गत महिना अमेरिकाको क्यालिफोर्निया राज्यको बार परीक्षामा नयाँ कीर्तिमान कायम भयो। केवल १७ वर्ष आठ महिनाकी सोफिया पार्क वकिलको परीक्षामा उत्तीर्ण भई राज्यको इतिहासमै सबैभन्दा कलिली वकिल बनिन्। कानूनीरूपले चुरोट किन्न र रक्सी पिउन नपाउने उमेरमै सोफिया अधिवक्ता बनिन्। अझ महत्वपूर्ण त उनले दाजु पिटर पार्कले सन् २०२३ मा १७ वर्ष ११ महिनामा बार परीक्षा उत्तीर्ण भई राखेको क्यालिफोर्निया राज्यको सबैभन्दा कम उमेरको अधिवक्ताको अभिलेख तोडिन्। संसारकै बारको इतिहासमा सम्भवतः एकै परिवारका सदस्यले एकपछि अर्को कीर्तिमान कायम गरेको यो पहिलो घटना हो।
नेपालमा झैँ कानूनमा दीक्षित भएर मात्र अधिवक्ता परीक्षामा सामेल हुन पाउने क्यालिफोर्निया बारको नियम हो। कानूनी शिक्षा विशिष्टीकृत अध्ययन भएकाले स्नातक तह उत्तीर्ण गरेपछि मात्र ‘कानूनी शिक्षा’को बाटो खुल्छ। त्यस्तो कानूनी व्यवस्था हुँदाहुँदै आखिर कसरी १७ वर्षकै उमेरमा अधिवक्ता बन्न सफल भए त पार्क दाजुरबहिनी भन्ने प्रश्न कौतुहलताको विषय हो। के उनीहरू सानै उमेरदेखि विलक्षण प्रतिभासहित वकिल बन्ने अभिलाषाका साथ हुर्किएका थिए त? बच्चालाई स्वेच्छाले चिताएको विषय पढन दिँदा उसले सफलता हासिल गर्छ भन्ने एउटा मान्यता छ भने अभिभावकले कलिलो दिमागलाई मार्गनिर्देशन गर्दा उनीहरूले शिखर चुम्छन् भन्ने अर्को पक्षको ठहर छ। आखिरमा कुन विधि सफल हो त?
सोफियाका पिता बायाम्जु पार्क तालिमले एक्युपन्चरिस्ट हुन् भने पेसा ‘पेटेन्ट एजेन्ट’ हो। बारको तयारीका क्रममा २१ वर्ष उमेरमा वकिल भएर कीर्तिमान राखेको मानिसको कथा पढ्दा आफूले सहयोग गर्ने हो भने आफ्ना छोराछोरीले उक्त अभिलेख तोड्न सक्ने देखे बायाम्जुले। अमेरिकाले कुनै व्यक्तिले विशिष्टीकृतरूपले सञ्चालित ‘कलेज लेभल एक्जामिनेसन प्रोग्राम (सिएलइपी)’ उत्तीर्ण गरेमा परीक्षार्थीले ब्याचलर लेभलको अध्ययन पूरा गरेको मानिन्छ।
पिता पार्कले आफ्ना छोराछोरीलाई निम्न माध्यमिक तहमा पढदै गर्दा वैकल्पिक अध्ययन व्यवस्थामार्फत सिएलइपीको परीक्षा दिलाए। उक्त परीक्षा उत्तीर्ण भएपछि १३ वर्षकै उमेरमा आफ्ना बच्चालाई कानून विद्यालय भर्ना गराए। चारै छोराछोरी एकै ठाउँमा पढ्दा प्रभावकारी हुने ठानी आफ्नो सुत्ने कोठालाई ‘स्टडी रुम’ मात्र बनाएनन् बरु छोराछोरीको अध्ययन निरीक्षण गर्न नसुतुन्जेल आफू पनि जाग्राम बसे पार्क दम्पती। सन्ततिको मेहनत अनि बाबुआमाको तपस्याका प्रतापले दुई बच्चा हाइस्कुलमा पढ्दापढ्दै ‘ल स्कुल’बाट समेत दीक्षित भए। बाबुआमाको कडा मेहनतले गर्दा सन्ततिले हाइस्कुल र कानूनी वारिधि सँगै गरे। कलिलो उमेरमै वकिल बने।
अन्तर्वार्तामा पिटरले बुबाले तैँले अब एटर्नी बन्नुपर्छ भनेपछि मात्र आफूले वकिलका बारेमा इन्टरनेटमा खोजेको जानकारी गराए। तसर्थ पार्क परिवारको सफलतामा उनीहरूको बिलक्षण प्रतिभा तथा बच्चामा भित्रबाट पलाएको कानूनी कौतुहलताभन्दा मातारपिताको चाहना र समर्थनको भूमिका देखियो। आखिरमा अभिभावकको सपना र पारिवारिक सहयोगले बच्चाको भविष्य कायापलट हुन्छ भन्ने यो परिदृश्य सबैका लागि ठीक हो कि यो घटना एक ‘आउटलाएर’ मात्र हो। यसै सम्बन्धमा दशकौँसम्म चलेको बृहत् अमेरिकी अध्ययन चर्चायोग्य छ।
दशकौँअघि संयक्त राज्य अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक लुइ सटरम्यानले व्यक्तिको जन्मजात बैद्धिक क्षमता (आइक्यु) र पारिवारिक वातावरणले उक्त बालकको भावी सफलतालाई कसरी निर्देशित गर्छ भन्ने विषयमा बृहत्तर अध्ययन गरे। उक्त अन्वेषणमा अमेरिकाको करिब करिब सम्पूर्ण जनसंख्यालाई समेट्दै प्राथमिक स्कुलमा अध्ययनरत लाखौँ विद्यार्थीको आइक्यु टेस्ट गरियो। वैज्ञानिक अल्बर्ट आइन्सटाइनको आइक्यु स्कोर १६० लाई आधार मान्दै १५० भन्दा अधिक अंक पाउने एक हजार पाँच सय प्राथमिक तहका विद्यार्थीको लागत तयार गरे उनले। झण्डै आइन्सटाइनकै हाराहारीमा बौद्धिक तागत भएका विद्यार्थीहरू जीवनमा सफल हुन्छन् भन्ने उनको प्रारम्भिक आकलन थियो।
अध्ययनको तीन दशकपछि छनोटमा परेका १५ सय बौद्धिक विद्यार्थीको तत्कालीन अवस्थाको तथ्यांक हेर्दा डा. टरम्यान झसंग भए। समेटिएका आधा मानिस वकिल, प्राध्यापक, राजनीतिज्ञ, वैज्ञानिक, चिकित्सक मात्र भएको देखेनन् बरु उनीहरू आआफ्नो क्षेत्रमा ख्याति पाए। तर त्यही छनोटमा परेको अर्को आधा समूह भने कुनै पनि हिसाबले औसत नागरिक भन्न पनि मिल्ने अवस्थामा देखेनन् उनले। धेरैले स्कुल तहको अध्ययन पनि पूरा गर्न सकेनन्। केही मुस्किलले कलेजसम्म पुगे तर सामान्य विद्यार्थीको दर्जा दिन मिल्ने पनि देखिएनन्। अझ केही त चोरी, डकैती, लागू औषधिको दुव्र्यसनीको अभियोगमा जेल परेका भेटिए। विलक्षण क्षमतावान सदैव सफल बन्छ भन्ने सामाजिक अवधारणालाई भत्कायो उनको अनुसन्धानले। उक्त अनुसन्धानले सानामा विलक्षण प्रतिभा भए पनि सफल व्यक्ति बन्न थप कुराको दरोकार पर्छ भन्ने देखायो।
प्राध्यापक टरम्यानले उत्कृष्ट बौद्धिक क्षमता भएका समूहका आधा हिस्सा देशकै प्रतिष्ठित समूहमा दरिनु अनि अर्को पचास प्रतिशत भने राष्ट्रकै बोझ बन्ने अवस्था कसरी आयो भनी थप अनुसन्धान गरे। एकै तहका शिक्षक तथा समान श्रेणीको स्कुल पढे पनि कुनै आकास चुम्ने सफल बन्नु अनि अर्को पातालमै धस्ने अवस्था कसरी आयो भन्ने उत्तर खोज्न दुवैतिरका बच्चाको पारिवारिक अवस्था र सामाजिक संस्कारलाई थप उत्खनन गर्दा उनले अनौठो परिणाम भेटे। अपवादबिहीनरूपमा पारिवारिक संस्कार राम्रो भएका बच्चाहरू जीवनमा सफलताको धरहरा चढेको पाए टरम्यानले। बाबु आमा मिलेर बसेका, छोराछोरीलाई सफल नागरिक बनाउनुपर्छ भन्ने सोच भएका परिवारमा हुर्किएका बच्चाहरू अत्यधिक सफल देखिए। पारिवारिक कलह, दुर्व्यसनी बा आमा, अनि आफ्नो व्यक्तिगत स्वच्छन्दता र स्वतन्त्रमा रम्ने परिवारमा हुर्किएका बच्चाहरू निर्विवादरूपले अध्ययनको सूचकांकमा निकै तल परेको देखे टरम्यानले।
अझ सबैभन्दा अनौठो कुरा त आइक्यु टेस्टमा तोकिएको १५० नल्याएको कारण उनको अध्ययनमै नपरेको एउटा स्कुले विद्यार्थीले पछि विज्ञानमा नोबेल पुरस्कार पाएको देखियो। कम स्कोरका कारण नसमेटिएको व्यक्तिले कसरी नोबल पुरस्कार पाउन सफल भयो भनी थप अध्ययन गर्दा उक्त परिवारको ध्याउन्न नै छोरालाई कसरी सर्वोत्कृष्ट नागरिक बनाउने भन्ने रहेको र आमा बाबुले सन्तानका लागि आफ्नो पेसामै सम्झौता गरी जीवन समर्पण गरेको पाए प्राध्यापक टरम्यानले। तसर्थ कमसलखालकै विद्यार्थी भए पनि बाबु आमाले विशेष भूमिका खेल्ने हो भने उसले सफलताको सगरमाथा चुम्छ भन्ने देखियो।
जन्मजात प्रतिभाले व्यक्तिको सफलतामा भूमिका खेल्छ तर त्यसभन्दा पनि अधिक महत्वपूर्ण पारिवारिक समर्थन र समर्पण नै हो भन्ने टरम्यानले आफ्नो प्राध्यापन जीवन नै समर्पण गरेर निकालेको शैक्षिक मनोवैज्ञानिक अनुसन्धानको निष्कर्ष हो। नेपालको सन्दर्भमा भन्नुपर्दा अन्य जातको तुलनामा ब्राह्मण क्षत्रीहरू पढाइलेखाइको मामलामा अघि देखिए। ब्राह्मणका सन्तानहरू जन्मँदै पठनपाठनमा रुचि भएका कारण सफल भएका होइनन् बरु बिहानदेखि बेलुकासम्म बच्चालाई कसरी पढाइमा सर्वोत्कृष्ट बनाउने भन्ने माता/पिताको ध्यान नै हो।
नेपालको अनुभव, क्यालिफोर्नियाका पार्क परिवारको रहस्य र विद्वान् टरम्यानको अनुसन्धानलाई ध्यानमा राख्दा स्तरीय स्कुल कजेजको स्थापना समाज परिवर्तनका लागि आवश्यक तत्व हुन्। तर व्यक्तिको सफलतामा पारिवारिक लगानी निर्णायक देखिएको छ। तसर्थ, आगामी शिक्षा नीति तर्जुमा गर्दा शिक्षण संस्था, शिक्षक र पाठ्यक्रममा मात्र केन्द्रित हुनुको बदला पारिवारिक भूमिकाबिना सफल नागरिक उत्पादन गर्न सकिन्न भन्ने यथार्थ स्मरण गर्न आवश्यक देखिन्छ।– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: २६ मंसिर २०८१ ०८:३८ बुधबार