१८ असार २०८१ मंगलबार
image/svg+xml
विचार

हाम्राे प्रण

आजदेखि नेपाल रिपब्लिक मिडिया नवौं वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश गरेको छ। दसौं वार्षिकोत्सवका उपलक्ष्यमा म हाम्रा आदरणीय पाठक, सहकर्मी, विज्ञापनदाता, वितरकलगायतमा हार्दिक आभार प्रकट गर्छु। दस वर्ष प्रवेशको यो क्षणमा प्राप्त उपलब्धि र आर्जित अनुभवप्रति हामी गौरवान्वित छौं। मुलुकको दशकभन्दा लामो संक्रमणकालसँगै हाम्रो प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले पनि आरोह र अवरोह पार गरेको छ। लोकतन्त्रका निम्ति संस्था निर्माणको अपरिहार्यताबारे हामीले धेरै बताइरहनुपर्दैन। लोकतन्त्रलाई संस्थागत गर्न पत्रकारिता एउटा भरपर्दो माध्यम हो। लोकतन्त्र, नागरिक आवाज र स्वतन्त्रताको सच्चा पहरेदारका रुपमा हामीले हाम्रा प्रकाशनहरूलाई अगाडि बढाएका छौं। यही विशेषताका कारण नागरिकलाई नागरिकले हृदयदेखि नै मन पराइदिएर हामीलाई हौस्याउनुभएको छ।

दुई अनलाइन नागरिकन्युजडटकम र माइरिपब्किलकाडटकमबाट सुरु भएको हाम्रो यात्रा दस वर्षअघि आजकै दिन दुई राष्ट्रिय दैनिक नागरिक र रिपब्लिका (अंग्रेजी) बाट सुरु भएको हो। यसबीच हामीले हाम्रा प्रकाशनहरूलाई पाठकको रुचिअनुसार विविधीकरण गरेका छौं। शुक्रबार साप्ताहिक र परिवार मासिक हाम्रो संस्थामा थपिएका पछिल्ला सदस्य हुन्।

मुलुक संघीयतामा प्रवेश तयारीसँगै आजभन्दा सात वर्षअघिदेखि हाम्रा क्षेत्रीय प्रकाशनहरू ‘पूर्वेली’ र ‘पश्चिमेली’ निरन्तर प्रकाशित हुँदै आएका छन्। गत वर्ष सम्पन्न केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनपछि तीनै तहमा सरकार गठन भइसकेका छन्। मुलुकमा कायम सात प्रदेशका पाठकलाई लक्षित गरी हाम्रा क्षेत्रीय प्रकाशनलाई थप स्थानीयताको स्वादसहित पस्किने काम थालिसकेका छौं। गत वर्षदेखि काठमाडौं र आसपास क्षेत्रका पाठकको रुचिलाई ध्यानमा राखी ‘काष्ठमण्डप’ को प्रकाशन स्थानीय संस्करणका रुपमा भइरहेको छ। यो वर्ष हामी हाम्रा प्रकाशनलाई थप परिस्कार गर्दै जान तत्पर छौं।

सूचना प्रविधिमा संसारभर आएको लहरबाट हामीसमेत अछुतो छैनौं। डिजिटल माध्यमलाई हामीले उत्तिकै महत्वका साथ अगाडि बढाउने तयारी गरेका छौं। यसबीच स्थापना भएका दुई रेडियो स्टेसनलाई पनि सूचना र जानकारीका माध्यमका रुपमा आमपाठक र श्रोताबीच प्रस्तुत गरिसकेका छौं। आशा छ, यो वर्ष हामी डिजिटल माध्यमलाई थप सक्रियताका साथ समाचार र विचारका निम्ति उपयोग गर्न सक्षम हुनेछौं।

२०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएयता मुलुक आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्ने आशा र अपेक्षा सर्वसाधारण र राजनीतिकर्मी दुवैमा देखिएको छ। अधिकारमुखी राजनीतिबाट बिस्तारै मुलुक विकास–निर्माणको मार्गमा अग्रसर हुनेतर्फ हामी आशावादी भएका छौं। यो वर्ष हामीले विगत दशकका परिवर्तन र उपलब्धिलाई चित्रण गर्नेगरी वार्षिकोत्सव विशेषांक प्रकाशित गरेका छौं।

लोकतान्त्रिक मूल्यमान्यताले त्यतिबेला मात्र जनताको जीवनमा परिवर्तन ल्याउँछ, जतिबेला उनीहरूको सक्रिय सहभागिता रहन्छ। मुलुकको सर्वतोमुखी विकासमा जनसहभागिताका निम्ति ती नागरिकले जानकार हुन पाउनुपर्छ। जानकार नागरिक नै लोकतन्त्रका आधार हुन्। यस अर्थमा नेपाल रिपब्लिक मिडियाका सम्पूर्ण प्रकाशन र प्रसारण माध्यम नागरिक चेतनाका निम्ति क्रियाशील छन्।

हाम्रा प्रकाशनले सुरुआती दिनदेखि नै विकृति–विसंगतिविरुद्ध आफूलाई उभ्याउँदै आएका छन्। लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार र संविधानवाद हाम्रा प्रकाशनका आधार हुन्। यी सबै पक्षले अन्ततः नागरिकको सेवा गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । गत वर्ष हामीले आफूलाई मुलुकमा विद्यमान विकृति/विसंगति र भ्रष्टाचारविरुद्ध सक्रिय रुपमा उभ्यायौं। आगामी वर्ष पनि हाम्रा प्रकाशनहरूले सत्यतथ्य समाचार र विचार उजागर गर्ने दिशामा आफूलाई उभ्याउने प्रण हामी यस घडीमा गर्छौं।

विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक

प्रकाशित: ११ वैशाख २०७५ ००:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App