चर्चित पत्रिका दी इकोनोमिस्टको ११ फेबु्रअरी २०२५ मा छापिएको एउटा लेखको शीर्षक थियो– ‘के बढी शिक्षाले कम यौनतर्फ डोहोर्याउँछ?’ आर्थिक उदारीकरणसम्बन्धी जिज्ञासा हुने व्यक्तिले संसारका विविध विषयमा आफूलाई अद्यावधिक गर्न यसका सामग्री रुचिपूर्वक पढ्छन्।
मानवीय व्यवहारसँग जोडेर अर्थतन्त्रका अप्ठ्यारा सुल्झाउन खोज्ने यसको विधि मलाई रोचक लाग्छ। त्यो लेख पढेपछि त्यसका प्रतिक्रिया नपढ्दा जीवन अधुरो हुन्छ। प्रतिक्रियामा धेरैले अहिलेको जटिलताका चर्चा गरेका छन्। केहीले अझ रोचक ढंगले संसार ५० वर्षमा निकै परिवर्तन भइसकेको हुनाले मानिसका व्यवहारमै नौलोपन आइरहेको खुलासा गरेका छन्।
इकोनोमिस्टको विषय चयन र सामाजिक व्यवहारमा आएका परिवर्तनसम्बन्धी सामग्रीको रोचक पक्षलाई एउटा फेसबुक स्टेटसले अरू गहिराइदियो। लेखक सीमा आभासको विचारमा अहिले बिहेका प्रक्रियाहरू चाँडै टुट्ने र कतिपय अवस्थामा त्यसमा अपनाइएका विधिहरूले लामो समयसम्म महिलालाई प्रभाव पार्ने भएकाले ती संस्कार छाड्न आग्रह गरिएको छ। थर, गोत्र आदि परिवर्तन गर्दा भविष्यमा आउने समस्याबारे त्यहाँ उल्लेख गरिएको छ।
एक ठाउँमा भनिएको छ– ‘वरमाला मात्र पहिरेर राम–सीता, पाण्डव–द्रौपदी, कर्ण–पद्यावतीलगायत सबैको बिहे भएको छ। अबका केटाकेटीहरूले कन्या दान, गोडा धुने, सिन्दुर पोतेको चक्करलाई परिवर्तन गरेर बिहे गर्नुपर्छ होला। खासगरी केटीहरूले यस्ता विषयमा लोभ नगर्दा ठीक हुन्छ होला...।’
हाम्रो समाजमा कुनैबेला पारपाचुकेलाई निकै ठूलो मुद्दा बनाइन्थ्यो भने अहिले सामान्य भइसकेको छ। केहीलाई पश्चिमा हावाले असर पारेको भन्ने पनि लागिरहेको छ। तथापि, पश्चिमा संसारमा त झनै केटा र केटीबीचको सम्बन्धमै पनि तात्विक असर परेको छ। मानिस क्रमशः व्यक्तिवादी भइरहेको छ। जीवनका जटिलताले उसलाई अरू गम्भीर बनाइरहेको छ।
एकजनाले इकोनोमिस्टको लेख पढेपछि दिएको प्रतिक्रिया अहिलेका धेरैका निम्ति अनौठो पनि हुन सक्छ। उनका अनुसार हुनेवाला पत्नीसँग विश्वविद्यालयमै भेट भयो। त्यहीबेला उनीहरू कलेज बाहिर घुम्न गए। पछि दुवैले बिहे गरे। सन्तान पनि भए। त्यसपछि तिनले अध्ययन पनि पूरा गरे। अचेल अध्ययन, काम आदि पूरा गर्दागर्दै जीवन असन्तुलित हुन थालिसकेको हुन्छ।
भर्जिनिया विश्वविद्यालयका समाजशास्त्री ब्राड विलकोक्सको प्रतिक्रिया मलाई निकै रोचक लाग्यो। उनले भनेका छन्– स्कुल कलेजमा अचेल धेरै कुराको दबाब छ। राम्रो अध्ययन गर्नुप¥यो, करिअर र दीर्घकालीन सफलताका निम्ति सोच्नुपर्यो। त्यसले गर्दा उनीहरू जीवनका यी पक्षमा कम ध्यान दिन लागेका छन्। ‘स्प्रेडसिट’ मा काम गर्न सिपालु धेरैजनाले अचेल ‘बेडसिट’ बारे जान्नुपर्ने भएको छ, लेखको निष्कर्षमा भनिएको छ।
सूचना प्रविधिको विकासले व्यक्तिको जीवनमा ठूलो प्रभाव पारेको छ। हातहातमा ‘स्मार्ट फोन’ ले तिनलाई व्यस्त तुल्याएको छ। जीवनमा अनेकन सुधार र परिवर्तन आएका छन्। हिजो ५० वर्षमा मुर्झाउने व्यक्तिका निम्ति अब ७० वर्ष सामान्य भइसकेको छ। नेपालीको सरदर आयु नै ७० वर्ष पुगिसकेको छ। जापानमा मात्रै १ सेप्टेम्बर २०२४ सम्ममा ९५ हजार ११९ जना सय वर्ष पुगिसकेको जनसंख्या छ। यस हिसाबले उनीहरूले ७०–८० वर्षका मानिसलाई समेत काम दिन थालेका छन्। कुनैबेला इकोनोमिस्टले नै लेखेको थियो– जीवन ४६ वर्षपछि सुरु हुन्छ।
यही हिसाबले अर्थतन्त्र र समाजका विविध पाटामा नियमित धारणा राख्दै आएका उद्यम विज्ञ आशुतोष तिवारीले भर्खरै लेखेका छन्– ‘भन्छन् नि– आजकल ७० वर्ष भनेको नयाँ ५० वर्ष, अनि ५० वर्ष भनेको नयाँ ३० वर्ष।’
एन्थोनी फाउची अमेरिका मात्र होइन विश्वभरि सार्वजनिक स्वास्थ्यको क्षेत्रमा जिब्रोमा लिइने नाम हो। उनले पाँच दशकभन्दा बढी सेवा गरे र अन्ततः ८१ वर्षको उमेरमा अवकास लिए। नोबल पुरस्कार बिजेता अमत्र्य सेन ९१ वर्षको उमेरमा पनि हार्बर्ड विश्वविद्यालयमा अर्थशास्त्र र दर्शनशास्त्र पढाइरहेका छन्। हामीकहाँ ५८ वर्षको हुँदानहुँदै अवकास लिन्छन्, जसले सिकेको सिप र ज्ञान त्यतिकै उपयोगमा आउँदैन।
यी सबै उदाहरण यस कारण दिइएको हो– हामी नेपालीले संसारका सबै प्रविधि उपभोग गरिरहेका छौँ। सरदर आयु बढिरहेको छ। हिजोभन्दा आज सुखसुविधा बढेको पनि छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन लाग्दा अहिले उमेरका कुरा आएका छन्। गभर्नर बन्न ६५ वर्ष उमेर पुगेको हुन हुँदैन भन्ने विषय अदालतसम्म पुगेको छ।
तिवारीकै अनुसार पनि अहिले बेलायतको केन्द्रीय बैंकका गभर्नर ६६ वर्षका रहेछन् र अमेरिकाका ७२ वर्ष। अहिले मानिसको सक्रिय उमेर बढिसकेको छ। यस्तो अवस्थामा समयानुकूल गर्न किन नहुने? तर यहाँ गभर्नरको नियुक्तिमा उमेरको मात्र कुरा छैन। हरेक नियुक्तिभित्रका कथा हेर्ने हो भने ‘मनोहर कहानियाँ’ लाई जित्ने किसिमका छन्।
कहानीको पटकथा तयार भइसकेको छ। पटकथाअनुसार अहिले खेला भइरहेका छन्। त्यसो त वाणिज्य बैंकबाट तत्काल राजीनामा गरेर नियुक्तिका निम्ति तयार भएदेखि राष्ट्र बैंकभित्रैका उम्मेदवारसम्म पुग्दा पनि कसले यो बाजी मार्ने हो भन्ने थाहा छैन। बाजी तिनैले मार्छन्, जसले यो पटकथा तयार पारेका छन्। त्यसमा को को छक्किने हुन् केही दिनमै देखिनेछ।
यी सबै प्रसंग आज किन उल्लेख गर्नुपरेको हो भने अहिलेको समय फेरिएको छ। संसारको सन्तुलन बदलिएको छ। आउने दिनको अर्थतन्त्रको अवस्था कहाँ पुग्छ भन्ने कुनै अनुमान गरिएको छैन। व्यक्तिका व्यवहार फेरिएका छन्। ठूला शक्ति राष्ट्रहरू व्यापार युद्धमा छन्।
समाज सूचना प्रविधिको विकासले तीव्र गतिमा जान्ने भइरहेको छ। जान्ने मात्र होइन, दिग्भ्रमित पनि उत्तिकै भइरहेको छ। अरू मात्र होइन हाम्रै राजधानी काठमाडौंमा शिक्षकको आन्दोलन हेरौ कति फरक भएछ। यसपटक टिकटक, रिल्स र सामाजिक सञ्जालका लागि तिनले प्रदान गरेको मनोरञ्जनको हिसाब गरिसाध्यै छैन। शिक्षकहरूले मनोरञ्जनकै माध्यमले आन्दोलन गरे। यसले पनि समाज बेपत्तासँग अगाडि बढिरहेको देखिन्छ। प्रविधिले हिजोका जिरोलाई आज हिरो र हिरोलाई जिरोमा पुर्याइरहेको छ।
त्यसैले यसका जटिलतालाई बुझ्दै कसरी अगाडि बढ्ने भन्ने चिन्ताले समाजलाई प्रभाव पार्दैछ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल मुख्य गरी अहिले सत्ता केन्द्रमा छन्।
राजनीतिक रूपमा पनि नयाँ नयाँ चुनौती आइरहेका छन्। भनेका बेलामा सरकारले संवैधानिक अंगमा नियुक्तिसमेत गर्न नसक्ने अवस्था आइसकेको छ। ठुल्ठूला विवादका विषय सुनिन्छन्। अनि अन्त्यमा नियुक्तिमा भागबन्डा भएपछि त्यसको समाधान भएको भनिन्छ।
मुलुकको केन्द्रीय बैंकको गभर्नर नियुक्तिको विषय अहिले जसरी जेलिँदैछ, त्यसले अर्थतन्त्रलाई अझ अप्ठ्यारोतिर लैजान्छ। देशको अवस्था हेरेर काम गर्न सक्ने योग्य व्यक्तिलाई नियुक्त गर्ने परिपाटी बसालेको भए अहिलेको जस्तो अवस्था आउने नै थिएन। नियुक्तिमा जहिल्यै भागबन्डा गर्दागर्दा सम्पूर्ण प्रणाली विकृत भइसकेको छ।
पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थतन्त्र सुधारको प्रेस्क्रिप्सन तयार पार्न आग्रह गरेपछि गभर्नरदेखिकै नियुक्तिबाट सरकारले नयाँ सन्देश दिन सक्ने हो। विगतमा पनि दलविशेषका निम्ति सजिला र असजिला गभर्नरको अभ्यासले अर्थतन्त्रमा पारेको प्रभावबारे सिकेको देखिएन। समाज कहाँबाट कहाँ पुगिसक्यो, अझै पनि सुध्रिने गरी काम गरेको देखिएको छैन। यसले बिस्तारै अस्थिरता र अराजकताका निम्ति मलजल गरिरहेकाहरूलाई नै मद्दत पुग्नेछ।
शासनशैली पनि समाज हेरेर त्यसको अपेक्षा पूरा गर्न सक्ने गरी अगाडि बढ्न सकेन भने समस्या अवश्यम्भावी छ। हिजो हामीले यसो गरेका थियौँ भन्ने गीत गाएर मात्र नपुग्ने भइसकेको छ। बदलिँदो समयले त्यही अनुसारका नियम, कानुन, शासन र सहभागिताको खोजी गर्छ।
कतिपय देशमा मनिसले बिहे नगर्ने, बच्चा नपाउने र एकांगीपूर्ण जीवन बिताउने भएपछि तिनलाई मूलप्रवाहमा ल्याउन आर्थिक योजनाहरू बनाएको देखिन्छ। अर्थतन्त्र बिग्रँदै गएपछि युवालाई अल्कोहलयुक्त पेय लिन र मनोरञ्जनमा लाग्नसमेत जापान सरकारले केहीअघि आग्रह गरेको समाचार आएको थियो। सरकारलाई यसले कर बढाउँछ भन्ने विश्वास थियो।
समय, सूचना प्रविधि, आय आदिले व्यक्तिको जीवनमा आइरहेका परिवर्तनमा समेत ध्यान दिनुपर्ने अहिलेको बेलामा सरकार षडयन्त्रका गोटी चलाउने मात्र भयो भने कहीँ पनि पुगिने छैन। सबै क्षेत्र सुध्रिने तर राजनीतिक व्यक्तिले आफूलाई सुधार्नु नपर्ने हो भने समाधान निस्किँदैन। आजलाई यत्ति।
प्रकाशित: ७ वैशाख २०८२ ०८:२९ आइतबार

