३० असार २०७७ मंगलबार
विचार

लैंगिकताको अर्काे पाटो

बुटवल सुखानगरकी २५ वर्षीया अमिताले २०६५ मा काठमाडौँका माधवसँग मागी विवाह गरिन्। एउटा वयस्क केटाकेटीको सुहागरातको दिन नै माधवको मनमा चिसो पस्छ र विवाहमा आफूलाई फसाइएको भान हुन्छ। ढाँटेको कुरा कति दिन लुक्नेथियो र! अमिताको १९ वर्षमै म्यानोपजबाट महिनावारी रोकिएको रहेछ। जुन कुरा उनले ढाँटेर विवाह गरेकी रहिछन् । जुन प्रक्रिया ४५, ५० वर्ष काटेका महिलामा मात्रै हुने प्रक्रिया हो। जसको कारणले सन्तान प्राप्त गर्नका लागि चाहिने अन्डा उनको अन्डासयबाट ननिस्कने रहेछ। 

त्यति मात्र नभई मनोपजका कारण विपरीत लिङ्गीसँग आकर्षित हुने हर्मोनको अभावले गर्दा उनको यौन क्षमता पनि नभएको डाक्टरको रिपोर्टहरूबाट देखिन्छ। जुनकुरा अमितालेश्रीमान्लाई वर्षौैंसम्म लुकाएर राखेकी रहिछन्। महिनावारी भएको बहाना पार्न हर्मोनको औषधी खाएर ढाँट्दै केही वर्ष बितेछन्। पछि बिस्तारै बुझ्दै जाँदा विवाह गर्ने र वैवाहिक सम्बन्ध सफल नभए सम्पत्ति दाबी गर्ने र पारपाचुके गर्ने उद्देश्यले विवाह गरेको उनकै बाबु र भाइले भन्दै आइरहेका छन्। 

आफ्नो छोराको खबर तेस्रो व्यक्तिबाट अचानक सुन्दा उनका बुबाको हृदयघातबाट निधन हुन्छ। त्यति हुँदाहुँदै पनि माधवले आफ्नी श्रीमतीलाई एमएसम्म पढाउँछन्, जागिर लगाउन सहयोग गर्छन्। विवाहको ९ वर्षपछि अमिताले आफ्नो परिवारको पूर्वयोजना अनुरूप सम्पत्ति दाबी गर्दै उच्च अदालत भैरहवामा मुद्दा दर्ता गर्छिन्।
काठमाडौँ कोटेश्वरका महादेव श्रेष्ठले कोटेश्वरकी कल्पनासँग २०६५ मा मागी विवाह गरे। विवाहको केही दिनपछि उनका श्रीमान् अमेरिकाको विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न जाने अवसर पाए। श्रीमतीलाई सँगै लैजान पासपोर्ट बनाउनेदेखि अन्य कागजात मिलाउन लाग्दा कल्पनाले परिवारले करकापमा पारेर बिहे गरेकाले विदेश पनि नजाने, घर पनि नजाने भनिरहिन्।

महादेवको अमेरिका जाने समय भएकाले अगस्ट महिनामा उनी एक्लै अमेरिका गए। अमेरिका आउने आशामा उनले दुई वर्ष बिताए। पछि कल्पनाको विवाहपूर्वदेखिनै प्रेमी भएकाले उनका पतिसँग जान नमानेको रहस्य थाहा भयो। उनका पति अमेरिकाको अध्ययन बीचमै छोडी उक्त वैवाहिक सम्बन्ध टुङ्ग्याउन नेपाल आए। केटीले १ करोडको सम्पत्तिको साथसाथै अमेरिकामा भएका केटाको दाजुको सम्पत्तिको माग गर्न थालिन्। दुवै पक्षको घम्साघम्सीपछि र केटा पक्षको दोष नदेखिएकाले अन्त्यमा केही रकम दिएर सम्बन्ध टुङ्ग्याउने सहमति हुन्छ। केटाको नाममा केही पनि सम्पत्ती नभएकाले कानुनी समस्या आउने ठानी वा अन्य कारणले अन्त्यमा विवाह गर्दा लागेको १० लाख खर्च दिएर उनीहरूको पारपाचुके हुन्छ। तर केटाको क्यारियर र मानसिक तनावको हिसाब कसले दिने? के पुरुषको पीडा नै हुँदैन? यो नेपालको वर्तमान कानुनले देख्दैन। 

गुल्मी घर भई पाल्पा तानसेन डेरा गरी बस्ने दिनेशले स्याङ्जाकी अनुजासँग विसं २०६० मा मागी विवाह गर्छन्। नेपाल प्रहरीमा दिनेशको जागिर थियो । तत्कालीन विद्रोही माओवादीको धम्की खप्न नसकी जागिर छोडी विदेशिए। विदेशमा दुःखसुख गरी दिनेशले तानसेनमा एउटा पक्की घर बनाए। दिनेशले अनुजा,  एक छोरा र एकछोरीलाई राम्रो शिक्षाको अभिलाषाले तानसेन घरमा ल्याई उक्त घर अनुजाको नाममा पास गरिदिए र दिनेश आफू फेरि विदेश गए।

दिनेश भन्छन्, केही वर्ष टाढै भएपनि सम्बन्धमा चिसो थिएन। एकदिन एक्कासि अनुजाले एउटा अपरिचित युवासँग वाइनको गिलास चियर्स गर्दै फेसबुकमा फोटो राख्न पुग्छिन्। त्यसपछि सुरु हुन्छ, दिनेश र अनुजाको सम्बन्धमा दरार। दिनेश तुरुन्तै नेपाल फर्किन्छन्। एकले अर्कोलाई दोष देखाउँदै सँगै बस्न नसक्ने अवस्थामा पुग्छन्।

दिनेशले आफूले दुःख गरी कमाएर बनाएको घरको केही अंश फर्काउन प्रहरी, इष्टमित्र, छरछिमेक सबैको सहयोग लिने प्रयत्न गर्छन् तर जताततैको दलालीले वाक्कदिक्क हुँदै फेरि विदेशिन बाध्य हुन्छन्। दिनेश कानुनको झन्झट र असमानता पहिल्याउँदै अदालत जाने आँट गर्दैनन्। दिनेशको भनाइअनुसार अनुजाले उनको नाममा भएको घर बेचिसकेकी छन्। वर्तमान कानुनले न उनको सम्पत्ति दिलाउन सक्छ, न निष्पक्ष न्याय दिन। दिनेशसँग दुःख गरेर कमाएको सम्पत्ति पनि छैन, घर र परिवार दुवै छैन।    

यी प्रतिनिधि घटना मात्र हुन्। महिला पीडित छैनन् भन्न खोजिएको होइन। पुरुषभन्दा महिला नै धेरै पीडित छन्। तर, यस्ता धेरै घटना अहिले हाम्रो समाजले देख्दै र भोग्दै आएको छ। तर यस्ता घटना उल्लेख गर्दा नारीविरोधी हुने डर छ, धेरैलाई। लोकतन्त्रमा विचार स्वतन्त्रतापूर्वक सबैले व्यक्त गर्न पाउनुपर्छ होला। विदेशमा रगत र पसिना बगाएर कमाएको पैसा श्रीमतीलाई पठाउने र घर फर्कंदा न श्रीमती, न सम्पत्ति भएको खबर आजभोलि दैनिकजसो अखबारमा पढ्न पाइन्छ। 

विगतमा महिलाहरू घर, बच्चा र परिवार हेर्थे। पुरुषहरू घरपरिवार चलाउन आर्थिक जोहो गर्न घर बाहिर जाने गर्थे। तुलनात्मक रूपमा पुरुषहरूले धेरै अवसर प्राप्त गर्थे। परिवारमा दरार आएर छुट्टिन पर्ने स्थिति आएमा महिलाहरूले आफ्नो धेरै समय चुलोचौको गर्न, बालबच्चा स्याहार्न र घरपरिवारको रेखदेख गर्न बिताउने हुनाले उनीहरू आफ्नो बाँकी भविष्य बनाउन बालबच्चा छोडेर निस्कने अवस्था हुँदैनथियो। त्यसैले पारपाचुके हुने अवस्थामा कानुनी रूपमै महिलालाई पैतृक सम्पत्तिबाट अंश दिने कानुन बनाइएको हुनुपर्छ। 

महिला पीडित हुने अवस्थामा महिलाहरूले समस्या लिएर जाने र सुन्ने ठाउँ प्रशस्त छन्। जस्तै, महिला आयोग, विभिन्न गैरसरकारी संघसंस्था। महिलाको समस्यालाई प्रहरीले पनि तुरुन्तै सुनिदिन्छ। तर महिलाबाट हुने हिंसा र पीडित पुरुषले आफ्नो समस्या लिएर कहाँ जाने? एकातिर पुरुषप्रधान समाजको संकोच र अर्कोतिर असमान कानुन।  

मुलुकी ऐन भाग ४ विवाहबारी महल १७ (एघारौँ संशोधनद्वारा संशोधित) को ५ नम्बरमा ‘लाटी, महारोगी, लुली, कुँजी, दुवै आँखाकी अन्धी, योनिहीन भएकी, हातगोडा भाँची बेकम्मा भएकी, बौलाएकी वा छारे रोग भएकी स्वास्नी मानिसलाई सद्दे छ भनी ढाँटी विवाह भएकामा लोग्ने मानिसले मन्जुर नगरे विवाह बदर हुन्छ’ भनेर व्यवस्था छ। मुलुकी ऐनको बाह्रौँ संशोधन, २०६४ को ४(२) बमोजिम शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु (एचआइभी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको, यौनाङ्ग नभएको, पुरुषत्वहीन भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भइसकेका खण्डमा विवाह बदर हुने भनिए तापनि स्त्रीत्व नभएको महिलाको बारेमा उक्त संशोधन मौन बसेको देखिन्छ। 

साथै, उक्त महलको ९ नम्बरमा स्वास्नीलाई यौन सम्बन्धित कुनै सरुवा रोग भई निको नहुने भएमा र स्वास्नीको सन्तान नभएको भन्ने नेपाल सरकारबाट मान्यता प्राप्त मेडिकल बोर्डबाट प्रमाणित भएमा लोग्नेले विवाह गर्न कानुनले बन्देज गर्दैन। उक्त महलहरूमा योनिहीन र यौनसम्बन्धी सरुवा रोगको कल्पना गरेपनि अमिताको जस्तो नसर्ने तथा यौन क्रियाकलाप गर्न नसक्ने (योनिहीन जस्तै)  जटिल यौनरोगको परिकल्पना गरेको छैन।यस्तो जटिल अवस्थालाई कानुनले कसरी व्याख्या गर्छ?

योनिहीन भएको अवस्थामा विवाह रद्द गर्न सकिने व्यवस्था हुनु भनेको कानुनले यौन सुख र बच्चा जन्माउने अधिकार पुरुष र महिला दुवैमा निहित रहेको भन्ने देखाउँछ भने कुनैपनि महिला वा पुरुषले विवाहपछि सन्तान जन्माउने मेरो ठेक्का होइन भन्न र एकअर्काको यौनसुखमा मेरो कुनै मतलब छैन वा हुँदैन भन्नु हाँस्यास्पद कुरा हो।  
तर वर्तमान कानुनले पुरुषलाई लैंगिक भेदभाव गरेको छ भने महिलाले यदाकदा उक्त कानुनको दुरुपयोग गरिरहेका छन्। अमिता, कल्पना र अनुजाले दूरदराज र दुर्गम भेगका अशिक्षित महिलाहरूको प्रतिनिधित्व गर्दैनन्। 

समाजमा विकृति र विसंगति बढ्न थालेपछि गत वर्ष देउवा सरकारले नयाँ संशोधित मुलुकी ऐनमा बाबुआमाको सम्पत्ति स्वतः छोरा, छोरी वा अन्य अंशियारहरूले नपाउने, जसले रिझाउँछ सम्पत्ति उसैको हुने गरी पारित गरेको छ। पुख्र्याैली सम्पत्तिमा छोरा–बुहारी, नाति स्वतः अंशियार हुने कानुनी व्यवस्थाको अन्त्य हुनेछ, अब। 

(लेखमा उल्लिखित नाम परिवर्तन गरिएका हुन्) 

प्रकाशित: १६ चैत्र २०७४ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App