६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो। देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो। दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा (माओवादी) राजनीतिको मूलबाटोमा आएको थियो। र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला थिए। त्यही बेला कोइराला निवासको एउटा बत्ती निभ्यो। अर्थात् २०६३ साल माघ १४ गते नोना कोइराला यो धर्तीबाट बिदा भएर गइन्। त्यो बेला गिरिजाप्रसादले कार्यकर्तासँग भनेका थिए, ‘कोइराला निवासको बत्ती निभ्यो।’

नेपाली कांग्रेस आफैँमा एउटा यस्तो राजनीतिक पार्टी हो, जसले राजनीतिक समावेशीतालाई गर्भदेखि नै बोकिल्यायो। अर्थात् महिला अधिकार वा भनौँ प्रतिनिधित्वलाई नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रमुखता दिँदै आएको छ।

नेपाली कांग्रेसभित्र त्यस्ता धेरै महिलाले योगदान गरेका छन् तर विरलैको नाम पार्टी पङ्क्तिमा आउँछ। नयाँ पुस्ताले त कतिपय नाम ‘गुगल’ गर्दा पनि नभेट्ने अवस्था छ।

कांग्रेसभित्र आफू जलेर राष्ट्र, राजनीति, जनता, प्रजातन्त्र अनि पार्टी र कार्यकर्तामाझ उज्यालो छरेका त्यस्ता धेरै नारी पात्रमध्ये नोना कोइराला अग्रपङ्तिमा छिन्। उनलाई समकालीन कांग्रेस नेता, कार्यकर्ताहरूले ‘नोना आमा’ भनेर पनि चिन्छन्।

यद्यपि, नेपाली कांग्रेसभित्र ‘दाइदिदी’ अनि ‘भाउजु’ कल्चर एउटा परम्परा जस्तै मानिन्छ। तर नोना कोइराला त्यस्तो सम्मानित नारी पात्र हुन्, जसलाई नेपाली कांग्रेसका आम कार्यकर्ताले ‘आमा’ भनेर सम्बोधन गर्थे। यसबाट पनि प्रस्ट हुन्छ, उनी कोइराला परिवारले मात्रै होइन, सिङ्गो पार्टी जीवनकै एउटा उज्यालो बत्ती थिइन्।

नोना आमाको जन्म १९८५ कात्तिक २४ गते भारतको रामनगरमा भएको थियो। नेपालमा राणाविरुद्ध लडिरहेको कोइराला परिवारका एक स्तम्भ कृष्णप्रसाद कोइराला सारा परिवारसहित भारतमा निर्वासित जीवन बिताउँदै थिए।

भारतमै बसेर कोइराला परिवारले नेपालमा क्रान्ति हाँकिरहेको थियो। त्यो बेला राणाको अत्याचारका बीच पनि केशव कोइराला भने नेपालमै थिए। त्यो बेला भारतमा पनि अङ्ग्रेज विरोधी आन्दोलन चलिरहेको थियो।

पञ्चायतको समयमा समेत उनले प्रजातन्त्र स्थापना तथा सामाजिक न्यायका लागि साहसिक कार्य गरे। उनमा सबैलाई मिलाएर अघि बढ्न सक्ने विशिष्ट क्षमता थियो। नोनाको राजनीतिक जीवनको सुरूवात २००३ सालको मजदूर आन्दोलनदेखि भएको हो। त्यतिबेला उनले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा उनले नै लिएका थिए।

निरकुङ्श राणा शासनविरुद्ध २००७ सालमा कांग्रेसले सञ्चालन गरेको सशस्त्रमुक्ति आन्दोलनमा पनि उनले हतियार व्यवस्थापन, सरसफाइ र वितरणको जिम्मेवारी लिएका थिए। यहाँसम्मकी कतिपय हतियार त उनले आफ्नो शरीरमा लुकाएर मुक्ति सेनासमक्ष पु¥याउने गरेको आन्दोलनका होमिएका धेरैलाई थाहा छ।

त्यही क्रममा भारतमा रहेका कृष्णप्रसाद कोइराला उतै जेल परे। त्यही बेला २००० असार २५ गते नोना र केशव कोइरालाबीच विवाह भयो। त्यसपछि उनी कोइराला परिवारभित्र एक अभिभावक जस्तै बनेर आफ्नो पारिवारिक, सामाजिक र राजनीतिक अभिभारा निर्वाह गरिरहिन्।

सारा परिवार भारतमै निर्वासन भएका बेला नेपालमा परिवारको खेतीपातीदेखि घरबार धान्ने र पार्टी अनि कार्यकर्ता परिचालन र व्यवस्थापनको जिम्मेवारी नोना–केशवकै काँधमा थियो। त्यही बेला २००३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा पनि नोना कोइरालको अद्वीतीय भूमिका रहेकाे थियाे।

कोइराला परिवार आफैँमा एउटा अलग्गै राजनीतिक र सामाजिक संस्कारले भरिएको परिवार हो। त्यसमा पनि नोना आमा पनि एउटा शिक्षित र राजनीतिक चेतनाले भरिएको परिवारबाटै आएकी थिइन्। त्यसबाट पनि उनमा राजनीतिक र सामाजिक चेतना थियो। यसले गर्दा उनलाई राजनीतिक र पारिवारिक व्यवस्थापनमा अझ निपुण भइन्।

क्रान्तिकै बेला बिपी कोइरालाले एकपटक केशव र नोना आमालाई सम्बोधन गरेर लेखेको चिठी अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ। बिपीले त्यो चिठीमा केशव र नोनाले घरबार अनि खेतीपाती धानिदिएकै कारण आफूहरूलाई प्रवासमा सजिलो भएको र नेपालमा पनि कार्यकर्ता परिचालनमा बाधा नआएको भन्दै उनीहरूप्रति आभार व्यक्त गरेका थिए।

कोइराला परिवारमा मात्रै नभएर ‘नोना आमा’ समकालीन राजनीतिक नेता तथा कार्यकर्ताका लागि अभिभावक नै बनेर उभिइन्। कोइराला परिवारको राजनीतिक विरासतमा नोना कोइरालाको अभिभावकीय र नेतृत्वदायी भूमिका अनि क्षमता सिङ्गो नेपाली राजनीतिकै लागि प्रेरणाको अजर स्रोत पनि हो।

कांग्रेस मात्रै कोइराला निवास अनि कोइराला परिवार हरेक राजनीतिक दलका कार्यकर्ताका लागि सधैँ खुला हुन्थ्यो र स्वागतका लागि रातदिन तम्तयार हुन्थ्यो। त्यो सबै नोनाकै योगदान र तत्परताले मात्र सम्भव थियो। उनले कांग्रेस मात्र होइन, जुनसुकै राजनीतिक दलका कार्यकर्ताका लागि कोइराला निवास सधैंँ खुला गरिदिइन्। यसले गर्दा नेपालमा हरेक राजनीतिक कार्यकर्ताका लागि कोइराला निवास र कोइराला परिवार आफैँमा एक उदार अनि खुला संसार जस्तै भएको थियो। परिवारमा मात्रै नभएर सिङ्गो नेपाली कांग्रेस पार्टी पङ्तिमा उनको निर्णायक र अभिभावकीय भूमिका रहन्थ्यो।

कोइराला परिवारमा हरेक दिन बिहान अर्थात् दिनको पहिलो प्रहरमै हुने बसाई राजनीतिक नै हुन्थ्यो। त्यो भनेको दिनभरिको कार्ययोजना र कार्यदिशा तय गरिन्थ्यो। त्यो सबको चाँजोपाँजो मिलाउने जिम्मेवारी नोनाकै काँधमै थियो। एकप्रकारले परिवारका सदस्यबीच भएको राजनीतिक जिम्मेवारीको बाँडफाँटमा उनले यसरी महत्त्वपूर्ण भूमिका पाएका थिइन्। त्यसलाई अन्तिम समयसम्म उत्तिकै सफलताका साथ निर्वाह गरिन्।

नोना आमाको त्यो ‘मर्निङ मिटिङ’लाई गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासम्मले अन्तिम समयसम्मै निरन्तरता दिए। ‘मर्निङ मिटिङ’ एकप्रकारले कोइराला परिवारभित्रको आफ्नै मौलिक राजनीतिक संस्कार बनिसकेको थियो। त्यसले सिङ्गो पार्टीलाई नै ऊर्जाशील बनाउँथ्यो। अब कोइराला परिवारको राजनीतिक विरासत थाम्ने जिम्मेवारी डा.शेखर कोइरालाको काँधमा छ।

डा. शेखर केशव-नोनाका कान्छा छोरा हुन्। यो बेला नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लागि फेरि एकपटक आम कार्यकर्ताको आशा र भरोसको केन्द्र कोइराला परिवार हुन पुगेको छ।

हरेक व्यक्तिको निजी जीवनमा ‘आमा’ नै पहिलो पाठशाला हुन्छिन्। नोना कोइराला मात्रै एक गृहणीका रूपमा सीमित रहिन्। उनले त तत्कालीन सिङ्गो राजनीति र प्रजातन्त्रको लडाइँमा होमिएका आम नेपालीलाई आफ्नै सन्तान जसरी ममता र अभिभावकत्वको छहारीमा राखिन्। उनले सिकाएर गएको बाटोमा अब डा. शेखरका पाइलाहरू अगाडि बढ्न सके र त्यसलाई निरन्तरता दिन सके नेपाली कांग्रेसको त्यो राजनीतिक संस्कारको निरन्तरता आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुन सक्छ।

उनले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराएकी थिइन्।

राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग उनले नै उठाएकी थिइन्। जसको परिणाम आज नेपाली महिलाहरूले राजनीति या सामाजिक क्षेत्रमा जुन अवसर प्राप्त गरेका छन् त्यसको मुख्य श्रेय उनलाई नै जान्छ। प्रजातन्त्र स्थापनाका लागि महिलालाई जागृत र गोलबद्ध बनाउने कार्यमा उनको भूमिका अविस्मरणीय छ। प्रजातन्त्र प्राप्तिपछि उनीसमेतको अगुवाइमा विराटनगरमा नारी जागृति नामक संस्थाको स्थापना भयो। यही संस्थाबाट नारीहरूलाई पढ्न लेख्न र सामाजिक रूपले अगाडि बढाउने अभियानमा उनले धेरै काम गरेकी थिइन्। आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ।

( डा.शोभाकर पराजुली, उनी राजनीतिक विश्लेषक हुन्।)

प्रकाशित: २४ कार्तिक २०८१ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App