हामी स्वतन्त्र छौँ भन्दैमा अन्यतिरका (देशमा) नियतिप्रति उदासीन कहिल्यै हुन सक्दैनौँ- पद ग्रहण समारोहमा राष्ट्रपति कार्टर।
सन् १९७७ मा जिम्मी कार्टर संयुक्त राज्य अमेरिकाका ३९औँ राष्ट्रपति मात्र बनेनन्, विश्वका एक प्रणेतासमेत भए। मानव अधिकारलाई कुनै पनि राष्ट्रको भूगोलको घेराभन्दा बाहिर निकाल्ने खुबी भएबाट विश्व नेता बने। सत्ता रमझममा अल्झिएर यसका आधारभूत सिद्धान्तमा सम्झौता तिनले गरेनन्। लोकतन्त्रका आधारशीला मानव अधिकार र शान्ति भएको देखे। सत्ताका सौदाबाजीमा नागरिक अधिकार सिकार बन्न नहुने बलियो विश्वास जीवनभर बोके।
शासकीय निहीत स्वार्थबाट मानवता नबुझ्ने चरित्रका खिलापमा उनी थिए। विश्व शान्ति र मानव अधिकार क्षेत्रमा पुर्याएको योगदानबाट ‘नोवेल शान्ति पुरस्कार २००२’ विजेतासमेत बने। अमेरिकालाई मानव अधिकार ‘मोडल देश’ को परिचय दिए। लोकतन्त्रको वकालतमा निरन्तर लागे। सय वर्षको आयु लिएर धर्तीमा जन्मेका उनी गएको आइतबार २९ डिसेम्बरमा यस संसारबाट बिदा लिए। विश्वलाई अमूल्य सद्भाव र भाइचाराको सन्देश र पदचिह्न छाडेर गए।
विश्वका कुनै पनि निरंकुश शासकका प्रिय बनेनन् कार्टर। मित्रता र सहयोगका पूर्वसर्त मानव अधिकारलाई बनाए। यससम्बन्धी वैदेशिक सहायतासम्बन्धी राष्ट्रपतीय आदेश जारी गरे। वैदेशिक नीतिको केन्द्रविन्दुमा यसलाई राखेर देशको मूल अजेन्डा बनाए।
विदेश मन्त्रालयबाट मानव अधिकारको विश्व वार्षिक प्रतिवेदन प्रकाशनको सुरुवात गराए। यसबाट विश्वमा एक संवेदनशील तथा असल राष्ट्रपति बनेर देखाए। दोस्रो कार्यकालका लागि चुनाव नजिते पनि ४२ वर्षदेखि अनवरत स्वयंसेवी भएर ‘कार्टर सेन्टर’ मार्फत विश्वभर अधिकार तथा शान्ति अभियानको यात्रामा लागिरहे। राजकीय मोहबाट अलग बसे।
कार्टर प्रजातन्त्र पुनस्र्थापनापछि नेपालका असल मित्र एवं एक शुभचिन्तक थिए। मात्र उनी यस्ता पूर्वअमेरिकी राष्ट्रपति भए जसले नेपालको भ्रमण पटकपटक गरे। शान्ति प्रक्रिया, संविधान सभाको चुनाव, संविधान निर्माण तथा लोकतान्त्रिक अभ्यासलाई नजिकबाट अध्यान गरे। ‘कार्टर सेन्टर’ मार्फत हिंसात्मक द्वन्द्वमा लागेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन नेपालको प्रयासलाई सन् २००३ देखि सहयोग पुर्याए। ‘आतंककारी’ घोषणा भएको माओवादीलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्ने भूमिकासमेत खेले।
सन् २००७ जुन र नोभेम्बरमा संविधानसभा निर्वाचन र संविधान निर्माणमा सहयोग पुग्ने उद्देश्यले नेपालको भ्रमण गरेको उनको प्रतिवेदनमा लेखेका छन्। एक अन्तर्राष्ट्रिय चुनावी पर्यवेक्षक भएर गरेका उनका भ्रमण फलदायी थिए।
नेपालको हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गर्न सहयोगी बने। पहिलो संविधान सभा चुनावमा मुलुकका विभिन्न भागमा माओवादीका हिंसा र चुनावी अनियमितता रोकिएको थिएन। कतिपय उमेदवार प्रचारप्रसार गर्नसमेत पाएनन्, तिनका अवरोध तथा त्रासबाट।
यसैबीच काठमाडौँका केही चुनावी बुथको पर्यवेक्षणपछि ‘निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र तथा निष्पक्ष भएको’ उनको भनाइले राजनीति निकै ततायो। यो प्रतिक्रिया समग्र चुनावी विश्लेषण नभई हल्का टिप्पणी भएको धेरैले ठानेका थिए। तथापि माओवादीलाई भने यसबाट राजनीतिक फाइदा भयो।
पहिलो संविधान सभाको निर्वाचनबाट सबैभन्दा ठूलो दल भएको वैधता उसले पायो। चुनावी अनियमितताबाट उठ्न सक्ने चर्को राष्ट्रिय राजनीतिक विवाद र अस्थिरतालाई मत्थर पार्न यो सहयोगी बन्यो। सम्भावित हिंसात्मक झडप रोक्यो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा औपचारिक अवतरण गर्ने उपयुक्त वातावरण बन्यो।
२०३६ सालको जनमत संग्रह (बहुदल वा निर्दल) मा पनि काठमाडौँ ज्ञानेश्वरको गौचरमा भोट खसालेपछि नेपाली कांग्रेसका नेता बिपी कोइरालाले ‘चुनाव शान्तिपूर्ण र धाँधलीरहित भएको’ प्रतिक्रिया दिएपछि उनले निकै ठूलो आलोचना भएको थियो। त्यस भनाइबाट पञ्चायती पक्षधरले मुलुकभर गरेका धाँधलीले वैधता पायो।
‘पहेँलो चिह्न’ को निर्दलीय पञ्चायतले बहुमत पाएको भनी गरिएको घोषणा चुनौतीबिहीन बन्यो। यसको सिकार बहुदलीय व्यवस्थाको पुनर्बहालीमा भयो तर अन्तर्राष्ट्रिय चलखेलको राजनीतिक खतरा भने टर्यो। बहुदलीय अभ्यासमा पुग्न अरू एक दशक लागे पनि उनको दूरदर्शिताले देशको अस्तित्व भने जोगियो।
जनमत संग्रहमा पञ्चायतले जिते पनि शासन चलाउन तत्कालीन राजा वीरेन्द्रलाई त्यति सहज थिएन। डा. भेषबहादुर थापाले ‘राष्ट्र–परराष्ट्र’ पुस्तकमा राजा वीरेन्द्रको भनाइ राख्दै लेखेका छन्– होइन, यो जिम्मी कार्टरले मलाई मानव अधिकारका सवालमा ज्यादै दुःख दिइरहेका छन्। उनलाई हाम्रो कुरा बुझाउन सक्ने मानिस चाहिएको छ। तिमी (थापा) राजदूत बनेर अमेरिका जाऊ। परिस्थिति सम्हाल।
थापाले लेखेका छन् -त्यतिबेला अमेरिकी राष्ट्रपति जिमी कार्टरले मानव अधिकार उल्लंघन भएको भनी नेपाललाई तारो बनाएका थिए। अर्कातिर पञ्चायती सरकारले इसाई धर्मप्रति बढी कठोर बन्यो भन्ने उनलाई लागेको थियो। कार्टरले प्रजातन्त्र बहालीको सवाल पनि उठाइरहेका थिए। अमेरिका पुगेर ओहोदाको प्रमाणपत्र बुझाएपछि उनीसँगको गफभेटमा नेपालको मानव अधिकारको विषय उठाएको कुरा पनि त्यस पुस्तकमा उनले लेखेका छन्।
विडम्बना, अमेरिकाले अधिकार र लोकतन्त्रवादी कार्टरको पदचिह्नलाई यतिबेला छाडेको छ। ‘शरणार्थी अधिकार मानव अधिकार’ विश्वव्यापी मान्यतालाई भुलेको छ। सन् १९८० मा शरणार्थीसम्बन्धी कोसेढुङ्गा मानिएको अमेरिकी कानुनलाई कार्टरले हस्ताक्षर गरेर लागु गरेपछि एक वर्षमा दुई लाख सात हजारभन्दा बढी व्यक्तिले अमेरिकामा शरण पाएका थिए।
त्यही मुलुकका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आज शरणार्थीप्रतिका अपहेलित शैलीका भाषण र घृणायुक्त अभिव्यक्ति सुन्ने गरिन्छ। ‘डाइभर्सिटी भिसा’ (डिभी) समेत अवलम्बन गरेको देशले अप्रवासी नागरिकलाई देशबाट सामूहिक निष्काशन गर्ने (लखेट्ने) अमानवीय योजनाको घोषणाले विश्वलाई चकित पारेको छ।
२०२० सालको राष्ट्रपति चुनावी हारलाई अस्वीकार गर्दै ‘क्यापिटल हिल’ कब्जा गर्ने असंवैधानिक तथा अलोकतान्त्रिक व्यवहारबाट ‘जग हँसाउने’ कार्य ट्रम्पले गरेका थिए। अमेरिकामा ‘गोरा सर्वोच्चता’ स्थापित गर्नेका पक्ष लिएर विभेदकारी समाज फर्काउने प्रयासले ‘मेक अमेरिका ग्रेट अगेन’ नारा तर्कसंगत छैन। जबकि दक्षिण अफ्रिकाको रंगभेद नीतिलाई सार्वजनिक निन्दा गर्ने कार्टर पहिलो अमेरिकी राष्ट्रपति बने। जलवायु परिवर्तनलाई ‘होक्स’ (झुटा प्रचार) भएको अभिव्यक्ति दिएर नेपाल र कोस्टारिकाबाट वातावरण संरक्षण र वन विनास रोक्ने विश्व अभियानको थालनी गर्ने पहिलो राष्ट्रिपति कार्टरको प्रयासलाई ट्रम्पले जिस्काएका छन्।
१७ सेप्टेम्बर १९७८ मा इजिप्टका राष्ट्रपति अनवर सादात र इजरायलका प्रधानमन्त्री मेनाचिम वेगिनबीच ‘क्याम्प डेभिड’ शान्ति सम्झौताबाट कार्टरले ‘विश्व शान्ति’ को एक सशक्त सन्देश दिए तर ‘बाइडेन प्रशासन’ ले मानवीय संवेदनालाई नकारी निर्दोष प्यालेस्टाइनी नागरिकमाथि नरसंहार एवं मानवताविरुद्धका अपराधसमेतमा सामेल इजरायली शासकलाई सहयोग र समर्थन गरेको छ। कमला ह्यारिसको चुनावी हारको मुख्य कारण यही बनेको मानिन्छ।
राष्ट्रसंघको सुरक्षा परिषद्मा ‘भिटो’ को प्रयोगबाट अस्पताल तथा विद्यालयमा रहेका बिमारी, अशक्त, सुत्केरी तथा बालबालिकामाथि भएका ‘इजरायली बम वर्षा’ को बचाऊ अमेरिकाले गरेको छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पूर्जी जारी भए पनि उनीमाथि कारबाही चलाउन असहयोग गरेको छ। कार्टरको ‘मानव अधिकारको नमुना देश’ यतिबेला विश्वमा गम्भीर हनन्कर्ता बनेको छ। निष्ठापूर्वक थालेको उनको प्रयासले आज धोका खाएको छ। शासक जन्मन्छन् र मर्छन् तर कमैले मात्र आदरणीय बन्ने हक जमाउँछन्। मानव अधिकारका विश्व पहरेदार कार्टरप्रति श्रद्धाञ्जली।
प्रकाशित: २२ पुस २०८१ ०८:४९ सोमबार