कि होइन यो कुरा पनि जान्न आवश्यक छ।

हाम्रै अगाडि एसएलसीमा टपर भएका विद्यार्थीहरू अहिले बेरोजगार भएर खाडी मुलुकको तातो गर्मीमा बेल्चा उचाल्दैछन्, भने एसएलसी अर्थात् एसइईमा कम नम्बर ल्याएर राम्रो विषय पढ्न नपाएका विद्यार्थीहरू अहिले विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका उदहारण छन् । उनीहरूले नै ग्रेडमा या नम्बर बढी ल्याउनेलाई रोजगारी दिन सक्षम बनेका पनि छन्।

अबको शिक्षा ग्रेडमा तुलना गरिनु त्यति उचित होइन । हो यो एउटा पढाइको मापन गर्नेका लागि सही हो तर बुझाइको मापन यसले गर्न सक्दैन । विद्यार्थीको बुझाइलाई परीक्षामा आएका सीमित प्रश्नहरूले समेट्न सक्दैन । अहिलेका बालबालिकाले धेरै कुरा बुझेका छन् । आफ्नो भविष्य सहज बनाउन सक्ने बुझाइ हासिल गर्न सक्षम छन् तर त्यो अनुसारको वातावरण भने अभिभावक र गुरुहरूले बनाइदिनुपर्छ । पढाइ र बुझाइ फरक कुरा हुन् । एउटा व्यक्तिले समग्रमा कति बुझ्न सफल भयो भन्ने कुरा सोधेको एउटा प्रश्नको जवाफले थाहा हुन सक्दैन । हरेक व्यक्तिको बुझाइको स्तर फरक हुन्छ । विगतका दिनहरूमा एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण हुन नसकेर या फेल भएर आत्महत्या गरेका घटना हामीले देखे सुनेका हौँ । एसइईको सुरुवातपश्चात् पनि यस्ता घटना भए । कतिले घर छोडेर हिँडे भने कोही खाडीतिर भासिए । कतिले आफ्नै बाबुआमाबाट समेत यातना सहे, अपेक्षित नतिजा ल्याउन नसक्दा । नाम फेरियो हाम्रो सोच र पढाइ शैलीमा परिवर्तन आएन । तर अझै पनि अभिभावकले बुझ्न नसकेको कुरा भनेको आफ्नो सन्तानको क्षमता हो । कतिपयलाई किताब पढेर अंक बढी ल्याउँदैमा मेरो सन्तान सफल भयो भन्ने लाग्न सक्छ तर त्यो गलत हो।

परीक्षाको नतिजा आएदेखि नै हरेकले आफ्ना सन्तानले यो ग्रेड ल्यायो भन्दै फेसबुकभरि लेखेका छन् । परिवारको खुसी बाँड्नु राम्रो कुरा हो तर आफ्ना  सदस्यको खुसी सेयर गर्दा राम्रो ग्रेड ल्याउन नसक्ने बालबालिकाहरूलाई त्यसले आफूप्रति ग्लानि हुनसक्छ।

हुनत पछिल्लो समय अभिभावक केही सचेत भने नदेखिएका होइनन् । तर हाम्रो पहिलेदेखिको सोच र सर्टिफिकेटमा राम्रो नम्बर आयो भने राम्रो जागिर खान सकिन्छ भन्ने सोचाइले छोडिसकेको छैन । जागिरले मात्रै व्यक्तिको जिन्दगी सहज हुने होइन।

शिक्षा अति आवश्यक छ । किताबको ज्ञान र व्यावहारिक ज्ञान दुवै आवश्यक छ । अहिलेको समय जति सहज देखिए पनि बालबालिकाहरूलाई झनै गाह्रो छ । उच्च प्रतिस्पर्धाको समयमा किताबी नम्बर मात्रै पर्याप्त हुँदैन । हरेक कुरालाई बुझ्न सक्ने क्षमतावान् हुन आवश्यक छ । डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने होइन, जुनसुकै काम गरे पनि सफल हुन सक्ने बनाउनु पर्छ । त्यो खालको शिक्षा आजको आवश्यकता हो।

प्रकाशित: २० असार २०७५ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App