९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

कांग्रेस : बिउ खोज्ने कि निहुँ?

अचेल जनता र एमालेबीच दरार पार्न कांग्रेस नेताहरूको मुखमा ‘कम्युनिस्टहरू’ ‘अधिनायकवाद’ जस्ता शब्दहरू झुण्डिने गरेका छन्। यी शब्दहरूको प्रयोग जानिबुझी गरिएको छ। अवश्य पनि कम्युनिस्ट आयातित शब्द हो। यो शब्दसँगै कम्युनिस्ट शक्ति आयातित होइनन्। कांग्रेसको जोडबल कम्युनिस्टहरूलाई आयातित देखाउने रहेको छ। कम्युनिस्टप्रति जनताको मोहभंग गराउने दाउ हेरिँदैछ। यो कम्युनिस्ट जतिलाई जनताबाट दूर पार्ने चेष्टा हो। त्यसो त कांगे्रस पनि आयातित शब्द हो। एमाले र कांग्रेसको फरक यति मात्र हो कि एमाले कम्युनिस्ट भए पनि सपना, भावना र योजनाका हिसाबले नेपालका लागि अपरिहार्य राजनीतिक शक्ति हो भने कांग्रेसको शब्द र सार दुवैै हिसाबले स्वदेशी बन्नसकेको रहेनछ। संकटले अवसर ल्याउँछ। कांग्रेसको असली अनुहार थाह पाउने अवसर नाकाबन्दीले जुराइदियो। नाकाबन्दीले नेपाली जनतालाई जुराइदिएको सबैभन्दा ‘सुन्दर’ अवसर यही थियो।  भय आएको बेला वीरको, दुःख परेको बेला साथीको र बेइमानी गर्न सक्ने ठाउँमा पुगेको बेला इमानदारको परीक्षा हुन्छ। नाकाबन्दीको बेला भारत र पश्चिमा शक्तिलाई सघाएर अहिले गरिने शब्दको खेतीले कांगे्रस कार्यकर्ताको जिब्रो रसिलो पार्न सक्ला तर जनताको मन पगाल्न र दिल जित्न सक्नेछैन।

हरेक राजनीतिक दललाई जनताको नायकत्व गर्ने भोक जाग्नु स्वाभाविक हो। कांग्रेसको यो विरासत मोहले समय र चेतनाको चुनौती थेग्न सक्तैन। हिजोको कांगे्रस लक्ष्यवर्ती थियो तर आजको कांग्रेस लक्ष्यहीन र सपना शून्य छ। हिजोका कांग्रेस नेताहरू सादगी र त्यागी थिए। उनीहरू देश, लोकतन्त्र र जनतालाई शिरमा राख्थे र कति त घरजम गर्न पनि बिर्सन्थे। आज नेपाली राजनीतिमा जति देश बिगार्नेको बोलवाला छ, त्यसको मूल स्रोत कांग्रेस नै हो। शब्द उही कांग्रेस भए पनि सारका हिसाबले आजको कांग्रेस हिजोको उही कांग्रेस होइन। एक समय थियो, कांग्रेस जनताको नजरमा सबैभन्दा भरपर्दाे शक्ति थियो। लोकतन्त्रवादीको एकल इजाजत पत्र कांग्रेससँग मात्र थियो। राजा संवैधानिक रहेनरहेको र कम्युनिस्ट घटकहरू उग्रवामपन्थी भएनभएको वा सुध्रिए नसुध्रिएको ट्याग लगाउने सर्वाधिकार कांग्रेससँग मात्र थियो। अन्य दलले आफू असल भए नभएको आफ्ना व्यवहार हेरेर र जनसमुदायको प्रतिक्रिया हेरेर भन्दा पनि कांग्रेसको दयामा निर्भर हुनुपथ्र्याे। किनकि कांगे्रसलाई जनताको साथ थियो र विश्व समुदायको विश्वास थियो। आजको कांग्रेससँग आफ्नो प्रतिष्ठामा पुगेको क्षति र जनविश्वासमा आएको गिरावट अनुमान लगाउने न सामथ्र्य छ न विवेक। बूढी गाईले बरू आफू बाच्छो वा कोरली अवस्थामा नरहेको थाह पाउँछ तर कांगे्रस आफ्नो असली हैसियतबाट बेखबर छ। संसारका कम्युनिस्टहरूलाई आवधिक निर्वाचन, बहुलवाद, संसद्को उपयोग, संविधानको सर्वोच्चताको पाठ सिकाउने एमालेकोे शरीरमा अभिनायकवाद भेटिन्छ कि भनेर लगाउने एक्सरे र प्रयोग गर्ने शूक्ष्मदर्शक यन्त्रले कांग्रेसले स्वबोध शक्ति गुमाइसकेको जनाउँछ।

कांगे्रसको सपना जपना एउटै छ— हे भगवान्! वामपन्थीहरूले पूर्वराजा ज्ञानेन्द्रले जस्तै जनताभन्दामाथि रहने र अधिनायकवाद लाद्ने गल्ती गरिदिऊन् ताकि स्यालको सिङ जस्तै असम्भव मानिएको कांग्रेसको पुनरुत्थान सम्भव होओस्।

कांग्रेसको भावभंगी पढ्दा थाह हुन्छ कि ऊ एमालेले अधिनायकवाद लाद्ने गल्ती नगरोस् भनेर भलो चिताइरहेको छैन। देश न अधिनायकवाद थेग्न सक्छ, न त कुनै पनि प्रकारको द्वन्द्व नै। सत्य यस्तो भए पनि कांग्रेसलाई वामपन्थी अधिनायकवाद विरोधी काल्पनिक आन्दोलनको महानायक हुने रहर पलाएको छ। उसको सपना जपना एउटै छ, ‘हे भगवान्! वामपन्थीहरूले पूर्वराजा ज्ञानेन्द्रले जस्तै जनता भन्दामाथि रहने र अधिनायकवाद लाद्ने गल्ती गरिदिऊन् ताकि स्यालको सिङ जस्तै असम्भव मानिएको कांग्रेसको पुनरुत्थान सम्भव होओस्।’ वामपन्थीहरू तानाशाही भइदिऊन् ठान्ने कांग्रेसको कामनाले एउटा लोककथा स्मरण गराउँछ।

कुनै गाउँमा एक दयालु वृधा थिइन्। तिनले एउटा घाइते चरो कुलोमा बगिरहेको देखिन्। उनले चरोको उद्धार गरिन्। घाउमा ओखती लगाइदिएर तन्दुरुस्त पारिन्। केही दिनपछि चरो उडेर वनतिर गयो। भोलिपल्ट चराले अनारको दाना ल्याएर वृधालाई उपहार दियो। वृधाले अनारको दाना बारीमा गाडिन्। भोलिपल्ट हेर्दा त बारीमा लटरम्म फलेको अनारको रुख देखियो। वृधाले एउटा अनारको दाना टिपिन्। खोस्राएर हेर्दा त्यहाँभित्र मोती थियो। सबै अनारका दानाभित्र रहेको बहुमूल्य रत्नहरू बेचेर वृधा एकाएक नव धनाढ्य बनिन्। यो कुरा एक जना अधबैँसे छिमेकी आइमाईले थाह पाइन्। तिनलाई पनि वृधाले जस्तै गरी एकाएक नवधनाढ्य हुने रहर पलायो। तिनले दिनहुँजसो कुलो धाउन थालिन्। कयौँ दिन बितेर गए तर कुलोले घाइते चरो बगाएर ल्याओस् भन्ने उनको कामना पूरा भएन। उनको दिमागमा एउटा उल्टो बुद्धि फु-यो । उनले रुखको हाँगामा बसेको सद्दे चरोलाई ढुङ्गाले हानेर भुइँमा झारिन् । घाइते चरालाई कुलोमा बगाएर उनी घर फर्किन्। हतपत लुगा बदलेर कुलोमा गएर चरोको उद्धार गर्नमा पनि तिनले निपूणता देखाइन्। चराको उपचार गर्न तिनले कुनै कसर बाँकी राखिनन्। नभन्दै चरो तंग्रियो र एक दिन वनतिर गयो। भोलिपल्ट फर्किएर उसले अधबैँसे आइमाईलाई अनारको दाना उपहार दियो। अधबैँसे आइमाईले अनारको दाना बारीमा गाडिन्, भोलिपल्ट लटरम्म फलेको अनारको रुख पनि देखियो। मोती, रत्नको आशा गरेर तिनले आनारका दाना खोस्राइन् तर त्यहाँबाट सर्प, बिच्ची र अरिंगाल निस्किए । ती विषालु जीवहरूको टोकाइले अधबैँसे आइमाईको मृत्यु भयो।

नेपाली जनताको सुखशान्ति र समृद्धिका खातिर खोलिएको दल कांग्रेस वामपन्थीको आरिस गर्दै जनताले दुःख पाऊन् भनेर कुविचार पालिरहेको छ। हिजो बीपी धुव्रमा र आज केपी धु्रवमा नेपाली राजनीति र जनमत धु्रवीकृत किन भयो? यसको गहिराइमा नगएर केवल आरिस मात्र गर्ने जति विगतका केही दशकभरि बिपी र उनका उत्तराधिकारीसामु टिक्न सकेनन् भने आज र आगामी केही दशकसम्म ओली र ओलीका सहकर्मीसामु फिक्का साबित हुनेछन्। नेपाली जनताको साधनाले बिपीलाई बिपी र केपीलाई केपी बनाएको हो। यो सत्यमाथि पर्दा हालेर वर्तमान प्रधानमन्त्रीलाई अधिनायकवादी करार गरेर लोकतन्त्रको मसिहा बन्ने कांग्रेसको हुटहुटी सद्दे चरोलाई घाइते पारेर उद्धार गरेको स्वाङ्ग पार्ने लोककथाकी अधबैँसे आइमाईको जस्तै विचार हो।

 देशलाई चाहिएको राजनीतिक स्थायित्व प्रदान गर्नमा अब्बल, स्वाभिमान र समृद्धिमा अद्वितीय, जनतासँगको घनिष्ठ सम्बन्धमा श्रेष्ठ साबित हुनमा बहुदलीय जनवादीहरूसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर कांग्रेसले गलाइसकेको आँट नै उसको पतनलाई सम्भव र सुगम पारिदिने बलियो आधार हो। राजनीतिमा जनता रिझाए पुग्छ। मदन भण्डारीको बहुदलीय जनवाद, बिपीको प्रजातान्त्रिक समाजवाद र शान्तिप्रक्रियामा आइसकेको माओवादीको एक्काइसौँ शताब्दीको जनवादमा पाइने समानता यही हो। फरक यति मात्र देखिन्छ कि ओली नेतृत्वको एमालेले जबजलाई व्यवहारको पोषण प्र्रदान गरेर निखार दिँदै गर्दा हस्तक्षेप र मुनाफाखोरको कठपुतली बनेर आजको कांग्रेसले बिपीकालीन कांग्रेसको योजना, सपना, निष्ठा र आदर्शको भण्डार रित्याइसकेको छ। वामपन्थीहरू राष्ट्रिय मेलमिलापका खातिर दुई तिहाइ बहुमतको सरकार गठन गर्न दिलको गलैँचा सजाएर आग्रह गर्दैछन्। फूलको जवाफ पत्थरले दिने कांग्रेसी कुलत जनता जनार्दनलाई थाह छ। मधेसवादी दलले शदासयतालाई चिन्दैनन् भने राष्ट्रिय मेलमिलापका खातिर कांग्रेस अघि सर्नुपथ्र्यो। एमालेद्वेषी हुनबाट सुरु भएको गल्ती एमालेसँग सहकार्यको हात मिलाएर सच्याउनु पथ्र्याे। यसो नगरी कांग्रेसका ग्रहदशा टर्ने छैनन्। ग्रहदशा बिग्रिँदा अर्को जातिका मानिससँग मितेरी लगाउने चलन हाम्रो समाजमा छ। कांगे्रसको भलो चाहने ज्योतिषीले बिपीको मेलमिलापको नीति समाएर एमालेसँग दुस्मनी गरेर होइन, मितेरी लगाएर राजनीतिका खराब ग्रहदशा टार्ने सुझाव दिनेछन्। एमालेले गर्न नहुने अधिनायकवादको जोखना हेर्नुभन्दा कांग्रेसले आफ्नो ओरालो झराइका निम्नलिखित कारणहरू थाह पाउनु बेस हुनेछः

१. लक्ष्यवर्ती, दूरदर्शी, वचनको पक्का र देशभक्त नायकको अभाव।
२. प्रचारमुखी व्यक्तिवादी र आत्मसुरक्षाको भावनाले ग्रस्त युवापुस्ता। (जस्तो कि चुनावी पराजयपछि कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्धको हमलामा उत्रिएको हस्ताक्षरित कागजको मसी सुक्न नपाउदै संस्थापनले प्रवक्ता र राष्ट्रिय सभा सदस्यको चारा छरेपछि विश्वप्रकाश शर्मा र बद्रीप्रसाद पाण्डेले गगन क्याम्पबाट अलग हुने गरी लिएको युटर्न मोड।)
३. साना–ठूला परिवारवाद, शक्ति केन्द्र, पहुँचवालाको स्वार्थ र चरम आकांक्षासामु पार्टीको नियन्त्रण, अनुगमन र समन्वय क्षमतामा आएको गिरावट। (जस्तो कि नुवाकोटबाट प्रतिनिधि सभा र प्रदेश सभामा दुई दुई थान महत र केसी बन्धुलाई चुनावमा उतार्नु, कैलालीमा डा. आरजु देउवालाई उतार्नु।)
४.लोकतन्त्र संस्थागत नहुँदै चरम एमालेद्वेषी नीति अवलम्बन।
५. एमाले नामेट पार्न इतिहासमा पहिलो पटक दुई ठूला पार्टीको चुनावी तालमेल गर्नु जस्तो शक्ति प्राप्तिका लागि जे पनि गर्ने मानसिकता।
६. हस्तक्षेप र आन्तरिक उपद्रवप्रतिको मौनता र मिलिभगत सिलसिला।
७. जनताको मोह भंग हुने खालका कांग्रेस ‘सरकारका काम कारबाही।

प्रकाशित: २३ चैत्र २०७४ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App