२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
विचार

मानव कल्याण उन्मुख विश्व

यो विश्व ब्रह्माण्ड संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर हेर्दा पनि आँखाले देख्न नसकिने विशाल छ तापनि अरूणोदयसँगै, बिहानीमा उदाएका कलिला सूर्यका ज्योतिभित्र घुम्दै गरेका सानो परमाणुको पनि, छ भागको एक भाग मात्र यो विश्व ब्रह्माण्ड। स्थायी भाव छन्। अरू सारा अनित्य छ भनेर तर्कशास्त्रले  भनेको छ।

हेर्नोस् त, यत्रो आँखाले देखेर पनि नभ्याउने यो ब्रह्माण्ड त परमाणुको ६ भागको  एक भाग मात्र स्थायी भावको छ भनेपछि यो मानिस त केही पनि हैन। आज जन्मन्छ, भोलि मर्छ। यो निश्चित छ। यो जान्दाजान्दै पनि मानिसले मानिसलाई मार्न किन मरिमेटेर लागेको छ। ए बाबा! मानिस त यसै मर्छ भन्या, यसै मर्नेलाई किन मार्नुपर्‍यो? यो मानिसले बुझेको छैन कि बुझेर पनि बुझ पचाइरहेको छ? यो एउटा ठूलो विचारणीय प्रश्न छ। मानिस छ, ब्रह्माण्ड छ, मानिस छैन भने ब्रह्माण्डको के अर्थ हुन्छ र? मानिस भएर पो यो ब्रह्माण्ड काम लागेको हो। अक्षर जोडिएर आएमा के गर्ने?

यो ब्रह्माण्डमा जति पनि क्रियाकलाप भइरहेका छन्, मानिसका लागि भएका हुन्। नभए केका लागि किन चाहियो? मानिस भएर मानिसका लागि सम्पूर्ण क्रियाकलाप भएका हुन्। यसर्थ आजको विश्वले मानिसका लागि धेरै कार्य गरेको छ। आजको विश्व ब्रह्माण्डलाई फर्केर हेर्दा मानिसले यहाँ धेरै ठूलाठूला कार्य गरेका छन् भन्नुपर्छ। भनेपछि मानिसले साँच्चै गर्न खोज्ने हो भने जस्तै अद्भूत कार्य पनि गरेर देखाउन सक्दोरहेछ भन्ने कुरा यहाँबाट छर्लङ्ग हुन्छ।

खासै भन्नुपर्दा हामी बोक्रे युगबाट बामे सर्दै सर्दै यहाँसम्म आइपुगेका हौँ। हुन पनि हो। मानौँ, पहिला मानवको सृष्टि भयो। त्यसबेला यो विश्व ब्रह्माण्डमा केही पनि थिएन। केवल पृथ्वी अपतेज, वायु, आकास र रुख झारपातभन्दाबाहेक अरू केही पनि पाइन्नथ्यो। अनि मानिसले आफ्नो आङ छोप्न रुखका बोक्रा लगाउनुपर्थ्याे भन्ने कुरा सोझै आकलन गर्न सकिन्छ। यो कुरा ध्रुवसत्य हो। जब मानिसले कपडा बुन्न थाले अनि बल्ल हामीले कपडा लगाउन पाइयो। यो कसैले नकार्न  सक्दैन।

क्रमशः विकास गर्दै गर्दै आज यहाँसम्म आइपुगेका छौँ। यो संसारमा सबैभन्दा बुद्धिमानी, चेतनशील प्राणी मानव हो। मानवले संसारलाई मिलाएर लैजाने र मानव मात्र नभएर सम्पूर्ण प्राणीलाई सुखसुविधा कसरी हुन्छ भन्ने कुरा केवल मानवले बुझेको छ र त्यसैअनुसार कार्य गर्दै आएको छ र न आज हामी यहाँसम्म पुग्न सफल भएका छौँ। र, पनि हामीले मानवको कल्याण गर्न किन सकिरहेका छैनौँ? यो विश्व ब्रह्माण्डका जति पनि राज्य अथवा सरकार सबैले, एउटाले पनि राज्यभित्रका नागरिकलाई कल्याण गर्न भनेर बजेट छुट्याएका पाइँदैन। उल्टै सबैले राज्य सुरक्षाका नाममा मानवकै तहसनहस अथवा मानवलाई सिध्याउन बजेट छुट्याइएका हुन्छन्। यस्तो किन हुन्छ? त्यसैले अबको विश्वलाई सबै मिलेर मानव कल्याणतर्फ फर्काउनै पर्छ।

यो विश्व ब्रह्माण्डको एक मात्र राज्य हैन, जति पनि राज्य छन्, सबै विश्व ब्रह्माण्डका राज्यहरूले मानव संहार गर्नलाई बजेट छुट्याएका हुन्छन्। मानव कल्याणका निम्ति एउटा कसैले बजेट छुट्याएका हुँदैनन्। यो एउटा ठूलो विचारणीय कुरा हो। यो कुरा हामी सबैले अध्ययन मननशील गर्नुपर्छ। यो कहाँनेर त्रुटि भइराखेको छ, सबैले एकपटक फर्किएर हेरेको खण्डमा अवश्य पनि हामी सबै यसको समाधानको बाटो पत्ता लगाउन सक्नेछौँ।

अहिलेसम्म यो ब्रह्माण्डका मानिसलाई हेर्दा सबै गतानुगतिको देखिन्छ। एउटाले जे गर्‍यो अर्कोले त्यही गर्ने। त्यसले त्यसो गर्‍यो भने म यो गर्छु नि त कोही भन्दैनन् कि कुनैले नराम्रो काम गर्‍यो भने त्यस्तो नराम्रो काम पनि गर्ने हो भनेर। उसले भनेको सुनिँदैन। त्यसले त नराम्रो काम गरिरहेको छ भने मैले गर्न किन नहुने भन्ने मानिसको धारणामा आजको समाज कार्यान्वयन भइराखको पाउँछौँ।

आज जति पनि यो ब्रह्माण्ड झिलिमिली भएको छ, त्यो सबै मानिसले बनाएका हुन्। चन्द्रलोक, मङ्गलग्रहमा बस्ती बसालिसके। दक्षिणी ध्रुवमा अन्तरिक्ष यान उतारिएको कुरा आइरहेको छ। यो सबै मानवले नै गरेको हो।

त्यसैले यी यावत् कुरा गर्न सक्ने हामी मानव कल्याणको कुरा किन गर्दैनौँ? अणु, परमाणु, बम बनाएका छौँ। अग्न्यास्त्र, क्षेप्यास्त्र बनाएका छाैं। यो सब अरूलाई सिध्याउन, नरसंहार गर्न बनाएका हौँ। नरसंहार गरेर त, विश्वध्वस्त बनाएर त के भयो ? फेरि हामी शून्यमा झर्‍यौँ। यसबाट जति विकास गरे पनि, के काम लाग्यो त? त्यही शून्यमा झरेर उपलब्धिबिहीन भइयो नि, हैन र?

हुन त जति जे भने पनि कति त्यसको अपवादका रूपमा निस्कन्छन्, निस्कन्नन् तर त्यस्तालाई सब एक भएर पर्गेल्याउन त सक्छौँ नि। सबले निरुत्साही गराएपछि त्यसले जस्तैसुकै जे काम गरेको भए पनि छाड्न बाध्यकारी हुन्छ, हुन्छ।

आजको मानवले यस्ता कुरा अध्ययन मनन गरेर अघि बढ्ने हो भने हो भने यो विश्वकै मुहार पलट हुने देखिन्छ। उही हामी कहिले कता स्वर्गको कल्पना गर्दछौँ नि, स्वर्ग कस्तो हुन्छ भन्दाखेरि त्यहाँ अन्यायका भागी कोही हुँदैनन्, जताततै न्याय नै न्याय, आनन्दै आनन्द, सारा रमणीय सुखसुविधा भएको हुन्छ।

कसैप्रति कसैको थिचोमिचो हुँदैन। सबले सबको कल्याण गरेका हुन्छन्। सबले सबलाई सहयोग गरेको हुन्छ। जाली, फटाहा, चोर, डाँका केही हुँदैन भनेपछि यो विश्व स्वर्ग भयो कि भएन ? हो, अब हामीले बनाउने विश्व पनि यस्तै हुनुपर्छ।

प्रकाशित: २३ वैशाख २०८२ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App