केही दिनयता विशेषतः चिनियाँ र अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताबीच ज्यादै लोकप्रिय बनेको शब्दावली हो, टिकटक रेफ्युजी अर्थात् टिकटक शरणार्थी। अमेरिकी सर्वोच्च अदालतले जनवरी १९ सम्ममा बाइटडान्स कम्पनीले टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बिक्री नगरे टिकटकमाथि प्रतिबन्ध लगाउने फैसला गरेपछि करोडौं अमेरिकी टिकटक प्रयोगकर्ताहरू यसअघि चीनमा मात्र सीमित रहेको स्याओ होंग सु (सानो रातो पुस्तक) नामको चिनियाँ सामाजिक सञ्जालमा ओइरिए।
टिकटकमाथि अमेरिकीले प्रतिबन्धको अस्त्र प्रयोग गर्ने भएपछि शरणका लागि स्याओ होंग सुमा आएका टिकटक प्रयोगकर्ताले आफूलाई टिकटक शरणार्थी भनी परिचय दिने गरेका छन्। प्रयोगकर्ताहरूले यसबीच स्याओ होंग सुको अंग्रेजी न्वारनसमेत गरिसकेका छन्, रेडनोट।
यसअघि स्याओ होंग सुमा लगभग शतप्रतिशत चिनियाँ भाषाका श्रव्यदृश्य सामग्री मात्र हुन्थे। त्यसकारण प्रयोगकर्ताहरू पनि चिनियाँ, चिनियाँ भाषा जानेका विदेशी र विदेशमा बसेका चिनियाँ मात्र हुन्थे। तर, अहिले स्याओ होंग सुमा एक प्रकारको कुम्भमेला लागेको छ। लाखौं संख्यामा अमेरिकी प्रयोगकर्ताहरूले थरीथरीका लघु श्रव्यदृश्य त्यहाँ पोस्ट् गर्दा स्याओ होंग सुको परिधि केही दिनमै चिनियाँ भाषा र चिनियाँ प्रयोगकर्ताभन्दा निकै फराकिलो बनेको हो।
चिनियाँ भाषा जानेका अमेरिकी प्रयोगकर्ताहरूले चिनियाँ भाषामै, कनीकुथी चिनियाँ बोल्न जान्नेले जसोतसो चिनियाँ भाषा बोलेर, चिनियाँ भाषा नजानेकाले कृत्रिम बौद्धिकता (एआई) कै सहारामा भए पनि अंग्रेजीबाट आफ्नो परिचय चिनियाँ भाषामा अनुवाद गरेर अनि धेरैले अंग्रेजी भाषामै पनि बोलेर स्याओ होंग सुमा उपस्थिति देखाएका छन्।
चिनियाँ परिवेशमा मात्र रमाइरहेका स्याओ होंग सुका चिनियाँ प्रयोगकर्ताहरू पनि अनेक कलेवरका यस्ता श्रव्यदृश्य देखेर रोमाञ्चित छन्। अंग्रेजी राम्रो बोल्ने चिनियाँहरू अंग्रेजीमै अमेरिकी प्रयोगकर्ताहरूसँग संवाद गरिरहेका छन्, अंग्रेजी भाषा जसोतसो बोल्ने चिनियाँहरू पनि अमेरिकीहरूलाई अंग्रेजी सिकाइ मागिरहेका छन् । धेरै चिनियाँ कतिपय अमेरिकीहरूले आफ्नो भाषा स्पष्ट बोलेको सुन्दा मख्ख छन्। दुई देशका प्रयोगकर्ताहरू आपसमा चिनियाँ भाषामै पनि संवाद गरिरहेका छन्।
चीनका केही टिप्पणीकार स्याओ होंग सुमा अहिले अमेरिकी र चिनियाँबीच भइरहेको अन्तरक्रियालाई इतिहासमै दुई देशका जनताबीच सबैभन्दा व्यापक तहमा भएको अन्तरक्रिया बताइरहेका छन्।
स्याओ होंग सु प्रयोग गर्न थालेको केही घण्टामा दसौं हजार चिनियाँ प्रयोगकर्ताले पछ्याउनुलाई अमेरिकी प्रयोगकर्ताहरूले आफूप्रति चिनियाँ हार्दिकताका रूपमा लिएका छन्। हामी बाँचिरहेको युगको सबैभन्दा प्रभावशाली सञ्चारमाध्यम सामाजिक सञ्जालमा संसारका दुई शक्तिशाली देशका जनताबीच भएको यो अन्तरक्रियाको प्रभाव केही दिनको रमाइलोमा मात्र सीमित नरहला।
अमेरिकी सरकारले धेरै अघिदेखि नै टिकटकमा चिनियाँ लगानी भएको र त्यसमार्फत् अमेरिकी सूचना र तथ्यांक (डेटा) चीन पुगेको भन्दै प्रतिबन्ध लगाउन खोजिरहेको थियो। तर, चीनको सांघाईमा मुख्यालय रहेको एवं पूर्णतः चिनियाँ लगानी र प्रकृतिको स्याओ होंग सुमा एकाएक स्वस्फुर्त करोडौं अमेरिकी टिकटक प्रयोगकर्ता ओइरहनुलाई टिकटकमाथि प्रतिबन्ध लगाउने उसको नीतिप्रति जनताको विरोध मान्नुपर्छ। टिकटक प्रयोगकर्ताहरूको यो विद्रोहले अमेरिकी सरकार ‘तावामाथिको माछो भुंग्रोमा’ भनेजस्तै भएको छ।
करोडौं मानिस यसरी प्रत्यक्ष चिनियाँ लगानीमा सञ्चालित अर्को सामाजिक सञ्जालको शरणमा पुग्नु अमेरिकी सरकारको निम्ति निल्नु न ओकल्नु भएको छ। अमेरिकी प्रयोगकर्ताहरूका निम्ति टिकटक मनोरञ्जनको माध्यम मात्र होइन, धेरै अमेरिकी जनताले यसलाई व्यापार प्रवर्धनको माध्यमसमेत बनाउँदै आएका छन्।
अमेरिकाका धेरै स्थानीय ससाना व्यापार व्यवसायको प्रवर्धनसँग टिकटक प्रत्यक्ष जोडिएको छ। त्यही भएर प्रतिबन्ध लगाउने अमेरिकी सरकारका यसअघिका प्रयास पटक पटक विफल हुँदै आएको थियो। अहिले सर्वोच्च अदालतले नै प्रतिबन्धको औजार प्रयोग गरे पछि भने टिकटक प्रयोगकर्ताहरू शरणार्थी बनेका हुन्।
अमेरिकी अधिकारीहरूले टिकटकमाथि सधैं चिनियाँ बिल्ला भिराउने गर्दै आएका छन्। तर, टिकटक आफैंले भने चीन सरकारसँग उसको कुनै सम्बन्ध नभएको स्पष्टीकरण दिँदैआएको छ। टिकटकका सिइओलाई अमेरिकी संसदीय सुनुवाइ समितिमा बोलाएर यस विषयमा स्पष्टीकरण पनि लिइएको थियो। तर, टिकटकका सिइओले चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारसँग टिकटकको कुनै सम्बन्ध नभएको बताएका थिए।
बाहिर यस्ता आरोप लगाए पनि खासमा अमेरिकी प्रशासकहरूको स्वार्थ भने अमेरिकीहरूबीच निकै लोकप्रिय टिकटक अमेरिकी व्यापारीकै स्वामित्वमा जाओस् भन्ने हो। बाइटडान्सले तत्काल त्यसो गर्न नमानेपछि अहिले प्रतिबन्धको प्रयास भइरहेको हो।
करोडौंको संख्यामा अमेरिकीहरू स्याओ होंग सुुको शरणमा जानुले आगामी दिनमा के कसो प्रभाव पार्ला त ? प्रथमतः सामाजिक सञ्जालमा आउने यस्ता उभार लामो समय टिक्छन् भन्ने छैन। कोभिडकालमा नेपालमै पनि क्लब हाउसले सामाजिक सञ्जाल प्रयोगकर्ताबीच ठुलै तरंग ल्याएको थियो। केही सामाजिक सञ्जाल एप तत्कालीन समयको आवश्यकता पूरा गरुन्जेल निकै लोकप्रिय भएर समयान्तरमा क्रमशः सुक्दै गएका छन्। प्रयोगकर्ताको आवश्यकता र रुचिअनुसार आफूलाई नवीकरण गर्न नसक्ने सामाजिक सञ्जाल पनि स्मृतिमा थान्को लाग्दै जानु सामाजिक सञ्जालको बजारमा डार्बिनको सिद्धान्त लागु हुनु हो।
स्याओ होंग सुमा अहिले देखिएको उभार पनि त्यसकै सिलसिला हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। कदाचित टिकटकसँगको अलमल अमेरिकी सरकारले समीचीन व्यवस्थापन गरे अहिले अमेरिकी सरकारलाई रिस देखाउन स्याओ होंग सुमा हुरिएका प्रयोकर्ताहरू फेरि टिकटकमै फर्किन पनि सक्छन्। शरणार्थीहरू शरणमा आउँदा फर्किने आशाले नै आएका हुन्छन्। तर, सबै शरणार्थीहरूका त्यस्ता आशा भने पूरा हुँदैन।
तर, केही समयकै लागि मात्र भए पनि स्याओ होंग सुको कमाएको लोकप्रियता कोही धनाढ्यको लाभको निम्ति आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारी नीतिविरुद्ध अमेरिकी जनताको विद्रोह हो। उनीहरू कुनै पनि अवस्थामा आफ्नो अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्न तयार छैनन्। अर्कातिर सरकारी तहमा दुई देशबीच जस्तो सम्बन्ध भए पनि जनस्तरमा अमेरिकी र चिनियाँ जनता आपसमा हार्दिक सम्बन्ध राख्न इच्छुक रहेको यो घटनाले पुष्टि गरेको छ।
चीनविरुद्ध जस्तोसुकै प्रचारबाजी गरे पनि अमेरिकी जनता चीनसँग सिक्न उत्सुक छन् भने चिनियाँ पनि अमेरिकी जनतालाई हार्दिकतापूर्वक स्वागत गर्न तयार भएको यसले देखाएको छ। चिनियाँ जनता जसरी अमेरिकाबाट सिक्न चाहन्छन्, त्यसरी नै अमेरिकी जनता पनि चिनियाँ संस्कृति र सभ्यताबाट सिक्न चाहन्छन्। त्यसैले स्याओ होंग सुले प्रयोगकर्ताको माग र रुचिअनुसार आफ्ना विशेषतामा केही परिवर्तन गरी प्रयोगकर्तामैत्री बनाउने हो भने संसारभर चिनियाँ भाषा र संस्कृति प्रचार गर्ने यो सबभन्दा बलियो हतियार बन्नेछ। यसले संसारसँग चीनको सांस्कृतिक अन्तरक्रिया अझ व्यापक बनाउनेछ।
स्याओ होंग सुमा अमेरिकीहरूको शरणलाई सामाजिक सञ्जालको आजको युगमा जनविद्रोहको नयाँ उपायका रूपमा लिनुपर्छ। सामाजिक सञ्जालले पछिल्ला दुई दशकमा संसारको राजनीतिक उथलपुथल र अन्तर्राष्टिय सम्बन्धमा पारेको प्रभावलाई कसैले नकार्न सक्दैन।
अमेरिकामा चर्केका वाल स्ट्रिट आन्दोलन, ब्ल्याक लाइभ्स म्याटर्स आन्दोलन यसका पछिल्ला केही उदाहरण हुन्। स्याओ होंग सुमा ओइरिएका अमेरिकी शरणार्थीले फेरि पनि सामाजिक सञ्जाल सरकारी नीतिप्रति विपक्षमा मत अभिव्यक्त गर्ने आजको बलियो हतियार भएको पुष्टि गरेको छ। यसले राजनीतिक नेतृत्व, नीति निर्माता र समग्र राज्यलाई दबाब दिन सामाजिक सञ्जालको प्रयोगको नयाँ आयाम उजागर गरेको छ।
तथापि, सबै कुरा त्यति सरल र सहज पनि छैन। चीनसँग गोरु बेचेको साइनो भएको आरोपमा टिकटकमाथि प्रतिबन्धको डन्डा चलाउने अमेरिकी सरकारले प्रत्यक्ष चिनियाँ स्वामित्वको स्याओ होंग सुलाई कति दिन चल्न दिने हो ? के स्याओ होंग सु यो अन्तर्राष्ट्रिय शक्ति राजनीतिबाट जोगिएला ? विगतका अनुभव र दुई देशबीच आजको राजनीतिक सम्बन्धको आधारमा स्याओ होंग सुको अगाडिको यात्रा सरल हुने सम्भावना भने न्यून छ।
अमेरिकी प्रयोगकर्ताका सबै कलेवरका श्रव्यदृश्य चीनकै लागि पनि कतिको रुचीकर होला ? यसलाई चिनियाँ नेतृत्वले पनि सहजै स्विकार्ने अवस्था छ वा छैन ? यी प्रश्नका जवाफ तत्काल उति सकारात्मक भने छैनन्। त्यसकारण स्याओ होंग सुको आजको कुम्भमेला आजकै रूपमा धेरै दिन नरहला। तर, यसले नयाँ टम्प सरकारलाई केही महŒवपूर्ण सन्देश दिएको छ। पहिलो, अमेरिकी जनता चीनसँग वैमनस्यको सम्बन्ध राख्न चाहँदैनन्। बरु फराकिलो अन्तरक्रिया र आपसी सम्बन्ध बलियो बनाउन चाहन्छन्। कदाचित कुनै सीमित व्यक्तिको लाभका निम्ति सरकारले जनताको चाहनाविपरीत कदम चाले जनतासँग सरकारी निर्णय अवज्ञा गर्ने हजार बाटा छन्।
जे होस्, वसन्त पर्वको पूर्वसन्ध्यामा स्याओ होंग सुमा लागेको कुम्भमेला चिनियाँ प्रयोगकर्ताका लागि रमाइलो जात्रा भएको छ। दुई देशबीचको सम्बन्धमा यसले पार्ने प्रभाव भने आगामी दिनमा क्रमशः उजागर हुँदै जाला।
प्रकाशित: १० माघ २०८१ ०७:३७ बिहीबार