१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ११:४६ पूर्वाह्न
विचार

कर्णाली किन कुपोषित ?

‘बालकलाकार केसीको कुपोषणबाट मृत्यु’– यो समाचार पढ्दा ‘कान्ति बाल अस्पतालले उपचार सम्भव नभएर फर्काएको’ वाक्यले स्तब्ध गरायो। के कुपोषणलाई ठीक पार्न कान्ति अस्पतालले सक्दैन कि पत्रकार साथीले यसबारे कान्ति अस्पतालका चिकित्सकहरूसँग केही सोध्नु भएन?

कुपोषण र त्योसँगै आएको जटिलतालाई कान्ति बाल अस्पतालले उपचार गर्न सक्दैन भने त्यो हाम्रो राज्य, मन्त्रालय र अस्पतालको कमजोरी हो। कलाकारको कुपोषणले मृत्यु भएको सुन्दा लाग्यो, कर्णालीको सरकार रारा र फोक्सुण्डोको सुन्दरता देख्छ, सुर्खेतको बुलबुले ताल देख्छ र दैलेखमा गुराँस फुलेर ढकमक्क भएको देख्छ तर बालबालिका कुपोषण भएर मृत्यु भएको देख्दैन।

पहिले पहिले विभिन्न पत्रपत्रिकामा कर्णालीका जिल्लाहरूमा ‘खाद्यान्न अभाव’ भएर विभिन्न गाविसबाट सदरमुकाम चामल लिन सिडिओकहाँ आएको सुनिन्थ्यो। पढिन्थ्यो। अहिले कर्णालीमा भोकमरी छैन तर कुपोषणले शिशु मरिरहेको सुन्दा कर्णालीमा कुपोषण कहाँ भएको हो भन्ने प्रश्न राजनीतिक दलका नेताले विचार गर्नुपर्ने होइन र? 

विभिन्न दलका सांसदले साँच्चिकै कर्णालीमा खाद्यान्न पुगोस्, कुपोषण भएर बालबालिका नमरुन् भनेर के काम गर्नुभयो? एकातिर केन्द्रीय सरकारले कर्णालीको विकासमा ध्यान दिएन भनेर हल्ला मच्चाउने सांसदहरूले प्रदेश सरकार बनेपछि साँच्ची नै कर्णालीमा विकास भएको छ मान्नुहोला? सडक पुग्दैमा विकास हुँदैन भन्ने कुरा बुझ्नुपर्छ किनभने खाली पेटमा ‘विकास’ को कुरा गर्नु व्यर्थ हो। कुपोषण र खराब संस्कृतिले कर्णालीमा कहिले भोकबाट मुक्ति दिलाउन सक्ला? हुम्ला, डोल्पा, मुगुका बालबालिका, महिला जहिले पनि कुपोषणको मारमा परेर भौतारिँदा कहिले पो, पढाइ, कहिले जीवन, कहिले विकासको कुरा गर्ने?

एकातिर कर्णालीलाई पर्यटन क्षेत्र बनाउने भनेर प्रदेश सरकारले दर्जनौँ कार्यक्रम राखेको छ। कर्णालीका विभिन्न जिल्लामा पर्यटकीय पदमार्ग, मन्दिर जीर्णोद्धार गर्न भनेर छुट्याएका यी रकम र कार्यक्रम साँच्चै कर्णालीका जनतासमक्ष पुग्लान्? के कर्णालीका बालबालिका भोकमरीबाट मुक्त होलान त? भोको पेटमा त्यहाँका जनताले विकासका काममा कसरी सहभागिता जनाउलान्? कसरी विमानस्थल र सडक, पदमार्ग बनाउलान्, कसरी मन्दिरको जीर्णोद्धार गर्लान्, कसरी रारा परिक्रमा मार्ग निर्माण गर्लान् त? त्यसैले होला विकासको ‘खर्च’ नभएर पैसा त्यसै रहने।

‘होइन होइन, कर्णालीका जनता भोका छैनन्, त्यहाँ त पर्याप्त खाद्यान्न छ। कोदो, फापर, आलु, सिमी पनि खाद्यान्न हुन्। यहाँका जनता त्यसैको उपयोग गरेर स्वस्थ छन् र विभिन्न विकासका काममा लाग्न सक्षम छन्’ भनेर कर्णालीका सांसदहरूले भन्ने हो भने ती बालबालिकाको कुपोषणले भएको मृत्युले के सन्देश देला?

कुनै पनि सांसदले ‘होइन मेरो जिल्लामा भोकमरी, कुपोषण छैन’ भनेर साहससाथ भन्न सक्लान्? अफसोच कर्णालीलाई सकेसम्म भोको, गरिब देखाएर कर्णालीका जनताको आत्मविश्वास गिराएर, कर्णाली र पछौटेपन पर्यायवाची हुन् भनेर चिनाउने नेताले त्यस्तो खेलको भूमरीमा परेर कर्णालीका महिला र बालबालिका कुपोषणबाट ‘पीडित’ समाचार नपढेका होलान् त?

पहिले पहिले कर्णालीमा उडाएर र गुडाएर जसरी भए पनि ‘चामल पुर्‍याउनैपर्छ भन्ने मानसिकता’ थियो। त्यसैले कर्णालीका स्थानीय खाद्यान्नहरू अपहेलित भएका थिए। यो नेताहरूलाई थाहा नभएको होला र? तर अचम्म, अहिले कर्णालीमा अपहेलित सिमी, कोदो, जौ, फापरचाहिँ काठमाडौँमा आउनेबित्तिकै ‘सुपर फुड’ मानिन्छ। तर त्यही खाद्य वस्तु भएका ठाउँमा चाहिँ कुपोषण र भोकमरी। यो अचम्मको कुरा भएन त नेताजी? कुनै पनि दलका नेता, सासंदहरूले कर्णालीको कुपोषण हटाउन भनेर विचार गरेका छन्?

तपाईँहरूले काठमाडौँका विभिन्न ठाउँमा ‘यहाँ फापरको ढिँडो, कोदोको परिकार पाइन्छ’ भनेर ठूलो अक्षरमा लेखिएका विज्ञापन र त्यस्ता रेस्टुरेन्टभित्र पसेर हेर्दा कोदो र फापरको परिकार महँंगोमा बेचिएको पनि देख्नुभएकै होला। आफैँ पनि खानुभएकै होला। तर ‘पोषण’ एक सामाजिक र विकासको मुद्दा हो, स्वास्थ्यको मात्र होइन’ भनेर स्वास्थ्य मन्त्रालय र सांसदले बुझेका नै छैनन्। यसरी बालबालिकाको कुपोषणबाट मृत्यु हुँदा सांसद नेताको मनमा चसक्क पनि हँुदैन?

कर्णालीका जनताले कोदो र फापरको महत्व बुझेका छैनन् कि बुझाइएको छैन? वास्तवमा कसैले पनि त्यो चाहेको छैन कि? किनभने त्यहाँको खाद्य संस्थानमा पनि चामल बाँड्ने काम नै हुने छैन, व्यापारीहरूले चामलमा कमिसन पाउने छैनन्, संस्थान हात बाँधेर बस्नुपर्छ र कर्णालीका सांसदहरूको ‘चामल ल्याएर भोट पाउने’ बाटो नै बन्द हुनेछ भनेर सबै बुझ पचाएका पो हुन कि? ‘कर्णालीका पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका कुपोषणको शिकार छन्’– सरकारी तथ्यांकले बोल्दा पनि कर्णालीका कुनै पनि सासंदले यसलाई प्रतिनिधि सभामा बहस गरेनन्, प्रदेश सभामा कुपोषण बहस नै भएन।

कसैले पनि हामीलाई त कोदो, फापर, चिनो, जौ आदि पनि खाद्यान्न हुन् भन्ने थाहा थिएन। अब हामी कर्णालीमा चामल नपठाउने, स्थानीय अन्न कसरी राम्रोसँग उब्जाउने भनेर कृषि विशेषज्ञसंग छलफल गर्छौँं। हामी आफैँ पनि यस्तै स्थानीय खानाको उपयोग गरेर स्वस्थ बन्नेछौँ। बालबालिकालाई कुपोषण हुन दिँदैनौ भनेर कोही बोल्दैनन्। 

सांसदहरूलाई थाहा छैन होला कि काठमाडौँमा अहिले कागुनो र चिनो पर्याप्त बिक्री हुन्छ। कागुनो किनेर अमेरिकासम्म पुर्‍याएइको छ कोसेलीका रूपमा तर अफसोच, त्यही खान नपाएर बालबालिका कुपोषित भइरहेका छन्। मुगुमा बाटो पुर्‍याउनुपर्छ भन्ने नेताले मुगुको कुपोषण हटाउनुपर्छ भन्नेबारे कहिले–कहिले सरकारलाई दबाब दिनुभएको छ? एकचोटी औँलामा गन्नूस् त। 

राराको सौन्दर्यमा मन रमाउनेले कुपोषणमा त्यहाँको चित्र देख्नुभएको छ? एक दशकअघि नै हुम्लाका बासिन्दाले जिल्लामै उत्पादन हुने गहुँ खरिद गर्न सरकारसँंग अनुरोध गरेको तथ्य हुम्लाका तत्कालीन सांसदहरूसमक्ष पुगेन होला। त्यसैले हुम्लाको मुपा, कुती राहटे र धेरै गाउँमा पर्याप्त गहुँ उत्पादन हुने तर त्यो गहुँ सांसदको नजरमा खाद्यान्न नहुने भएकाले हुम्ला भोकमरीको शिकार भएको छ। हुम्लाका बालबालिका कुपोषित छन्। तीमध्ये कतिको मृत्यु भइसकेको होला। त्यो समस्या नै बनेन। अफसोच, एक बाल कलाकार कुपोषणको शिकार भएपछि कान्ति बाल अस्पतालले उपचार गर्न नसक्दा र मृत्यु हुँदा यसले जनस्वास्थ्यको धज्जी उडाएको छैन र?

प्रकाशित: २६ चैत्र २०८१ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App