इन्टरनेटमा उपलब्ध असंख्य सूचनालाई प्रशोधन गरी व्यक्तिको कौतुहल मेटिने गरी जवाफ दिन हालै विकास गरिएको मानवरूपी कम्प्युटर ‘च्याटजिपिटी’ले सोधेको प्रश्नको जवाफ प्राय: ठिक दिने हुँदा यसका प्रयोगकर्ता बढे। मेहनत नगरी सहजै उत्तर पाउने अनि नि:शुल्क सुविधा उपलब्ध भएपछि च्याटजिपिटी संसारभर लोकप्रिय हुन पुग्यो।
विद्यार्थीले पाठको उत्तर पाउन यो कम्प्युटर संयन्त्रको अत्यधिक प्रयोग गरेका छन्। च्याटजिपिटीपछि दर्जनौं पुस्तक अध्ययन गरेर मात्र जवाफ लेख्ने अवस्थाको अन्त्य भएको छ। मिनटमै कम्प्युटरको सहारामा सहजै उत्तर पाउने भएपछि विद्यार्थीको मेहनत गर्ने बानी हरायो। विगतमा क्याल्कुलेटरको आविष्कार भएपछि गणितका क्लिष्ट प्रश्नको उत्तर खोज्न सहज भएझैँ ठानेका छन्– धेरै शिक्षाविद्हरूले च्याटजिपिटीको विकासलाई। पछिल्ला वर्षहरूमा सिकाइ विधिले नयाँ फड्को मार्ने आशा छ। दुई वर्षअघि मात्र प्रयोगमा आएको मेहनत नगरी सम्पूर्ण समस्याको समाधान खोजिदिने प्रविधिको प्रयोगले विद्यार्थीको दिमागलाई कस्तो असर पारेको छ त? भन्ने प्रश्नको विस्तृत उत्तर आउन केही समय कुर्नुपर्छ तर प्रारम्भिक नतिजा भने बाहिरिने क्रम जारी छ।
यसै महिना म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का अन्वेषणकर्ता नतालिया कोस्माइनाले नेतृत्व गरेको समूहले च्याटजिपिटीले व्यक्तिको बौद्धिक क्षमतालाई कसरी प्रभाव पार्छ भन्ने प्रारम्भिक नतिजा प्रकाशित गर्यो। सर्च इन्जिन ‘गुगल’ मा समेत अन्वेषण प्राध्यापक रहेकी डा. नतालियाले कृत्रिम बौद्धिक संयन्त्र, च्याटजिपिटीले विद्यार्थीहरूको दिमागी तागतलाई कमजोर पारेको देखिएपछि विषयको गम्भीरता बुझेर समकक्षी परीक्षण बिनै अनुसन्धान नतिजा सार्वजनिक गर्नुपरेको जानकारी गराइन्।
कक्षाको समस्या समाधान गर्न च्याटजिपिटीको सहारा लिने र जवाफका लागि प्रकाशित सूचना अध्ययन गरी स्वयंले निचोड लेख्ने बानी परेका दुई समूहको बौद्धिक क्षमताको परीक्षण गर्दा ठुलो खाडल देख्यो– डा. कोस्माइनाको समूहले। पुस्तक अध्ययनमा घोत्लिएर उत्तर खोज्ने विद्यार्थीको बौद्धिक शक्ति चुस्त देखियो भने जवाफको लागि कम्प्युटरको सहारा खोज्नेको स्मरण क्षमता मात्र कमजोर देखिएन बरु उनीहरू आफ्नो दायित्व निर्वाह गर्नसमेत अल्छी देखिए।
संलग्न समूहको दिमागी क्रियाशीलताको अध्ययन गर्न आधुनिक विधि इलेक्ट्रोइन्सेफेलोग्राफी (इइजी) को प्रयोग गरिएको थियो। अनि इइजीको तथ्यांक र व्यक्तिको विश्लेषण तागतबिच देखिएको समानताले एमआइटीबाट प्रकाशित उक्त आलेखलाई थप विश्वासिलो बनायो। च्याटजिपिटी प्रयोग गर्ने स्कुले विद्यार्थीमा सिक्ने कौतुहलतामा व्यापक गिरावट भएको देखायो। यसै वर्षको मार्चमा प्रकाशित एक फरक अध्ययनले च्याटजिपिटीमा लामो समय खर्चने मानिसले आफूलाई एकांकी महसुस गरेको पायो। अथवा यो आधुनिक विधिको प्रयोगलाई अविलम्ब नियन्त्रित नगर्ने हो भने व्यक्तिको बौद्धिक शक्ति कमजोर हुँदै असहाय महसुस गर्ने अनि अन्त्यमा दिमागी रोगको सिकार हुन सक्ने देखियो।
बच्चाको बढ्दो दिमागको जोखिम बुझ्न एक बहुचर्चित अध्ययनलाई स्मरण गरौं। बिरालाको छाउरोलाई एउटा आँखा पूरै छोपेर हुर्काउँदा उक्त आँखासँग जोडिएका मस्तिष्क कोस (न्युरोन)हरू पूरै सुकेका पाइयो भने अर्को आँखासँग सम्बन्धित दिमागी कोसहरू निकै गाँजिएको देखियो। हेर्न प्रयोग भएको आँखासँग जोडिएका न्युरोनसेलहरू फिँजारिनुमा आँखाको बाह्य परिदृश्यसँगको समागमको भूमिका देखियो। बिरालोको लागि बन्द आँखाको कुनै महत्व नभएकाले त्यससँग जोडिएका दिमागका कोसहरू मर्दै गए अनि अन्त्यमा नासिए। त्यही प्रयोग वयस्क बिरालोमा गर्दा बन्द गरिएको र खुला आँखासँग सम्बन्धित न्युरोनबिच खासै विभेद देखिएन।
बच्चाको दिमागी कोसहरू छिमेकको परिस्थिति अनुरूप परिमार्जन हुन्छन् भने वयस्क दिमागलाई बाह्य वातावरणले खासै फरक पारेको देखिएन। बच्चा अवस्थामा देखिएको दिमागी लचकतालाई न्युरोप्लास्टिसिटी भनिन्छ। बिरालोलाई ‘मोडेल’ जनावरको रूपमा प्रयोग गरी बच्चा र वयस्कको दिमाग समान हुँदैन र हुर्कंदो बालकको मस्तिष्कलाई बाह्य परिस्थितिले पार्ने ठुलो प्रभावको अन्वेषण गरेबापत वैज्ञानिकद्वय डेभिड हुबेल र टोर्सटेन वाइजेलले सन् १९८१ मा औषधि विज्ञानको नोबल पुरस्कार पाए। बच्चाको दिमागमा परेको छाप दीर्घकालीन रहने भएकाले बढ्दो उमेर समूहलाई हुर्काउँदा अत्यधिक ध्यान दिनुपर्ने नोबल पुरस्कार विजयी अन्वेषणको निचोड हो।
च्याटजिपिटी मात्र होइन जानी–नजानी बच्चाहरू विभिन्न प्रकारका इलेक्ट्रोनिक मेसिन र समाजिक सञ्जालको समिपमा पुगेका देखिन्छन्। नेसनल युनिभर्सिटी अफ सिंगापुरका अन्वेषणकर्ता यभलिन ल नेतृत्वको अनुसन्धान टोलीले सानैमा इलेक्ट्रोनिक मिडिया प्रयोग गर्ने बच्चालाई पछिल्लो समयमा पार्ने दिमागी असरबारे सन् २०२३ मा जर्नल ‘जामा पेडियाट्रिक्स’ मा एक लेख प्रकाशित गरे। एक वर्षभन्दा सानो उमेरमा टेलिभिजन, ट्याबलेट जस्ता साधन प्रयोग गरेका बच्चाहरूलाई नौ वर्ष पुगेपछि विभिन्न विधिमार्फत दिमागी परीक्षण गर्दा उनीहरूको स्मरण शक्ति, योजना बनाउने क्षमता, कामलाई प्राथमिकता दिने तागत जस्ता कार्यकारी क्षमतामा ह्रास आएको देखायो– उक्त अध्ययनले।
बच्चामा टेलिभिजन नदेखेकाको दिमागी तागत इलेक्ट्रोनिक्सको सामिप्यतामा हुर्किएका बालकको तुलनामा मजबुत देखियो। सानामा धेरै फोन हेर्ने बच्चा सफल नेतृत्वकर्ता हुन कठिन रहेको सन्देश दियो। आखिर इलेक्ट्रोनिक्सको प्रयोग किन हुर्कंदो दिमागको लागि हानिकारक छ त? १० वर्ष उमेर समूहका ४५ हजार बच्चामा गरिएको एमआरआई स्क्यानलाई परीक्षण गर्दा दैनिक सात घण्टाभन्दा अधिक आधुनिक सञ्चार उपकरण हेर्ने बच्चाको दिमागको कर्टेक्स पातलिएको देखियो। उमेर ढल्कँदै गएपछि मात्र पातलिनु पर्ने कर्टेक्स स्मार्टफोनको बढी उपभोगले बच्चामै खिइएको पाइयो। पाँच इन्द्रियले ल्याएका सन्देशलाई संश्लेषण गर्ने कर्टेक्सको सतह पातलिएपछि विभिन्न किसिमको मानसिक समस्या देखिनु अन्यथा भएन। इलेक्ट्रोनिक्सको अत्यधिक प्रयोगले उमेरमै दिमागलाई वृद्ध बनाउँछ भन्ने तथ्य सबैले स्मरण गर्नुपर्यो।
इलेक्ट्रोनिक मिडियाप्रति बच्चाहरूको आशक्ति किन हुन्छ त? युनिभर्सिटी अफ् क्यालिफोर्निया स्यान्डियागोका अनुसन्धानकर्ताले ‘इन्स्टाग्राम’ प्रयोग गर्ने युवा समूहको दिमागमा उक्त प्रविधिको प्रयोग गरेका बखत दिमागमा डोपामिन भन्ने रासायनिक पदार्थ अत्यधिक उत्पादन भएको देखे। गाँजा, भाङ जस्ता नसालु पदार्थको सेवन गर्दा समेत डोपामिन पैदा हुने अनि उक्त रासायनिक पदार्थका कारण ड्रग्सको लत बस्ने हो। नसालु पदार्थ जस्तै जति बढी सामाजिक सञ्जाल प्रयोग गर्यो त्यति बढी चलाउन मन लाग्ने हुन्छ वा व्यक्तिमा आशक्ति जाग्छ। संयुक्त राज्य अमेरिकामा सन् २०११ देखि २०१९ सम्ममा स्मार्ट फोन प्रयोगकर्ताहरू दुई गुना बढे भने अमेरिकी युवायुवतीमा मानसिक रोग पनि झन्डै दोब्बर भएको देखियो। स्मार्ट फोनसँगको सामिप्यमा र मानसिक रोगीबिच प्रत्यक्ष सम्बन्ध रहेको ठान्छन्, अनुसन्धानकर्ताहरू।
सामाजिक सञ्जाल, टेलिभिजनलगायतका इलेक्ट्रोनिक मिडियाले बढ्दो उमेरको मस्तिष्कलाई नकारात्मक असर पार्छ। सोसल मिडियाको असर विद्यार्थीमा जाँडरक्सी र धूमपानको भन्दा पनि भयानक देखियो। अत्यधिक सामाजिक सञ्जालमा रम्नेले बच्चाले युवा अवस्थामा मूल्य चुकाउनुपर्ने हुनसक्छ। युवामा निर्णय क्षमताको अभाव र दायित्व पहिचान गर्न कठिनाइ हुनुमा सानामा इलेक्ट्रोनिक सामग्रीको अत्यधिक प्रयोग हुन सक्छ। बच्चाले अनजानमा गरेको गल्तीले युवा अवस्थामा मूल्य चुकाउनुपर्ने भएकाले राष्ट्रिय नीतिमार्फत नै बच्चालाई सामाजिक सञ्जालबाट पृथक राख्नुपर्ने हुन्छ। त्यसै सन्दर्भमा भविष्यका कर्णाधारको भविष्य सकुशल राख्न अष्ट्रेलियाले एक नीति पास गर्यो। सन् २०२५ डिसेम्बरदेखि लागु हुने गरी अष्ट्रेलियाले १६ वर्ष नपुगी नागरिकले सामाजिक संयन्त्रमा सहभागी हुन नपाउने नियम पारित गर्यो।
त्यस्तै बच्चालाई स्मार्ट फोनको पहुँचबाट जोगाउँदै सामाजिक सञ्जालबाट टाढा राख्ने उद्देश्यले युरोपेली युनियनले सन् २०२२ मा ‘डिजिटल सर्भिस एक्ट’ जारी गर्यो। बच्चा उमेरमा दिमागमा परेको प्रभावको असर दीर्घकालीन हुने वैज्ञानिकद्वय डेभिड हुबेल र टोर्सटेन वाइजेलको अनुसन्धानले देखाएकाले विद्यार्थीवर्गको स्वास्थ्य रक्षा गर्नु राज्यको कर्तव्य भयो। बच्चाहरूलाई सामाजिक सञ्जाल, इलेक्ट्रोनिक मिडियालगायत च्याटजिपिटी जस्ता कृत्रिम बौद्धिकताबाट समेत पृथक राख्न नेपालले समेत अविलम्ब कानुन निमार्ण गर्न आवश्यक देखियो। अभिभावकले पनि बच्चाहरूलाई सामाजिक सञ्जाल र आइफोनबाट टाढै राख्नुपर्ने देखियो। हालका क्रियाकलापले बच्चाको भविष्यलाई निर्देशित गर्ने भएकाले सबै पक्ष समयमै चनाखो छ।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: २४ असार २०८२ ०९:४६ मंगलबार

