दिन छ। रात पनि छ। उज्यालो छ। अँध्यारो पनि छ। अँध्यारोको विश्रामले उज्यालोलाई ऊर्जा दिन्छ। त्यही अँध्यारोबाट धमिलो पानीमा माछा मार्ने प्रवृत्तिहरूले फाइदा पनि उठाउन सक्छन्। त्यसको खबरदारी भएको हो भने राज्यका निकायहरूले ध्यान दिनुपर्ने विषय आउला। खबरदारी गर्ने निकायहरूलाई त्यसको जिम्मा भयो।
हिन्दु कुलमा जन्म भए पनि खासै होम, यज्ञ, आरती, धार्मिक क्रियाकलापमा सक्रिय पात्र म होइन। तर मलाई सम्झना छ– बाटो खन्ने कुनै उपाय नभएपछि, गाउँ सारा मिलेर सप्ताह महायज्ञ गरेर। बाटो खनेका थियौँ। विद्यालयलाई उच्च मावि गराउन लगाइएको यज्ञमा दान गरिएको थियो। गाउँमा एम्बुलेन्स तथा सामाजिक कार्य गर्ने उद्देश्यका साथ गरिएको यज्ञमा दान दिएको हो।
अनेकौँ किसिमका धार्मिक प्रचारप्रसार भैरहँदा सनातन धर्मविरुद्ध बोलिरहेकाहरूको भिडमा कहिलेकाहीँ उभिँदा विकसित देशका ठूला महाविद्यालयहरूमा गीता, रामायणको पढाइ हुन्छ भनेर सुनिरहँदा, कृष्ण चरित्र, रामलीलाहरू घरमा भएको रामायणको अध्ययन गर्दा जीवन जिउने अनेकौँ कला, मानिससँग मानिसले गर्नुपर्ने अनेकौँ कूटनीतिक व्यवहार, आफ्नो नजर, अर्काको नजर, सत्गुणीको नजर, दुर्गुणीको नजर, त्यसका सामनाहरूका अनेकौँ सिकाइ, यी ग्रन्थबाट सिक्न सकिने अनेकौँ सम्भावना नासिएर जाने पो हो कि भन्ने एक प्रकारको डर लागिरहन्थ्यो। एउटै जीवनमा मान्छेले सबै कुरा भोगेरै सिक्छु भन्ने पनि सम्भव छैन। जीवन छोटो छ। भोगाइ सुमधुर बनाउन। विभिन्न धर्म, संस्कार, जीवन, विज्ञानबाट शिक्षा लिँदै उन्नत बनाउने हो।
जब काशी, गया, मथुराको भ्रमण गर्ने मौका मिल्यो, त्यहाँ हुने नियमित धार्मिक कार्यक्रम, गोरा छाला भएकाहरूको समेत ती धार्मिक स्थल अध्ययन थलो बनेको देख्दा, हुनुपर्ने क्षेत्रमा कामहरू भैरहेकै रहेछन् भन्ने लागेको थियो। केही महिनाअघि मात्र पशुपतिमा कोटिहोम महायज्ञ भएका बेला त्यहाँ युवा महिला साधिकाहरूसमेतको प्रवचनले मिडिया छपक्कै ढाक्यो। आशा अझै मौलाएको छ। म धर्ममा लिप्त र बिरालो बाँधेर श्राद्ध गर्नुपर्छ भन्ने लयमा दगुरिहाल्दिन्। तर सनातन धर्मका जे÷जति उत्कृष्ट जीवन जिउने कला र सिकाइ छ त्यसलाई पुस्तान्तरण गर्नु भने आवश्यक छ भन्ने ठान्छु।
मान्छेलाई सत्कर्मले विभूषित गरेरभन्दा विवादमा ल्याएर चर्चा चुल्याउने चलन छ। यो हाम्रो नकारात्मक आकर्षणयुक्त मस्तिष्कको प्रभाव पनि हुनुपर्छ। पाठक, स्रोता, दर्शकलाई नकारात्मक समाचारले खिच्न सकिन्छ भन्ने प्रस्तोताहरूलाई थाहा छ। यसरी ध्यान खिच्ने बहानामा हामीले समाजलाई कुन बाटोतर्फ धकेलिरहेका छौँ भन्ने कुरा पनि सोच्न, बुझ्न र व्यवहार परिवर्तन गर्न आवश्यक छ।
धर्मग्रन्थका विभेदकारी व्यवस्था पनि छन्। उक्त पक्षलाई समाजको अहित हुने गरी उजागर गर्नु आवश्यक छैन। त्यस्तै विभेदकारी व्यवस्थाविरुद्धको आन्दोलन गर्ने योद्धा र उनका सफलताका कथा र समाजमा आएको अमनचयनका कथाहरू पनि विधिसंगत तरिकाले प्रस्तुत गर्न सकियो भने युवा मस्तिष्क, युवा विद्वता सदा वन्दनीय हुन्छ।
अहिले विभिन्न तालिम, गोष्ठी आदि कार्यक्रममै हेरौँ न। महिला प्रशिक्षकले दरिलो आत्मविश्वासका साथ सहजीकरण गरिरहेका हुन्छन्। उनीहरूको यो आत्मविश्वास देख्दा लाग्छ– अब कुनै काम नेपालमै पनि यस्तो छैन, जहाँ महिलाले हाँक्न नसकून्। विद्यालय, कलेजका शिक्षक मात्र हैन, निजामती सेवामा प्रत्येक वर्ष बढ्दो महिला संख्याले पनि नारी शक्ति हरेक कुरामा अब्बल रहेका पुष्टि हुन्छ। त्यसैले निर्धक्क भन्न सकिन्छ कि हाम्रा होनहार प्रतिभाहरूले स्वदेशमै बिनापक्षपात अवसर पाउने अवस्था सिर्जना भयो भने आफ्नो माटोको सुखदुःखको उदाहारण पेस हुन्छ। आफ्नै माटोको सुवास छर्न सक्छन्।
जे होस्, आफ्नो नाम नभएका, फलानोकी पत्नी, फलानिकी आमा, फलानिकी बुहारी भएर जीवन गुजार्न बाध्य आमाहरूका छोरीहरू हप्ता दिनसम्म धारा प्रवाहरूपमा लाखौँको भिडमा प्रस्तुत हुन सक्नु, मै हुँ भन्ने सयौँ पुरुषका अगाडि निर्धक्क भएर घण्टौँ तालिम÷प्रशिक्षण दिन सक्नु कम्ता खुसीको विषय होइन।
मकवानपुरकै कुरा गर्ने हो भने पनि महिला हरक्षेत्रमा धेरै अगाडि देखिन्छन्। देशैभर सहकारीले कलंक भोगिरहेका बेला यहाँका महिलाले खोलेका सहकारी भने देशमा मात्र हैन, विदेशमा समेत ख्याति कमाइरहेका छन्। यहाँ कुनै दिन यस्तो हुँदैन जहाँ बाहिरका मानिस महिला नेतृत्वका सहकारी अवलोकन गर्न र पढ्न आएका नहुन्। यतिबेला पनि हामी हेटौँडामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २०औं स्थापना दिवसका अवसरमा तीन दिवसीय महोत्सवको तयारीमा जुटेका छौँ। यो भव्य कार्यक्रमलाई महिला नेतृत्व स्थापित र प्रमाणित गर्ने अर्को ऐतिहासिक अवसरमा रूपान्तरण गर्न कम्मर कसेर लागेका छौँ।
हामी नसक्ने होइनौँ। जन्मजात डरपोक, काँतर पनि होइनौँ। अवसर, अभ्यासको अभाव हो। यसलाई सिर्जना गर्न सकिन्छ। अभ्यस्त बनाउन सकिन्छ। हामी सक्छौँ भन्ने भावले भरिपूर्ण गराएको छ। दारी भएकाहरूले मात्र ज्ञान दिने होइन। सारीधारीहरूले पनि जीवन जीउने कला सिकाउन सक्छन् भन्ने धारणा विकास गरेको छ। यो सुखद् जागरण हो। यसलाई यिनै तरिकाले उजागर गरौँ। सबैमा आत्मविश्वास भरौँ।
– श्रेष्ठ मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, हेटौँडाकी अध्यक्ष हुन्।
प्रकाशित: ९ पुस २०८१ ०६:१० मंगलबार