अटिजम (स्वध्यानकेन्द्रित मानसिक अवस्था) जीवनभरि नै रहने एउटा स्नायु विकाससम्बन्धी अवस्था हो। जुन सामान्यतया जीवनको सुरूवाती तीन वर्षसम्ममा थाहा हुन्छ। त्यसले व्यक्तिको जीवनमा मुख्यतः सञ्चारसम्बन्धी सिप, सामाजिक र अन्तरव्यक्तिगत सिपमा असर गर्छ। जसका कारणले उनीहरू दोहोरिने प्रवृत्तिका व्यवहार अनौठो प्रकृतिका रूचि र क्रियाकलापहरू गर्ने गर्छन्।
अटिस्टिक व्यक्तिहरू फरक सोच्छन्। इन्द्रियहरूलाई फरक तरिकाले महसुस गर्छन्। हिँडाइ, कार्यशैली, सञ्चार गर्ने, सामाजिक व्यवहार गर्ने तरिका फरक हुन्छ। अटिजम भएका व्यक्तिहरूमा हुने भिन्नता र समस्याहरू भनेको सञ्चारसम्बन्धी सिप, सामाजिक/अन्तरव्यक्तिगत सिपको कमी हुनुका साथै उनीहरूको रुचि र व्यवहारहरू र खेल खेल्ने तरिकाहरू फरक हुन सक्छ।
साथसाथै हाम्रो शरीरका जनेन्द्रियहरूले जे जसरी जानकारी लिई सोहीअनुरूपको संकेत मस्तिष्कले पाउनुपर्ने हो त्यो नहुने पनि हुन सक्छ। आटिजम एउटा स्पेक्ट्रम हो जसले गर्दा प्रत्येकको अवस्था भिन्नता/कठिनाइहरूको तह फरक फरक हुन्छ। अटिजम कुनै ठाउँविशेषमा नभई संसारभर नै हुन्छ।
विभिन्न तथ्यांकलाई आधारित मान्ने हो भने महिलाको तुलनामा चार गुणा बढी पुरुषहरूमा देखिन्छ। सथै अटिजमसँगै मानसिक मन्दता, सिक्ने कठिनाइ, दौरा, मस्तिष्क पक्षघात जस्ता अवस्थाहरू पनि आउन सक्छन्। अटिजम यही कारणले हुन्छ भन्ने छैन जसका लागि कुनै एक कारण मात्र प्रमुख छैन।
यो एक मस्तिष्कको संरचना र कार्यमा हुने भिन्नता हो। कतिपय अनुसन्धानलाई आधार मान्दा वातावरणीय प्रभावलाई पनि उल्लेख गरिएको पाइन्छ साथै जिनहरूलाई पनि कारकका रूपमा लिइएको पाइन्छ। हालसम्म यसको वास्तविक कारण कुनै पनि अनुसन्धानले प्रष्ट पार्न सकेको छैन। यो अनुसन्धानकै प्रक्रियामा छ।
सञ्चारसम्बन्धी कुरा गर्नुपर्दा हुँदै नहुने या कम हुने, आवश्यकताअनुसारको मात्र हुने, दोहोरिने प्रकृतिको हुने वा सञ्चार गर्दा स्रोतालाई अनुकूल बनाउन कठिनाइ हुने हुन सक्छ। सञ्चारमा हुने फरकहरूमा बोलिने भाषाको विकासमा ढिलाइ वा पूर्ण अभाव हुन सक्छ, सञ्चारका लागि वैकल्पिक माध्यमहरूको विकास हुन नसक्ने, आफूलाई चाहिने चिजहरू औँलाले देखाएर व्यक्त गर्न वा देखाउन नसक्ने साथै इशाराहरू बुझ्न नसक्ने पनि हुन सक्छ।
धेरैजसो व्यक्तिहरूमा सुनेका शब्द वा वाक्यांशहरू दोहोर्याउने आफ्नो रुचिअनुसारे बोली दोहोरिने हुन सक्छ साथै बोली लेखेको भाषासँग मिल्दोजुल्दो हुने र आवश्यकताभन्दा बढी र धेरै विवरणहरू समावेश हुने गर्दछ। कतिपयले असम्बन्धित वा अप्रासांगिक कुरालाई व्यक्त गर्ने गर्छन् र साथसाथै म, तपाईँ र तिनीहरू जस्ता शब्दहरू बुझ्नमा पनि समस्या हुन सक्छ।
अन्तरव्यक्तिगत सिप र सामाजिक सिपको विकासमा पनि कमी हुन्छ जसका कारण उनीहरू एक्लै बस्न रुचाउने, एकान्तप्रेमी हुन्छन् जसका कारण उनीहरूलाई अप्ठ्यारो अवस्थामा सान्त्वना दिन गाहरूो हुन्छ। निष्क्रिय रहने स्वभावका कारण अरू मानिससँग स्वतःस्फूर्तरूपमा सम्पर्क गर्नमा समस्या हुने तर अरूले पहल गरेमा सम्पर्क स्वीकार गर्ने पनि हुन्छ। उनीहरू सक्रिय हुन पनि सक्छन् तर त्यो अनौठो प्रकृतिको हुन्छ जसले अन्य बच्चासँग सहजै सम्पर्क गर्न सक्ने तर यो प्रायः अनौठो वा अनुपयुक्त तरिकाले हुने सम्भावना हुन्छ। उनीहरू बढी सामाजिक र बढी औपचारिक अन्तरक्रिया पनि गर्न सक्छन्। साथसाथै समूहमा अरूसँग, विशेषगरी समान उमेर समूहसँग सम्बन्ध बनाउन कठिनाइ सामना गर्छन्।
अन्तरव्यक्तिगत सम्बन्ध र सामाजिक अन्तरक्रियामा हुने भिन्नताहरूमा सीमित सामाजिक पारस्परिकता जसमा पालो कुर्ने र सामाजिक प्रतिक्रियाहरूमा उनीहरूको भिन्न प्रतिक्रिया हुन सक्छ। सीमित सामाजिक भावनात्मक पारस्परिकता जसमा दुई वा बढी व्यक्तिहरूसँग सामाजिक अन्तरक्रियामा संलग्न हुन अक्षम हुन सक्छन्।
विशेषगरी म र आफू जस्ता कुरामा मात्र सीमित अवधारणा हुन सक्छ। आँखाको सम्पर्क, अनुहारको भाव र शरीरको हाउभाउ जस्ता गैरमौखिक व्यवहारहरूको प्रयोग र बुझाइमा कमी, खुसी, आनन्द र ध्यान व्यक्त गर्न असहज पनि हुने गर्दछ। उनीहरूलाई सामाजिक नियमहरू बुझ्नमा कठिनाइ साथै सामाजिक परिस्थितिहरूको न्याय (कहाँ के गर्ने) क्षमतामा कठिनाइहरू हुने गर्दछ।
दोहोरिने प्रकृतिका रुचि र व्यवहार कुनै स्पष्ट उद्देश्यबिना विशेष वस्तुहरू, गतिविधिहरू, विषयहरू र चिजहरूप्रति असामान्य लगाव साथै सामान्य परिवर्तनहरूलाई स्वीकार गर्नमा कठिनाइ हुने गर्दछ। खेल कौशलमा साधारण संवेदनाका लागि वस्तुहरू लिन रुचाउने, खेलौनाहरूमा सीमित रुचि हुनुका साथै जुन खेलौना जसरी खेल्नुपर्ने हो त्यसरी नखेली खेलौनाहरूका भागहरू जस्तै नब, स्विच, पाङ्ग्रा जस्ता चिजहरूलाई खेल्न रुचाउने गर्दछन्।
परिकल्पना गरेर खेलिने खेलहरूमा सहभागी हुन असहज हुनुका साथै आफ्नै काल्पनिक संसार आविष्कार गरी त्यसमा नै समय व्यस्त गरी बस्न रुचाउँछन्। उत्कृष्ट विशेषताहरूमा उनीहरू इमानदार, घोकेर याद गर्नुपर्ने कला, दिनचर्याको पालना गर्नमा उत्कृष्ट, विवरणहरू सम्झनका लागि राम्रो मेमोरी हुनुका साथै संगीत, कलात्मक, गणितीय वा अन्य विशेष सिपहरूमा अब्बल पनि हुन सक्छन्।
अटिजमको शंका लागेमा के गर्ने?
सर्वप्रथम चिकित्सकको सल्लाह तथा परामर्श लिनुहोस्। विकासात्मक बालरोग विशेषज्ञ, बालरोग विशेषज्ञ वा बालमनोवैज्ञानिकसँग परामर्श लिनुहोस्। अटिजमसम्बन्धी क्षेत्रमा काम गरिरहेको संस्थाहरूले प्रदान गर्ने १० देखि १२ हप्तासम्मको अभिभावकत्वसम्बन्धी तालिममा सहभागी हुनुहोस्।
अटिजमका लागि कुनै एकल उपचार छैन। उपचार योजना व्यक्तिगत हुन्छ र यसमा व्यवहार थेरापी, भाषिक थेरापी, व्यावसायिक थेरापी र अन्य उपचारहरू समावेश हुन सक्छन। परिवारको समर्थन अत्यन्त महत्त्वपूर्ण छ। विभिन्न किसिमका थेरापीमा मुख्यतया (क) व्यावहारिक थेरापी– यी थेरापीहरूले नयाँ सिपहरू सिकाउने र चुनौतीपूर्ण व्यवहारहरू कम गर्नेमा ध्यान दिन्छन्। जसले इच्छित व्यवहारहरूलाई प्रोत्साहन गर्न सकारात्मक सुदृढीकरण प्रयोग गर्दछ। (ख) बोली र भाषा थेरापी– यस थेरापीले अटिजम भएका बालबालिकालाई भाषा बुझ्ने, प्रयोग गर्ने र सामाजिक सञ्चार सुधार गर्ने जस्ता सञ्चार सिपहरू विकास गर्न मद्दत गर्दछ। (ग) व्यावसायिक थेरापी– यस थेरापीले अटिजम भएका बालबालिकालाई आत्म–हेरचाह, खेल र विद्यालयको काम जस्ता दैनिक गतिविधिहरूका लागि सिपहरू विकास गर्न मद्दत गर्दछ। (घ) शारीरिक थेरापी– यस थेरापीले अटिजम भएका बालबालिकाहरूलाई सन्तुलन, समन्वय र शक्ति जस्ता उनीहरूका सिप सुधार गर्न मद्दत गर्दछ। (ङ) सामाजिक सिप तालिम– यस थेरापीले अटिजम भएका बालबालिकालाई साथी बनाउने, सामाजिक संकेतहरू बुझ्ने र द्वन्द्व समाधान गर्ने जस्ता सामाजिक सिप सिक्न मद्दत गर्दछ।
- सुवेदी अटिजम अभिभावक बालप्रशिक्षक हुन्।
प्रकाशित: १७ वैशाख २०८२ ०८:३४ बुधबार

