१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

मन्डेला हुन सक्छन् नेपाली पनि

यो ब्रह्माण्डमा सारा जे जति छन्, ती सबैले यो ब्रह्माण्ड बनाउनु पर्छ भनिरहेका हुन्छन्। तर पनि यो ब्रह्माण्ड किन बनिरहेको छैन? चारैतिर बिग्रेर गइराखेको छ भन्छन् फेरि सबै। बिग्रेको पनि देखेकै छन्। हैन, कहाँनेर केले अड्काइरहेको छ त बनाउन?  

जनतालाई अनेकौँ आश्वासन दिएर भोट जितेर आएका नेताहरू एक त विभिन्न तस्करीतिर लागेका छन्। त्यतिले नपुगेर महिना महिनामा सत्ता परिवर्तन गर्नतिर तल्लीन छन्। विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्ने।

आज जनता नेताका यस्ता क्रियाकलाप देखेर सहनै नसक्ने अवस्थामा पुगेका छन्। नेताहरूले त विभिन्न तस्करीमा लागेर अरबौँ रुपियाँ कमाए। जनताचाहिँ सधैँ मारमा परिराखेका छन्। नेताका यस्ता क्रियाकलाप यो २१ औं शताब्दीका जनताले बुझिराखेका छन् ।

यिनलाई अब पनि ठगिहाल्छु भन्ने सोच्नु मूर्खता मात्र हुनेछ। किनकि अब जनता नेताका यस्ता क्रियाकलाप टुलुटुलु हेरेर बसिरहने मनस्थितिमा छैनन्। यस्तै भइरह्यो भने अवश्य बिस्फोट हुनेछ। जनताले उपयुक्त समय र बाटो खोजिरहेका मात्र हुन्।

नेतामात्र हैन, हामी तमाम नेपालीको बानी यस्तो भयो कि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नै सकेनौँ। यो प्रवृत्तिले नेतामात्र हैन, हामी आफैँले पनि दुःख पाउने भयौँ। सारा जनता त्यो दोषमा सहभागी हुने भइयो। यो लेखेर/भनेर केही लाग्दैन। कसैले आफ्ना कुरा छाड्नेवाला छैन। जसले गर्दा नेतासँगै आमजनताको भविष्य पनि खत्तम भएर जाने भयो। राम्रा काम कतै हुँदैनन्। 

कतै कसैले ल्यायो भने त्यसले राम्रो काम ल्याएछ, त्यो काम सफल भयो भने हामी पछि पर्छौँ भनेर त्यसलाई फेल गराउन चारैतिर घुँडा धसेर लागेका हुन्छन्। राम्रो नराम्रो के हो कसैलाई मतलब छैन। कसैले राम्रो काम ल्यायो भने हामी पनि त्योभन्दा राम्रो काम ल्याएर छाडछौँ भनेर लाग्नुपर्ने ठाउँमा बिगार्न लागेका हुन्छन् सबै। अनि यस्तो पाराले न देशको भविष्य हुन्छ न आफ्नै न  जनताकै।

नेपालमा यस्तो प्रवृत्ति बढ्दै गयो। यो कुनै हालतमा नसुध्रिने देखेर विद्वान्/बुद्धिजीवी त कुरै छाडौँ, साराका सारा विदेश पलायन हुने अवस्थामा छन्। कति भइसके। कति हुने क्रममा देखिन्छन्। 

यो सुध्रिन पहिला त नेता नै आफ्नो ठाउँमा इमान्दारितापूर्वक काम गरेको हुनुपर्छ। नभए मैले गल्ती गरेँ भनेर समझदारीपूर्वक काम गरेको खण्डमा धेरैबेरको कुरा छैन। नेताले इमान्दारितापूर्वक काम गरेको खण्डमा तुरुन्तै यसको समाधान भइहाल्छ।

जति पनि नेताहरूले म गर्छु, मैले गरेको राम्रो हुन्छ भन्नाको मतलव के हो भने मनै राम्रो छु, मैले नै गरेको राम्रो भन्नु नै नेताले म महान् नेता हुन्छु भनेको हो। महान् नेता हुन उनीहरूले त्यसो गरेर हैन कि आफूले समय पाएसम्म इमान्दारपूर्वक राम्रो काम, चाहे एउटा मात्रै राम्रो काम किन नहोस्, गरिहाल्नुपर्छ र इमानदारपूर्वक पाए फेरि खानु, नपाए लोभलालच कत्ति पनि नगर्नु। छोडिहाल्नु। त्योभन्दा ठूलो नेता यो संसारमा कोही हुँदैन।

दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला हेरौँ त। पाएसम्म इमान्दारपूर्वक जनताको जीवनस्तर उठाउन कोसिस गरे। जब केही समय गरे त्यसपछि ल अब तिमीहरू गर भनेर छाडिदिए। यसरी उनी विश्वकै महान् नेता भएका हुन्। 

नेपालका नेतामध्ये कसैले यस्तो गर्न सक्यो ? सकेन। त्यसैले महान् नेता पनि कोही हुन सकेन। चाहने हो भने यो कति बेरको पनि कुरा हैन। नेताहरूले गल्ती महसुस गरे, अनि देश र जनताका लागि आफ्नो स्वार्थ त्यागेर अघि बढे भने उनीहरू पनि मन्डेला बन्ने निश्चित छ। कसैसँग छ यस्तो गर्ने प्रतिबद्धता र अठोट?

प्रकाशित: ९ चैत्र २०८० ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App