पछिल्लो समय पूर्वीयुरोपबाट आएका समाचारले उदार लोकतन्त्रप्रति आशा जगाएका छन्। हगेंरीमा प्रधानमन्त्री भिक्टर ओर्बानले लगाएको प्रतिबन्धका बाबजुद बुढापेस्टमा अहिलेसम्मकै ठूलो ‘गे प्राइड परेड’ आयोजना भयो। हगेंरीको छिमेकी सर्वियामा प्रधानमन्त्री भिक्टर ओर्बानका सहयोगी राष्ट्रपति अलेक्जान्डर भुचिचविरुद्ध विद्यार्थीको सामूहिक विरोध प्रदर्शन जारी छ।
यो विषयमा सतर्क रहन आवश्यक छ किनभने पूर्वी युरोपभित्रै लोकतान्त्रिक क्षयका चिन्ताजनक संकेतहरू प्रशस्त छन्। जस्तै पोल्यान्डमा जुनमा भएको राष्ट्रपति निर्वाचनमा सुदूर–दक्षिणपन्थी कारोल नावरोक्कीको विजयले निर्णायक लोकतान्त्रिक पुनर्जागरणको आशामा तुषारापात भएको छ। त्यसो भए यी विरोधाभासहरूको अर्थ के हो? विश्लेषकहरू प्रस्ट हुन सकिरहेका छैनन्।
इतिहासकार टिमोथी स्नाइडरले सर्बियाको प्रदर्शनलाई ‘लोकतन्त्रीकरणप्रतिको नयाँ आशा’ भनेका छन्, त दर्शनिक स्लाभोय जिजेकले यसलाई ‘नयाँ राजनीति निर्माण गर्ने प्रयास’ भनेर व्याख्या गरेका छन्। युरोपेली संसद्का उपाध्यक्ष निकु स्टेफानुटाले बुढापेस्ट गौरव परेडलाई ‘हामीले कस्तो युरोप निर्माण गर्छौं भन्ने बहसको विषय’ भनेका छन्।
पोल्यान्डको प्रसंगमा नावरोक्कीको विजयलाई सन् १९८९ पछिको उदारवादी व्यवस्थाको गहिरो संकटको प्रमाण बनेको समाजशास्त्री क्रिजस्टोफ काटकोव्स्की ठान्छन्। हालसम्म हासिल उपलब्धिलाई उग्र वैकल्पिक धारहरूले कमजोर पारिरहेको उनको ठम्याइ छ।
यी सबै टिप्पणीहरूमा एउटा साझा विषय छ– हामीले वर्तमान राजनीतिक समयलाई बुझ्न कुनै ‘महान भाष्य’ खोजिरहेका छौं। उदारवादीहरू लोकरिझ्याइँको लहर अन्त्यतर्फ उन्मुख भएको र इतिहास न्यायको मार्गमा अग्रसर छ भन्ने विश्वासमा छन्।
जब तथ्य र प्रमाणले यो आशावादी भाष्यलाई साथ दिंदैनन्, तब उदारपन्थीहरू चाँडै निराश बन्छन्– उनीहरू लोकतन्त्र पतनको मुखमा छ भन्ने ठान्छन्। त्यसपछि दोष प्राय: अक्षम नेतृत्व अथवा छलछाममा पारिएको जनसमर्थनलाई दिइन्छ।
यथार्थलाई न आशावाद न निराशावादले नै सही दृष्टिकोणले चित्रण गर्छ। गहिरो विश्लेषणले के देखाउँछ भने इतिहासको झुकाव कुनै दिशातर्फ फर्केको छैन, बरु जाममा फसेको छ।
हामी दुई विशाल र बलिया विचारधारात्मक शिविरबिचको छद्म युद्धमा अल्झिएका छौं। हरेक देशमा उदार लोकतान्त्रिक राजनीतिको आधारक्षेत्रमा समेत सत्तावादी दक्षिणपन्थीको समर्थन प्रतिध्वनित भइरहेका देखिन्छन्।
पोल्यान्डमा यो राजनीतिक संघर्ष दशकौंदेखि चलिरहेको छ। पोल्यान्डमा सन् मेयर रफाल टर्जास्कोव्स्की राष्ट्रपति बन्न सफल भएका भए, उनी सन् १९८९ यताकै सबैभन्दा प्रगतिशील राष्ट्र प्रमुख बन्ने थिए। अहिले भने पोल्यान्डले हालसम्मकै सबैभन्दा रूढिवादी राष्ट्रपति पाएको छ।
यो केवल ध्रुवीकरण होइन। समस्या के भने– दक्षिणपन्थीहरूको लोकप्रिय विचारहरू धेरैजसो अपारदर्शी र अवैज्ञानिक छन्। जलवायु संकटबीच बढ्दो खानी उद्योगको मोह, महामारीमा खोप विरोध, जनसांख्यिकीय संकटकालमा आप्रवासीको विरोध र विश्व प्रतिस्पर्धाको सन्दर्भमा आत्मनिर्भरता वा ब्रेक्जिटजस्ता प्रतिक्रियात्मक नीतिको अवलम्बन यसका उदाहरण हुन्। यस्ता अतिवादी सोचको विरोध नगरी कोही उदारपन्थी बस्न सक्दैनन् तर त्यसो गर्दा वैचारिक ध्रुवीकरणको खाडल झन् बढ्ने निश्चित छ।
सर्वसत्तावादी नेताहरूले जनताको अपेक्षा पूरा गर्न असफल भएका देशमा हामी आशाको कुनै किरण खोजिरहेका छौं। यसको उदाहरण हंगेरीलाई लिन सकिन्छ। जहाँ निजी लगानीकर्ताहरूको विश्वास गुमेकाले अर्थतन्त्र ‘स्ट्यागफ्लेसन’ मा छ। न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारीदर र उच्च मूल्यवृद्धिको कारण त्यहाँको अर्थतन्त्र ‘स्ट्यागफ्लेसन’मा गएको हो। जन्मदर पनि त्यहाँ समग्र युरोपको तुलनामा सबैभन्दा तल्लो स्तरमा झरेको छ।
सर्बिया पनि छिमेकी क्रोएसिया र स्लोभेनियाबाट टाढा हुँदै गएको छ। युरोपेली युनियन र युरोजोनको सदस्य नभएको सर्बिया अहिले व्यापक भ्रष्टाचार, उच्च बेरोजगारी र कठोर राज्य नियन्त्रणको चपेटामा छ।
केही अघिसम्म लोकरिझ्याइँको प्रतिउत्तरमा नेताहरूले उदार राजनीतिक सहमतिको पक्षमा वकालत गर्दै आएका थिए तर यो अब असफल प्रमाणित भइसकेको छ। पोल्यान्ड, बेलायत र अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनको शासनकालले पनि त्यही देखाउँछ।
यही सन्दर्भमा अहिले हंगेरी विशेष ध्यानाकर्षणको केन्द्रमा छ। त्यहाँ एउटा नयाँ प्रतिपक्षी नेता उदाएका छन्– पिटर म्याग्यार। उनी दुई वर्षअघिसम्म ओर्बानको पार्टीभित्रै थिए तर पूर्वपत्नीसँग सम्बद्ध आर्थिक घोटाला सार्वजनिक भएपछि उनले नयाँ लोकप्रिय अभियान सुरु गरेका थिए। म्याग्यारले ओर्बानको ‘माफिया राज्य’को अवधारणाबाट आफूलाई टाढा त राखेका छन् तर उनले ओर्बानको धेरै रूढिवादी मूल्यहरू त्यागेका छैनन्।
उनी ‘गे प्राइड परेड’मा उपस्थित भएनन् तर व्यंग्यात्मक शैलीमा भने– ‘ओर्बान त युरोपको प्राइडका राजा हुन्।’ यो उनको रणनीतिक निर्णय थियो। उक्त परेडमा दुई लाख मानिस सहभागी थिए र यो हंगेरीको कुल सक्रिय मतदाताको चार प्रतिशत मात्र हो। एक सर्वेक्षणका अनुसार ४७ प्रतिशत हंगेरियनले ( जसमध्ये ५३ प्रतिशत अनिर्णित मतदाताहरू पर्छन्), परेडको विरोध गरेका थिए।
म्याग्यारले अर्को वर्षको आम निर्वाचन पनि जिते भने उनको नीति इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग मेल खानेछ। हाल संकटमा रहेका बेलायतका केयर स्टारमर वा पोल्यान्डका डोनाल्ड टस्कजस्तो उदार नेताभन्दा उनको छवि फरक हुनेछ।
यसैले हामीले अहिले ‘सुदूर दक्षिणपन्थको हल्का संस्करण’ को उदय देखिरहेका हुन सक्छौं –जसले लोकरिझ्याइँ नीतिको गहिरो असरलाई घटाउने प्रयास गर्छ, सँगसँगै, परम्परागत मतदाताको राष्ट्रवादी र बौद्धिक–विरोधी भावना सम्बोधन गर्न सक्ने स्थिति निर्माण गर्छ।
लोकतन्त्रको यो अवरोध (जाम) बाट बाहिर निस्कनु छ भने त्यो न त उदारवादीको पूर्ण विजयमा सम्भव छ न त सर्वसत्तावादीहरूको विजयमा। हामीले यो द्वन्द्वलाई अस्थायी रूपमा रोक्न असजिलो भए पनि एक प्रकारको सम्झौता गर्नुपर्नेछ–जहाँ दुवै पक्षका मागलाई केही हदसम्म सन्तुलनमा राख्ने प्रयास गर्नुपर्ने हुन्छ।
(प्रोजेक्ट सिन्डिकेट लेखक सेन्ट्रल युरोपियन विश्वविद्यालयका कानुन र रणनीति विषयका सहप्राध्यापक हुन्।)
प्रकाशित: २४ असार २०८२ ०९:३६ मंगलबार

