३१ भाद्र २०८१ सोमबार
image/svg+xml
विचार

प्रकाशका हराएका वर्ष र परिवारको नहराएको गरिबी

‘हेर्नेकथा’ बाट एकाएक चर्चामा आएका प्रकाशको बारेमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रशस्त ठाउँ पाएको छ। प्रकाशको बारेमा सबैतिर छाएपछि मैले पनि उक्त “हराएका वर्षहरु” हेर्ने कथाको भिडियो हेरेँ। कुनै कुनै खण्ड दोहोर्‍याएर पनि हेरेँ।

वास्तवमा उनको कथामा सामान्य मानिसको भन्दा जीवनको पृथक कथा छ। भिन्न भोगाई छ। कथामा मानवीय सम्वेदना छ। चरम दरित्रता र अशिक्षाको कहाली लाग्दो भोगाई छ। उनको जस्तो जीवन भोगाई जोकोही मानिसले बुझ्दा मानवीय ज्ञान प्राप्त हुन्छ।

कुरा यत्तिमै सीमित रहेन। उनको चर्चा चुँलिदै गयो। उनको जीवनमा परिवर्तनको लहर आउन थाल्यो। बिग्रेको बाइकलाई ‘यो मरेछ’ भन्ने सम्मको दुर्गम परिवेशले यसबारे अज्ञान बनाएको प्रकाश अहिले हवाईजहाज चढिसके। नेपाली नागरिकता पाईसके। मुख्यमन्त्रीसँग कुरा गरिसके, प्रधानमन्त्रीलाई भेटिसके।

प्रकाशको जीवनमा प्रकाश छाएका छ। परिवर्तन आएको छ। दिनचर्या फेरिएको छ। यसले उनका शुभचिन्तकहरुलाई खुशी दिलाएको छ। तर मलाई उनको भन्दा उनको परिवारको यत्तिका वर्षमा पनि कुनै आर्थिक तथा सामाजिक परिवर्तन नभएको दखेर केही लेख्न मन लाग्यो।

उनको बारेमा त जताततै छताछुल्ल छ। उनी चर्चाको विषय बन्नु, स्वभाविक हो। तर केही व्यक्तिले पप्पुलारिटीको लागि मौका छोपेका जस्तो देखिन्छ। किनभने अहिले सामाजिक सञ्जाल प्रकाशमयः भएको छ।

उनको परिवारको अँध्यारो पक्षको विश्लेषण कसैले गरेको देखिएन। उनको परिवार र आफन्तको आर्थिक तथा सामाजिक अवस्था यस प्रकाश हराएका ३५ वर्षको अवधिमा किन परिवर्तन भएन ? पहिला कस्तो थियो अहिले कस्तो छ? भन्नेतिर कसैको ध्यान गएको देखिन्दैन।

मात्र प्रकाशलाई म यो गर्छु, त्यो गर्छु, यो दिन्छु त्यो दिन्छु भन्ने गरेको देखिन्छ। भित्री मनले सहयोग गर्ने मान्छेले हल्ला गर्दैनन्। मेरो बुझाईमा भित्री हृदयदेखि गरिएको सहयोगको प्रचार प्रसार गर्नु उचित हुन्न।

करिब ३५ वर्ष उनी हराएका छन्। कथाले त्यही भन्छ। चरम गरिबी र अशिक्षाको कारण उनी हराएका थिए। झापाबाट हराएका उनको बाबुआमा लगायतका परिवारका सदस्यहरु भोजपुर पुगेछन्।

भिडियोमा देखाईए अनुसार केही आफन्तहरु झापामा पनि छन्। भोजपुर पुगेका उनका परिवारजन तथा झापामा भेटिएका आफन्तका घरको वातावरण हेर्दा तथा विश्लेषण गर्दा ३५ वर्षपछि पनि परिवारभित्र उत्तिसारो आर्थिक तथा शैक्षिक उपलब्धी भएको देखिन्दैन्।

झापा जस्तो सुगम क्षेत्र छाडेर भोजपुरको बाटोसम्म नपुगेको जमिनमा टहरो बनाएर बस्नुले पनि परिवारको गरिबीको सीमा निर्धारण गर्छ। अहिलेसम्म प्रकाशका आमाबाबु अर्काको जग्गामा बसेका छन्। आफ्नो नाममा जग्गा छैन। यसबाट के स्पष्ट हुन्छ भने नेपालमा धनी र गरिब बीचको भिन्नता दशकौंदेखि जस्ताको तस्तै छ।

३५ वर्षमा देशमा कैंयौ उथलपुथल भयो। ३५ वर्ष अगाडि भनेका २०४६ सालको तिरको कुरा हो। यस अवधिमा प्रजातन्त्रको पुनस्र्थापना भयो। १० वर्षे सशस्त्र युद्ध भयो। शान्ति सम्झौता भयो। अन्तरिम संविधान बन्यो। राज्य गणतान्त्रिक बन्यो।

२०७२ मा नयाँ संविधान बन्यो। जनतामा उल्लास छायो। तीन तहको सरकार बन्यो। गाउँ गाउँमा सिंहदरवार बन्यो। देशमा धेरै राजनीतिक परिवर्तन भयो। तर गरिब मान्छेको जीवनमा आर्थिक, शैक्षिक तथा सामाजिक परिवर्तन कतिभयो भन्ने कुरा यिनै प्रकाशको परिवार तथा आफन्तलाई हेर्दा प्रष्ट हुन्छ। कुनै आर्थिक, शैक्षिक तथा सामाजिक अध्ययन प्रतिवेदन हेर्नु पर्दैन।  

छायाँमा प्रकाशका बाबुआमाको गरिबी

प्रकाश ३५ वर्षसम्म गोरखाको चुम उपत्यकामा हराए। तर उनको बाबुआमा तथा दाजुभाइका पनि आर्थिक उपलब्धीको हिसाबले झापा तथा भोजपुरतिरै हराएजतिकै देखिन्छ। झापामा रहेका उनका दिदी भिनाजुको अवस्था पनि भिडियोमा देखाइए अनुसार कमजोर नै देखिन्छ।

त्यसैगरी भोजपुरमा उनका बाबुआमाको घर झुपडी नै देखिन्छ। झुपडी बनाउने जग्गा पनि अरु कसैले दिएका रहेछन्। ३५ वर्ष अगाडि उनी हराएको समयमा उनको परिवारको अवस्था र अहिलेको अवस्थामा कति फरक होला ? गरिबी र अशिक्षाको चरम अवस्था थियो होला।

त्यसैले प्रकाश हराउने अवस्थासम्म सिर्जना भयो। २०४६ साल अर्थात् प्रकाश हराएपछि यत्तिका वर्षमा विकासको सूचकहरुमा के कति सुधार भयो ? त्यसको विश्लेषण गर्ने जिम्मा राज्यको हो। तर गरिबीको रेखामुनी रहेका नागरिकको प्रगति धेरै सुस्त छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ।

तीन दशकको अवधिमा कैंयौ मानिसको जीवनमा थुप्रै परिवर्तन भएका छन्। तर उनको परिवारमा किन परिवर्तन भएन ? प्रकाश त हराएका थिए। तर उनको अन्य परिवार त हराएका थिएनन्। तर उनीहरुले पनि ३५ वर्षमा कत्ति पनि आर्थिक तथा सामाजिक उपलब्धी हासिल गरेको देखिएन।

प्रकाशको आफन्त तथा परिवारको जीवनमा परिवर्तन नहुनु भनेको उनीहरु जस्तै धेरै गरिब नागरिकका लागि २०४६ पछिका राजनीतिक परिवर्तनहरुले उनीहरुको जीवनमा परिवर्तन ल्याउन नसक्नु हो। तराई पहाडका गाउँ समाजमा हेर्ने हो भने परिवर्तन हुन नसकेको धेरै प्रकाशहरुका परिवार भटिन्छन्। उनी त नेपालमै हराएका हुन्। भारत लगायत विभिन्न देशमा परिवार सुखका लागि हराएकाहरु व्यक्तिहरुको खोजी गर्न बाँकी नै छ, हेर्ने र सुन्ने कथा बनाउनबाँकी नै छ।  

धनी र गरिबबीच खाडल  

प्रकाशको कथाबाट धनी र गरिब बीचको खाल्डो झनै बढ्दै गएको प्रष्ट हुन्छ। राज्यको स्रोत साधन सीमित पहुँचवाला र धनी व्यक्तिहरुकै हातमा गइरहेको छ भन्ने प्रष्ट छ। केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार राज्यको स्रोत साधन गरिबभन्दा धनी नेपालीले १३ गुणा बढी उपभोग गर्छन्।

मानवीय जवाफदेहिता अनुगमन अभियान, दक्षिण एशिया गरिबी निवारण मञ्च र अक्सफाम नेपालले २०७५ सालमा गरेको एक अध्ययन प्रतिवेदनले नेपाली समाजमा बढिरहेको असमानताको भयावह चित्र प्रस्तुत गरेको थियो।

प्रतिवेदन अनुसार ४० प्रतिशत गरिब नेपालीभन्दा १० प्रतिशत धनीसँग २६ गुणा बढी सम्पत्ति छ। नेपालका माथिल्लो २० प्रतिशत धनी मानिसँग ५६.२ प्रतिशत सम्पत्ति थुप्रिएको छ, जबकि तल्लो तहमा रहेका २० प्रतिशत गरिब नागरिकसँग ४.१ प्रतिशत मात्र सम्पत्ति छ।

सबैभन्दा उल्लेखनीय कुरा चाँही देशले उदार लोकतान्त्रिक बाटो अवलम्बन गरेपछि धनी र गरिबबीचको खाडल झन् बढ्दै गएको छ। यसैको ज्वलन्त उदाहरण प्रकाशका बाबुआमाका नहराएको गरिबी हो। 

basantarai2000@gmail.com

प्रकाशित: २१ भाद्र २०८१ १८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App